खेलकुद

युरोकप २०२४ : बेल्जियमको पहिलो जित

By खबरहब

June 23, 2024

काठमाडौं– १७औँ संस्करणको युरोकप फुटबलमा बेल्जियमले पहिलो जित निकालेको छ । आज बिहान सम्पन्न समूह ‘ई’ को खेलमा रोमानियालाई २–० गोलले हराउँदै बेल्जियम विजयी भएको हो ।

बेल्जियमको जितमा युरी टिलेमन्स र केभिन डी ब्रुएनाले एक–एक गोल गरेका थिए । खेलको दोस्रो मिनेटमा टिलेमन्सले बेल्जियमलाई सुरुवाती अग्रता दिलाएका थिए ।

यस्तै ६३औँ मिनेटमा रोमेलु लुकाकुले गोल गरे पनि भीएआरले त्यसलाई मान्यता दिएन । त्यसपछि ८०औँ मिनेटमा ब्रुएनाले गोल गर्दै बेल्जियमलाई २–० गोलको जित दिलाए ।

यो जितसँगै बेल्जियम ३ अंकका साथ समूहको दोस्रो स्थानमा छ । पराजित भएको रोमानिया तीन अंकसहित शीर्षस्थानमा छ । यसअघिको खेलमा बेल्जियम स्लोभाकियायासँग पराजित भएको थियो भने रोमानियाले युक्रेनलाई हराएको थियो ।

समूह ‘ई’ मा रहेका स्लोभाकिया र युक्रेन पनि ३–३ अंकसहित क्रमशः तेस्रो र चौथो स्थानमा छन् । यो समूहबाट चारवटै टोली अन्तिम १६ मा पुग्ने प्रतिस्पर्धामा छन्।

अब २६ जुनमा स्लोभाकिया र रोमानिया तथा युक्रेन र बेल्जियमबीच प्रतिस्पर्धा हुनेछ ।

यो पनि… पोर्चुगल युरोकपको अन्तिम १६ मा युरोकप २०२४ : जर्जिया र चेक गणतन्त्रको बराबरी