स्टोरी

झलनाथको ठाउँमा किसान, एमालेमाथि निशाना

By ज्ञानु घिमिरे

April 18, 2024

काठमाडौं- इलाम–२ को भूगोलसँग नजिक भएर काम गरेका जितबहादुर राई नेकपा एकीकृत समाजवादीका उम्मेदवार हुन् । उनले पूरा समय राजनीतिमै समर्पण गरेका छन् । राईले आफूलाई बलियो उम्मेदवार भएको दाबी गरेका छन् । उनलाई निर्वाचनमा सघाउनका लागि एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल स्वयं खटिरहेका छन् ।

खनालले इलाम–२ मा सिटी कलेज र विभिन्न विकासका योजनाहरू पुर्‍याएको हुनाले नेकपा एकीकृत समाजवादीले जित्ने  सो पार्टीका नेताहरुको दाबी छ ।

०७९ को निर्वाचनमा कांग्रेससहितको गठबन्धनले आफ्ना कुल मतदाताको संख्या हेक्का राख्न नपाएको समाजवादीलाई योपटक जाँच गर्ने अवसर मिलेको छ । तथापि समानुपातिक भने ०७९ मा यस क्षत्रेबाट एकीकृत समाजवादीले ५८६ मत मात्र पाएको थियो ।

कांग्रेस उम्मेदवार डम्बर खड्कालाई ०७९ को निर्वाचनमा मत हाल्नुपर्ने बाध्यतामा भएको नेकपा एकीकृतका मतदाताले यो पटक आफ्नौं उम्मेदवारलाई मत दिने बाटो खुलेको छ । हुन त डम्बरलाई मत नदिएर केही उम्मेदवारले भने यो क्षेत्रमा विद्रोह स्वरूप ६४७ मतदाताले उम्मेदवार नै नभएको कलम चिह्रमा समेत मत हालेका थिए ।

को हुन् जितबहादुर ?

जोगमाई गाउँपालिका वडा नम्बर ६ का स्थायी बासिन्दा राई अनेरास्यवियुको विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन् । युवावस्था देखि नै राजनीतिमा होमिएका उनी अविवाहित छन् । झलनाथ खनाल र एमाले नेता स्व सुवासचन्द्र नेम्बाङ निकट व्यक्ति रहेका राई ०५६ सालदेखि ०५८ सालसम्म अनेरास्यवियुको जिल्ला अध्यक्ष थिए ।

विद्यार्थी र युवाले रुचाएका उनी युवा संघ नेपाल इलामको जिल्ला अध्यक्षसमेत बने । ०६३ युवा संघ नेपालको केन्द्रीय सदस्य भएका उनी बुटवल महाधिवेशनमा भने युवा संघको केन्द्रीय सचिवमा पराजित भएका थिए । उनी आफू हालसम्मका कुनै पदमा हार नखाएको बताउँछन् ।

युवा संगठनपछि पार्टीको राजनीतिमा प्रवेश गरेका राईले स्नातक तहसम्म अध्ययन गरेका छन् । एमाले जिल्ला कमिटी सचिवालय सदस्य हुँदै ०७४ को स्थानीय तहको निर्वाचनमा इलामको माईजोगमाई गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । त्यो बेला राईले ५ हजार ६ सय ३९ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सिटी शेर्पाले ३ हजार ९ सय ३६ मत प्राप्त गरेका थिए ।

राईले आफू गाउँपालिकामा अध्यक्ष हुँदा कृषि, पर्यटन, शिक्षा र पुर्वधारको क्षेत्रमा उल्लेखनीय काम गरेको बताउँछन् । नेकपा हुँदा जिल्ला कमिटी सचिवालय सदस्य समेत भएका राई नेकपा फुटेपछि झलनाथ निकट रहे । उनी जिल्ला खेलकुद विकास समितिको अध्यक्षसमेत भइसकेका छन् ।

संघर्षशील कृषकको समेत छवि बनाएका राई अचेल कृषिकर्ममा सक्रिय छन् । जनताले आफूलाई उम्मेदवार बन्न आग्रह गरेको र पार्टीले पनि विश्वास गरेका कारण फेरि राजनीतिमा होमिएको उनी बताउँछन् । राईको माईजोगमाई गाउँपालिका २ मा ‘जोरकटेरी कृषि फार्म’ छ । आफू पशुपालन व्यवसाय तथा कृषिबालीसँगै इलाम–२ का जनताको समस्या बुझेको उम्मेदवार भएको दाबी गर्छन् । स्थानीय उत्पादनलाई प्रवद्र्धन र बजारीकरण गर्दै हरेक व्यक्तिलाई आधुनिक कृषिमा जोड्ने राईको योजना छ ।

 

राई इमान्दार व्यक्ति भए पनि इलाम–२ को विगतको अंकगणितमा भने नेकपा एकीकृत समाजवादीको मत एमाले र कांग्रेसभन्दा धेरै कमजोर देखिन्छ । तथापि आफ्नै सत्ता गठबन्धनमा रहेको एमालेको मत काट्नका लागि भने जीतबहादुरको उम्मेदवारीले भूमिका खेल्न सक्छ ।

त्यसो त एकीकृत समाजवादीले जस्तै सत्ताघटककै अर्को दल रास्वपाले पनि मिलन लिम्बुलाई उठाएका कारण एमालेको पकड रहेको इलाममा विपक्षीलाई फाइदा हुने आकलन पनि गरिँदैछ ।

पूर्वप्रधानमन्त्री झलनाथ खनालले भने इलाममा चमत्कार हुने र जीतबहादुर जित्ने दाबी गरेका छन् । उनले भनेका छन्, ‘नामै काफी छ, जीतबहादुरले जित्छन् ।’

याे पनि-

गणितीय भ्रममा अल्झिएको इलामको उपचुनाव

परीक्षणको कसीमा सुहाङ : विरासतमा रमाउने कि विश्वास कमाउने ?

डम्बरको उम्मेदवारी : सुवाससँग टेस्ट, सुहाङसँग फाइनल

डकेन्द्रको पहिचान : छोराछोरी गायक, बाबु हेडसर !

इलाममा घण्टी बजाउँदै एक भाइ पत्रकार

पहाडमा सिके राउतको ‘बहु-पहिचान’