आर्थिक

अर्थसंक्षेप : शेयर बजारमा उछाल, एकैदिन साढे पाँच सय हवाई उडान

By खबरहब

October 01, 2024

काठमाडौं- मंगलबार शेयर बजारमा उछाल आएको छ । बर्दघाट–सर्दी १३२ केभी डबल सर्किट प्रसारण लाइनको टावर ढलेको छ । सङ्घीय राजधानी काठमाडौं भित्रने र बाहिरिने सडकमार्ग अवरुद्ध भएपछि हवाई यात्रीको चाप बढेको छ ।

त्यस्तै, मंगलबार सुनको मूल्य घटेको छ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले जलवायु परिवर्तनले नेपालको कृषि क्षेत्रमा प्रभाव पारेको बताएका छन् । नेकपा (एमाले) शनिबारको बाढीपहिरो पीडितलाई राहतका लागि सरकारी कोषमा ५० लाख रुपैयाँ जम्मा गर्ने निर्णय लिएको छ ।

यस्ता छन् आजका प्रमुख आर्थिक समाचारहरुः

शेयर बजारमा उछाल, ११४ अंकले बढ्यो नेप्से, कारोबार कति ?

मंगलबार शेयर बजारमा उछाल आएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ११४.७० अंकले बढेर बजारमा उछाल आएको हो । नेप्से ४.५७ प्रतिशतले बढेर २६२३.५६ विन्दुमा पुगेको छ । आज कारोबारमा पनि रौनक देखिएको छ । ७ अर्ब ६१ करोड ६५ लाख २२ हजार रुपैयाँ बराबरको कारोबार भएको हो । १ करोड ७५ लाख ७ हजार ५५५ कित्ता शेयर किनबेच भएको छ ।

मंगलबार २४३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १ वटा कम्पनीको शेयर मूल्य घटेको छ । १ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । आज ३०७ वटा कम्पनीको कारोबार भएको छ । मंगलबार ९६ हजार ९०६ पटक शेयर किनबेच भएको छ । मंगलबार ३६ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आज समूहमध्ये सबै समूहमा हरियाली देखिएको छ । आज सबैभन्दा बढी फाइनान्स समूह ९.७४ प्रतिशतले बढेर ३ हजार १०१.५३ विन्दुमा पुगेको छ । आज सबैभन्दा कम म्युचुअल फण्ड समूह १.६६ प्रतिशतले बढेर २०.६८ विन्दुमा पुगेको छ ।

बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइनको टावर ढल्यो

बर्दघाट–सर्दी १३२ केभी डबल सर्किट प्रसारण लाइनको टावर ढलेको छ । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को बर्दघाट नगरपालिका–५ दाउन्नेस्थित खुर्सानी खोलामा सडक भासिएपछि त्यस भन्दामाथि रहेको प्रसारण लाइनको टावर ढलेको हो ।

टावर ढलेपछि चिनियाँ र नेपाली लगानीकर्ताको साझेदारीमा नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिकास्थित सर्दीमा सञ्चालित होङ्शी शिवम् सिमेन्टको विद्युत् आपूर्ति सोमबार साँझ साढे ६ बजेबाट बन्द भएको छ ।

होङ्शीले १३२ केभी प्रसारण लाइनबाट सिधै विद्युत् आपूर्ति लिइरहेको थियो । उद्योगले ३१ मेगावाटको विद्युत् भार (लोड) स्वीकृत लिएको छ । त्यसमध्ये अहिले दैनिक रूपमा १० मेगावाट लोड लिइरहेको नेपाल विद्युत् प्राधिकरण, कावासोती वितरण केन्द्रले जनाएको छ । उक्त उद्योगले मासिक रूपमा ७–८ करोड रुपैयाँ विद्युत् महसुल तिर्दै आएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिमन्ट उद्योगसँग विद्युत् पुर्‍याउने घोषणाअनुसार होङ्शीलाई विद्युत् आपूर्तिका लागि बर्दघाट–सर्दी १३२ केभी २० किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माण गरिएको थियो । डबल सर्किटमध्ये एउटा सर्किट मात्र सञ्चालन (चार्ज)मा थियो ।

हवाई उडानमा नयाँ रेकर्ड ः एकैदिन साढे पाँच सय उडान

सङ्घीय राजधानी काठमाडौं भित्रने र बाहिरिने सडकमार्ग अवरुद्ध भएपछि हवाई यात्रीको चाप बढेको छ । यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढीपहिरोले सडक सञ्जाल अवरुद्ध हुँदा हवाईयात्रीको चाप ह्वात्तै बढेको हो ।

मुलुकको अति व्यस्त त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडानको नयाँ रेकर्ड कायम भएको छ । अन्तर्राष्ट्रिय विमानस्थलबाट सोमबार एक दिनमा साढे पाँच सय उडान भएका छन् । आन्तरिक उडान र अन्तर्राष्ट्रिय उडान गरी पाँच सय ५९ उडान भएको विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले जानकारी दिए । उनका अनुसार आन्तरिकतर्फ हेलिकप्टरसहित दुई सय २७ उडान (डिपार्चर) र दुई सय २१ अवतरण (अराइभल) भएका छन् ।

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

मंगलबार सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेर तोलाको एक लाख ६० हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि सोमबार सुनको मूल्य एक लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य १५ रुपैयाँले घटेर १९२५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

खाद्य सुरक्षामा साना किसानको भूमिका महत्वपूर्ण ः कृषिमन्त्री

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले जलवायु परिवर्तनले नेपालको कृषि क्षेत्रमा प्रभाव पारेको बताएका छन् । ईसिमोडले  मंगलबार ललितपुरमा गरेको अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै मन्त्री अधिकारीले वर्तमान समयको महत्त्वपूर्ण चुनौती ‘जलवायु परिवर्तनको सामनामा पर्वतीय खाद्य प्रणालीको दिगोपन’ लाई सम्बोधन गर्न  सबै एकै ठाउँमा उभिनु पर्ने आवश्यकता औँल्याए ।

नेपालको पहाडी पारिस्थितिक प्रणालीको समृद्ध विविधताले लाखौंको जीविकोपार्जनलाई सहयोग पुर्‍याएको चर्चा गर्दै मन्त्री अधिकारीले साना तथा सीमान्त कृषकहरूले  राष्ट्रिय खाद्य सुरक्षाको लागि महत्त्वपूर्ण योगदान गरेको बताए ।  नेपालका विविध कृषि–जलवायु क्षेत्र, समृद्ध पारिस्थितिक क्षेत्रहरू र कृषि जैविक विविधताले खाद्य र पोषण सुरक्षा, कृषि उत्पादकत्व वृद्धि र ग्रामीण जीवनस्तरमा सुधार ल्याउन अपार सम्भावनाहरू प्रदान गरे पनि  हामीले  दबाबपूर्ण चुनौतीहरूको सामना गर्नु परिरहेको मन्त्री अधिकारीले उल्लेख गरे ।

सरकारी राहत कोषमा एमालेले ५० लाख रुपैयाँ जम्मा गर्ने

नेकपा (एमाले) शनिबारको बाढीपहिरो पीडितलाई राहतका लागि सरकारी कोषमा ५० लाख रुपैयाँ जम्मा गर्ने निर्णय लिएको छ । हनुमानथानस्थित होटल बसेरामा मंगलबार बसेको सचिवालय बैठकले सरकारको प्राकृतिक विपद् तथा राहत कोषमा ५० लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको हो ।

यसअघि मन्त्रिपरिषद्को सोमबारको बैठकले प्रारम्भिक रूपमा एक अर्ब उक्त कोषमा जम्मा गर्ने निर्णय गरेको थियो । सचिवालय बैठकलगत्तै अहिले सिंहदरबारमा एमाले संसदीय दलको बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा गम्भीर प्राकृतिक विपत्तिको स्थितिमा सबैका तर्फबाट उद्धार, राहत र स्वयंसेवामा लाग्न आव्हान गरेका छन् ।

काठमाडौंमा खानेपानी वितरण अस्तव्यस्त, मुहानदेखि धारासम्म क्षति

काठमाडौं उपत्यकामा खानेपानी वितरण प्रणाली अस्तव्यस्त भएको छ । गत शुक्रबारदेखि भारी वर्षासँगै आएको बाढीले मुहानदेखि वितरण प्रणालीसम्म असर पुर्याउँदा समस्या निम्तिएको हो । काठमाडौं उपत्यकामा पानी ल्याइने गरिएका मुहानहरू, सबै प्रशोधन केन्द्र र अधिकांश वितरण स्टेसनहरूसमेत बाढीपहिरोले क्षति पुगेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेयल)का प्रवक्ता प्रकाशकुमार राईले खबरहबलाई बताए ।

ललितपुरतर्फको वितरण प्रणाली र फर्पिङबाट आउने प्रणालीमा ठूलो क्षति पुगेको भन्दै प्रवक्ता राईले अहिले आंशिक वितरण प्रणालीबाट मात्रै उपत्यकामा खानेपानी आपूर्ति भइरहेको जानकारी दिए । कतिपय वितरण स्टेशनहरू अझै पनि डुबानकै अवस्थामा रहेको भन्दै उनले सम्पूर्ण जनशक्ति परिचालन गरेर सरसफाइको काम भइरहेको दाबी गरे ।

वर्षाकै कारण जेठ महिनादेखि बन्द गरिएको मेलम्चीको पानी अहिलेसम्म काठमाडौंमा ल्याइएको छैन । यस्तो अवस्थामा केयुकेयलले काठमाडौं वरपरका खोलाहरूबाट र जमिनमुनिको पानीलाई पम्पको माध्यमबाट निकालेर प्रशोधन गरी वितरण गर्ने गर्छ ।

एकै वर्षमा १० लाख बढीको निगुरो बिक्री

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवाका स्थानीय शर्मिला पुर्जाले निगुरो संकलन गरी बिक्रीका लागि बागलुङ बजार पठाउँछिन् । साउनदेखि असोजसम्म पुर्जासहित दोवा गाउँका महिलाको दैनिकी जङ्गलमा निगुरो खोज्ने र बेच्नेमा बित्छ ।

लेकाली जङ्गलमा उम्रिने निगुरोको बजारमा राम्रो माग हुने गरेको छ । निगुरो उपभोक्ताको रोजाइमा परेपछि शर्मिला पुर्जासहितका महिलाहरूलाई आयआर्जनमा सहयोग पुगेको छ । यस वर्ष मात्रै शर्मिला र मायाकुमारी पुनले १० लाख ५० हजारको निगुरो बिक्री गरिन्।

पुर्जाले भने, ‘वन उपभोक्ता समिति, संकलन कर्ता, गाडी भाडा कटाएर बाँकी रकम नाफा हुन्छ, यहाँका महिलालाई घर खर्च पुग्छ, कम्तीमा एक जनाले एक ‘सिजन’मा एक लाखभन्दा माथिको निगुरो बिक्री गर्छौं ।’ पुर्जाले मात्रै यस वर्ष रु आठ लाख ५० हजार र माया पुनले रु दुई लाख ५० हजारको बिक्री गरेको बागलुङ बजारका व्यापारी शंकर रेग्मीले बताए। रेग्मीले विगत चार वर्षदेखि निगुरोको बिक्री गर्दै आएका छन् ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवाको जङ्गलमा पाइने निगुरो सदरमुकाम बेनी बजार हुँदै बागलुङबजार ल्याउने गरिएको छ । बागलुङ बजारका व्यापारी रेग्मीले होलसेल मूल्यमा तरकारी व्यापारीलाई निगुरो बिक्री गर्दै आएका छन् ।

वीरगञ्ज नाकाबाट धान–चामल आयात घट्यो

वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्षको दुई महिनामा धान–चामलको आयात घटेको छ । चालु आवको भदौसम्म ९६ करोड ३२ लाख ५६ हजारको दुई करोड ६३ लाख ३४ हजार सात सय ९० किलो धान आयात भएको छ । गत आवको सोही अवधिमा एक अर्ब ३१ करोड २९ लाख १० हजारको तीन करोड ७९ लाख ५१ हजार पाँच सय ६६ किलो धान आयात भएको थियो । गत आवको तुलनामा चालु आवको सोही अवधिमा धानको आयात ३० दशमलव ६१ प्रतिशतले घटेको हो ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले गत आवको तुलनामा चालु आवमा धान र चामलको आयातमा केही कमी आएको बताए । चालु आवको भदौ मसान्तसम्ममा कनिका आयातमा पनि कमी आएको छ । चालु आवको भदौ मसान्तसम्ममा २२ करोड १७ लाख २८ हजारको १६ लाख ८८ हजार नौ सय किलो चामल तथा कनिका आयात भएको छ ।