आर्थिक

बजेटपछि नेप्सेमा गिरावट : बजार करेक्सन कि असर ?

By खबरहब

May 30, 2024

काठमाडौं – मंगलबार अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गरेका भोलिपल्ट (बुधबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २३ अंकले र बिहीबार १९.८९ अंकले घट्यो । बजेट पछि बढ्ने आकलन भइरहँदा उल्टै घटेपनि लगानीकर्ताहरूले बजेटको असर परेको हुन सक्ने अनुमान गरे ।

बजेट भाषणको दिन गणतन्त्र दिवस (सार्वजनिक बिदा) भएकाले शेयर बजारमा कारोबार भएन । कतिपय लगानीकर्ताले भने बजेटको अघिल्लो दिन सोमबार नै नाफा बुक गराएका थिए । तर, त्यसरी गराएको प्रफिट बुक बजेट पछिको बजारले फेल गराएको छ ।

बजेट भाषण अघि सोमबार २११३.२४ बिन्दुमा रहेको नेप्से सूचक बजेटपछि बुधबार २३ अंकले घटेर २०८९.४२ बिन्दुमा र बिहीबार १९.८९ बिन्दुमा पुग्यो । नेप्सेको गिरावट बजार करेक्सन मात्र भएको बजारका जानकारहरू तर्क गर्छन्‌ ।

बजेटपछि ओरालो लाग्यो नेप्से, २३.८१ अंकले घट्यो

नेप्सेको गिरावट सामान्य रहेको र बजार ठीक ठाउँमा आएको इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल बताउँछन् । ‘बजार केही भएको छैन, एकदमै ठीक ठाउँमा आइपुगेको छ’, ढकाल भन्छन्, ‘यो गिरावट मार्केट करेक्सन हो, कुनै ठूलो कुरा होइन ।’

ढकालको कुरामा शेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष ताराप्रसाद फुलेल पनि सहमत छन् । उनी पनि गिरावटसँगै बजार करेक्सन भएको तर्कमा एकमत छन् । यसलाई सामान्य रूपमा नै लिनुपर्ने उनी बताउँछन्‌ ।

ढकाल र फुलेलको विश्लेषणमा पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोख्रेल पनि सहमत छिन् । बढेपछि गिरावट आएर बजार करेक्सन हुने कुरा सामान्य नै भएको पोख्रेलको भनाइ छ । ‘बजार उल्लेख्य अङ्कले बढेको थियो’, पोख्रेलले भनिन्, ‘बजार ओभर साइजमा बढेपछि करेक्सनमा आउँछ नै, यो त्यही भएको हो ।’

बजेटमा शेयरबारे समेटियो ? के छुट्यो ? अर्थमन्त्री पुनले बजेटको दुई बुँदा नम्बर २७८ मा शेयर बजारबारे उल्लेख गरेका छन्‌ । सो बुँदामा पुनले विभिन्न ३ योजना अघि सारेका छन्‌ ।

पुँजी बजारका लगानीकर्ताको लगानी र हित संरक्षण गर्न धितोपत्र बोर्ड नेपालको संस्थागत सुदृढीकरण गरिने र नेप्से र सीडीएस एण्ड क्लियरिङ लिमिटेडको संरचनागत सुधार गर्ने उल्लेख छ ।

वस्तु विनिमय बजार सञ्‍चालन गर्न कानूनी र संस्थागत व्यवस्था मिलाइने पनि अर्थमन्त्री पुनले बजेटमा लेखेका छन्‌ । निश्चित रकमभन्दा बढी पुँजी भएका कम्पनीलाई अनिवार्य रूपमा नेप्सेमा सूचीकरण हुनुपर्ने व्यवस्था मिलाइने योजना पनि बजेटमा राखिएको छ ।

आफूहरूले माग गरेको जस्तो बजेट नआए पनि नराम्रो नीति पनि नल्याइएको शेयर लगानीकर्ताहरू बताउँछन्‌ । बढी पुँजी भएको कम्पनी नेप्सेमा आउने र संस्थागत सुधार भए बजारमा लामो समयसम्म सकारात्मक प्रभाव पर्ने देखिएको उनीहरूको भनाइ छ ।

आगामी बजेटमा शेयर लगानीकर्ताका माग – विदेशी भित्र्याउने, नाफा लैजान दिने ! (भिडियो)

‘पूँजी बजार थप विकास गर्नेगरी बजेटमा ठोस कार्यक्रम आउँछ भन्ने अपेक्षा थियो, तर खास सम्बोधन भएन’, अध्यक्ष राधा पोखरेलले भनिन्, ‘बजेट अघिका भेटमा अर्थमन्त्रीले दिनुभएको आश्वासन पनि समेटिएनन् ।’

तर बजेटमा पुँजीबजारलाई नराम्रो असर पर्ने विषय नआएकाले आत्तिनु नपर्ने ढकाल बताउँछन् । ‘बजेटले संस्थागत सुधार गर्ने कुराहरू ल्याएको छ’, ढकाल बताउँछिन् ।

बजेटमा शेयर बजारलाई नराम्रो गर्ने खालका कुरा नआएकोमा अध्यक्ष फुलेल पनि सहमत छन् । ‘बजेटमा आएका कुराहरु सम्बोधन भएमा बजारले स्थायी रूपमा राम्रो गर्छ’, फुलेल भन्छन्, ‘धितोपत्र, नेप्सेको सुधारले समग्र बजारमा राम्रो फाइदा पुग्छ ।’

बजेटले भन्दा पनि अब राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिले बजारलाई बढी असर गर्ने भएकाले गर्भनर बजारप्रति लचिलो हुनुपर्ने फुलेलको भनाइ छ ।

सम्बोधन भएन लगानीकर्ताका माग बजेट अघि शेयर बजार लागनीकर्ताका ८ संगठनहरुले हाल ३६५ दिन भन्दा बढी समय राख्दा ५ प्रतिशत र त्यो भन्दा कम राख्दा ७.५ प्रतिशत लाग्दै आएको लाभ कर ३६५ दिन भन्दा बढी भए ३ प्रतिशत र सो भन्दा कम भए ५ प्रतिशत मात्र लाग्ने व्यवस्था माग राखेका थिए ।

आफूहरूको उक्त माग सम्बोधन नभए सशक्त विरोधमा उत्रिने सम्मका चेतावनी लगानीकर्ताले दिएका थिए । तर लगानीकर्ताका ८ संगठनले दिएको उक्त चेतावनीपूर्ण सुझावका कुनै पनि अंशलाई अर्थमन्त्रीले बजेटमा सम्बोधन गरेनन् ।

बजेटपछि निरन्तर घट्तो ट्रेन्डमा शेयर बजार, बिहीबार १९.८९ अंकले घट्यो

‘अहिलेको मन्दी अवस्थामा करको दर घट्छ भन्ने हामीलाई लागेको थिएन’, अध्यक्ष तुलसीराम ढकालले भने, ‘तर, केही सञ्चारमाध्यममा शेयर बजारको करको दर बढ्छ भन्ने खालका कुराहरु आएकाले हामीले ध्यानकर्षण गराएका थियौं ।’

४० प्रतिशतसम्म करको दर बढ्न सक्ने कुराहरु समेत आएकाले बजेटअघि कडा प्रतिवाद गर्न बाध्य भएको ढकालको भनाइ छ । ‘सबैकुरा आन्दोलनले नै हुन्छ भन्ने पनि त छैन’, ढकालले भने, ‘आगामी दिनमा बजारलाई अंकुश लगाउने कुराहरु आए आन्दोलनमा पनि उत्रिन्छौँ ।’

बजेट लगत्तै बजार घट्नु ‘नियमित संयोग’ बजेट आएको भोलिपल्टदेखि शेयर बजार घट्ने संयोग पुरानै हो । निर्वतमान अर्थमन्त्री डा. प्रकाशशरण महतले गत वर्षको जेठ १५ गते चालू आर्थिक वर्षका लागि बजेट ल्याएका थिए ।

बजेटमा महतले शेयर बजारका विषयलाई ३ बुँदामा समेटेका थिए । त्यसमा पुँजी बजारको सेवा बहुसंख्यक जनतासम्म पुर्‍याउनेगरी आवश्यक नीतिगत सुधार गरिने उल्लेख थियो ।

पुँजी बजारलाई पारदर्शी र प्रतिष्पर्धी बनाई लगानीकर्ताका हित सुनिश्चित, प्रोत्साहित, गैर-आवासीय नेपालीलाई जलविद्युत र अन्य वास्तविक क्षेत्रका कम्पनीमा लगानी खुला गर्ने, धितोपत्र औजारहरूको विस्तार र विविधीकरण गर्ने, धितोपत्रसम्बन्धी विद्यमान कानुनी व्यवस्थामा समयानुकूल संशोधन र आवश्यक पूर्वाधार तयार गरी बस्तु बजार तथा एसएमईज प्लेटफर्म सञ्चालनमा ल्याउने योजनाहरू चालू आर्थिक वर्षको बजेटमा समेटिएको छ ।

पुँजीबजारलाई उल्लेख्य सम्बोधन भएको बजेट ल्याइएको भोलिपल्ट नेप्से भने घटेको थियो । गत वर्षको जेठ १६ गते नेप्से ५३.१५ अंकले घटेर १८८८.६१ बिन्दु कायम भएको थियो । बजेट प्रस्तुत भएको तेस्रो दिन पनि नेप्से ३८ अंकले घटेर १८४९.७९ विन्दु कायम भएको थियो । त्यसपछिको दिनमा क्रमशः नेप्से १६.५४ अंकले, ५३ अंकले बढेको थियो । त्यसपछि बजार निरन्तर जस्तो बढ्न थालेको थियो ।

तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले ल्याएको आर्थिक वर्ष २०७९/८० को बजेटपछि पनि शेयर बजार घटेको थियो । मन्त्री शर्माले उक्त आर्थिक वर्षको बजेट २०७८ जेठ १५ गते ल्याएका थिए । तत्कालीन अर्थमन्त्री शर्माले बजेट ल्याउनुअघि २२२३.७८ बिन्दुमा रहेको नेप्से परिसूचक बजेट पछि भने ५०.३३ अंकले घटेर २१७३.४४ बिन्दुमा पुगेको थियो ।

शर्माले ल्याएको बजेट पछि नेप्सेमा लगातार गिरावट आइ करिब एक महिना अन्तरालमा १८०० बिन्दुमा झरेको थियो । शर्माले बजेट ल्याउनु अगाडि २२०० माथि बिन्दुमा रहेको बजार असार ८ गतेसम्म आउँदा १८९३.५३ बिन्दुसम्म पुग्यो । त्यसपछि भने शेयरबजार बढ्न थालेको थियो । असार १६ गतेसम्म नेप्से २०३७.६४ बिन्दुमा पुगेको थियो ।