देउवालाई जाडोको डर, गठबन्धनको अभर | Khabarhub Khabarhub

देउवालाई जाडोको डर, गठबन्धनको अभर

यी हुन् महासमिति बैठक सर्ने ३ कारण



काठमाडौँ – आगामी पुस १६ देखि हुने भनिएको नेपाली कांग्रेसको महासमिति बैठक फागुन ७ मा सरेको छ । यसअघि मंसिर २३ देखि २५ सम्म बैठक बस्ने भनिएको थियो । जाजरकोट भूकम्पलाई बाहना बनाएर मङ्सिरबाट पुस १६ मा सारियो । फेरि अहिले फागुन ७ मा पुर्‍याइएको छ । 

पुस १६ देखि १९ सम्म महासमिति बैठकका लागि भनेर ललितपुरको गोदावरीमा हलसमेत बुक भइसकेको थियो । तर, कांग्रेसको संस्थापन पक्षले अर्कै बहाना बनाएर पुनः बैठक सारेको छ ।

शुक्रबार बसेको कार्यसम्पादन समितिको बैठकमा दोस्रो पुस्ताका नेता गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, धनराज गुरुङ लगायतका नेताले पुसको बैठक सार्न नहुने अडान लिएका थिए । 

आखिर किन पटक–पटक सरिरहेको छ कांग्रेसको बैठक ? सहमहामन्त्री भीष्मराज आङ्देम्बे खबरहबसँग भन्छन्, ‘मंसिरमा गर्ने भनिएको थियो भूःकम्प गयो । पुसमा जाडो पनि छ । राष्ट्रियसभा निर्वाचनको तयारी त गर्नुपर्छ नि । समय उतै जान्छ । फेरि हलहरू पनि भरिभराउ भएछन् ।’ 

शुक्रबार बसेको कार्यसम्पादन समितिको बैठकले महासमितिको बैठक फागुनमा सार्ने औपचारिक निर्णय गरिसकेको छ  । नेताहरुले जेसुकै बाहना बनाए पनि कांग्रेसको बैठक सर्नुपर्ने कारण ३ वटा देखिन्छन्

पहिलो कारण : राष्ट्रियसभा निर्वाचनअघि नै गठबन्धन टुट्ने डर
आगामी फागुन २१ मा रिक्त हुने १९ सिटका लागि माघ ११ गते राष्ट्रियसभा सदस्यको निर्वाचन हुँदैछ । यो निर्वाचनमा गठबन्धन गरेर जाँदा कांग्रेसले सिट बढाउने निश्चित छ । तर, चुनाव अधि नै महासमितिको बैठक राख्दा त्यहाँ गठबन्धनको विरोध हुने र त्यसले माघ ११ को चुनावलाई असर गर्ने तर्क पार्टी सभापति देउवाको रहेको कांग्रेस स्रोतको भनाइ छ ।

नेपाली कांग्रेसको स्थापन पक्ष गठबन्धन बचाउने पक्षमा भए पनि संस्थापन इतर समूह र केही संस्थापन पक्षका नेताहरू वर्तमान सत्ता गठबन्धनको कामप्रति बेखुसी देखिन्छन् । उनीहरू माओवादीसँग गठबन्धन गरेर चुनावमा जान नहुने पक्षमा छन् । 

कांग्रेसको संस्थापनइत्तर पक्षका एक नेताले खबरहबसँग भने, ‘सभापतिज्यूले महासमिति बैठक गर्दा राष्ट्रियसभा निर्वाचनको तयारी नपुग्ने भनेर बहाना मात्र बनाउनु भएको हो । खासमा कुरो अर्कै छ ।’ ‘अर्कै’ भनेको के त ? यो प्रश्नमा ती नेता भन्छन्, ‘अब गठबन्धन नै अगाडि बढ्नु हुँदैन भन्ने हामी धेरैको धारणा छ । यसले गर्दा पनि राष्ट्रियसभा निर्वाचनपछि मात्र महासमिति बैठक बसौँ भन्नुभएको हो ।’ 

ती नेताले थपे, ‘कुरा गठबन्धनको मात्र होइन । राष्ट्रियसभामा कसलाई कुन जिम्मेवारी दिने भन्ने कुरामा पनि चर्को विवाद हुन्छ । सधैँ सभापतिज्यूले आफ्ना पक्षका मान्छेहरूलाई मात्र टिकट दिनुभयो । अब यसको निर्मम समीक्षा हुनुपर्छ ।’ ती नेताका अनुसार महासमिति बैठकमा यो गठबन्धनको भविष्य र यहाँबाट कांग्रेसले पाएको उपलब्धिको बारेमा पनि निर्मम समीक्षा हुनेछ । त्यहाँ सरकारको निर्मम आलोचना हुनेवाला थियो।’ 

कांग्रेसमा वर्तमान सरकारको काम र कारबाही राम्रो भएन भनेर आलोचना भइरहेको छ । कांग्रेस नेता डा.शेखर कोइराला, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा, गगन थापा, नेता चन्द्र भण्डारी, प्रदीप पौडेल लगायतले सरकारप्रति आलोचना गरिरहेका छन् । 

तर राष्ट्रियसभा निर्वाचनमा पनि गठबन्धन नै अगाडि बढ्ने कांग्रेसले पनि निर्णय गरेको छ । निर्वाचनको तयारी नपुग्ने भन्दै सभापति देउवाले बाहना गरेको नेताहरूको भनाइ छ । 

राष्ट्रियसभा निर्वाचनमा पनि गठबन्धन नै अगाडि बढ्ने कांग्रेसले पनि निर्णय गरेको छ । निर्वाचनको तयारी नपुग्ने भन्दै सभापति देउवाले बाहाना बनाएको नेताहरूको भनाइ छ । सरकारको काम राम्रो भएन भनेर कांग्रेसभित्र आलोचना भइरहेको छ ।

नेता डा.शेखर कोइराला, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा, गगन थापा र नेता चन्द्र भण्डारी, प्रदीप पौडेल लगायतले सरकारको कडा आलोचना गरिरहेका छन् । उनीहरूले सरकारको काम प्रभावकारी नभएको भन्दै माओवादीसँगको गठबन्धन नै तोड्नुपर्ने बताउन थालेका छन् ।

अर्कोतर्फ, राष्ट्रियसभा निर्वाचनलाई प्रयोग गर्दै गठबन्धन बचाउने पक्षमा देउवा उभिएका छन् । नेताहरूका अनुसार कांग्रेसको महासमिति बैठकले कांग्रेसको नीति अधिवेशनको काम गर्ने भनिएको थियो । तर, नीति महाधिवेशन गरेर पार्टीको नीति निर्माण गर्ने १४ औं महाधिवेशनको म्यान्डेट अझै पूरा हुन पाएको छैन । 

आगामी बैठकमा पुस्तान्तरण र ७० वर्षे उमेर हदबारे कुरा उठ्ने सम्भावना देखिएकाले देउवाले महासमिति बैठक राष्ट्रियसभा निर्वाचनभन्दा पछि धकेलेको कोइराला पक्षको आरोप छ ।  

दोस्रो कारण : जाडो !
नेपाली कांग्रेसका धेरैजसो नेताहरू पाका छन् । केही नेताहरू ७० कटेका पनि छन् भने पहिलो पुस्ताका नेताहरू ६० काटेका छन् ।  शेरबहादुर देउवा हाल ७८ वर्ष पुगेका छन् । डा.नारायण खड्का पनि ७४ वर्ष पुगे । कांग्रेस नेता डा शेखर कोइराला पनि ७३ वर्ष पुगेका छन्। कांग्रेस नेता अर्जुननरसिंह केसी पनि ७६ वर्ष पुगेका छन्। यस्तै कृष्णप्रसाद सिटौला ७० नाघिसकेका छन् । 

कांग्रेसमा ६० वर्ष नाघ्ने नेताहरू पनि धेरै छन् ।  शशांक कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि लगायतका नेताहरू ६० कटिसकेका छन् । यसै कारण पनि सभापति देउवाले जाडोका कारण समस्या सिर्जना हुने डरले महासमिति बैठक सारेको देखिन्छ । 

 तर, जाडोको कारण भनेर उनले बहाना मात्र बनाएको नेताहरूको भनाइ छ । सभापति देउवाले गोदावरी जाडो ठाउँ भएकाले बैठक गर्न नसकिने बताएका थिए । तर, गोदावरीमा पुस १६ मा बैठक बस्ने निर्णय अरु कसैले गरेको नभई स्वयं देउवाकै नेतृत्वमा भएको थियो । बैठक सार्नुपर्ने कारणबारे सोध्दा कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय भन्छिन्, तयारी पुग्दैन, फेरि जाडो पनि बहुत बढेको छ ।’ 

तेस्रो कारण: देउवालाई आफ्नैको डर  
सभापति देउवालाई पार्टीको भन्दा गठबन्धनको चिन्ता भएको संस्थापन इत्तर पक्षको आरोप छ । कांग्रेस नेताहरू भन्छन्, ‘कांग्रेसलाई नीति सिद्धान्तमा हिँडाउन रूपान्तरण र पुस्तान्तरण बाहेक विकल्प छैन ।’  कांग्रेसमा हाल देखिने गरी दुईवटा गुट छन् । अन्य उपगुटहरू प्रशस्त छन् । बैठकमा हुने नेताहरूको उपस्थिति र उथल–पुथलको संकेतले पनि सभापति देउवाले बैठक सारेको पार्टीभित्र तर्क सुनिन थालेको छ । महामन्त्री गगन थापा संस्थापन इत्तर शेखर समूहसँग नजिकिएका छन् ।

जेलमुक्त भएका अर्का नेता बालकृष्ण खाडले पनि देउवाको कित्ता छाडेर शेखर कोइरालाको कित्ता रोजिसकेको कांग्रेसभित्र चर्चा छ । संसदीय दलको नेता हटाउने विषयमा पनि महामन्त्री थापाले बोलिसकेका छन् । यस्तो परिस्थितिमा महासमितिको बैठक राख्दा आफू पेलानमा परिने सभापति देउवामा डर पलाएको नेताहरुको बुझाइ छ । 

बुधबार बसेको कांग्रेस शेखर–गगन समूहको बैठकमा पनि शेरबहादुर देउवाको कार्यशैलीप्रति कडा आलोचना भएको थियो । बैठकमा सहभागी एक नेताका अनुसार महामन्त्री गगन थापाले ‘राष्ट्रियसभा निर्वाचनमा आफ्नो समूहबाट धेरै उम्मेदवार समेट्न नेतृत्वलाई दबाब दिनुपर्ने बताएका थिए । थापाले कांग्रेसले गठबन्धन भनेर आफ्नो नीति नियम बेच्न नहुने तर्क राखेका थिए ।’ 

हुन त कांग्रेसमा मन्त्रिपरिषद् विस्तार गर्दा पनि सभापति शेरबहादुर देउवाप्रति शेखर–गगन समूहले असन्तुष्टि जनाएको थियो । अहिले फेरि राष्ट्रियसभाको निर्वाचनमा हुने भागबन्डामा सकस देखापरेको छ । कांग्रेस संस्थापन इत्तर समूह आफूलाई राम्रो भाग नदिएको भन्दै संस्थापन पक्षसँग असन्तुष्ट रहँदै आएको छ । 

यसैबीच बुधबार बसेको शेखर गगन समूहको बैठकमा महामन्त्री थापाले पार्टी रूपान्तरणका लागि शेखर कोइराला संसदीय दलको नेता बन्नुपर्ने प्रस्ताव समेत राखेका थिए । उनले यसका लागि आफूले सहयोग गर्न तयार रहेको भन्दै २०८२ मा नै कांग्रेसको १५ औँ महाधिवेशन गरेर पार्टी रूपान्तरण र पुस्तान्तरण हुनुपर्ने अडान लिएका थिए ।

गगनको यस्तो प्रस्तावपछि सभापति देउवा झनै त्रसित बनेको र बैठक रोक्ने मनसुवामा पुगेको स्रोतले बतायो ।
कांग्रेस सहमहामन्त्री आङ्देम्बेले भने महासमिति बैठक सर्नुको मुख्य कारण राष्ट्रियसभा निर्वाचन नै भएको बताउँछन् ।

उनले खबरहबसँग भने, ‘राष्ट्रियसभा निर्वाचनमा तयारी पुग्दैन । गठबन्धनको छलफल तथा आन्तरिक छलफललाई समय चाहिन्छ । यसमा गुट–उपगुटको असर हुँदैन ।’ कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा कांग्रेस हाल नयाँ चुनौतीको सामना गरिरहेकाले कांग्रेसलाई नयाँ चुनौतीको सामना गर्ने सक्ने नेतृत्व चाहिएको  बताइरहेका छन् ।  

उनले दुई वर्षपछि हुने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने बताइरहेका छन् । अर्का महामन्त्री गगन थापा पनि महाधिवेशनबाट नयाँ ऊर्जासहितको नेतृत्व आउने कुरामा ढुक्क छन् ।  दोस्रो दर्जाका पुस्ताले नेतृत्व लिएपछि गुट उपगुटको पनि अन्त्य हुने उनीहरूको दाबी छ । 

प्रकाशित मिति : ३० मंसिर २०८०, शनिबार  ४ : २४ बजे

खाना खानुअघि थाल वरिपरि अप्सनी किन गरिन्छ ? 

काठमाडौं– नेपाली समाजमा गरिने विभिन्न संस्कारहरू आ–आफ्नो आस्था अनुसार धर्मसँग

नेपाल इङ्ल्याण्ड ‘सी’ सँग २-० ले पराजित

काठमाडौं– नेपाल इङ्ल्याण्डको सी  टिमसँग पराजित गरको छ । इङल्याण्डको

म्यान्मारको एउटा सहर नियन्त्रणमा लिएको विद्रोही समूहको दाबी

म्यान्मार – म्यान्मारको उत्तरी इलाकाको एउटा सहर नियन्त्रणमा लिएको त्यहाँको

रास्वपा संसदीय दलको बैठक बस्दै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) संसदीय दलको बैठक आज बस्दै

आजको मौसम : केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित वर्षा

काठमाडौं–  हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार