काठमाडौं– नेपालमा अर्बौं रुपैयाँ पुँजी लगानी गरी व्यवसाय सञ्चालन गर्दै आएका कम्पनीहरूले राम्रो प्रदर्शन गर्न सकिरहेका छैनन् । विशेषगरी सिमेन्ट, छड र कपडा लगायतका प्राथमिक क्षेत्रका उद्योगहरू आफ्नो क्षमतामा समेत सञ्चालन हुन सकिरहेका छैनन् ।
तर, दूरसञ्चार कम्पनी एनसेलले भने जम्मा १ करोड रुपैयाँ चुक्ता पुँजीबाट व्यवसाय शुरू गरी १८ वर्षमा ११३५.८५८ प्रतिशत नाफा आर्जन गर्न सफल भएको छ ।
सुरुवातको लगानीमा २०६१ सालमा फेरि थप गरेर १० करोड शेयर पुँजी पुर्याएर सञ्चालनमा आएको एनसेलले १८ वर्षमा १ खर्ब रुपैयाँभन्दा बढी नाफा आर्जन गरेको छ । एनसेलले यसबीच १ खर्ब १३ अर्ब ५८ करोड ५८ लाख रूपैयाँ नाफा आर्जन गरेको हो ।
एनसेलमाथि गरिएको पछिल्लो सरकारी अनुसन्धान प्रतिवेदनमा दूरसञ्चार व्यवसाय सुरुवात गरेको १८ वर्षमा एनसेलले १ खर्ब १३ अर्ब ५८ करोड ५८ लाख रूपैयाँ नाफा आर्जन गरेको उल्लेख छ ।
एनसेल आजियाटा प्रालि स्थापनादेखि हालसम्मको शेयर खरिद–बिक्रीको श्रृंखलामा भित्रिएको ०८० मंसिरमा मलेसियन कम्पनी आजियाटा ग्रुप बहार्ड नेपालमा व्यवसायिक वातावरण नभएको भन्दै बाहिरिएको थियो ।
तर, सो कम्पनीको वित्तीय विवरणले भने आजियाटा बहार्डले भनेजस्तो नभएर एनसेल उत्कृष्ट कम्पनीको रूपमा सञ्चालन हुँदै आएको देखाएको छ ।
१८ वर्षमा झण्डै ७० अर्ब रूपैयाँ बाहिरियो
वि.सं. २०५८ सालमा मोदी कर्प लिमिटेड भारत, स्पाइस सेल लिमिटेड भारत र खेतान ग्रुप लिमिटेड नेपालले नेपालमा दूरसञ्चार सेवा सञ्चालन गर्ने उद्देश्यले १ करोड रुपैयाँ चुक्ता पुँजीमा स्पाइस नेपाल प्रालि नामक कम्पनी दर्ता गरेर सेवाको स्वीकृति लिएका थिए । तर, सो कम्पनीको व्यवसायिक सुरूवात भने आर्थिक वर्ष ०६२/६३ बाट भएको थियो ।
पहिलो वर्षमा कम्पनीले २५ करोड ७० लाख रुपैयाँ नोक्सानी बेहोरेको थियो । त्यसपछि भने निरन्तर रूपमा लाभांश वितरण गरिरहेको छ । सरकारी अनुसन्धान प्रतिवेदनमा एनसेलको सम्पूर्ण वित्तीय अवस्था प्रस्तुत गरिएको छ ।
प्रतिवेदनको पृष्ठ ३९, ४०, ४१, ४२, ४३, ४४ र ४५ मा एनसेलको वित्तीय अवस्था, नाफा नोक्सानको अवस्था, कर्जा तथा धितोको अवस्था, मुनाफा सम्बन्धी विवरण लगायतका विषयहरू प्रस्तुत छ ।
प्रतिवेदनमा प्रस्तुत विवरणअनुसार एनसेलले आर्थिक वर्ष ०६१/६२ देखि ०७९/८० सम्म १ खर्ब १३ अर्ब ५८ करोड ५८ लाख रूपैयाँ नाफा आर्जन गरेको थियो । सोही नाफाबाट कम्पनीले ९३ अर्ब ५० करोड ८० लाख रूपैयाँ लाभांश वितरणसमेत गरेको देखिन्छ ।
लाभांशमध्ये ६६ अर्ब ९५ करोड २५ लाख रूपैयाँ विदेश लगेको र १९ अर्ब ७८ करोड ९० लाख रूपैयाँ स्थानीय साझेदारलाई वितरण गरेको प्रतिवेदनमा उल्लेख छ । साथै कम्पनीले सोही अवधिमा प्राविधिक तथा व्यवस्थापकीय सेवा सम्झौता अन्तर्गत उद्योग विभाग र नेपाल राष्ट्र बैंकको स्वीकृति लिएर २ करोड ४८ लाख ५० हजार अमेरिकी डलर पनि विदेश लगेको छ ।
त्यस्तै एनसेलले आर्थिक वर्ष ०६८/६९ देखि आर्थिक वर्ष ०७९/८० सम्म प्रतिशेयर आम्दानी ८६३४.९६ रूपैयाँ र प्रतिशेयर लाभांश आम्दानी ७७९२.३३ रूपैयाँ गर्न सफल भएको देखिन्छ । नेपालभरी नै मोबाइल सेवा सञ्चालन गर्न पाउने अनुमतिपत्र लिएको तर, कम्पनीको शेयर पुँजी न्यून रहेको कारणले जोखिम समेत न्यून भएको र शेयरधनीले अधिक नाफा प्राप्त गरेको प्रतिवेदनमा विश्लेषण गरिएको छ ।
०५८ सालमा तीनवटा कम्पनीको १ करोड चुक्ता पुँजीबाट सुरूवात भएको एनसेलमा ०६१ १० करोड शेयर पुँजी पुर्याइएको थियो । जसमा ०८० मंसिरसम्म आउँदा मलेसियन कम्पनी आजियाटा बहार्ड ग्रुपको ८० प्रतिशत र सुनिभेरा क्यापिटल भेन्चर्स प्रालिको १९.९९ प्रतिशत शेयर रहेको थियो । जसमा एनसेलकै विभिन्न ७ जना कर्मचारीको ०.००११ प्रतिशत अर्थात् ११ कित्ता शेयर रहेको छ ।
कम्पनीको नाफा नोक्सानको अवस्था ।
आजियाटा ग्रुप बहार्डद्वारा झुटो धारणा सार्वजनिक
आजियाटा ग्रुप बहार्डले सन् २०२३ नोभेम्बर २९ मा जारी गरेको प्रेस विज्ञप्तिमा नेपालको परिदृष्य चुनौतीपूर्ण बन्दै गएको उल्लेख गरेको थियो ।
तर, सरकारी अनुसन्धान प्रतिवेदनले भने आजियाटा ग्रुप बहार्डले ६ वटा देशमा सञ्चालन गरेको दूरसञ्चार सेवामध्ये एनसेलबाट चौथो बढी मुनाफा आर्जन गर्न सफल भएको तथ्याङ्क देखाएको छ ।
आजियाटा ग्रुप बहार्डले मलेसियाबाट २०२० मा २०.३१ मिलियन, इन्डोनेसियाबाट ३.७७ मिलियन, श्रीलंकाबाट १८.७५ मिलियन, बंगलादेशबाट २.१० मिलियन र कम्बोडियाबाट १४.३२ मिलियन अमेरिकी डलर करपछिको नाफा आर्जन गरेको थियो । जब कि नेपालबाट एनसेलमार्फत् सोही समयमा आजियाटाले १३.०७ मिलियन अमेरिकी डलर (कर पछिको) नाफा आर्जन गरेको थियो ।
आजियाटा ग्रुप बहार्डले एनसेलको ८० प्रतिशत शेयर खरिद गरेर सञ्चालन गरेको पछिल्लो ६ वर्षमा पनि प्रतिशेयर आम्दानी, लाभांश आम्दानी, पुँजी लगानीमा प्रतिफल लगायतका सूचकांकहरूपनि औसतमा राम्रा देखिएका छन् ।
अझ नेपालमा पब्लिक लिमिटेड कम्पनीको रूपमा सूचीकृत भएर कारोबार गर्दै आएका अधिकांश कम्पनीहरूको तुलनामा एनसेलको व्यवसाय र नाफाको अवस्था औसतमा राम्रो देखिन्छ ।
०६८/०६९ देखि ०७९/८० सम्मको एनसेलले प्राप्त गरेको औसत प्रतिफल ।
२०५८ असार ७ गते नेपालमा मोबाइल सेवा सञ्चालन गर्ने उद्देश्यले स्थापना भएको स्पाइस नेपाल प्रालिको शेयर खरिद–बिक्रीको श्रृंखलामा सन् २०२३ को डिसेम्बर १ मा एनसेलको ८० प्रतिशत शेयर स्वामित्व कायम गर्दै आएको आजियाटा ग्रुप बहार्डले आफ्नो सम्पूर्ण शेयर बिक्री गरेको घोषणा गरेको थियो ।
आजियाटाले सेन्ट किट्स एन्ड नेभिसमा अवस्थित रेनोल्ड्स होल्डिङ्समा रहेको आफ्नो एनसेलको शत प्रतिशत शेयर सिंगापुरका नागरिक सतीशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूके लिमिटेडलाई बिक्री गरेको थियो ।
सो घोषणा अगाडि आजियाटाले नोभेम्बर ३० मा आजियाटा ग्रुप बहार्डले नेपालमा व्यवसायको लागि चुनौतीपूर्ण अवस्था बन्दै गएको भनेर टिप्पणी पनि सार्वजनिक गरेको थियो ।
आर्थिक वर्ष ०७९/८० को वित्तीय विवरणअनुसार करपछिको नाफा ४ अर्ब २५ करोड ४४ लाख रूपैयाँ रहेको कम्पनीलाई आजियाटाले आफ्नो ८० प्रतिशत स्वामित्व जम्मा साढे ६ अर्ब रुपैयाँमा बिक्री गरेर बाहिरियो । त्यो पनि सन् २०२९ को डिसेम्बर २९ सम्म विभिन्न किस्तामा बुझाउने गरी । जुन शेयर आजियाटाले ७ वर्ष अगाडि स्वीडेनको टेलियासोनेरासँग १ खर्ब ४४ अर्ब ७८ करोड २५ लाख रूपैयाँमा खरिद गरेको थियो ।
आजियाटासँग शतीशलालले शेयर खरिद गरेपछि ११ कित्ता शेयर बाहेक एनसेलको सम्पूर्ण शेयर अब उनकै परिवारको नियन्त्रणमा आएको छ । किनकी आजियाटा बाहिरिने बेलासम्म एनसेल आजियाटा प्रालिमा ८० प्रतिशत शेयर आजियाटा ग्रुप बहार्डको र २० प्रतिशत शेयर शतीशलालकी आफ्नै श्रीमती भावना सिँह श्रेष्ठको स्वामित्वमा रहेको कम्पनी सुनिभेरा क्यापिटल भेन्चर्स प्रालिको नाममा थियो ।
आजियाटा ग्रुप बहार्डले एनसेलमा रहेको आफ्नो सम्पूर्ण शेयर अति न्यून मूल्यमा बिक्री गर्ने घोषणा गरेपछि सो विषयले आम नेपाली नागरिक, सांसद, मिडिया देखि नियामक र राजनीतिक वृत्तमा ठूलो शंका पैदा गरेको थियो । जसले ठूला छलफलहरूको सिर्जना गरेको थियो ।
चौतर्फी दबाबपछि सरकारले ०८० मंसिर २१ गते पूर्वमहालेखापरीक्षक टंकमणि शर्मा दंगालको नेतृत्वमा एनसेल आजियाटा लिमिटेडको शेयर खरिद–बिक्री सम्बन्धी अनुसन्धान तथा छानबिन गर्न ५ सदस्यीय समिति गठन गरेको थियो । जसमा नेपाल सरकारका सचिव फणिन्द्र गौतम, दुईजना सहसचिव रितेशकुमार शाक्य र बाबुराम भण्डारी र नेपाल चार्टड एकाउन्टेन्ट्स संस्थाका अध्यक्ष सुजनकुमार काफ्ले थिए ।
दंगालको समितिले छानबिन तथा अनुसन्धानपश्चात ०८० माघ १५ गते सरकारलाई उक्त प्रतिवेदन बुझाएको थियो । तर, सरकारले अहिलेसम्म उक्त प्रतिवेदन औपचारिकरूपमा भने सार्वजनिक गरेको छैन । सोही प्रतिवेदनमा एनसेल सञ्चालनमा आएदेखि आर्थिक वर्ष ०७९÷८० सम्म सो कम्पनीले जम्मा १० करोड लगानी गरेर १ खर्ब बढी नाफा आर्जन गरेको उल्लेख गरेको देखिएको छ ।
सम्बन्धित समाचार-
कर चुक्ता गरी शेयर किनबेच नहुने शर्तमा मात्रै एनसेलको लाइसेन्स नवीकरण !
सरकारी अनुसन्धान प्रतिवेदन नै भन्छः एनसेलले ग्राहकको अर्बौं ठग्यो
सरकारी अनुसन्धान प्रतिवेदनः ‘स्मार्ट टेलिकम डुबाएका शतीशलालसँग एनसेल किन्ने र चलाउने क्षमता छैन’
एनसेल बिक्री छानबिन प्रतिवेदन प्रधानमन्त्रीले कुन दराजमा थन्क्याए ?
एनसेल शेयर खरिदबिक्री प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समिति गठन
एनसेल प्रकरण : उपेन्द्र महतोलाई कारबाही गर्न सिफारिस
एनसेलमा अर्बौं अफसोर कारोबार गरेका निरज गोविन्द श्रेष्ठमाथि कारबाही सिफारिस
शतीशलालकी श्रीमती भावनाको सम्पत्ति स्रोत खोज्न र शुद्धीकरणमा छानबिन गर्न सिफारिस
एनसेलको रामकहानी : आजियाटाले ढाँटेको कि बेचेको ?
उपेन्द्रको जीवनमा एनसेल (खोज पत्रकारिता केन्द्रको रिपोर्ट)
एनसेल जोडिएको आर्थिक विधेयक संशोधन गर्न नयाँ गठबन्धनमा एकमत
एनसेल खरिदबिक्रीको सम्झौता यथास्थितिमा अस्वीकार्य : छानबिन समिति
एनसेल बिक्री प्रकरण : अलमलमा सरकार, मौन विपक्षी
एनसेल जोडिएका ३० वटा मुद्दा सर्वोच्चमा
आयकर ऐनको दफा ५७ मा रहस्यमय संशोधन, एनसेललाई उन्मुक्ति दिन खोजेको आशंका
एनसेल प्रकरण नेपालका लागि दुर्भाग्य
‘एनसेलका श्रीमान-श्रीमती कानुनले चिन्दैन’
एनसेल लाभकर विवाद : एनसेल र एक्जियटाबाट कर असुल्न सर्वोच्चको परमादेश
एनसेल लाभकर विवाद : एनसेल र एक्जियटाबाट कर असुल्न सर्वोच्चको परमादेश
एनसेल प्रकरण नेपालका लागि दुर्भाग्य
एनसेल खरिदबिक्रीको सम्झौता यथास्थितिमा अस्वीकार्य : छानबिन समिति