स्टोरी

सुहाङलाई जिताउन शिवमाया र महेशको त्यो मिहिनेत

By ज्ञानु घिमिरे

May 01, 2024

काठमाडौं–इलाममा लामो समयदेखि नेकपा एमालेको पकड छ । यहाँका दुवै निर्वाचन क्षेत्रमा एमालेले जित्दै आएको छ । गत भदौमा सुवास नेम्बाङको निधन भएपछि वैशाख १५ गतेको उपनिर्वाचनमा पनि पनि एमालेले इलाममा आफ्नो विरासत कायमै राखेको छ ।

तर यसका लागि यस पटक एमालेले कडा मिहिनेतसँगै फरक रणनीति पनि बनाउनु परेको थियो । कारण, पूर्वमा चलिरहेको पहिचानको आन्दोलन र नयाँ शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीको चुनौती ।

२०५६ देखि इलाम २ बाट निर्वाचित हुँदै आएका सुवास नेम्बाङको ठाउँमा एमालेले उनकै छोरा सुहाङलाई टिकट दिएको थियो । तर, छिमेकीले पनि नचिन्ने उम्मेदवार भन्दै चुनावी प्रचारका क्रममा रास्वपा र कांग्रेस नेताहरुले पटक पटक कटाक्ष गर्न भ्याए ।

तर एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेलले सुहाङलाई टिकट दिँदा आफ्नो सिट सुरक्षित हुने विश्वाससहित सुहाङलाई टिकट दिइएको बताउँछन् ।

यसअघि २०५६, २०६५, २०७० र २०७४ मा यसै क्षेत्रबाट निर्वाचित संविधानसभाका अध्यक्षसमेत रहेका नेम्बाङको सम्मानस्वरूप उनकै पुत्रलाई एमालेले अगाडि सारेको थियो । फलस्वरुप युवा उम्मेदवार सुहाङले इलामको भूगोलमा निरन्तर सक्रिय कांग्रेस नेता डम्बर खड्कालाई फराकिलो मतान्तरले हराए । यसले विरासत जोगाउँदै रास्वपा र पहिचानवादीको चुनौतीबीच पनि एमालेले आफूलाई अब्बल सावित गरेको छ ।

शिवमाया र महेशको मिहिनेत

इलाममा यो पटक एमालेलाई निर्वाचन जित्न सहज भने थिएन । २०७९ मा सुवास नेम्बाङसँग करिब डेढ सय मतले हारेका कांग्रेसका खड्का दोहोरिएका थिए । भेषराज आचार्यले चुनाव जित्ने इतर पक्षको दाबीबीच कांग्रेस सभापति शेरबहादुर देउवाले खड्कालाई नै विश्वास गरे ।

एकातिर डम्बरको चुनौती, अर्कातिर राष्ट्रिय स्वतन्त्र पार्टीले उथलपुथल गर्न सक्ने आँकलन । यी कारणले सुहाङलाई सहज थिएन । तर माओवादीको पनि साथ पाएका सुहाङले कांग्रेसका असन्तुष्ट मतदाताको पनि भोट तान्न सफल भए ।

सुहाङलाई पहिलो प्रतिस्पर्धामै प्रमाणित गर्न एमाले जिल्ला इन्चार्ज शिवमाया तुम्बाहाम्फे र जिल्ला अध्यक्ष महेश बस्नेतले ६ महिनासम्म कठोर मिहिनेत गरे । तुम्बाहाम्फेले १ वर्षदेखि इलामको भूगोलमा रहेर काम गरिरहेकी थिइन् । पार्टीले जिल्ला इन्चार्ज बनाएदेखि उनी इलाममा निरन्तर सक्रिय भइन्।

गत फागुन १३ गते उपनिर्वाचन घोषण भएपछि उनी इलाममै डेरा जमाएर बसिन् । जिल्ला अध्यक्ष एवम् इलाम १ का प्रतिनिधिभास सदस्य बस्नेत पनि ढुक्कै गृहजिल्लामा खटिए । पार्टी केन्द्रले उनीहरूलाई इलाममा केन्द्रित गरेको थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशनअनुसार दुवैले कडा मिहिनेत गरेर नतिजा पनि निकाले ।

शिवमाया इलाम बजारको चोकस्थित ‘होटेल ग्रीन भ्यू’ मा एक महिनासम्म बसेर इलाम २ का मतदाता र वडाहरूको स्थिति नियाल्न जुटिन् । उनी आवश्यकताअनुसार कार्यकर्तालाई निर्देशन दिइरहन्थिन्।

यता महेश कहिले सुहाङलाई लिएर घरदैलोमा खटिन्थे, कहिले मतदाताका जिज्ञासा र मनोभाव बुझ्ने काममा जुट्थे । उनले एमालेका मतदातादेखि अन्य दलका आस्थावानका गुनासो पनि सुने । सुहाङलाई जिताएपछि महेश भन्छन्, ‘म त लगभग इलाम २ का जनताको घर–घरमै पुगेँ ।’

उपनिर्वाचनका कारण होटेल ग्रीन भ्यूमा एमालेको चहलपहल बाक्लो थियो । कहिले अध्यक्ष ओली बास बस्थे । कहिले दोस्रो तहका नेताहरु । सुहाङ पनि सदरमुकाम आएको बेला त्यहीँ बसे । त्यही होटलमा शिवमायाले अन्य पार्टीको रणनीतिबारे जानकारी लिइरहन्थिन् ।

त्यहीँ बसेर शिवमाया इलामका चोक बजारमा अन्य दलका नेताका भाषण र चुनावी सभा नजिकबाट नियाल्थिन् । उनी रणनीति बुन्दै कार्यकर्तालाई अन्य दलको रणनीति र चुनावी माहोलबारे भनिरहिन्थन् । कतैबाट गुनासा आए तत्काल सुहाङलाई भेट्न भन्थिन् । महेशलाई पनि खबर गर्थिन् । महेश पनि मतदाता कन्भिन्स गर्न शिवमायालाई लगिरहन्थे ।

शिवमायाले खबरहबलाई भनिन्, ‘इलाम २ का सबै वडा डुलेँ, केही स्थानहरूमा अध्ययन गरेर साथीहरूलाई खटाएँ । सदरमुकामबाट आवश्यकता पर्दा फिल्डमा निस्किएर माहोल बुझेँ, कमजोरी भए तत्कालै सुधार गर्न लगाएँ ।’

यति मात्रै होइन, शिवमायालाई इलाम २ का मतदाताले खोजिरहन्थे । त्यसबेला दौडेर पुगेको उनले सम्झना गरिन् । पूर्व उपसभामुख र पूर्वमन्त्री भएका नाताले धेरैले आफूलाई खोजेको अनुभव उनीसँग छ ।

सुहाङलाई टिकट दिँदा एमालेमा असन्तुष्टि

इलामको उपचुनाव : सुवास नेम्वाङका छोरालाई उठाउने एमालेको संकेत

टिकट पाएपछि सुहाङले भने : ‘जित सुनिश्चित छ ’

‘कतिपय ठाउँमा त नगई नहुने हुन्थ्यो । मतदाताले भनेपछि पूरा गर्नपर्छ । ४२ वटा वडाका साथीहरूलाई आफ्नो आफ्नो काम दिएर पनि केही बेर पुग्थेँ’, उनले सुनाइन् ।

उनी केही घटना सम्झरे भावुक भइन् । ‘मलाई चुलाचुली गाउँपालिकामा टेलिभिजनमा देखेको कहाँबाट यहाँ आइन् एकजना आमाले रुँदै अँगालो हाल्नुभयो । उहाँले छोरीहरूका लागि तिमीले ठुलो काम गरेकी छौ भन्नु भयो, मसँग खुसी साट्नु भयो ।’

यता सुहाङलाई लिएर चुनावी मैदानमा हिँडेका महेशले आफ्नो फरक अनुभव सुनाए । ‘सुहाङलाई बाबुजस्तै लक्षण भएको मिहिनेती र इमानदार रहेछ भनेर उसको उम्मेदवारीमा सबै उमेर समूहले हर्ष व्यक्त गरे’, उनले सुनाए ।

यसरी सम्भव भयो जित

इलाममा सुहाङ नेम्वाङ विजयी

शिवमाया र महेशककै भनाइमा एमालेबाट सुहाङलाई टिकट दिँदा इलाम २ मा असन्तुष्टि थियो । तर सुरुमा असन्तुष्ट उनैले खुलेर सहयोग गरे । एमालेले सुहाङलाई ‘चोखो भोट’ दिएको चुनवी कमान्डर शिवमाया र अध्यक्ष बस्नेत बताउँछन् । कसरी सम्भव भयो त जित ?

पहिलो : यी दुई नेताका अनुसार एमालेले आफ्नो भोट सुरक्षित राख्न मतदातालाई सुहाङको उम्मेदवारीबारे कन्भिन्स गराएको थियो । मतदातालाई आफ्नो पहुँचमा राखेर सुहाङको पक्षमा उनीहरूलाई कन्भिन्स गरियो ।

दोस्रो : युवा उम्मेदवार उठाएकाले अरु दलका युवामाझ पनि सुहाङ छाए । सबै उमेर समूहका कुरा सुहाङले धैर्यपूर्वक सुने ।

तेस्रो :  सुवास नेम्बाङकै जस्तो भाषण शैली, इमानदार छवि, भद्र व्यवहार, प्रतिपक्षी नचिढ्याउने अभिव्यक्ति सुहाङमा पनि देखेपछि वृद्ध–वृद्धालेसमेत उनलाई माया, स्नेह सम्मानस्वरुप भोट दिए ।

चौथो : एमाले सरकार भएकै बेला सामाजिक सुरक्षाभत्तासहितले पनि पाका उमेर समूहको भोट तान्यो । अध्यक्ष ओली पनि छिमेकी जिल्लाका भएकाले आफैं त्यहाँ पुगे ।

पाँचौँ : ४२ वटा वडामा विशेष युवा पंक्ति परिचालन गरी अन्य पार्टीमा भोट ट्रन्फर हुन नदिन निगरानी गरियो । एक घर एक कार्यकर्ता परिचालनले काम गर्यो ।

छैटौँ : एमाले र पार्टीमा नखुलेका मतदाता र असन्तुष्टसँग वार्ता गर्न अध्यक्ष ओली समेत दुई पटक इलाम पुगे, फकाउने गरी भाषण गरे ।

सातौँ : निर्वाचन घोषणा भएपछि जिल्ला छोड्न नदिई इलामका नेता र कार्यकर्तालाई निर्वाचन प्रचारमा खटाइयो ।

आठौँ : सुवास नेम्बाङको निधनदेखि नै एमालेले इलाम केन्द्रित कार्यक्रम सञ्चालन गरेको थियो । शिवमाया र महेश लगायत प्रदेश र जिल्ला तहका नेतालाई मतदाताको सम्पर्कमा रहन निर्देशन थियो ।

नवौँ : इलाम २ का प्रत्येक मतदाताको घरबाट आएको रिपोर्टिङ तत्काल नेता पंक्ति र उम्मेदवार सहभागी भएर सम्बोधन गरे ।

दशौँ : माओवादी केन्द्रले पनि एमालेलाई इमानदारीपूर्वक भोट हाल्यो। कांग्रेसका असन्तुष्ट पक्षले सुहाङलाई भोट दिए ।

परीक्षणको कसीमा सुहाङ : विरासतमा रमाउने कि विश्वास कमाउने ?

सुहाङ नेम्बाङ : एमालेको विरासत जोगाए, नेताका रूपमा उदाए

डम्बरलाई मिलेन आफ्नैको साथ नेपाली कांग्रेसले चैत २२ गते मात्रै औपचारिक रूपमा डम्बर खड्कालाई उम्मेदवार बनाएको थियो । निर्वाचनको २२ दिन अगाडि मात्रै उम्मेदवारी छनोट गर्दा एमालेलाई आफ्नो पक्षमा माहोल बनाउन सजिलो भयो ।

अर्को कुरा कांग्रेसका डा. शेखर कोइराला पक्षले पनि डम्बरलाई भोट नदिएको भन्दै अहिले असन्तुष्टि बढेको छ।

इलाम २ को टिकटका लागि जिल्ला सभापति खड्का र महाधिवेशन प्रतिनिधि भेषराज आचार्यबीच प्रतिस्पर्धा थियो । केशव थापाले पनि इच्छा देखाए । सभापति देउवाले खड्काको नाम प्रस्ताव गरेका थिए भने विकल्पमा नेता कोइरालाले आचार्यको नाम अगाडि सारेका थिए ।

तर, अन्तिम समयमा खड्काले ०७९ कम्पाट पाएको भन्दै टिकट दिइएको थियो । ०७९ को निर्वाचनमा १ सय १४ मतले सुवाससँग हारेका डम्बरलाई यो पटक आफ्नै पार्टीका नेताहरूले नै हराएका छन् ।

टिकटमा ढिलाइका कारण असन्तुष्ट पक्षसँग कांग्रेस पूरा तयारीका साथ वार्तामा जानसमेत नपाएको देखिन्छ । चुनावी कमान्डरका रूपमा पठाइएका महामन्त्री विश्वप्रकाश शर्माले छोटो समयमा ४२ वटामा आफ्ना कार्यकर्ता परिचालन गरेका थिए । तर त्यो पर्याप्त थिएन ।

तर, एउटा पक्षले सहयोग नगर्दा कांग्रेसको राजनीतिमा धक्का लागेको छ । यसबारे खड्काले मुख खोलेका छैनन् । खबरहबको प्रश्नमा उनले भने, ‘आफ्नै पार्टीले जितेको वडा र गाउँपालिकाको मतपरिणामले पनि कसले कहाँ सहयोग गरे भन्ने थाहा भइहाल्छ नि ।’

दोस्रो पटक पराजयको चोट भोगिरहेका डम्बरले अरू कुरा थप्न चाहेनन् । खड्कालाई निर्वाचनमा सहयोग गर्न पाँचथरबाट खटिएका नेताहरू भने संस्थापन इतर समूहले खड्कालाई भोट नहालेर घात गरेको बताउँछन् । ती नेताले भने, ‘०७९ मा पाँचथरमा भीष्मराज आङदेम्बेलाई कांग्रेसकै एउटा समूहले हराएजस्तै खड्कालाई पनि हरायो ।’

०७९ को निर्वाचनमा पाँचथरमा अंगणितमा फराकिलो अग्रता हुँदा हुँदै पनि कांग्रेस सह–महामन्त्री आङ्देम्बेले ४६ मतको झिनो अन्तरले एमालेका वसन्त नेम्बाङसँग निर्वाचन हारेका थिए ।

इलाम-२ उपनिर्वाचन : देउवाले रोजे खड्का, सुहाङलाई ओलीको आशीर्वाद इलाम २ उपनिर्वाचन : देउवाको रोजाइमा डम्बरबहादुर खड्का नै