देश/प्रदेश

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

By खबरहब

August 25, 2023

दिनभर आजमा धरानमा सामाजिक सद्भाव जोगाउन सर्वदलीय अपील, इन्जिनियरिङको नयाँ शुल्क तत्काल कार्यान्वयन नगर्न प्रधानमन्त्रीको निर्देशन, सिराहाको काठघरमा हुने भनिएको एमाले बैठक स्थगित, कोशी प्रदेशमा एमालेको सरकार बन्छ : ओली, मेयर साम्पाङलाई व्यक्तिको जग्गामा जबरजस्ती प्रवेश नगर्न अन्तरिम आदेश, स्थानीय प्रशासनद्वारा धरानमा निषेधाज्ञा जारीलगायतका समाचारले प्रमुख स्थान पाए । 

सिराहाको काठघरमा हुने भनिएको एमाले बैठक स्थगित

नेकपा एमालेले सिराहाको विष्णुपुर सर्रेअम्बासमा आयोजना गर्न लागेको बहुप्रतिक्षित सचिवालय बैठक स्थगित भएको छ ।

सबै तयारी पूरा भए पनि लगातारको वर्षाको कारण बैठक स्थगित गरिएको एमाले सचिव योगेश भट्टराईले जानकारी दिएका छन् ।

इन्जिनियरिङको नयाँ शुल्क तत्काल कार्यान्वयन नगर्न प्रधानमन्त्रीको निर्देशन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्काल इन्जिनियरिङ कार्यक्रमको शुल्क तत्काल नबढाउन इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) लाई निर्देशन दिएका छन्।

अवैज्ञानिक ढंगले शुल्क बढाइएको भन्दै विद्यार्थी संगठनहरूले विरोध गरेपछि प्रधानमन्त्रीले आईओईको निर्णय कार्यान्वयन नगराउन निर्देशन दिएका हुन्।

राप्रपा नेपाल हिन्दु राष्ट्रसहित राजसंस्थाको पक्षमा

राप्रपा नेपालले राजसंस्था पुनर्स्थापनाको एजेन्डामा फर्किएको छ । हिजो र आज दुई दिन चलेको केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्न आयोजित ‘घोषणा सभा’ कार्यक्रमका वक्ताहरूले पार्टीले अब राजसंस्था पुनर्स्थापनाको एजेण्डालाई जोडदार अगाडि बढाउने बताए ।

कोशी प्रदेशमा एमालेको सरकार बन्छ : ओली नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा एमालेको नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन्।

विराटनगर विमानस्थलमा आज पत्रकारहरूसँग कुराकानी गर्दै ओलीले कोशी प्रदेशमा अब ५० सांसदसहित एमालेको नेतृत्वमा सरकार बन्ने बताए ।

स्थानीय प्रशासनद्वारा धरानमा निषेधाज्ञा जारी स्थानीय प्रशासनले धरानमा निषेधाज्ञा जारी गरेको छ । जिल्ला सुरक्षा समितिको बैठकले आजबाट निषेधाज्ञा जारी गरेको हो ।

धरानमा गोरु काटेर खाएको र मन्दिर अगाडि चर्च बनाएको भन्दै केही हिन्दु समर्थकले शनिबार प्रदर्शनको आह्वान गरेका छन् । त्यसैले साम्प्रदायिक सद्भावमा असर पर्न सक्ने भएकाले प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

अर्थमन्त्री महत जीईएफको उपाध्यक्षमा निर्वाचित ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ)को सातौँ विश्व सम्मेलनको प्लेनरी सेसनले नेपालका अर्थमन्त्री डा। प्रकाशशरण महतलाई उपाध्यक्ष पदमा निर्वाचित गरेको छ ।

आज एसेम्बलीको जारी बैठकमा गणतन्त्र पानामाको प्रस्ताव तथा नेदरल्याडको समर्थनमा मन्त्री महत उपाध्यक्षमा निर्वाचित भएको उनको सचिवालयले जनाएको छ ।

मेयर साम्पाङलाई व्यक्तिको जग्गामा जबरजस्ती प्रवेश नगर्न अन्तरिम आदेश

उच्च अदालत विराटनगरले धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङलाई व्यक्तिको जग्गामा जबरजस्ती प्रवेश नगर्न र धरपकड नगर्न अन्तरिम आदेश दिएको छ ।

बिहीबार उच्च अदालत विराटनगरका न्यायाधीश दिनेशप्रसाद यादवको एकल इजलासले प्याराग्लाइडिङ व्यवसायी रोशन अधिकारी र रोजिना अधिकारीको जमिनमा प्रवेश नगर्न, उनीहरूमाथि धरपकड नगर्न र थुनामा नराख्न आदेश दिएको हो।

भ्रष्टाचारविरुद्धको अभियानले जनतामा आशा जगाएको छ : गृहमन्त्री

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले सुशासनको पक्षमा भ्रष्टाचारविरुद्ध चालेको कदमबाट तस्कर, ठग र भ्रष्टाचारीहरू अत्तालिएको बताएका छन् । तर, आम जनतामा भने त्यसले आशा जगाएको उनको भनाइ छ ।

धरानमा सामाजिक सद्भाव जोगाउन सर्वदलीय अपील सुनसरीको धरानमा क्रियाशील १३ राजनीतिक दलहरूले सामाजिक सद्भाव खल्बलिने गतिविधि नगर्न सबैलाई सामूहिक अपील गरेका छन् ।

शुक्रबार धरानमा बसेको १३ राजनीतिक दलको सर्वदलीय बैठकले धरानमा भोलि गर्न लागेको जनप्रदर्शन स्थगित गर्न आग्रह गर्दै कुनैपनि जाति धर्म र क्षेत्रका आधारमा सामाजिक सद्भाव नभड्काउन अपील गरेका हुन् ।

मुलुकमा सुशासन कायम गर्न नेताहरू स्वयं सुध्रिनुपर्छ’

नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले मुलुकमा सुशासन कायम गर्न नेताहरू स्वयं सुध्रिनुपर्ने बताएका छन्।

नेपाल वित्तिय संस्था कर्मचारी संघ ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाद्वारा शुक्रबार जनकपुरमा आयोजीत एक कार्यक्रममा बोल्दै कोइरालाले मुलुकमा विद्यमान भ्रष्टाचार र दण्डहीनताको अन्त्य र सुशासन कायम गर्न नेताहरू स्वयं सुध्रनुपर्ने जोड दिएका हुन् ।