आर्थिक

अर्थसंक्षेप : २५ अंकले बढ्यो नेप्से, दसैँपछि घोडेपानी र पुनहिलमा बढे पर्यटक

By खबरहब

October 22, 2024

काठमाडौं- मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) २५.८८ अंकले बढेको छ । यस्तै,सडक डिभिजन कार्यालय हेटौँडाले गत आर्थिक वर्षमा मकवानपुर, बारा र पर्सामा १८ किलोमिटर सडक कालोपत्र गरेको छ भने सुनको मूल्यले आज पनि नयाँ कीर्तिमान बनाएको छ ।

यता,कर्णालीको प्राङ्गारिक स्याउ बजारमा सस्तो दरमा उपलब्ध भएपछि यस वर्ष दसैँ–तिहारको कोसेलीका रुपमा घरघरमा पुगेको छ । यसरी नै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रसिद्ध पर्यटकीयस्थल घोडेपानी र पुनहिलमा दसैँपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको छ ।

प्रमुख आर्थिक समाचारहरु : 

२५ अंकले बढ्यो नेप्से, कारोबार भने घट्यो

मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) २५.८८ अंकले बढेको छ । नेप्से ०.९८ प्रतिशतले बढेर २६६५.८१ विन्दुमा पुगेको हो ।

आज ४ अर्ब १७ करोड १६ लाख ६५ हजार रुपैयाँ बराबरको १ करोड ९ लाख ६२ हजार २८१ कित्ता शेयर किनबेच भएको छ । प्रि ओपन सेसनमा झिनो अंकले बढेर सुरु भएको शेयर बजार खुलेको केही समयमै माथि गएको थियो । तर, बजारमा दिनभर उतारचढाव हुँदा पनि बजार बन्द हुँदा भने नेप्से २५ अंकले बढ्यो ।

आज १९९ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ४० वटा कम्पनीको शेयर मूल्य घटेको छ । ५ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । ३१४ वटा कम्पनीको शेयर कारोबारमा आएको छ । ५३ हजार ६७८ पटक शेयर किनबेच भएको छ ।

आज १३ वटा समूहमध्ये सबै समूहमा हरियाली छाएको छ । सबैभन्दा बढी फाइनान्स समूह ३.०३ प्रतिशतले बढेर ३ हजार २८४.३५ विन्दुमा पुगेको छ । सबैभन्दा कम म्युचुअल फण्ड समूह ०.२७ प्रतिशतले बढेर २१.१९ विन्दुमा पुगेको छ ।

एकवर्षमा १८ किलोमिटर सडक कालोपत्र, छ वटा पुल निर्माण

सडक डिभिजन कार्यालय हेटौँडाले गत आर्थिक वर्षमा मकवानपुर, बारा र पर्सामा १८ किलोमिटर सडक कालोपत्र गरेको छ । सो अवधिमा छ वटा पुल निर्माण भएका छन् ।

मकवानपुर, बारा र पर्सामा रणनीतिक सडकमध्ये १६ किलोमिटर सडक कालोपत्र गरिएको कार्यालयका सूचना अधिकारी इन्जिनियर रमेश पाण्डेले जानकारी दिए। उनकाअनुसार सो आवमा बारामा ११, पर्सामा छ र मकवानपुरमा एक किमि सडक कालोपत्र भएका छन् ।

निर्माणाधीन १२ वटा पुलमध्ये छ वटा निर्माण सम्पन्न भएका छन् । बाँकी छ वटा पुल चालु आवमा सम्पन्न हुने गरी निर्माण भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ ।

डिभिजन कार्यालयका सूचना अधिकारी पाण्डेका अनुसार निर्माणाधीन पुलमध्ये पर्सामा तीन, बारामा दुई र मकवानपुरमा एक छन् । चालु आवमा सञ्चालित ४८ सडक पूर्वाधारका योजनामध्ये तीन महिनामा २४ वटाको योजना सम्झौता भइसकेको र १६ वटा सम्झौता प्रक्रियामा रहेको उनले जानकारी दिए ।

सुनको मूल्यमा दिनदिनै कीर्तिमान, कतिमा हुँदैछ किनबेच ?

सुनको मूल्य बढ्ने क्रम आज पनि जारी छ । सुनको मूल्यले आज पनि नयाँ कीर्तिमान बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलाको ३ सयले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ६५ हजार ९ सय पुगेको छ ।

यस अघि सोमबार सुन तोलाको एक लाख ६५ हजार ६ सयमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ ।

आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेर २१०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सवारीसाधन गुड्न मिल्ने गरी सञ्चालनमा आयो खुर्कोटको बेलिब्रिज

बाढीले बगाएको सिन्धुली–रामेछाप जोड्ने सुनकोसी नदीमा जडान भएको बेलिब्रिज आजबाट सञ्चालनमा आएको छ ।

बेलिब्रिज भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बेलिब्रिजको शुभारम्भ गरेका हुन् । गत असोज ११ र १२ गते परेको अविरल वर्षासँगै आएको बाढीले सिन्धुलीको गोलन्जोर गाउँपालिकाको खुर्कोट र रामेछापको मन्थली नगरपालिकाको सेलेघाट जोड्ने खुर्कोट पुल बगाएको थियो।

पुल बगाएपछि नेपाली सेनाले बेलिब्रिज बनाएको हो । नेपाली सेनाले तीन सातामै सुनकोशी नदीमा एमपिबी (मोडुलर प्यानल ब्रिज) राखेर सिन्धुली र रामेछाप जिल्लालाई जोडेको थियो । निर्माण सम्पन्न भए पनि पुलको मुखमा ढलान गरिएकाले यातायात सञ्चालन भने भएको थिएन ।

बाढीले मन्थली, रामेछापतर्फको एउटा भाग बगाएपछि सडक सम्पर्क पूर्ण रुपमा टुटेको थियो ।

बागलुङमा ५६ हजार दुई सय ४० मेट्रिकटन आलु उत्पादन

बागलुङमा आलुखेती विस्तारमा जोड दिइएको छ । जिल्लाको माथिल्लो क्षेत्रमा आलु उत्पादन बढ्दै राम्रो हुँदै गएपछि दुई वर्षदेखि क्षेत्र विस्तार गर्न थालिएको हो ।

किसानले आलुखेतीतर्फ चासो देखाउन थालेपछी कृषि ज्ञान केन्द्रले लगानी गर्दै आएको छ । बागलुङको तमानखोला, ताराखोला, निसीखोला र काठेखोला गाउँपालिका तथा ढोरपाटन नगरपालिकालगायत क्षेत्र आलु उत्पादनका लागि उपयुक्त रहेको हुँदा किसानलाई प्रोत्साहनसमेत गर्न थालिएको हो ।

गत वर्ष ज्ञान केन्द्रले नयाँ क्षेत्र विस्तारका लागि दुई करोड ६० लाख लगानी गरेको र चालु आर्थिक वर्ष एक करोड ५९ लाख लगानी गर्न थालेको हो । गत वर्ष गण्डकी प्रदेश सरकारले खायन आलुखेतीका लागि रु तीन करोड ६० लाख विनियोजन गरेको कृषि ज्ञान केन्द्रका प्रमुख राजेश्वर सिलवालले जानकारी दिए।

गत वर्ष ज्ञान केन्द्रले एक सय ३६ हेक्टर नयाँ क्षेत्रमा आलु लगाएको र यस वर्ष थप क्षेत्र विस्तार गर्ने उनको भनाइ छ । बर्खे र हिउँदे गरी दुई याममा आलु उत्पादन हुने जिल्लामा बर्सेनि करोडौँ भित्रिने गरेको छ । प्रमुख सिलवालका अनुसार यस वर्ष आलु तीन हजार सात सय हेक्टरमा लगाइएको थियो ।

वीरगञ्जको क्रिकेट मैदान स्तरोन्नति गरिँदै

यहाँको नारायणी रङ्गशाला परिसरमा अवस्थित क्रिकेट मैदान स्तरोन्नति सुरु गरिएको छ। वर्षौदेखि मर्मतसम्भार र संरक्षण अभावमा रहेको मैदानको स्तरोन्नति थालिएको हो ।

नेपाल क्रिकेट सङ्घले आगामी डिसेम्बरदेखि जनवरीसम्म मधेश प्रदेशको जनकपुर र वीरगञ्जमा दुई दिवसीय एलिट कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेसँगै वीरगञ्जको क्रिकेट मैदान पिच तथा स्तरोन्नतिको काम अघि बढाइएको हो ।

एलिट कपमा मधेश प्रदेश, बागमती, नेपाल पुलिस र त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गर्नेछन् । पर्सा क्रिकेट सङ्घका अध्यक्ष मनिष सिंहले सम्भावित एलिट कपलाई लक्षित गरेर वीरगञ्ज क्रिकेट मैदानको स्तरोन्नति थालिएको जानकारी दिए।

‘वीरगञ्ज क्रिकेट मैदान लामो समयदेखि अलपत्र हुँदै आइरहेको थियो । एलिट कपको पूर्वसन्ध्यामा कम्तीमा क्रिकेट मैदानमा अन्तर्राष्ट्रियस्तरको ‘पिच’ निर्माण थालनी गरेका छौँ,’उनले भने, ‘मङ्सिरको दोस्रो सातासम्म क्रिकेट मैदानको पिच र अन्य संरचना निर्माण हुन्छ ।’

तिहारलाई कोसेली कर्णालीको स्याउ

कर्णालीको प्राङ्गारिक स्याउ बजारमा सस्तो दरमा उपलब्ध भएपछि यस वर्ष दसैँ–तिहारको कोसेलीका रुपमा घरघरमा पुगेको छ ।

आयातीत भारतीय र चीनको भन्दा सस्तो, स्वादिलो र लामो समयसम्म भण्डारण गर्न सकिने भएकाले नेपालगन्जवासीको रोजाइमा कर्णालीको स्याउ परेको छ । नेपालगन्जको धम्बोझीमा कर्णालीको स्याउ किन्दै गरेका बाँकेको खजुराका युवा व्यवसायी शतिश निरौलाले दसैँमा घरमा खान, पाहुनालाई प्रसाद तथा मान्यजनकहाँ जाँदा कोसेली लैजान कर्णालीको स्याउ स्वादिलो र सजिलो भएको बताए।

‘सिजनको जुम्ली स्याउ स्वादिलो र रसिलो हुने भएकाले नेपालगन्जबाट अन्यत्र जाँदा दसैँ–तिहारमा कोसेलीका रुपमा लैजाने सहज भएको छ’, उनले भने, ‘विदेशी स्याउको तुलनामा कर्णालीको स्याउ स्वादिष्ट र सस्तोसमेत भएकाले यो वर्ष धेरैको रोजाइमा परेको छ ।’

नेपालगन्ज उपमहानगरपालिका–१० आदर्शनगर निवासी मङ्गलीमाया श्रेष्ठले यस वर्षको दसैँमा कर्णालीको स्याउ कोसेलीका रुपमा १५ किलो खपत गरेको बताए। घरमा आउने पाहुनालाई प्रसाद दिने मात्र नभएर मान्यजनकहाँ दसैँको टीका, जमरा र आशीर्वाद लिन जाँदा पनि सजिलो हुने भएकाले स्याउ नै बोकेर जाने गरेको उनको भनाइ छ ।

सडक र विद्युत् सुविधासँगै सुगम बन्दै गाउँ

मालिका गाउँपालिका–३ पात्लेमा तीन वर्षअघि सडक विस्तार भएको थियो। करिब एक सय २० परिवारको बसोबास रहेको पात्ले गाउँमा हालै केन्द्रीय प्रसारण लाइनमार्फत विद्युतीकरण भएपछि गाउँ सुगम बन्दै गएको छ ।

“काँधको छाला खुइलिने गरी पोल बोकेर १० वर्षअघि लद्यु जलविद्युत् परियोजना बनाएर दैनिकी सहज बनाउने उद्देश्यले बिजुली बालेका हौँ”, मालिका–३ लुम्पीपारका हेमबहादुर पुनले भने, “केन्द्रीय लाइनको विद्युत् सुविधा भएपछि भनेको समयमा सस्तोमा बिजुली बाल्न पाएका छौँ।”

मालिका–३ पात्लेमा सोमबार भएको विद्युतीकरण योजनाको उद्घाटन कार्यक्रममा सहभागी हेमबहादुर जस्तै अधिकांश गाउँलेहरु खुसी देखिए। “टुकीको ढिपदिपे उज्यालोमा पढ्नुपर्ने अवस्थाको अन्त्य भएको छ”, शिक्षकसमेत रहेका पात्लेका भूमिराज रोकाले भने, “सडक र विद्युत् सुविधासँगै कुनै समय जिल्लाकै दुर्गम मानिएको बस्ती पात्ले र लुप्सीपार अब सुगम भएका छन्।”

साँझ, बिहान घरायसी काम गर्न सहज हुनुका साथै उद्यम÷व्यवसाय सञ्चालन गरेर आयआर्जनको अवसर पनि सिर्जना भएको पात्लेकी बालकुमारी रोकाले बताइन्।

असिनाले धानबाली नष्टहुँदा कृषक चिन्तित

पर्वतका विभिन्न क्षेत्रमा हालै परेको असिनापानीका कारण पाक्ने बेलाको धानमा नोक्सानी पुगेको छ ।

कतिपय स्थानमा किसानले काटेर खेतमै सुकाएको धानमा क्षति पुगेको छ भने कतिपय ठाउँमा पाकेको धान झारेर नष्ट भएको किसानले गुनासो गरेका छन् ।

पर्वतको कुश्मा र फलेवास नगरपालिका, जलजला, मोदी र महाशिला गाउँपालिकाका विभिन्न ठाउँमा असिनापानीले क्षति गरेको हो ।

कुश्मा–१० पिपलटारीका किसान दीपक सुवेदीले पाकेर काट्ने बेलाको धान असिनाले नष्ट गरिदिएको गुनासो गरे । उनका अनुसार केही दिनमा काट्ने तयारी भएको धानमा क्षति पुगेको हो । एक घण्टासम्म परेको असिनापानीले झण्डै ४० प्रतिशत धान झारेको उनको भनाइ छ । सुवेदीका अनुसार जुकेखोला, चिन्नेखोला, अधिकारीफाँट, मल्याङ्दी, सालघारी, अर्गसेलगायत फाँटमा ठूलो नोक्सानी पुगेको छ ।

दसैँपछि घोडेपानी र पुनहिलमा बढे पर्यटक

चक्रीय अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रसिद्ध पर्यटकीयस्थल घोडेपानी र पुनहिलमा दसैँपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको छ ।

हिमशृङ्खला र सूर्योदयको मनोरम दृश्यावलोकनका लागि अहिले आन्तरिक तथा बाह्य पर्यटकको भीड लागेको घोडेपानीका होटल व्यवसायीहरुले बताएका छन् ।

दसैँको समयमा घोप्टेखर्कमा पहिरोले अवरुद्ध बनाएको सडक मर्मत गरेर पोखरेबगर–घोडेपानी सडकमा जिप र मोटरसाइकल सञ्चालन गर्न मिल्ने बनाएपछि घोडेपानी तथा पुनहिलमा पर्यटकको आगमन बढेको घोडेपानी टोल सुधार समितिका उपाध्यक्ष जुली ठकुरी पुनले बताए।

उनका अनुसार तिहार र छठ पर्वका अवसरमा घोडेपानी घुम्न आउने आन्तरिक पर्यटकलाई यहाँका सबै होटल तथा लजले खाजा, खाना र आवासमा १० प्रतिशतसम्म छुट दिएका छन् । म्याग्दीको सदरमुकाम बेनीबाट सवारी साधनमार्फत दैनिक एक सयको हाराहारीमा आन्तरिक पर्यटक घोडेपानी आएका छन्भने कास्कीको उल्लेरी, घान्द्रुक, म्याग्दीको मोहरेडाडा, पर्वतको भुक देउराली हुँदै पैदलयात्रा गरेर आउने पर्यटकहरुको सङ्ख्या पनि उल्लेख्य रहेको होटल व्यवसायीहरूले बताएका छन् ।