सुहाङ नेम्बाङ : एमालेको विरासत जोगाए, नेताका रूपमा उदाए | Khabarhub Khabarhub

सुहाङ नेम्बाङ : एमालेको विरासत जोगाए, नेताका रूपमा उदाए



काठमाडौं– नेकपा (एमाले) ले इलाम-२ को उपनिर्वाचनमा सुवासचन्द्र नेम्बाङका छोरा सुहाङलाई टिकट दिँदा पुराना नेता र शुभेच्छुक रिसाएका थिए ।

यसको कारण थियो – एमालेमा दुःख गरेका र पुराना नेतालाई टिकट नदिई अध्यक्ष केपी शर्मा ओलीले विरासतको राजनीतिलाई ध्यान दिएको भन्दै देखिएको असन्तुष्टि ।

सुहाङलाई एमालेकै पुराना नेताले असहयोग गर्ने कतिपयले आकलन गरिरहेका थिए । तर, एमाले अध्यक्ष ओली चुनावअघि इलाम पुगेर दुई पटकसम्म असन्तुष्टसँग वार्ता गरे । त्यसपछि सुहाङको विपक्षमा बोल्नेले पनि बोली फेरे । अन्ततः ओलीको निर्णयलाई सही सावित गर्दै सुहाङले बुवाको विरासत थेग्दै चुनाव जिते ।

यतिमात्रै होइन, कांग्रेसको पकड क्षेत्र भनिएको इलाम नगरपालिकाकाबाट पनि सुहाङलाई राम्रो मत झरेको छ । इलाम नगरपालिकामा कांग्रेसले वडा नम्बर ३, ४, ६ र ७ मा मात्र नेम्बाङलाई झिनो मतले उछिनेका छन् । १२ वडामध्ये कांग्रेसका डम्बर खड्काको वडा नम्बर ७ हो, उनले आफ्नो वडामा ९१ भोट मात्रै बढी ल्याए ।

यस्तै माई नगरपालिकामा पनि नेम्बाङको पक्षमै बलियो मत झरेको छ । ६, ७ र ८ वडा इलाम २ मा पर्ने माई नगरपालिकामा सुहाङले नै लिड गरे । देउमाई नगरपालिकामा पनि नेम्बाङकै लिड भयो । ९ वडा रहेको यो नगरपालिकाको ६ मा मात्रै कांग्रेसका खड्काले लिड गरे ।

यस्तै चुलाचुली गाउँपालिकामा पहिलो दल रहेको कांग्रेस तेस्रोमा झरेको छ भने एमाले र पहिचानवादी शक्ति लगभग समानान्तर आयो ।

कुल ६ वटा वडा रहेको चुलाचुलीबाट एमालेका सुहाङले ३२६४ मत पाएका छन् । पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले चुलाचुलीबाट ३०९५ मत बटुलेर दोस्रो बने ।

यता फाकफोकथुम गाउँपालिकामा पनि नेम्वाङले नै लिड गरे । किरात धर्मगुरु आत्मनन्द लिङ्देनको बसोबास रहेको क्षेत्र माङसेबुङ गाउँपालिकामा पहिचान पक्षधर थेगिमले राम्रो मत ल्याए । उनी त्यहाँ प्रथम भए ।

यसरी हेर्दा युवा उम्मेदवार सुहाङलाई इलाम २ का जनताले रुचाए । यसको पछाडि बुवा सुवासचन्द्र नेम्बाङको योगदान, उनको शालीन स्वभाव र इमानको राजनीतिले पनि काम गरेको इलाम २ का मतदाता विष्णु आचार्य बताउँछन्।

सुहाङकै शालीन स्वभाव, विनम्र र मिजासिलो बोली भएका उनले घरदैलो अभियानमा प्रतिस्पर्धी उम्मेदवार र नेताहरुलाई चिढ्याएनन् ।

अन्य उम्मेदवार प्रतिस्पर्धीलाई गाली गर्न उत्रिरहँदा सुहाङले त्यस प्रवृत्तिलाई नकारे । उनी कानून व्यवसायीसमेत हुन्। पहिरन छनोटमा पनि सुहाङ सचेत देखिए । ३४ वर्षीय सुहाङ अविवाहित हुन् । कतिपय नेताले उनलाई चुनाव लड्न नसक्ने भन्दै बरु बिहे गरेर घरजममा लाग्न सुझाउँदै कटाक्ष पनि गरे । तर उनी कसैको विचारको प्रतिकारमा उत्रिएनन् ।

फाकफोकथुम गाउँपालिका निवासी सुजता बस्नेत भन्छिन्‌, ‘हामीलाई सुहाङ युवा उम्मेदवार भएकाले धेरै आश लागेको छ । उहाँका बुवाले पनि कहिले बिझाउने काम गर्नुभएन, उहाँ पनि त्यही स्वभावको हुनुहुँदो रहेछ ।’

परिस्थिले राजनीति, बुबा र पार्टीको आशीर्वाद

सुहाङ अहिले नै राजनीतिमा होमिने मनसायमा थिएनन् । तर उनलाई बुवाको आकष्मिक निधनले राजनीतिमा होमिन बाध्य बनायो । गत भदौ २६ गते बुवाको अप्रत्यासित निधनपछि कानुनको दखल भएका सुहाङ राजनीतिमा लागे ।

उनका नजिकका साथी आरसी गौतम भन्छन्, ‘उहाँ केही समय वकालतको पेसामा रहने सोचमा हुनुहुन्थ्यो, तर परिस्थितले राजनीतिमा मोडिनु भयो ।’

सुहाङले पनि केही समयअगाडि खबरहबसँगको कुराकानीमा आफू परिस्थितले राजनीतिमा प्रवेश गरेको बताएका थिए ।

‘मलाई यो परिस्थिति बुझेर नेता र जनताले विश्वास गर्नु भएको छ । यो भरोसा र बुवाले देखाएको सपना पूरा गर्छु । विश्वास टुट्न दिने छैन ।’

पार्टीले विश्वास गरेर दिएको जिम्मेवारी पूरा गर्ने बचनसमेत उनले ओलीलाई दिएका छन् ।

उनका काका सुरेश नेम्बाङ पनि सुहाङमा बुवा सुवासको जस्तै विनम्र र शालीन व्यक्तित्व रहेको बताउँछन् । उनी सुहाङमा आफ्ना दाजु सुवासको अनुहार देख्ने गरेको बताउँछन् ।

एक महिनादेखि एमालेका नेताहरू खटिए
सुहाङलाई जिताउन १ महिना अघिदेखि एमाले नेताहरू खटिएका थिए । पूर्व उपसभामुख शिवमाया तुम्बाहाम्फे, प्रतिनिधिसभाका संसद् तथा एमाले जिल्ला अध्यक्ष महेश बस्नेत सुहाङसँगै एक महिना खटिए । उनीहरूले न त सुहाङलाई छोडे न त इलामबाहिर हुने पार्टीको कार्यक्रममै सहभागी भए ।

ललितपुरको गोलाबारीमा चैत ८ र ९ गते भएको एमाले महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमासमेत इलाममा खटिएका कुनै नेताहरूलाई पार्टीले बोलाएन ।

यसबारे एमाले जिल्ला अध्यक्ष बस्नेत भन्छन्, ‘हामीले मिहिनेत गरेका थियौँ । जनताको प्रिय पार्टी हो एमाले, मतदाताले पनि पुष्टि गरिदिनुभयो।’

बस्नेतले केही समयअगाडि खबरहबलाई भनेका थिए, ‘उपनिर्वाचन नजिते कहिले इलाममा एमालेले जित्दैन ।’

निर्वाचनपछि बस्नेतले खबरहबलाई फेरि भने, ‘निर्वाचन त अस्ति नै जितेका थियौँ । घरदैलोमा मतदाताको व्यवहार र हामीप्रतिको विश्वासले हाम्रो विकल्प नभएको पुष्टि भएको थियो ।’

बस्नेतले आफूहरूलाई नेकपा माओवादी केन्द्र, परिवार दलले पनि सहयोग गरेकोमा खुसी व्यक्त गरे ।

इलाम २ मा नेकपा माओवादी केन्द्रको ०७९ को निर्वाचनमा समानुपातिक मत ५ हजार १५३ थियो ।

अंकगणित
०७९ को चुनावमा इलाम क्षेत्र नम्बर २ मा कुल १ लाख १५ हजार ३४२ मतदाता थिए । अहिले त्यसमा ४२२ मतदाता थपिए । गत ०७९ को निर्वाचनमा ५९।७८ प्रतिशत मतदान भएको थियो । यो पटक जम्माजम्मी ६९ प्रतिशत प्रतिशत मत खसेको थियो ।

सवा लाख मतदाता भए पनि गत चुनावमा ६९ हजार ४८१ जनाले मात्रै मतदान गरेका थिए । यो पटक ६६ हजारले मतदान गरे ।

यसमध्ये सुहाङको पक्षमा २७ हजार ७ सय ७२ मत झरेको छ । यता एमालेका नेम्वाङको पक्षमा २१ हजार ९ सय ४२ मत झरेको छ । यता स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ११ हजार ४ सय ५७ मत ल्याएका छन् ।

०७९ मा ३० हजार २० मत सुवास नेम्वाङले पाएका थिए । यो हिसाबले हेर्दा सुहाङले पाएको मत कम हो । तर मतान्तरको हिसाबले सुहाङले कांग्रेसका डम्बरलाई ५ हजार ८ सय ३० मतले जिते । इलाम क्षेत्र नम्बर–२ मा फाकफोकथुम, मासेबुङ गाउँपालिका र चुलाचुली गाउँपालिकाको तीनवटा वडा पर्छन् ।

९ वटा वडा रहेको देउमाई नगरपालिका पनि यही क्षेत्रमा पर्छ । माई नगरपालिकाका वडा नम्बर ६, ७ र ८ वडा मात्रै यो क्षेत्रमा समेटिएको छ । १२ वटा वडा रहेको जिल्ला सदरमुकाम इलाम नगरपालिकाको वडा नम्बर १० बाहेक सबै वडाहरू यो क्षेत्रमा पर्छन् ।

इलाम-२ इलाम बजार सदरमुकाम पनि पर्छ । कुल ४२ वडा रहेको इलाम २ मा ७९ को स्थानीय चुनावमा नेपाली कांग्रेसले बहुमत अर्थात् २२ वटा जितेको थियो ।

एमालेले १७ वडा जितेको थियो भने माओवादी, जनमुक्ति र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च लिम्बुवानले एक– एक वटा वडाहरू जितेका थिए ।

तर कांग्रेसकै पकड रहेको १७ वटा वडामा पनि एमालेका सुहाङको मत राम्रो आएको छ । पहिचान पक्षधर डकेन्द्र थेगिमले कांग्रेसको धेरै र एमालेको कम भोट काटेको देखिन्छ ।

सानैदेखि काठमाडौं बसेका सुहाङले बुवाको विरासत थाम्न सफल भएका छन् । छोटो समयमै जनताको विश्वास कमाएका उनलाई अब राजनीतिमा टिकिरहने चुनौती छ ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  ८ : ४७ बजे

संसदीय छानबिन समितिको कार्यादेश तय गर्न कार्यदलको बैठक बस्दै

काठमाडौं– सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) तयार

जलवायु परिवर्तनको क्षेत्रमा बेलायतले नेपाललाई सघाउने

काठमाडौं– संयुक्त अधिराज्यका प्रधानमन्त्री ऋषि सुनकले जलवायु परिवर्तनका क्षेत्रमा नेपाललाई

वीरगञ्ज महानगरद्वारा ४० करोड राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा ३९ करोड

आईपिएलः पहिलो क्वालिफायरमा आज कोलकाता र हैदरावादको भिडन्त

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत मंगलबार पहिलो क्वालिफायरमा

प्रतिनिधिसभा बैठक बस्दै, के छ कार्यसूचीमा ?

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।