वीरगञ्जको क्रिकेट मैदान स्तरोन्नति गरिँदै | Khabarhub Khabarhub

वीरगञ्जको क्रिकेट मैदान स्तरोन्नति गरिँदै


६ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज – यहाँको नारायणी रङ्गशाला परिसरमा अवस्थित क्रिकेट मैदान स्तरोन्नति सुरु गरिएको छ। वर्षौदेखि मर्मतसम्भार र संरक्षण अभावमा रहेको मैदानको स्तरोन्नति थालिएको हो । 

नेपाल क्रिकेट सङ्घले आगामी डिसेम्बरदेखि जनवरीसम्म मधेश प्रदेशको जनकपुर र वीरगञ्जमा दुई दिवसीय एलिट कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेसँगै वीरगञ्जको क्रिकेट मैदान पिच तथा स्तरोन्नतिको काम अघि बढाइएको हो । 

एलिट कपमा मधेश प्रदेश, बागमती, नेपाल पुलिस र त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गर्नेछन् । पर्सा क्रिकेट सङ्घका अध्यक्ष मनिष सिंहले सम्भावित एलिट कपलाई लक्षित गरेर वीरगञ्ज क्रिकेट मैदानको स्तरोन्नति थालिएको जानकारी दिए। 

‘वीरगञ्ज क्रिकेट मैदान लामो समयदेखि अलपत्र हुँदै आइरहेको थियो । एलिट कपको पूर्वसन्ध्यामा कम्तीमा क्रिकेट मैदानमा अन्तर्राष्ट्रियस्तरको ‘पिच’ निर्माण थालनी गरेका छौँ,’उनले भने, ‘मङ्सिरको दोस्रो सातासम्म क्रिकेट मैदानको पिच र अन्य संरचना निर्माण हुन्छ ।’

नेपाल क्रिकेट सङ्घमा आवद्ध बङ्गलादेशका क्युरेटर एमडी अब्दुल अल मनुको नेतृत्वमा क्रिकेट मैदानमा पिच तयार पार्ने काम भइरहेको छ । ‘मैदानमा १८ इन्चको गहिरो बनाएर पिच निर्माण भइरहेको छ,’ उनले भने, ‘अहिलेसम्म पिचको फाउण्डेसन तयार भइसकेको छ । यो मैदानमा अन्तर्राष्ट्रियस्तरकै पिच बन्ने छ ।’

क्रिकेट सङ्घका जिल्ला अध्यक्ष सिंहले पिच तयारसहित स्तरोन्नति गर्न मजदूरको ज्यालाबाहेक रु आठ लाख रुपैयाँ खर्च हुने जानकारी दिए। मैदान चार बिघा १८ कठ्ठा १५ धुर क्षेत्रफलमा फैलिएको छ । अध्यक्ष सिंहले क्रिकेट मैदान मुआब्जा विवाद र बजेट अभावका कारण संरक्षण गर्न नसकिएको गुनासो गरे।

‘चार कठ्ठा जग्गाको मुआब्जा प्रक्रिया अघि बढाउन नसक्दा क्रिकेट मैदान संरक्षण र रेखदेख गर्न सकिरहेका छैनौँ,’ उनले भने ,‘मुआब्जाका लागि आर्थिक स्रोत र आवश्यक प्रक्रिया अघि बढाउन जरुरी छ ।’

मधेश प्रदेश क्रिकेट सङ्घका सचिव आयुष श्रेष्ठले मधेश क्रिकेटको उर्वरभूमि भए पनि पूर्वाधार कमजोर रहेको बताए। उनले राज्यले मधेश प्रदेशमा क्रिकेटको पूर्वाधार विकासमा जोड दिनुपर्ने बताए।

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलबार  २ : ४६ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग