आर्थिक

अर्थसंक्षेप : भ्रष्टाचार विधेयकबाट हटाइयो पाँच वर्षे हदम्याद, २४ खर्ब ७२ अर्बको सार्वजनिक ऋण

By खबरहब

August 30, 2024

काठमाडौं– भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकबाट भ्रष्टाचारको अनुसन्धानका लागि प्रस्तावित पाँच वर्षे हदम्यादको प्रावधान हटाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयमा ‘हाइड्रोजन कार’ र रिफ्युलिङ प्रणालीको शुक्रबार शुभारम्भ गरेका छन् । नेपाल–भारत सीमापार १८ किलोमिटर प्रसारणलाइन निर्माण सम्झौतामा हस्ताक्षर भएको छ ।

त्यस्तै, गत भदौ २ गतेबाट शेयर बजार घट्दो क्रममा छ । चालु आर्थिक वर्ष २०८१/०८२ को साउन मसान्तसम्म सार्वजनिक ऋण २४ खर्ब ७२ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७९/८०’ सार्वजनिक गरेको छ ।

यस्ता छन् आजका प्रमुख आर्थिक समाचारहरू : 

भ्रष्टाचार विधेयकबाट हटाइयो पाँच वर्षे हदम्याद

भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकबाट भ्रष्टाचारको अनुसन्धानका लागि प्रस्तावित पाँच वर्षे हदम्यादको प्रावधान हटाइएको छ । शुक्रबार बसेको संसदको राज्य व्यवस्था तथा सुशासन समितिले सर्वसम्मति रूपमा भ्रष्टाचारको अनुसन्धानमा हदम्याद राख्ने प्रस्तावित व्यवस्थालाई हटाउने निर्णय गरेको सभापति रामहरि खतिवडाले जानकारी दिएका हुन् ।

समितिको बैठकमा गृहमन्त्री रमेश लेखकले हदम्याद सम्बन्धी व्यवस्था नराख्न सरकार तयार रहेको बताए । विधेयकमा सरकारले भ्रष्टाचारको छानबिन गर्न पाँच वर्षे हदम्याद राख्ने प्रस्ताव ल्याएपछि सांसदहरूसहित आम रूपमा चर्को आलोचना भएको थियो ।

नेपालमै गुड्ने भयो हाइड्रोजनबाट चल्ने कार, प्रधानमन्त्रीले गरे शुभारम्भ

प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयमा ‘हाइड्रोजन कार’ र रिफ्युलिङ प्रणालीको शुक्रबार शुभारम्भ गरेका छन् । विश्वविद्यालयको २९ औं दीक्षान्तअघि उक्त ञहाइड्रोजन कार’ र रिफ्युलिङ प्रणालीको शुभारम्भ गरिएको हो । यससँगै अब नेपालमै हाइड्रोजनबाट चल्ने कार पनि पहिलो पटक गुड्ने छ ।

दक्षिण कोरियामा बनेको हुन्डाई कम्पनीको हाइड्रोजन कार विश्वविद्यालयले नेपाल आयल निगमको सहयोगमा ३३ हजार अमेरिकी डलरमा खरिद गरी नेपाल ल्याएको थियो । प्रधानमन्त्री ओलीले कार्यक्रममा संक्षिप्त प्रतिक्रिया दिँदै हाइड्रोजन प्रयोगले कार्बन उत्सर्जन कमी भई प्रदूषण कम गर्न सहयोग हुने बताएका छन् ।

काठमाडौं विश्वविद्यालय (केयू) ले २०८ मंसिरमै कोरियाबाट उक्त कार ल्याएको थियो। उक्त कार करिब एक वर्षपछि अब गुड्ने भएको हो । विश्वविद्यालयअन्तर्गत ग्रीन हाइड्रोजन ल्याबले परीक्षण प्रयोजनका लागि उक्त कार ल्याएको थियो । इन्धनका कारण सञ्चालनमा हुन नसकेको कारका लागि काठमाडौं विश्वविद्यालय परिसरमै रि–फ्युलिङ सेन्टर बनाइएको हो । जसको ओलीले शुक्रबार उद्घाटन गरे ।

यससँगै नेपालमा पहिलो पटक हाइड्रोजन फ्युल सेलमा आधारित सवारीसाधन सञ्चालन भएको केयूका उपप्राध्यापक तथा ल्याबका प्रमुख डा. विराजसिंह थापाले बताए । हाइड्रोजन गाडी नेपाल भित्रिए पनि कानुन अभावका कारण दर्ता हुन समस्या भएको थियो । हाइड्रोजन गाडी ल्याउनुको प्रमुख उद्देश्य विश्वविद्यालयले तयार गरेको फ्युल स्टेशनको अनुसन्धान गर्नु हो ।

एमसीसी सहयोगको सीमापार प्रसारणलाइन निर्माण गर्न हस्ताक्षर

नेपाल–भारत सीमापार १८ किलोमिटर प्रसारणलाइन निर्माण सम्झौतामा हस्ताक्षर भएको छ । मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल (एमसीए–नेपाल) र निर्माण कम्पनी ट्रान्सरेल लाइटिङ लिमिटेडबीच प्रसारणलाइन निर्माण सम्झौतामा हस्ताक्षर भएको हो ।

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा निर्माणाधीन ४०० केभी क्षमताको नयाँ बुटवल सबस्टेशनदेखि नेपाल–भारत सीमासम्म जडान हुने सो प्रसारणलाइन अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सहायता अन्तर्गतको हो । सो प्रसारणलाइन निर्माण लागत एक करोड २३ लाख ६० हजार अमेरिकी डलर (करिब एक अर्ब ६३ करोड रुपैयाँ) हो । २१ महिनाभित्र काम सम्पन्न गर्नेगरी निर्माण ठेक्का भारतको ट्रान्सरेल लाइटिङ लिमिटेडले पाएको छ ।

निर्माण सम्झौतामा एमसीए नेपालका कार्यकारी निर्देशक खड्ग बहादुर विष्ट र ट्रान्सरेल लाइटिङ लिमिटेड प्रतिनिधि अमोल वाङ्खेदेले हस्ताक्षर गरेका हुन् । एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रम कार्यान्वयन (इन्ट्री इन्टु फोर्स–ईआइएफ) चरणमा आएको एक वर्ष पूरा भइसकेको छ । एमसीए नेपालले नेपाल र भारतबीचको क्षेत्रीय ऊर्जा व्यापार अभिवृद्धि गर्न प्रसारणलाइन निर्माण सम्झौताले सघाउन पु¥याउने दाबी गरेको छ ।

घट्दो शेयर बजार – के भन्छन् लगानीकर्ता ?

गत भदौ २ गतेबाट शेयर बजार घट्दो क्रममा छ । सो दिन २४ अङ्कले घट्न सुरु गरेको शेयर बजार हिजो (भदौ १३ गते बिहीबार) सम्म २१६.५७ अङ्कले घटिसकेको छ । यसबीच तीन दिन बजार बढे पनि झिनो अङ्कले बढेकाले समग्रमा बजारमा ठूलो गिरावट आएको छ । बजार घट्दा ठूलो अङ्कले घट्ने र बढ्दा झिनो अङ्कले बढ्ने भएकाले बजारमा २१६ अङ्कले पछिल्लो साता कारोबार नै घटेको छ ।

बजार घट्न सुरु भएसँगै कारोबार समेत घट्न थालेको छ । भदौ २ गते २८ अर्ब २७ करोड रुपैयाँ कारोबार भएकोमा दिनहुँ घट्दै भदौ १३ सम्म १२ अर्ब ६ करोड रुपैयाँमा सीमित भएको छ । नेप्से सूचक र कारोबार रकमसँगै शेयर किनबेच पनि घटेको छ । भदौ २ गते पाँच करोड ६८ लाख कित्ता शेयर किनबेच भएकोमा भदौ १३ सम्म आउँदा २ करोड ३७ लाख कित्ता मात्र किनबेच भएको छ ।

२४ खर्ब ७२ अर्ब नाघ्यो सार्वजनिक ऋण

चालु आर्थिक वर्ष २०८१/०८२ को साउन मसान्तसम्म सार्वजनिक ऋण २४ खर्ब ७२ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ । चालु आवको सुरुमा यस्तो ऋण दायित्व २४ खर्ब ३१ अर्ब ३३ करोड रुपैयाँ थियो । चालु आवको पहिलो साउन मसान्तसम्म ४१ अर्ब ११ करोड ऋण थपिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । चालु आवको सुरुमा आन्तरिक ऋण ११ खर्ब ८० अर्ब ९० करोड र बाह्र ऋण दायित्व १२ खर्ब ५० अर्ब ४३ करोड रुपैयाँ थियो ।

साउन मसान्तसम्म आन्तरिक ऋण ४० अर्ब र बाह्य ऋण ३ अर्ब ५९ करोड २० लाख रुपैयाँ रहेको तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको हो । तथ्याङ्कमा उल्लेख भएअनुसार साउन मसान्तसम्म सरकारले आन्तरिक र बाह्र ऋण दायित्वमध्ये १९ अर्ब २७ करोड ५ लाख रुपैयाँ भुक्तानी गरेको छ ।

सो अवधिमा बाह्रय ऋण दायित्वका कारण सिर्जना भएको विनिमय दरमा आएको परिवर्तनका कारण थप १६ अर्ब ७९ करोड १२ लाख रुपैयाँ नोक्सान वा थप दायित्व सिर्जना हुँदा साउन मसान्तसम्म ४१ अर्ब ११ करोड रुपैयाँ सार्वजनिक ऋण थप भएको देखिन्छ ।

त्यस्तै; चालु आर्थिक वर्षमा ५ खर्ब ४७ अर्ब रुपैयाँ ऋण परिचालन गर्ने लक्ष्य लिएकोमा साउन मसान्तसम्म ४३ अर्ब ५९ करोड रुपैयाँ ऋण प्राप्त भएको छ । ऋण परिचालन गर्ने वार्षिक लक्ष्यको तुलनामा ७.९७ प्रतिशत ऋण प्राप्ति भएको कार्यालयले जनाएको छ ।

नेपालमा ५८ देशको वैदेशिक लगानी, सबैभन्दा बढी भारतको

नेपाल राष्ट्र बैंकले ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७९/८०’ सार्वजनिक गरेको छ । प्रत्यक्ष वैदेशिक लगानीको क्षेत्रगत अवस्था एवम् प्रवृत्ति विश्लेषण गरी नीति निर्माणमा सहयोग पु¥याउने उद्देश्यले राष्ट्र बैंकले प्रत्येक आर्थिक वर्षमा स्थलगत सर्वेक्षण सम्पन्न गरी प्रतिवेदन प्रकाशन गर्दै आएको छ ।

आर्थिक वर्ष २०७९/८० मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनीमध्ये कुल दुई सय ३८ वटा कम्पनीको नमूना छनोट गरी सर्वेक्षणबाट प्राप्त तथ्याङ्क तथा अन्य विवरणको विश्लेषणका आधारमा प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७९÷८०’ तयार पारिएको राष्ट्र बैंकले जनाएको छ ।

सर्वेक्षणबाट प्राप्त नतिजाअनुसार नेपालमा आर्थिक वर्ष २०७९/८० को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात ११ दशमलव आठ प्रतिशतले वृद्धि भई दुई खर्ब ९५ अर्ब ५० करोड रुपैयाँ कायम छ । कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंश ५२ दशमलव आठ प्रतिशत, सञ्चिति ३३ दशमलव सात प्रतिशत र कर्जाको अंश १३ दशमलव पाँच प्रतिशत रहेको छ ।

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?

आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । शुक्रबार सुन तोलामा ३ सयले घटेर एक लाख ५२ हजार ९ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि बिहीबार सुनको मूल्य १ लाख ५३ हजार २ सयमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेर १८२० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

निर्माण सुरु भएको १५ वर्षपछि अत्रौलीमा खानेपानी

सर्लाहीको चुरे क्षेत्रमा पर्ने अत्रौलीका स्थानीयले डेढ दशकको प्रतीक्षापछि खानेपानीको सुविधा पाएका छन् । निर्माण आरम्भ भएको १५ वर्षपछि हरिवन नगरपालिका–२, अत्रौलीका झण्डै पौने तीन सय घरधुरीले खानेपानी सुविधा पाएका हुन् ।

चुरेको काखमा रहेको साविक अत्रौली गाविसका आधा दर्जन गाउँका स्थानीय पानीको चरम अभाव झेल्न बाध्य थिए । खानेपानीको सुविधा नहुँदा खोलाको पानी पिउनु परेको स्थानीय नवराज मैनालीले बताए । ‘पानीको कुनै विकल्प थिएन, १५ वर्षदेखि पानी खान पाइन्छ कि भन्ने आशामा थियौँ, घरघरमै धाराबाट पानी आउन थालेपछि भने सुविधा भएको छ’, उनले भने ।

यसभन्दा पहिले वर्षामा खहरे खेलाको धमिलो पानी पिउने गरेको अर्का स्थानीय पशुपति शर्माले सुनाइन् । हिउँदमा खोला समेत सुक्दा पानीको चरम अभाव भएको उनले बताइन् । तर अहिले भने घरघरमै खानेपानीको धाराबाट पानी झरेपछि स्थानीय हर्षित भएका छन् । सङ्घीय सरकारको लगानीमा २०६६ साल देखि खानेपानी आयोजना सुरु भएको थियो । तर, पर्याप्त बजेट नपाउँदा अलपत्र पर्दै आएको आयोजना १५ वर्षपछि सम्पन्न भएको हो । यहाँका नागरिकलाई पानी खुवाउन सुरु भएको आयोजना ढिलो गरी पूरा भएको वडाध्यक्ष अर्जुनकुमार योञ्जनले जानकारी दिए ।

जनप्रतिनिधिको पहलमा नयाँ बोरिङ र पाइप लाइन विस्तार भएपछि करिब पौने तीन सय घरधुरीले तत्काल पानी उपभोग गर्न सुरु गरेका छन् । हरिवन नगरपालिका–२, का वडाध्यक्ष योञ्जनका अनुसार यस आयोजनालाई आर्थिक वर्ष २०७९/८० मा डिभिजन खानेपानी कार्यालय मलङ्गवाबाट नयाँ बोरिङका लागि बजेट प्राप्त भएको थियो ।