फाइल फोटो

आर्थिक

अर्थसंक्षेप : सरकारले वैदेशिक अनुदान पाउन सकेन, घरजग्गा कारोबार निरन्तर ओरालोमा

By खबरहब

October 17, 2024

काठमाडौं– चालु आर्थिक वर्षको तीन महिनामा सरकारले कत्तिपनि वैदेशिक अनुदान प्राप्त गर्न नसकेको देखिएको छ । असोज महिनामा घरजग्गा कारोबार सुस्तता आएको छ । बिहीबार शेयर बजार झिनो अंकले बढ्यो भने वायुसेवा निगमले ५३ करोड बढी किस्ता बुझाएको छ ।

आजका प्रमुख आर्थिक समाचारहरू  :

सरकारले चालु आर्थिक वर्षमा अनुदान प्राप्त गर्न सकेन, आम्दानीभन्दा खर्च बढी

सरकारले चालु आर्थिक वर्षमा तय गरेको वैदेशिक अनुदान प्राप्तिको लक्ष्य असोज मसान्तसम्म कत्ति पनि प्राप्त गर्न सकेको छैन ।

सरकारले चालु आर्थिक वर्षको बजेटमा ५२ अर्ब २३ करोड २६ लाख ५ हजार बराबरको वैदेशिक अनुदान प्राप्तिको लक्ष्य राखेकोमा असोज मसान्तसम्मको अवधिमा कत्ति पनि अनुदान प्राप्त गर्न नसकेको महालेखा नियन्त्रक कार्यालयले जनाएको हो ।

त्यस्तै, तीन महिनाको आम्दानी खर्चको विवरण हेर्दा सरकार आम्दानीको तुलनामा पौने खर्बले बढी खर्चको अवस्थामा रहेको देखिएको छ । महालेखाको तथ्यांकअनुसार सरकारले चालु आर्थिक वर्षको तीन महिनामा २ खर्ब ५३ अर्ब १ करोड ३३ लाख आम्दानी गरेको छ भने ३ खर्ब २९ अर्ब २० करोड ११ लाख खर्च गरेको छ ।

विवरणअनुसार सरकारले समीक्षा अवधिमा सबैभन्दा धेरै कार्यसञ्चालन खर्च अर्थात् तलब, भत्ता, मसलन्द लगायतमा २ खर्ब २९ अर्ब ८५ करोड २१ लाख, पुँजीगत खर्चमा २९ अर्ब ३७ करोड ४६ लाख र वित्तीय व्यवस्थापनतर्फ ६९ अर्ब ९७ करोड ४४ लाख खर्च गरेको छ ।

त्यस्तै, समीक्षा अवधिमा सरकारले कर आम्दानी २ खर्ब १९ अर्ब ६८ करोड २९ लाख र गैरकर आम्दानी २८ अर्ब ५७ करोड ५१ लाख आम्दानी गरेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

ओरालो लाग्यो घरजग्गा कारोबार

चालु आर्थिक वर्षको तेस्रो महिनामा घरजग्गा कारोबारमा गिरावट आएको देखिएको छ । भूमि व्यवस्था तथा अभिलेख विभागले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको असोज महिनामा जम्मा ३० हजार ५२७ वटा लिखत पारित भएको हो ।

त्यस्तै, तथ्यांकअनुसार असोज महिनामा २३ वटा अपार्टमेन्टको लिखत पारित भएको छ । तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षको साउन महिनाको तुलनामा चालु आर्थिक वर्षको साउन महिनामा घरजग्गाको लिखत पारित भएको सङ्ख्या बढी भएको देखिएपनि भदौ र असोज महिनामा भने कमजोर भएको देखिएको छ ।

अघिल्लो आर्थिक वर्षको साउन महिनामा २९ हजार २६३, भदौ महिनामा ३५ हजार ६८६ र असोज महिनामा ३९ हजार ८८१ वटा घरजग्गाको लिखत पारित भएको थियो ।

असोज महिनामा सबैभन्दा धेरै सुनसरी इनरुवाको मालपोत कार्यालयबाट ११८५ वटा र सबैभन्दा थोरै ताप्लेजुङको मालपोत कार्यालयबाट २ वटा मात्रै लिखत पारित भएको छ ।

विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउन महिनामा ४३ हजार ८३५ वटा र भदौ महिनामा ३२ हजार ७९८ वटा लिखत पारित भएको थियो ।

घरजग्गाको कारोबारमा कमी आएसँगै असोजमा सरकारको घरजग्गा कारोबारबाट हुने पुँजीगत लाभकर आम्दानीमा पनि गिरावट आएको छ । असोजमा सरकारले घरजग्गा कारोबारबाट जम्मा १ अर्ब ११ करोड ६२ लाख ७१ हजार ७६९ रुपैयाँ पुँजीगत लाभकर आम्दानी गरेको छ ।

विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउन महिनामा घरजग्गाको कारोबारबाट सरकारले १ अर्ब ३४ करोड ६९ लाख ४८ हजार ८६६ र भदौ महिनामा १ अर्ब १३ करोड १५ लाख ६५ हजार ११३ रूपैयाँ पुँजीगत लाभकर संकलन गरेको थियो ।

नेपाल वायुसेवा निगमले बुझायो ५३ करोड किस्ता

नेपाल वायुसेवा निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई किस्ताबापतको रकम ५३ करोड बढी बुझाएको छ ।

निगमले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबडी र दुई वाइडबडी जहाजको लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्व मध्ये दुई न्यारोबडी जहाजको २०८१ असोज महिनाको किस्ताबापत पूरा र दुई वाइडबडी जहाजको आंशिक गरी असोज ३० गते ५३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ भुक्तानी गरेको हो ।

निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हालेपश्चात निगमले २०८१ असोज मसान्तसम्मको अवधिमा ६ अर्व ३२ करोड ८५ लाख ९७ हजार ५३३ रुपैयाँ किस्ता रकम भुक्तानी गरेको निगमका प्रवक्ता रमेश पौडेलले जनाएका छन् ।

साथै, विश्वव्यापी कोरोना भाइरसको कारण निगमको व्यापारमा समेत प्रतिकुल असर परेकोले सो असर रहेको अवधिको ब्याज, ब्याजको ब्याज, हर्जाना र पेनल छुट गरी सहयोग गरिदिन तथा किस्ताको सङ्ख्या वृद्धि गरिदिन निगमले दुवै ऋणदातालाई अनुरोध गरेको जनाएको छ । निगमको सो अनुरोधको विषयमा द्विपक्षीय छलफल भइरहेको निगमका प्रवक्ता रमेश पौडेलले बताएका छन् ।

वैदेशिक लगानी : पर्यटन क्षेत्रमा आकर्षण

नेपालमा वैदेशिक लगानीको आकर्षण पर्यटन क्षेत्रमा केन्द्रित भएको देखिएको छ । उद्योग विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तीन महिनाको तथ्यांकअनुसार सो अवधिमा भएको कुल वैदेशिक लगानीको ७१ प्रतिशत पर्यटन क्षेत्रमा भएको देखिएको हो ।

विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ३ महिनामा १३१ वटा विभिन्न कम्पनीले नेपालमा लगानीको स्वीकृति लिएका छन् । जसमध्ये ९३ वटा कम्पनीहरूले पर्यटन क्षेत्र, १८ वटा कम्पनीले सेवा क्षेत्र, १२ वटा कम्पनीले उत्पादन क्षेत्र, ५ वटा कम्पनीले सूचना प्रविधि क्षेत्र १ वटा कम्पनीले खनिज क्षेत्र र २ वटा कम्पनीले कृषि क्षेत्रमा लगानी गर्ने स्वीकृति लिएका छन् ।

समीक्षा अवधिमा आएको लगानी प्रतिबद्धता मध्ये १ अर्ब १ करोड ३५ लाख ६० हजार २ सय अटोमेटिक रूटबाट आएको छ भने १५ अर्ब ४२ करोड ७७ लाख ५६ हजार ४ सय एप्रुभल रूटबाट आएको विभागले जनाएको छ ।

चालु आर्थिक वर्षको ३ महिनामा लगानी प्रतिबद्धता जनाएकामध्ये १२८ वटा कम्पनीले साना उद्योग क्षेत्रमा, १ वटा कम्पनीले मझौला उद्योगमा र २ वटा कम्पनीले ठूला उद्योगमा लगानी गर्ने भएका छन् ।

झिनो अंकले बढ्यो नेप्से, कारोबार ७ अर्ब बढी

बिहीबार नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० झिनो अंकले बढेको छ । लगभग दिनभर बढेको बजार अन्तिममा सेलिङ पेसर आएका कारण बजार २।४७ अंकले बढेर २७४५।३६ विन्दुमा पुगेको हो ।

नेप्से बढेसँगै कारोबार पनि बढेको छ । आज ७ अर्ब १९ करोड २७ लाख ९२ हजार रुपैयाँ बराबरको १ करोड ८८ लाख ७ हजार ४९२ कित्ता शेयर कारोबार भएको छ ।

८९ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १४२ वटा कम्पनीको शेयर मूल्य घटेको छ । १३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर छ ।

आज ३१६ वटा कम्पनीको शेयर कारोबारमा आएको छ । बजार खुल्ला रहँदासम्म ८० हजार ५९५ पटक शेयर किनबेच भयो । १३ वटा समूहमध्ये ७ वटा समूहको शेयर मूल्य बढेको छ भने ६ वटा समूहको शेयर मूल्य घटेको छ । आज सबैभन्दा बढी म्युचुअल फण्ड समूह १।४० प्रतिशतले बढेर २१।२८ विन्दुमा पुगेको छ । सबैभन्दा कम निर्जीवन लाइफ समूह ०।७५ अंकले बढेर १३ हजार १९७।१८ विन्दुमा पुगेको छ ।

त्यस्तै, वाणिज्य बैंक समूह ०।४० प्रतिशतले, फाइनान्स ०।५१ प्रतिशतले, लगानी समूह ०।७१ प्रतिशतले, उत्पादन तथा प्रशोधन ०।२१ प्रतिशतले, अन्य समूह ०।३६ प्रतिशतले बढेको हो ।

आज सबैभन्दा बढी ट्रेडिङ समूह २।१० प्रतिशतले घटेर ३ हजार ६५२।२० विन्दुमा आएको छ भने सबैभन्दा कम जलविद्युत समूह ०।१२ प्रतिशतले घटेर ३ हजार ३१०।६८ विन्दुमा आएको छ । साथै, विकास बैंक समूह ०।६४ प्रतिशतले, होटल एण्ड टुरिजम १।४८ प्रतिशतले, जिवन बीमा ०।२४ प्रतिशतले, लघुवित्त ०।१९ प्रतिशतले घटेको छ ।

गुणस्तर तथा नापतौल कार्यालय जनकपुरधामले चार सय ४५ व्यवसायीलाई दियो नापतौल इजाजत

गुणस्तर तथा नापतौल कार्यालय जनकपुरधामले गत आर्थिक वर्ष ०८०९८१मा चार सय ४५ उद्योग तथा व्यवसायीलाई व्यवसाय कारोवार गर्न नयाँ नापतौल सम्बन्धी इजाजतपत्र प्रदान गरेको छ ।

सो कार्यालयले दुई हजार तीन सय ६८ व्यवसायीको नापतौल यन्त्रको जाँचसमेत गरेको जनाएको छ । प्राप्त विवरणअनुसार तोकिएको मापदण्ड विपरीत ढक र तराजु प्रयोग गर्ने एक हजार सात सय १७ व्यापारीलाई कारबाही गरी जरिवानासमेत गरिएको कार्यालय प्रमुख मुकुन्द चौहानले बताए।

धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली तथा रामेछापगरी कूल पाँच जिल्ला कार्यक्षेत्र रहेको सो कार्यालयले विभिन्न कारवाही, नापतौल यन्त्रको इजाजतपत्र प्रदान तथा नवीकरण बापत गत आर्थिक वर्षमा ४० लाख ६७ हजार दुई सय ४२ राजस्व संकलन गरेको जनाएको छ ।