राजनीति

महासमिति बैठकको अन्तिम तयारीमा कांग्रेस, २४ सय प्रतिनिधिबाट ८० लाख उठ्ने अनुमान

By ज्ञानु घिमिरे

February 11, 2024

काठमाडौं- फागुन ७ गतेदेखि ४ दिनसम्म हुने महासमिति बैठकको लागि पार्टीको सिंगो पंक्ति तयारीमा जुटेको छ । ललितपुरको गोदावरी सनराइज सम्मेलन केन्द्र हुन लागेको बैठकमा हल बुकदेखि खर्चको बन्दोबस्त भइरहेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए ।

जाडो, जाजरकोटमा गएको भूकम्प र राष्ट्रियसभा निर्वाचनलाई कारण देखाएर पटक पटक सारिएको बैठक अन्ततः फागुन ७ मा गर्ने टुंगो लागेको हो । विश्वकर्माका अनुसार यो पटक निर्धारित समयमानै बैठक हुने छ । सबै तयारी अन्तिम अन्तिम अवस्थामा पुगेको छ ।

यता कांग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा संसद् प्रदीप पौडेलका अनुसार बैठकको लागि प्रतिवेदनको तयारी पनि अन्तिम अवस्थामा पुगेको छ । उनले खबरहबलाई भने, ‘यो पटक बैठक हुन्छ । सभापतिले पनि यो पटक सर्दैन भनिसक्नुभएको छ । यसका तयारीमा जिम्मेवारी पाएका साथीहरू लागिसक्नुभएको छ ।’

यसअघि महासमिति बैठकमा सुझाव पेश गर्न समुदायमा विद्यमान समस्या उठाउन भन्दै कांग्रेसले समुदायका कांग्रेस अभियान सञ्चालन गरेको थियो । समुदायमा कांग्रेस अभियान यही माघ १६ गतेदेखि सुरु भएको थियो । त्यसका लागि माघ १३ गतेदेखि नै सबै जिल्लामा केन्द्रीय प्रतिनिधि र सातै प्रदेशमा शीर्ष नेताहरू खटाइएको थियो ।

तर पार्टीका केन्द्रीय सदस्य, संविधानसभा सदस्य एवम् पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधन भएकाले अभियान स्थगित भएको थियो ।

२३ माघमा स्थगित गरिएको अभियानमा महत्वपूर्ण विषय आएको र त्यसलाई महासमिति बैठकमा प्रस्तुत गरिने कांग्रेस सहमहामन्त्री भीष्मराज आङ्देम्बेले बताए । उनले भने, ‘हामी १६ गतेबाट फिल्डमा उत्रिएका थियौँ । जनताका गुनासो चासो र सुझाव पार्टीमा आएको छ । ती सबै कुराहरू म सहित साथीहरूले पनि राख्नुहुने छ ।’

प्रचार विभाग प्रमुख विश्वकर्माका अनुसार माथिल्लो तहका नेताले तल्लो तहका कार्यकर्ता कुरा नै सुन्दैनन् भन्न परिपार्टी भएकाले कांग्रेसले समुदायमा कांग्रेस अभियान चलाएको हो । उनले भने, ‘यो अभियानमा उठेका सबै विषयलाई लिखित, अलिखित र मौखिक रूपमा विषय उठ्ने र महत्वपूर्ण विषय नीतिगतसमेटिनेछ ।’

यही कार्यक्रमसँगै जोडेर महामन्त्री गगन थापाले माघ १३ देखि झापाबाट संवाद यात्रा सुरु गरेका थिए । उनले नवलपरासीको प्रतापपुर गाउँपालिकाको गोपीगञ्जमा पुगेर यात्रालाई स्थगित गरेका थिए । तर उनको यात्रा महासमिति बैठक पछाडि लगातार रूपमा चल्ने बताएका छन् । उनले भनेका छन्, ‘फागुन ७, ८ र ९, १० गते हुने महासमितिको बैठकलगत्तै समुदायमा कांग्रेस अभियान र संवाद यात्रा सुरु हुन्छ ।’

प्रतिव्यक्ति ३ हजारका दरले ७२ लाख रकम उठ्ला नेता कार्यकर्ता र शुभेच्छुकले दिएको रकम गर्दा करिब ८० लाख पुग्छ ।

प्रतिवेदनको काम अन्तिम चरणमा

महासमिति बैठकमा चार वटा प्रतिवेदन तयार हुँदैछ । यसका लागि उपसभापति, महामन्त्री द्वय र पार्टी केन्द्रीय कार्यालयलाई जिम्मेवारी दिइएको छ । कांग्रेसले महासमिति बैठकमा पेस गर्ने नीतिगत प्रस्ताव तयार गर्न उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा प्रस्ताव तयारी समिति गठन गरेको छ । उनले यो प्रस्तावको अन्तिम रूप दिने काम गरिरहेको बताइएको छ ।

यस्तै, आगामी बैठकमा सांगठनिक प्रतिवेदन महामन्त्री गगन थापाले पेस गर्ने छन् । उनले पनि यो प्रतिवेदनको अन्तिम रूप दिने काम गरिरहेको बताइएको छ । उनको यो प्रतिवेदन संगठनको संरचना तथा सांगठनिक समस्या लगायत विषयमा केन्द्रित छ ।

त्यस्तै, समसामयिक राजनीतिक प्रस्ताव भने अर्का महामन्त्री विश्वप्रकाश शर्माले पेस गर्ने छन् । उनले पनि यो कामको अन्तिम रूप दिने काम भइरहेको बताएका छन् ।

त्यसैगरी, आर्थिक प्रतिवेदन केन्द्रीय कार्यालयको समन्वयमाअर्थमन्त्री डा. प्रकाशशरण महतले तयार पारिरहेका छन् । कांग्रेसले हालसम्म आर्थिक विभाग प्रमुख बनाइसकेको छैन । त्यो कारण यो प्रतिवेदन सभापतिले तोकेका व्यक्तिले प्रस्तुत गर्ने बताइएको छ । सभापति छोराको बिहेमा व्यस्त भएकाले डा. महतलाई यो जिम्मेवारी दिएको बताइएको छ ।

महासमिति बैठकमा सबै केन्द्रीय सदस्य, १६५ निर्वाचन क्षेत्रबाट ११ जनाका दरले १ हजार ८ सय १५ जना महासमिति सदस्य सहभागी हुनेछन् । भातृ तथा शुभेच्छुक संस्थाबाट पनि प्रतिनिधित्व हुने पार्टीका सहमहामन्त्री महालक्ष्मी उपाध्यायले बताइन् ।

कांग्रेसको केन्द्रीय कार्यसमिति १६८ सदस्यीय रहने व्यवस्था छ

उनका अनुसार विदेशस्थित जनसम्पर्क समितिबाट पनि प्रतिनिधित्व हुने विधानमा प्रावधान छ ।

कांग्रेस मुख्यालयले दिएको जानकारीअनुसार महासमिति बैठकमा केन्द्रीय पदाधिकारी र सदस्यसहित अधिकतम २४ सयको हाराहारीमा प्रतिनिधि सहभागी हुनेछन् ।

यस्तै, बैठकमा महासमिति बैठकमा सहभागी हुने प्रतिनिधिले प्रतिव्यक्ति ३ हजार शुल्क बुझाउनुपर्ने बताइएको छ । पार्टी प्रवत्ता विश्वकर्माका अनुसार करिब ८० लाख रकम उठ्ने छ ।

उनले भने, ‘प्रतिव्यक्ति ३ हजारका दरले ७२ लाख रकम उठ्ला नेता कार्यकर्ता र शुभेच्छुकले दिएको रकम गर्दा करिब ८० लाख पुग्छ । त्यहीबाट खर्च गर्न सकिन्छ । यो बैठक महत्त्वपूर्ण र पार्टी संगठन बनाउने भएकाले अलिअलि खर्च होला ।’

प्रतिवेदन केन्द्रीय समितिले अनुमोदन गर्ने

महासमिति बैठक हुनु अगाडि एक पटक केन्द्रीय समितिको बैठक बस्ने छ । पार्टी प्रवत्ता विश्वकर्माका अनुसार फागुन २, ३ गतेभित्र पार्टीको केन्द्रीय समिति बैठक बोलाउने तयारी भइरहेको छ ।

उनले भने, ‘केन्द्रीय समिति बैठकबाट प्रस्ताव पास गरेर छाप्न दिनुपर्ने भएकाले बैठक अगाडि नै बस्न सक्ने छ ।’

चार वटा प्रतिवेदन केन्द्रीय समितिले पास गरेपछि मात्र महासमिति बैठकमा प्रस्ताव लैजाने कांग्रेसको योजना छ । त्यो कारण बैठक फागुनको पहिलो दिन या माघको अन्तिमसम्म बैठक बस्न सक्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलको भनाइ छ ।

कांग्रेसको १४ औँ महाधिवेशन ०७८ मंसिरमा भएको थियो । सो महाधिवेशनमा कांग्रेसको नीतिबारे छलफल नै नगरी नेतृत्व मात्रै चयन भएको थियो ।

१४ औँ महाधिवेशनमा कांग्रेसले विधान भने पारित गरेको थियो । यस्तै सभापतिमा शेरबहादुर देउवासहित १३४ जना केन्द्रीय सदस्यलाई निर्वाचित समेत गराएका थिए । कांग्रेसको केन्द्रीय कार्यसमिति १६८ सदस्यीय रहने व्यवस्था छ । समावेशी सिद्धान्तमा टेकेर ३३ जना केन्द्रीय सदस्य मनोनित गर्न पाइने विधानमा व्यवस्था छ । तर हालसम्म ३१ सदस्य मात्र मनोनित भएका छन् ।

यो पनि…

घरदैलोमा पुगेका नेतालाई कांग्रेस कार्यकर्ताको चेतावनी– गुट, लुट र गठबन्धन छोड

कांग्रेसको गोदावरी बैठक ‘नीति महाधिवेशन’ मा फेरिने

देउवालाई जाडोको डर, गठबन्धनको अभर