काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७. ८० अंकले बढेको छ । नेपाली बजारमा साताको तेस्रो कारोबार दिन आज सुनको मूल्य तोलामा एक हजार रुपैयाँले वृद्धि भएको छ । ऐतिहासिक तथा धार्मिक महत्त्वको दुधमती नदीको अतिक्रमित प्राकृतिक बहाव क्षेत्रको सीमांकन, नक्सांकन तथा उत्खनन कार्य सुरु गरिने भएको छ । नागरिकलाई स्वच्छ खानेपानीको सुविधा उपलब्ध गराउने उद्देश्यले पर्वतमा चालु आर्थिक वर्षमा एक सय नौ वटा योजना सञ्चालन हुने भएका छन् । अलैंचीको उत्पादन घटेसंगै भाउ भने आकासिएको छ ।
प्रमुख आर्थिक समाचारहरु :
१७ अंकले बढ्यो नेप्से, कारोबार कति ?
मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७. ८० अंकले बढेको छ । नेप्से ०.६४ प्रतिशतले बढेर २७७५.८५ विन्दुमा पुगेको छ ।
आज नेप्से बढ्दा ८ अर्ब ५२ करोड १२ लाख १९ हजार रुपैयाँ बराबरको १ करोड ८१ लाख ६० हजार ६३४ कित्ता शेयर कारोबार भएको छ । १४२ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ९७ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ५ वटा कम्पनीको शेयर मूल्य भने स्थिर हरेको छ ।
बजार खुल्ला रहँदासम्म ३०७ वटा कम्पनी कारोबारमा आउँदा ८८ हजार ७७५ पटक शेयर कारोबार भएको छ । यस्तै ६ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने अपर साइना हाईड्रोपावरको शेयर मूल्यमा भने नकारत्मक सर्किट लागेको छ ।
१३ वटा समूह मध्ये ७ वटा समूह बढेको छ भने ६ वटा समूह घटेको छ । सबैभन्दा बढी ट्रेडिङ समूह ५ .९६ प्रतिशतले बढेर ५ हजार ३६२. ३४ विन्दुमा पुगेको छ । आज सबैभन्दा कम उत्पादन तथा प्रशोधन ०. ०६ प्रतिशतले बढेर ६ हजार ८०४. २६ विन्दुमा पुगेको छ ।
त्यस्तै, फाइनान्स १. ३९ प्रतिशतले, हाइड्रोपावर १. ८५ प्रतिशतले, जिवन बीमा १. ५२ प्रतिशते, म्युचुअल फण्ड ०. ३७ प्रतिशतले र अन्य समूह ०. २७ प्रतिशतले बढेको छ ।
सुनको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?
नेपाली बजारमा साताको तेस्रो कारोबार दिन आज सुनको मूल्य तोलामा एक हजार रुपैयाँले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ। सोमबार छापावाला सुन प्रतितोला एक लाख ४९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ३० रुपैयाँले बढेको हो । महासंघका अनुसार आज चाँदी प्रतितोला एक हजार ८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला एक हजार ८ सय १५ रुपैँयामा कारोबार भएको थियो ।
रिचार्ज कार्ड आपूर्तिमा देखिएको समस्या समाधान भइसक्यो : नेपाल टेलिकम
केही दिनदेखि विविध कारणले आपूर्तिकर्ताले समयमा आपूर्ति गर्न नसकेको कारण नेपाल टेलिकमका रिचार्ज कार्डहरू बजारमा सहज रूपमा उपलब्ध हुन नसकेकोमा हाल उक्त समस्या समाधान भइसकेको टेलिकमले जानकारी दिएको छ ।
पूर्ववत् रिचार्ज कार्डहरू बजारमा उपलब्ध भैसकेको बताउँदै टेलिकमले यसअघि ग्राहकमा पर्न गएको असुविधाप्रति कम्पनीले क्षमा मागेको हो । रिचार्ज कार्डको सहज रूपमा आपूर्ति हुन नसकेको अवस्थामा पनि ग्राहकले कार्डको विकल्पको रूपमा रहेका मोबाइल प्वान्ट अफ सेल (एमपीओएस) र नमस्ते पे, ईसेवा, खल्ती, आईएमईपेलगायतका डिजिटल वालेटहरु प्रयोग गरी प्रिपेड तथा पोष्टपेड मोबाइल रिचार्ज गरिरहेको कम्पनीको भनाई छ । रिचार्ज कार्डको अभावको कारणले कम्पनीको व्यापार र राजश्वमा कुनै नकारात्मक प्रभाव नपरेको टेलिकमले स्पष्टीकरण दिएको छ ।
दुधमती नदीको अतिक्रमित भूभाग तत्काल उत्खनन् गरिने
ऐतिहासिक तथा धार्मिक महत्त्वको दुधमती नदीको अतिक्रमित प्राकृतिक बहाव क्षेत्रको सीमांकन, नक्सांकन तथा उत्खनन् कार्य सुरु गरिने भएको छ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको अध्यक्षतामा रहेको दुग्धमती नदी संरक्षण उच्चस्तरीय समितिको बैठकले ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री शेषनारायण यादवको संयोजकत्वमा दुग्मधमती नदी संरक्षणात्मक कार्य कार्यान्वयन उपसमिति गठन गर्दै सो सम्बन्धी कार्य तत्काल र तीव्रताका साथ सुरु गर्ने निर्णय गरेको हो ।
धार्मिक तथा पौराणिक आस्था र विश्वाससँग जोडिएको मात्र नभएर सिँचाइ तथा खानेपानी समेतको महत्त्वपूर्ण स्रोत दुधमती नदी संरक्षण हुनैपर्ने भएकाले प्रदेश सरकार उत्खनन्सहितको कार्य अगाडि बढाएको उच्चस्तरीय समितिका अध्यक्ष एवम् मुख्यमन्त्री सिंहले बताए ।
उनले भने, ‘पवित्र स्नान तथा नदीको पूजन परम्परामार्फत स्थानीय पर्यटन प्रवद्र्धन र प्रदेशका बहुसँख्यक खोला खहरे भएका बेला नदीको प्राकृतिक बहाव क्षेत्र पुर्नस्थापना जरुरी हुँदा सरकारले यस कार्यलाई उच्च प्राथमिकतामा राखेको छ ।’
सिलीगुडी–झापा र अमलेखगञ्ज चितवन पाइपलाइन विस्तारबारे छलफल
भारतको भ्रमणमा रहेका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र उनका भारतीय समकक्षी पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री हरदिपसिंह पुरीबीच नयाँदिल्लीमा भेटवार्ता भएको छ।
सोमबार अपराह्न उनीहरूबीच भएको भेटवार्तामा दुई पक्षीय हितका साथै पारस्परिक चासोका विविध विषयमा कुराकानी भएको मन्त्री भण्डारीको निजी सचिवालयले जनाएको छ ।
उनीहरूबीच नयाँ पूर्वाधार योजनाअन्तर्गत सिलीगुडी–झापा र अमलेखगञ्ज–चितवन पेट्रोलियम पाइपलाइन निर्माणबारे छलफल भएको थियो । साथै उनीहरूले विगतमा दुई देशबीच भएका सम्झौता तथा तिनको कार्यान्वयनका सम्बन्धमा पनि छलफल गरेका थिए।
यसैबीच,सर्लाहीको ग्यास पाइपलाइन निर्माण, त्रिभुवन विमानस्थलको इन्धन डिपो स्थानान्तरण, भारतीय आयल कर्पोरेशन लिमिटेड र नेपाल आयल निगमबीचको साझेदारीलगायत विषयमा छलफल भएको तथा दुवै निकायद्वारा प्रस्तुत एकीकृत प्रतिवेदन प्राप्त भएपछि सक्दो सहयोग गर्न भारत तत्पर रहेको मन्त्री पुरीले बताएको मन्त्री भण्डारीले नयाँदिल्लीबाट बताए ।
आधुनिक प्रविधिले दाइँ गर्ने परम्परा लोप हुँदै
कृषिमा भित्रिएको आधुनिक प्रविधिले गर्दा गाउँघरमा दाइँ गर्ने परम्परा लोप हुँदै जान थालेको छ । केही वर्ष अघिसम्म गोरु र मान्छेकै सहारामा दाइँ हाल्दै आएका धनुषाका अधिकांश किसानहरु पछिल्लो समय आधुनिक थ्रेसर मेशिन र ट्रयाक्टरका सहायताबाट धान चुट्न थालेपछि दाइँ परम्परा लोप हुन लागेको हो ।
खेती किसानी पनि गर्दै आएका जिल्ला समन्वय समिति धनुषाका पूर्वसभापति रामदेव यादवले पछिल्लो समय किसानले गोरु पाल्न छाडेपछि थ्रेसर र ट्रयाक्टरको सहायताले दाइँ गर्न थालिएको बताए।
उनले भने, ‘एक दशक अघिसम्म खेतका फाँटमा खलो बनाई धान, मसुरो, तोरी, गहुँलगायतका अन्न झाँटेर बोटमा बाँकी बसेका अन्न झार्नका लागि मियोका वरिपरि गोरु घुमाई दाइँ गर्ने परम्परा थियो । तर पछिल्लो समय गोरुको अभाव र कृषिमा भित्रिएको आधुनिक प्रविधिका कारण गाउँमा दाइँ गर्ने परम्परा हराउँदै जान थालेको छ ।’
गाउँघरमा अर्मपर्म गरेर खेती लगाउने, खेती थन्काउने चलन हट्न थालेपछि ट्रयाक्टरले खेत जोत्न र थ्रेसरले धान चुट्न थालिएको क्षीरेश्वरनाथ नगरपालिका–४ का किसान जगदीश यादवले बताए। उनका अनुसार कृषिमा प्रविधिको विकासले गाउँघरबाटै दाइँ संस्कृति हजाउँदै जान थालेको छ ।
पर्वतमा खानेपानी विस्तारका लागि १०९ योजना
नागरिकलाई स्वच्छ खानेपानीको सुविधा उपलब्ध गराउने उद्देश्यले पर्वतमा चालु आर्थिक वर्षमा एक सय नौ वटा योजना सञ्चालन हुने भएका छन् । जिल्लाका दुई नगरपालिका र पाँच गाउँपालिकामा सङ्घीय र गण्डकी प्रदेश सरकारका गरी एक सय नौ योजना सञ्चालन हुने भएका हुन् ।
सङ्घीय सरकारअन्तर्गत ३४ र गण्डकी प्रदेशअन्तर्गत ७५ वटा योजनामा बजेट विनियोजन भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङले जनाएको छ ।
गण्डकी प्रदेशअन्तर्गत कुश्मा नगरपालिकामा २६, फलेबास नगरपालिकामा १९, जलजला गाउँपालिकामा १०, पैँयु गाउँपालिकामा नौ, मोदी गाउँपालिकामा चार, महाशिला गाउँपालिकामा चार र विहादी गाउँपालिकामा तीन वटा योजनामा बजेट विनियोजन भएको कार्यालय प्रमुख किरण पौडेलले जानकारी दिए ।
उनका अनुसार सङ्घीय सरकारअन्तर्गत फलेबास नगरपालिकामा पाँच, कुश्मामा दुई, माशिलामा तीन, मोदीमा दुई, जलजला र पैँयुमा तीन वटा योजना रहेका छन् । यसबाहेक सङ्घीय शसर्त अनुदानबाट १६ योजना सञ्चालन हुने उनको भनाइ छ ।
पर्यटनमन्त्रीबाट मध्यरातमा त्रिभुवन विमानस्थलको अवलोकन
मुलुकको व्यस्त त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धिको काम तीव्र गतिमा भइरहेको छ । गत कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा उडान बन्द गरेर विमानस्थल विस्तारका क्रममा समानान्तर ‘ट्याक्सी वे’, ‘इन्टरनेशनल एप्रोन’, ‘ह्याङ्गर एप्रोन’लगायत काम भइरहेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माणाधीन समानान्तर ‘ट्याक्सी वे’, ‘इन्टरनेशनल एप्रोन’, ‘ह्याङ्गर एप्रोन’ लगायत कामको स्थलगत अवलोकन गरेका छन् । गएराति पर्यटनमन्त्री पाण्डे, पर्यटन राज्यमन्त्री अरुणकुमार चौधरी, पर्यटन सचिव डा. गणेशप्रसाद पाण्डेय, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहितको टोलीले विमानस्थलको क्षमता अभिवृद्धिअन्तर्गत भइरहेका कामको अवलोकन गरेको हो ।
प्राधिकरण अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सी वे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’ को काम गरिरहेको हो । यी काम पूरा गर्न करिब १५ अर्ब खर्च हुने आयोजना कार्यालयले जनाएको छ । विमानस्थलको क्षमता अभिवृद्धिका लागि भइरहेका विभिन्न कामको अवलोकन गर्दै पर्यटनमन्त्री पाण्डेले निर्माण तीव्र गतिमा भइरहेको भन्दै समयमा काम सम्पन्न हुने विश्वास व्यक्त गरे । उनले ठूलो सङ्ख्यामा जनशक्तिसहित प्रभावकारी रूपमा उपकरणको परिचालन गरेर युद्धस्तरमा भइरहेको निर्माणले विकासे आयोजनाको कामलाई गुणस्तरीय र निर्धारित समयमा सम्पन्न गर्न सकिन्छ भन्ने सन्देश दिने बताए ।
अलैँचीको भाउ लाख नाघ्यो, उत्पादन आधा घट्यो
अलैँचीलाई ‘नेपालको कालो सुन’ भनिन्छ । विश्वका थोरै देशमा मात्रै अलैँची उत्पादन हुन्छ । विश्वभर उत्पादन हुनेमध्ये ६० प्रतिशत अलैँची नेपालमै फल्छ ।
यस वर्ष अलैँचीको भाउ राम्रो आएको छ । उत्पादन कम हुँदा भाउ आकासिएको व्यवसायीहरूको भनाइ छ । अहिले किसानले नै प्रतिमन (४० केजी) को एक लाखदेखि एक लाख पाँच हजार रुपैयाँसम्म भाउ पाएका छन् । उत्पादन घटेसँगै अलैँचीको भाउ महँगो भएको हो ।
अघिल्ला वर्षमा किसानले बेच्ने बेलामा अलैँचीको मूल्य सामान्य हुने र केही समयपछि भाउ बढ्ने गथ्र्यो । त्यसो हुँदा किसान सधैँ मर्कामा पर्ने गरेका थिए ।
तर, यो वर्ष समयमै अलैँचीको भाउ बढेपछि किसान उत्साहित भएको अलैँची व्यवसायी इन्द्रबहादुर लिम्बूले बताए । वर्षेनी समयमै भाउ बढेर आए किसानलाई मर्का नपर्ने उनको भनाइ छ ।
लिम्बूका अनुसार, अलैँची उत्पादन गर्न धेरै खर्च लाग्ने र त्यसअनुसार भाउ नपाउँदा किसान मर्कामा परिरहेका थिए । पहिले गाँउमा धेरै क्षेत्रफलमा अलैँची खेती हुने गरेकामा अहिले धेरै किसानले अलैँची खेती मासेर तरकारी खेती थालेको उनले जानकारी दिए ।
अलैँची खेती गरिरहेका लिम्बूले यस वर्ष सो फसलबाट चार लाख रुपैयाँ कमाएका छन् । बगानमा विभिन्न रोग लागेका कारण पहिलेजति उत्पादन नहुने उनले बताए । पहिले–पहिले उनको बगानमा २५० केजीको हाराहारीमा अलैँची हुन्थ्यो । अहिले मुस्किलले २०० किलोग्राम उत्पादन हुने गरेको छ ।
विभिन्न रोगका कारण अलैँचीका बोट मर्दै गएका छन् । यसमा लागेको रोगको उपचार के हो भनेर पत्ता लगाउन नसक्दा पनि उत्पादन घटेको लिम्बू बताउँछन् ।