समाचार

प्रकाशबारे टासीका छोरा छेतेन भन्छन्- नागरिकता नहुँदा अंश दिन सकिएन, बिहे पनि गर्न मानेनन्

By खबरहब

August 30, 2024

काठमाडौं- ‘हेर्ने कथा’ले गोरखाको चुमनुब्री गाउँपालिका-७ छेकम्पारमा भेट्टाएका भोजपुरको षडानन्द नगरपालिका-१० छाप्लेका प्रकाश तामाङको चर्चा अझै सेलाएको छैन ।

झापामा रहेको समयमा काठमाडौं छिरेपछि १० वर्षको उमेरमा जोरपाटीबाट बेपत्ता ‘काले’ उपनामका प्रकाशको कथा हेरिसकेपछि फरक फरक कोणबाट बहस भइरहेका छन् ।

यस कथालाई लिएर विद्या चापागाईं र कमलकुमारले आँसुको व्यापार भन्न पनि छाडिएको छैन । तर अधिकांशले पत्रकारका रुपमा यी दुईजनाले आफ्नो धर्म निर्वाह गरेको भनेर प्रशंसा पनि गरिरहेका छन् ।

यी विवादबीचमा बिहीबार नै प्रकाश छेकम्पारस्थित ३३ वर्षसम्म आफूलाई बस्न दिएका मालिक टासी लामाको घर छाडेर काठमाडौं हुँदै भोजपुर फर्किने क्रममा छन् ।

तर यसबीचमा शुक्रबार मात्रै ‘हेर्ने कथा’ टीमले प्रकाशले आधा बाल्यकालसहित आधा उमेर बिताएको टासी लामाका छोरा छेतेनलाई सार्वजनिक गरेको छ ।

काठमाडौं बसेर १२ कक्षासम्म पढेका २३ वर्षीय छेतेन अहिले गोरखाकै सामागाउँमा स्कुल पढाइरहेका छन् ।

‘हेर्ने कथा’ टीमले छेतेनसँग काठमाडौंमा गरेको कुराकानीका क्रममा बुवाले प्रकाशलाई जेठा छोरालाई जस्तै माया गरेर राखेको बताएका छन् । प्रकाशलाई काठमाडौंबाट चुम उपत्यकासम्म भने काकाले पुर्‍याएको पनि छेतेनले ‘हेर्ने कथा’ टीमसँग बताएका छन् ।

‘मलाई पहिलाको कुरा धेरै थाहा छैन तर, प्रकाश दाइकोबारे पनि सुनेको छु । उहाँलाई काठमाडौंबाट हाम्रो गाउँसम्म मेरो काकाले लिएर आउनु भएको हो’, उनले भनेका छन् ।

उनै प्रकाशले नै आफूलाई पनि हुर्काएको पनि छेतेनले बताएका छन् । ‘हामी सानै थियौँ । हामीलाई स्याहार-सुसार गरेर प्रकाश दाइले नै हुर्काएको हो’, उनले भनेका छन्, ‘मलाई घरका सबै काम उहाँ दाइले नै सिकाउनु भयो । मैले उहाँलाई खासमा काका भन्नुपर्ने हो तर सबैले गाउँमा पक्का भनेकाले मैले पनि पक्का नै भनेर बोलाउँछु ।।’

उनले प्रकाशलाई घरमा जेठो छोरा जस्तै राखिएको बताए । हरेक वर्ष गाउँमा हुने घोडेजात्रामा प्रकाश नै स्थानीय पोशाकमा सजिएर जाने गरेको रोचक कुरा पनि छेतेनले सुनाएका छन् ।

‘प्रकाश दाइ घरको सदस्य जस्तै हो । हाम्रो गाउँमा वर्षेनि घोडे जात्रा हुने गरेको छ । त्यो जात्रामा हाम्रो घरको प्रतिनिधि बनेर उहाँ नै जानु हुन्थ्यो । हरेक घरबाट छोरा मान्छे जात्रामा जानुपर्ने भएकाले हाम्रोबाट पोशाकमा सजिएर प्रकाश नै जाने गरेको हो ।’

छेतेनले प्रकाशलाई गाउँमै नागरिकता बनाइदिन खोजिए पनि नसकिएको बताएका छन् । ‘हामीले गोरखाबाटै प्रकाशको नागरिकता बनाइदिन खोजेका थियौँ तर मिलेन, बनाउन सकिएन’, उनले सुनाए

प्रकाशको बिहे गराउन खोजे पनि नागरिकता अभावले नसकिएको उनले बताए । ‘नागरिकता नभएर अंश दिन पनि मिलेन । प्रकाशको बिहे गरिदिन पनि खोज्यौँ । तर बाबुको गरिकता नभएपछि बच्चाहरूको पनि नागरिकता हुँदैन भनेर प्रकाशले बिहे गर्न मान्नुभएन’, उनले सुनाए ।

उनले प्रकाशको कुरामा बुवा टासी पनि खुसी नै रहेको बताए । नातागोताबाट लिएर भए पनि प्रकाशलाई १० लाख दिने कुरा भएको छेतेनले बताए ।

‘बुवासँग कुरा भइराख्छ । बुवा पनि खुसी नै हुनुहुन्छ । यत्रो वर्ष सँगै बसेको मान्छे माया त लागिहाल्छ नि!’, उनले भने, ‘सम्बन्धको हिसाबले छोड्न मन थिएन । तर उसको इच्छा! केरुङमा बस्ने काकाले १० लाख दिन्छु भनेको छ । अनि फ्रान्समा बस्ने दाइले २ लाख । हामी बैंक खाता खोलेपछि प्रकाशलाई पैसा हालिदिन्छौँ ।’

प्रकाशबारे छेतेनको बयान उनकै भाषामा

‘हामीलाई त धेरैले नराम्रो भने, गाली गरे । हाम्रो कुरा पनि राखिदिनुस् न’ – छेतेनले भने ।

‘हामी ठूलो मान्छे होइन । सबैले साहु भने पनि हामी धनी मान्छे पनि होइन । आम्दानी भनेको त्यही किरा मात्र हो । त्यो पनि सँधै भेटिँदैन । बाबुआमाले पढेको पनि छैन । बोल्न पनि जान्दैन । मलाई पहिलाको कुरा त धेरै थाहा छैन । तर सुनेको छु । प्रकाशलाई गाउँमा लिएर जाने चाहिँ मेरो काका हो । हाम्रो गाउँमा दाजुभाइले एउटै श्रीमती बिहे गर्ने चलन थियो । त्यो बेला मेरो बुवा र काकाको एउटै श्रीमती थियो । श्रीमती बित्नुभयो । त्यसपछि काका चाइनाको केरुङमा अर्को बिहे गरेर घरज्वाइँ बस्न जानुभयो । मेरो बुवाले पनि अर्को बिहे गर्नुभयो ।

मेरो आमासँग बुवाको बिहे हुनु अगाडिदेखि नै प्रकाश दाइ हाम्रो घरमा हुनुहुन्थ्यो । मेरो बुवा र प्रकाशको उमेर पनि ५-७ वर्ष मात्र फरक होला । प्रकाशले मेरो बुवालाई दाइ (ज्योज्यो) भन्नुहुन्छ अनि मेरो आमालाई चाहिँ दिदी (आचे) भन्नुहुन्छ । हाम्रो घरमा जे पाक्छ त्यही खाएर एउटै परिवार जसरी हुर्केको हो । सामाजिक सन्जालमा आएजस्तो अन्याय गरेको छैन ।

पहिलादेखिको चलन चल्ती चाहिँ घरमा दुइटा छोरा मान्छे हुँदा एउटाले घर व्यवहार र खेतीपाती हेर्ने अर्कोले चाहिँ चौंरी हेर्ने । प्रकाशले चौंरी हेर्थ्यो, मेरो बुवाले चाहिँ घरखेत हेर्थ्यो ।

हामी सानै थियौँ । हामीलाई स्याहार सुसार गरेर हुर्काउने नै प्रकाश दाइ हो । मलाई घरको कामहरू सिकाउने नै उहाँ हो । मैले खास काका भन्नुपर्थ्यो उहाँलाई । तर सबैले पक्का भन्ने भएर म पनि पक्का भन्छु ।

प्रकाशले कहिले पनि पैसाको कुरा गरेन । हामीले पनि गरेनौँ । तर बेला बेलामा बावुआमा खोज्न जान पाए हुन्थ्यो भन्थ्यो । बुवाआमाले पनि बाहिरी संसार खासै देखेको थिएन । कहाँ जाने !

प्रकाश घरको सदस्य जस्तो हो । हाम्रो गाउँमा वर्षेनि घोडे जात्रा हुन्छ । घोडे जात्रामा हरेक घरको प्रतिनिधि भएर छोरा मान्छे जानु पर्छ । हाम्रो घरबाट ड्रेस लगाएर प्रकाश नै जान्थ्यो ।

गोठालाको चलन चाहिँ कस्तो भने – सिजन हुन्छ । गाउँभरिको चौंरीको जिम्मा लिनुपर्छ । रक्सी खाएर जिम्मा लिसकेपछि त्यो सिजन छाड्न मिल्दैन । वचन दिइसकेको हुन्छ । तपाईंहरूले लिएर जाने बेला चाहिँ सिजन सुरु भइसकेको थियो । प्रकाशले रक्सी खाएर जिम्मा लिइसकेको थियो । त्यही भएर पठाउन अफ्ठ्यारो मानेको हो मेरो बुवाले । १० दिनमा ल्याइदिनु भनेको हो । अनि तपाईंहरू पनि अन्जान मान्छे हुनुभयो । नचिनेको मान्छेलाई कसरी आफ्नो घरको मान्छे जिम्मा लगाउनु । त्यही भएर त्यस्तो भनेको हो । साहु भएर त्यस्तो भनेको होइन ।

अनि हाम्रो गाउँमा बाहिरको मान्छेले किरा टिप्न पनि पाउँदैन । तर प्रकाश दाइले किरा टिप्दा गाउँको मान्छेले केही भन्दैन । देखे नदेखे जस्तै गरिदिन्थ्यो । अनि किरा बेचेको पैसाले प्रकाशले चौंरी किन्थ्यो घरकै लागि । अस्ति बाबुआमा भेटेपछि पो उसलाई मेरो पनि बाबुआमा रहेछ जस्तो लाग्न थालेको, पैसाको महत्व लाग्न थालेको, उसले जे कमाउँथ्यो हाम्रै घरको लागि खर्च गर्थ्यो ।

उसलाई गोठालो काम मन पर्ने अर्को कारण पनि छ । उसलाई जनावर एकदम मन पर्छ । ऊ घरमा आउँदा कुकुर बिरालोका छाउरा लिएर आउँछ । हरेक जनावर उसलाई मन पर्छ । माथि गोठतिर मान्छेहरूले चौंरीका बाच्छाबाच्छीलाई दूध खान दिँदैनन् । तर पक्का दाइले त्यस्तो गर्दैन । लुकीलुकी खान दिन्छ । हामीले नागरिकता पनि बनाइदिन खोजेको । तर त्यही हो– मिलेन ।

पाल्जोर भन्ने दाइ छ । अहिले फ्रान्समा छ । हाम्रा बाउ र काकाको बितिसकेकी साझा श्रीमतीको छोरा । उसले चाहिँ प्रकाशलाई धेरै माया गर्छ । उसले र प्रकाशले सँगै समय बिताएका थिए गाउँमा । ऊ कुरा बुझ्ने छ । पाल्जोरले आफ्नो भागको अंश प्रकाशलाई दिनु भनेका थिए ।

तर नागरिकता नभएर अंश दिन पनि मिलेन । प्रकाशको बिहे पनि गरिदिन खोजेको गाउँमै । तर आफ्नो नागरिकता नभएपछि बच्चाहरूको पनि नागरिकता हुँदैन भनेर प्रकाशले बिहे गर्न मान्नुभएन ।

बुवासँग कुरा भइराख्छ । बुवा पनि खुसी नै हुनुहुन्छ । यत्रो वर्ष बसेको मान्छे माया त लागिहाल्छ नि ! सम्बन्धको हिसाबले छोड्न मन थिएन, तर उसको इच्छा । केरुङमा बस्ने काकाले १० लाख दिन्छु भनेको छ, अनि फ्रान्समा बस्ने दाइले २ लाख ।

उसलाई भोजपुरमा कसकसले जग्गा दिन्छु भनेको छ रे ! दिए हुन्थ्यो । नागरिकता बने हुन्थ्यो । बरु मिल्छ भने त चुमबाटै नागरिकता दिए हुन्थ्यो । उसले हिमाली भेग बुझेको छ । भोजपुर बुझेको छैन । मेरो विचारमा त ऊ बाबुआमाको मुख हेरेरै भोजपुर जान लागेको हो । ऊ फर्केर आउँछ भने त अझै पनि फ्रान्समा बस्ने पाल्जोर दाइले आफ्नो अंश दिन्छु भनेको छ । केरुङ बस्ने काकाले अनि हामीले पनि उसले भोजपुरमा बिहे गरे पनि चुम आएर बिहे गरे पनि खर्च पनि दिन्छौँ भनेका छौं । म त अहिले सानै छु । तर पनि प्रकाश मेरो बुवा जस्तो मान्छे हो । उसलाई भविष्यमा मैले गर्न सक्ने सबै सहयोग गर्न तयार छु ।’