देश/प्रदेश

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

By खबरहब

September 15, 2023

दिनभर आजमा सरकारद्वारा प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत, संसदीय सुनुवाइ समितिद्वारा सर्वोच्चको प्रस्तावित न्यायाधीशमा शर्माको नाम अनुमोदन,शिष्ट र मर्यादित भएर सामाजिक सञ्जालको प्रयोग गर्न आयोगको आग्रह,क्यानले गर्‍यो एसियाली खेलकुद प्रतियोगिता खेल्ने नेपाली क्रिकेट टोलीको घोषणालगायतका समाचारले प्रमुख स्थान पाए ।

सरकारद्वारा प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत

सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघबाट सिधै हुने चीनको भ्रमण स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

आफ्नो चीन भ्रमणबाट दुई देशबीचको सम्बन्ध थप सुदृढ हुने प्रधानमन्त्रीको विश्वास

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो चीन भ्रमणका क्रममा दुई देशबीच परम्परागत रुपमा घनिष्ट र सहयोगात्मक सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरेका छन् ।

आफ्नो संयुक्त राष्ट्रसंघ र चीन भ्रणका विषयमा शुक्रबार प्रतिनिधिसभा बैठकमा जानकारी गराउँदै प्रधानमन्त्री प्रचण्डले आफ्नो औपचारिक चीन भ्रमणबाट दुई देशबीच रहिआएको परम्परागत घनिष्ट र सहयोगात्मक सम्बन्ध थप सुदृढ हुने तथा आपसी सहयोगका क्षेत्रहरू थप विस्तार हुँदै जाने विश्वास व्यक्त गरे ।

संसदीय सुनुवाइ समितिद्वारा सर्वोच्चको प्रस्तावित न्यायाधीशमा शर्माको नाम अनुमोदन

संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश विनोद शर्माको नाम अनुमोदन गरेको छ ।

सिंहदरबारमा शुक्रबार बसेको बैठकले शर्मालाई बोलाएर सुनुवाइ गरेपछि सर्वसम्मतले अनुमोदन गर्ने निर्णय गरेको हो । यसअघि विनोद शर्माविरुद्ध उजुरी गर्न १० दिनको सार्वजनिक सूचना जारी गरेपनि उनीविरुद्ध कुनै उजुरी प्राप्त नभएपछि समितिले सिधै सुनुवाइ गरेको थियो ।

न्यायपरिषदद्वारा उच्च अदालतको न्यायाधीशमा २७ जनाको नाम सिफारिस

न्यायपरिषदले उच्च अदालतको न्यायाधीशमा २७ जनालाई सिफारिस गरेको छ । शुक्रबार बसेको न्यायपरिषदको बैठकले उनीहरुको नाम सिफारिस गरेको हो ।

न्यायाधीशमा सिफारिस हुनेहरुमा श्यामकुमार भट्टराई, राधाकृष्ण उप्रेती, हरिश्चन्द्र ढुंगाना, धनसिं महरा, ब्रजेश प्याकुरेल, ऋषिराम निरौला, चन्द्रमणि ज्ञवाली, राजुकुमार खतिवडा, योगेन्द्र प्रसाद साह, खडानन्द तिवारी, कविप्रसाद न्यौपाने, प्रकाश खरेल, कृष्णराम कोइराला, स्वीकृति पराजुली, काजी बहादुर राई, रितेन्द्र थापा, मोहनराज भट्टराई, अर्जुन अधिकारी, विनोदकुमार पोखरेल, नारायणप्रसाद रेग्मी, सुशील कोइराला, अच्युतमकुमार आचार्य, गोविन्द जोशी, पुण्यशिला दवाडी घिमिरे, पूर्णप्रसाद राजवंशी, यज्ञबहादुर राना मगर र अर्जुन महर्जन छन् ।

शिष्ट र मर्यादित भएर सामाजिक सञ्जालको प्रयोग गर्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले शिष्ट र मर्यादित भएर सामाजिक सञ्जालको प्रयोग गर्न आग्रह गरेको छ । आयोगले विगत केही दिनयता देशका विभिन्न भागमा घटेका आपराधिक घटना, कतिपय जिम्मेवार पदाधिकारीबाट नै व्यक्त धारणा र आरोप प्रत्यारोपप्रति गम्भीर ध्यानाकर्षण गराउँदै उक्त आग्रह गरेको हो ।

नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि काठमाडौँमा साङ्घातिक आक्रमण भएको, जसपाका जिल्ला अध्यक्ष राजकुमार यादवमाथि प्रहरीबाट मोरङमा दुर्व्यवहार भएको, चिकित्सकमाथि कुटपिट भएको भन्दै हेटौँडा अस्पतालका ७८ जना चिकित्सकले राजीनामा दिएकोजस्ता घटनाका सम्बन्धमा जानकारी गराएको छ ।

पशुपतिमा तीजको तयारी : चार ठाउँबाट दर्शनको व्यवस्था, तस्बिर र भिडियो खिच्न मनाही, पहिरन शोभनीय हुनुपर्ने

हरितालिका तीज पर्वका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनलाई चार स्थानबाट दर्शन गराइने भएको छ । कोषले यस वर्षको हरितालिका तीज पर्वका अवसरमा पशुपतिनाथको दर्शनमा आउने व्रतालु भक्तजनका लागि सहज बनाउन चार स्थानबाट लामको व्यवस्था गर्न लागिएको हो ।

तीजको तयारीका लागि शुक्रबार कोषले आयोजना गरेको छलफलमा कोटेश्वर–तिनकुने–सिनामङ्गल क्षेत्रबाट आउने भक्तजनका लागि तिलगङ्गा पर्यटक टिकट काउन्टर क्षेत्रबाट प्रवेश गरी राममन्दिर–आर्यघाट क्षेत्र हुँदै पूर्वी ढोकाबाट पशुपतिनाथ मन्दिर प्रवेश गर्ने व्यवस्था गरेको जानकारी दिइयो ।

सभामुखद्वारा प्रतिनिधिसभामा एक सदस्य पद रिक्त भएको सदनलाई जानकारी प्रतिनिधिसभाको आजको बैठकमा इलाम क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको यही भदौ २६ गते निधन भएपछि उक्त पद रिक्त रहेको जानकारी गराइएको छ । सभामुख देवराज घिमिरेले सदनलाई उक्त विषयमा जानकारी गराएका हुन् ।

सभामुख घिमिरले भने, “विसं २०७९ को निर्वाचनमा इलाम क्षेत्र नं २ बाट निर्वाचन प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको यही भदौ २६ गने निधन भएको हुनाले नेपालको संविधान ८९ को खण्ड (च) बमोजिम प्रतिनिधिसभा सदस्यको उक्त एक पद रिक्त भएको बैठकलाई जानकारी गराउँछु ।”

क्यानले गर्‍यो एसियाली खेलकुद प्रतियोगिता खेल्ने नेपाली क्रिकेट टोलीको घोषणा

आगामी असोज ६ गतेदेखि चीनको हाङझावमा सुरु हुने १९औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागिता जनाउने नेपाली राष्ट्रिय क्रिकेट टोलीको नाम सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट सङ्घ क्यानले १५ सदस्यीय नेपाली क्रिकेट टोलीको नाम सार्वजनिक गरेको हो ।

छनोट हुने नेपाली टोलीको कप्तानमा रोहित पौडेल रहेका छन् । त्यस्तै अन्य सदस्यमा करण केसी, प्रतिश जिसी, आसिफ शेख, कुशल मल्ल, गुल्सन झा, सोमपाल कामी, सन्दीप जोरा, विनोद भण्डारी, कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरी छन् ।