कांग्रेसको गोदावरी बैठक ‘नीति महाधिवेशन’ मा फेरिने | Khabarhub Khabarhub

कांग्रेसको गोदावरी बैठक ‘नीति महाधिवेशन’ मा फेरिने



काठमाडौं- नेपाली कांग्रेसका नेताहरू महासमिति बैठकको तयारीमा जुटेका छन् । महासमिति बैठक पुस १६ देखि १९ सम्म ललितपुरको गोदावरी हलमा हुनेछ । महासमिति बैठकले ‘नीति महाधिवेशन’को काम गर्ने नेताहरुले बताएका छन् ।

बैठकको तयारीबारे कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल भन्छन्, ‘कुनै फेरबदल हुँदैन । योपटक हामी सम्पूर्ण तयारीका साथ लागेका छौँ । बैठकका लागि गोदाबरीमा हल बुक भइसकेको छ ।’

हुन त यसअघि मंसिर २३ देखि २५ सम्म बैठक बस्ने समय निर्धारण भएको थियो । तर विभिन्न कारण देखाएर कांग्रेसले महासमिति बैठक सारेको हो । तयारी नपुगेकाले बैठक सरेको बताइएको थियो ।

मुख्यसचिव पौडेलका अनुसार महासमिति बैठकमा कांग्रेसको नीति अधिवेशनले निर्देश गरेका सबै काम सम्पन्न हुनेछन् । पार्टीका विभिन्न नीतिका बारेमा छुट्टै नीति महाधिवेशन गरी छलफल गर्ने वैधानिक प्रावधान भएकोमा नीति महाधिवेशनको काम महासमितिले नै गर्ने गरी तयारी रहेको छ ।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पनि महासमिति बैठकबारे गम्भीर रूपमा तयारी भइरहेको बताए । उनले भने, ‘हामी प्रदेश र जिल्ला अधिवेशनको दौरानमा छौँ । यसको तयारी सम्पूर्ण तरिकाले भइरहेको छ । साथीहरु लागिरहनुभएको छ ।’

केन्द्रीय सदस्य प्रदीप पौडेलले महासमिति बैठकले युवाहरू विदेशिएको अवस्थाको समीक्षा गर्नुका साथै परराष्ट्र नीति सिथिल भएको बारेमा पनि छलफल गर्ने बताए ।

कांग्रेस केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले महासमिति बैठकको तयारी भइरहेको सूचना आएको बताए । उनले भने, ‘महासमिति बैठकको तयारी भइरहेको सुनेको छु । मेरो जिम्मेवारी नभएको हुनाले यसबारे साथीहरूले काम गर्दै हुनुहुन्छ भन्ने खबर छ ।’

कांग्रेस नेताहरू महासमिति बैठकले कांग्रेसको नीति तथा नेतृत्वलाई बलियो र व्यवहारिक हिसाबले अगाडि बढाउने दाबी गर्छन् । पार्टीले लिने नीतिका बारेमा महासमिति बैठकमा गम्भीर छलफल हुनुपर्ने महामन्त्री शर्माले पार्टीका कार्यक्रममा बोल्दै आएका छन् ।

विधान फेर्न माग

महासमिति बैठकमा पार्टी विधानका केही बुँदासमेत परिमार्जन गर्न केन्द्रीय सदस्यहरूले माग गरेका छन् । यो बैठकले आशाको सञ्चार गर्न सक्नुपर्ने उनीहरूको भनाइ छ ।

समावेशीको मूल्य र मान्यतामा रहेर निश्चित क्षेत्रमा निश्चित लिङ्ग र समुदायको प्रतिनिधि पनि समावेश गर्नुपर्ने सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना बताउँछिन् ।

उपाध्यायले खबरहबसँग भनिन्, ‘कांग्रेसको सैद्धान्तिक व्यवहारिक कुरामा फोकस गरेका छौँ । पार्टीको विभिन्न तहका संरचनाको विषयमा पनि कुरा उठाउनेछौँ । विद्यमान समस्याका विषयमा छलफल हुन्छ ।’

उनले अगाडि भनिन्, ‘हामीले पदाधिकारीमा पनि एक तिहाइ महिलाको उपस्थिति हुनुपर्ने कुरालाई जोड दिएका छौँ । यसलाई स्थापित गराउने एजेण्डा छ । समानुपातिक सहभागिताको कुरा पनि उठान हुन्छ । यसका लागि महिला केन्द्रीय सदस्य र अन्य व्यक्तिहरूसँग पनि मैले छलफल गर्ने जमर्को गरेको छु ।’

सहमहामन्त्री भीष्मराज आङ्देम्बे पनि महासमिति बैठकमा समावेशिताको पक्षमा गम्भीर रूपले छलफल हुने बताउँछन् । उनी भन्छन्, ‘सभापतिले पनि यो विषयलाई गम्भीर तरिकाले लिनुभएको छ ।’

महासमिति बैठक किन ?

कांग्रेसको १४ औँ महाधिवेशन ०७८ मंसिरमा भएको थियो । सो महाधिवेशनमा कांग्रेसको नीतिबारे छलफल नै नगरी नेतृत्व मात्रै चयन भएको थियो ।

१४ औँ महाधिवेशनमा कांग्रेसले विधान भने पारित गरेको थियो । यस्तै सभापतिमा शेरबहादुर देउवासहित १३४ जना केन्द्रीय सदस्यलाई निर्वाचित समेत गराएका थिए । कांग्रेसको केन्द्रीय कार्य समिति १६८ सदस्यीय रहने व्यवस्था छ । समावेशी सिद्धान्तमा टेकेर ३३ जना केन्द्रीय सदस्य मनोनित गर्न पाइने विधानमा व्यवस्था छ । तर हालसम्म ३१ सदस्य मात्र मनोनित भएका छन् ।

अब आयोजना हुने महासमिति बैठकले नीति तथा सिद्धान्तका विषयमा घनीभूत छलफल गर्ने सहमहामन्त्री उपाध्यायले खबरहबलाई बताइन् ।
महासमिति बैठकमा छलफल हुनुपर्ने एजेन्डाका विषयमा केन्द्रीय समिति बैठकले पनि सुझाव दिएको छ । सहमहामन्त्री उपाध्यायले भनिन्, ‘असोजमा बसेको केन्द्रीय कार्य समितिको बैठकले सुझाव दिएको छ ।’

कांग्रेसले महासमिति बैठकमा पेस गर्ने नीतिगत प्रस्ताव तयार गर्न उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा प्रस्ताव तयारी समिति गठन गरेको छ । समितिमा केन्द्रीय पदाधिकारी र प्रवक्ता डा.प्रकाश शरण महत सदस्य छन् ।

महासमितिको बैठकमा सहभागिताका लागि १ सय ६५ निर्वाचन क्षेत्रमध्ये १ सय ४५ निर्वाचन क्षेत्रमा महासमितिको चुनाव भइसकेको मुख्यसचिव पौडेलले बताए । उनले भने, ‘यसको सबै तयारी केन्द्रीय समिति र अन्य साथीहरूले आ–आफ्नो ढंगले गरिरहनुभएको छ ।’
आगामी बैठकमा सांगठनिक प्रतिवेदन महामन्त्री गगन थापाले पेस गर्ने कार्यक्रम छ । त्यस्तै समसामयिक राजनीतिक प्रस्ताव भने अर्का महामन्त्री विश्वप्रकाश शर्माले पेस गर्ने योजना रहेको बताइएको छ ।

बैठकमा महासमितिका सम्पूर्ण सदस्यहरू, १६५ निर्वाचन क्षेत्रबाट ११ जनाका दरले १ हजार ८ सय १५ जना महासमिति सदस्य सहभागी हुनेछन् । भातृ तथा शुभेच्छुक संस्थाबाट पनि प्रतिनिधित्व हुने उपाध्यायले बताइन् ।

विदेशस्थित जनसम्पर्क समितिबाट पनि प्रतिनिधित्व हुने विधानमा प्रावधान छ । कांग्रेस मुख्यालयले दिएको जानकारीअनुसार महासमिति बैठकमा बैठकमा केन्द्रीय पदाधिकारी र सदस्यसहित अधिकतम २४ सयको हाराहारीमा प्रतिनिधि सहभागी हुनेछन् ।

गुट–उपगुटले असर नगर्ने दाबी

नेपाली कांग्रेसमा विभिन्न गुट उपगुट छन् । कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीको निर्णय हुनु भन्दा अगाडि विभिन्न विचारहरूमा तर्क बहस छलफल हुने भएकाले त्यसलाई नकार्न नमिल्ने नेताहरू बताउँछन् ।

विभिन्न एजेण्डा उब्जिएपछि केन्द्रीय समितिले छलफल गरेर पास गरेको विषयलाई सबैले मान्नुपर्ने सचिव पौडेलको भनाइ छ । उनले पुस्तान्तरण, रूपान्तरणको एजेण्डाले मात्र राजनीतिमा खासै महत्व नराख्ने बताए । अनुभव, व्यवहार र कार्यशैलीमा स्पष्टता हुनुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  ९ : २९ बजे

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य