इलाममा घण्टी बजाउँदै एक भाइ पत्रकार | Khabarhub Khabarhub

इलाममा घण्टी बजाउँदै एक भाइ पत्रकार

मिलन लिम्बूलाई प्रश्न– रास्वपाले चुनाव जित्ने आधार के-के छन् ?



काठमाडौं-  कल्कलाउँदो युवा उमेर । उज्यालो, हँसिलो अनुहार । सबैसँग मुसुक्क हाँसेर बोल्ने । सफाचट पहिरन । इलाममा जन्मेर काठमाडौंलाई कर्मथलो बनाएका एक भाइ पत्रकार अहिले इलामका गाउँबस्तीमा घण्टी बजाएर भोट माग्दै हिँडेका छन् । परम्परागत राजनीतिक दलहरुले मतदाताको हितमा काम नगरेको भन्दै इतिहासको पाङरा नयाँ बाटोतिर मोड्ने अठोट बोकेका उनी हुन् – राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बू ।

पुराना पार्टीले भन्दा फरक शैलीमा नयाँ दलका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम–२ को उपनिर्वाचनमा पत्रकार मिलन लिम्बूलाई उम्मेदवारका रुपमा रोजेको छ । यसअघि माओवादी निकट रहेका उनी रास्वपाबाट इलाम–२ को उपनिर्वाचनमा होमिएका हुन् ।

मिलन शुरुमा स्वतन्त्र उठ्न खोजेका थिए । तर, रास्वपासँगको सहकार्यमा कुरा मिलेपछि उनी रास्वपाबाट घण्टी चिन्ह लिएर उठेका हुन् । उनलाई जिताउन र भोट माग्नका लागि रास्वपा केन्द्रका नेताहरू इलाम धाइरहेका छन् ।

रास्वपा सभापति तथा गृहमन्त्री समेत रहेका रवि लामिछाने, उपसभापति तथा श्रम मन्त्री डोलप्रसाद अर्याल, खेलकुद मन्त्री विराजभत्त श्रेष्ठ, रास्वपा उपसभापति स्वर्णिम वाग्ले, सहमहामन्त्री कवीन्द्र बुर्लाकोटी, संसदहरु सोविता गौतम र निशा डाँगीले समेत इलाम पुगेर लिम्बूलाई जिताउन अपिल गरेका छन् ।

यस्तै, केन्द्रीय सदस्य रमेश प्रसाईँले पनि इलाम पुगेर लिम्बूलाई भोट मागेका छन् । डाँगी भने लिम्बूसँगै घरदैलो कार्यक्रमा खटिएकी छन् । सभापति लामिछाने पनि पुनः इलाम जाने योजनामा छन् ।

इलाम–२ मा रास्वपाको स्थिति कस्तो छ ? यसको विश्लेषण गर्नुअघि घण्टी चिन्ह लिएर चुनाव लडेका युवा उम्मेदवार मिलन लिम्बू को हुन् भन्नेबारे चर्चा गरौं–

को हुन् मिलन लिम्बू ?

मिलन लिम्बू ०४८ सालमा इलामको माङ्सेबुङ गाउँपालिका वडा नम्बर २ मा सामान्य निम्नवर्गीय परिवारमा जन्मेका हुन् । उनका बुबाआमा अहिले पनि कृषिकर्ममै छन् ।

बुबाआमासँग मिलन लिम्बू

मिलनका एक दिदी र एक बहिनी छन् । तीन छोरामध्ये मिलन जेठा हुन् । माइला भाइ नेपाल टेलिभिजन इटहरीमा समाचार वाचक छन् । कान्छा भाइ वैदेशिक रोजगारीका लागि दक्षिण कोरियामा छन् ।

मिलनको प्रारम्भिक शिक्षा गाउँकै सरस्वती माध्यमिक विद्यालयमा भयो । विद्यालयको पढाइ सकेर उनी इलामबाट दमक बहुमुखी क्याम्पसमा झरे । यही क्रममा उनले ०६४ सालदेखि झापाबाट पत्रकारिता सुरु गरे ।

जनविद्रोह दैनिकबाट पत्रकारिता सुरु गरेका लिम्बूले इटहरीको मकालु टेलिभिजनमा पनि केही समय काम गरे । त्यसपछि उनी काठमाडौँ छिरे । मिलनका श्रीमती र एक छोरी छन् । श्रीमती पेसाले व्यवसायी हुन् ।

काठमाडौंमा मिलनले ‘द गोर्खा साप्ताहिक’को कार्यकारी सम्पादक भएर काम गरे । त्यसपछि एबीसी टेलिभिजनमा ८ वर्ष काम गरे । त्यहाँ उनले समाचार प्रस्तोता र समाचार एडिटरको भूमिका निभाए ।
मिलनले करिब एक वर्ष न्युज–२४ टेलिभिजनमा काम गरे । त्यहीँबाट रास्वपा सभापति रवि लामिछानेसँग उनको चिनापर्ची भयो ।

आदिवासी पत्रकारहरूको संस्था फोनिजका महासचिव रहेका मिलन हाल दृष्टि न्युज अनलाइनका सम्पादकसमेत हुन् ।

उनी पत्रकारिताको सुरुवातदेखि नै माओवादी निकट पत्रकारहरूको संस्था प्रेस सेन्टर नेपालमा आवद्ध रहे । सेन्टरका केन्द्रीय सदस्यसमेत रहेका लिम्बूले इलाम २ को उपनिर्वाचनमा उम्मेदवारी दर्ता गराएपछि भने माओवादी पार्टी निकट पदहरूबाट राजीनामा दिएका छन् ।

उनी माओवादी लगायतका पुराना पार्टीहरुले युवा पुस्तालाई प्राथमिकता र अवसर नदिएको र प्रोत्साहन नगरेको हुनाले आफूले माओवादी छाडेर नयाँ पार्टीबाट राजनीतिक जीवन सुरु गरेको बताउँछन् ।

घण्टीलाई चुनाव जित्न कति सहज ?

प्रतिनिधिसभामा २१ सिट जितेको रास्वपाले इलामको उपचुनावबाट एक सिट थप्ने दाबी गरेको छ । गत उपचुनावमा बाराबाट पनि रमेश खरेललाई जिताएर सिट थप्ने बताएको यो दलले पहाडमा जस्तो मधेसमा आफ्नो मत बढाउन सकेन ।

तनहुँको उपचुनावमा डा. स्वर्णिम वाग्लेले अप्रत्याशित जित हात पारे पनि इलामजस्तो पहिचानको मुद्दा प्रखर भएको ठाउँमा रास्वपाको पोजिसन कस्तो होला भन्ने चासो देशैभरि छ ।

विगतको अंकगणित हेर्दा इलाामा रास्वपाले ०७९ को निर्वाचनमा १ हजार ३६३ मत मात्रै ल्याएको थियो । तर, समानुपातिकमा भने रास्पवाको मत ४ हजार ६८६ खसेको थियो । समानुपातिकको उक्त भोटले रास्वपाप्रति मतदातामा आकर्षण रहेको सो पार्टीका नेताहरुको तर्क छ ।

रास्वपाको मत गाउँमा भन्दा शहरी क्षेत्रमा बढी देखिन्छ । इलाम क्षेत्र नम्बर–२ अन्तरगत इलाम नगरपालिका पनि समेटिएको छ । त्यहाँका मतदातालाई रास्वपाले कति प्रभाव पार्न सक्छ, उसको सफलता त्यसमा निर्भर रहनेछ । त्यसपछि बढी मतदाता रहेको देउमाई नगरपालिका र माई नगरपालिकाका ६, ७ र ८ नम्बर वडामा रास्वपाले मेहनत गर्नुपर्ने देखिन्छ । माङ्सेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका र चुलाचुली गाउँपालिकामा एमाले, कांग्रेस र पहिचानवादी मतदाताहरु बढी छन्, उनीहरुको मन बदल्न शहरमा भन्दा गाह्रो हुन सक्छ ।

यस क्षेत्रबाट ०७९ को निर्वाचनमा एमालेका उम्मेदवार सुवास नेम्बाङले ३० हजार २० मत ल्याएका थिए । अहिले उनका छोरा सुहाङ नेम्बाङ उम्मेदवार छन् । सुहाङ आफैं युवापुस्ताको उम्मेदवार रहेको र पिताको निधनपछि सहानुभूतिको मत पनि आउने भएकाले सुहाङलाई ‘क्रस’ गर्न रास्वपालाई चुनौतीपूर्ण नै देखिन्छ ।

त्यस्तै, ०७९ मा नेपाली कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धनबाट कांग्रेसका डम्बरबहादुर खड्काले २९ हजार ९०६ मत पाएका थिए । यो मत भनेको सुवास नेम्वाङको भन्दा ११४ मत मात्र कम हो । यो पटक माओवादीले एमालेलाई सघाएको छ । माओवादीको मत करिब ५ हजार रहेको अनुमान छ । एकीकृत समाजवादीले पनि आफ्नै उम्मेदवार उठाएको छ । यसो हुँदा कांग्रेसको करिब २२ हजार मत आंकलन गरिए पनि उसको दाबी भने ३० हजार पुग्ने छ ।

पहिचान पक्षधरबाट पनि डकेन्द्र लिम्बू छुट्टै उम्मेदवार छन् । डकेन्द्रलाई जनमुक्ति पार्टी, जसपा र संघीय लिम्बूवानको समेत समर्थन छ । किरात याक्थुङ चुम्लुङ र किरात राई यायोक्खा लगायतले पनि आफूलाई सघाउने डकेन्द्रको दाबी छ । यो स्थितिमा इलाम– २ को मत चारतिर ( कांग्रेस, एमाले, पहिचानवादी र रास्वपामा) बाँडिने आकलन विश्लेषकहरुले गरेका छन् । कांग्रेस एमालेको असन्तुष्ट मत पनि मिलन र डकेन्द्र दुईतिर बाँडिने भएकाले यसको फाइदा एमाले वा कांग्रेसले नै उठाउने आकलन पनि एकथरिको छ ।

नेताहरुको दौडधूप हेर्दा रास्वपाले लिम्बूलाई विजयी गराउन सबै शक्ति परिचालन गरिरहेको देखिन्छ । तथापि संघमा एउटै गठबन्धन बनेकाका कारण एमाले अध्यक्ष केपी शर्मा ओलीले अन्तिम घडीमा सुहाङलाई जिताउन रवि लामिछानेसँग मद्दत माग्न सक्ने चर्चा पनि भित्रभित्रै चलिरहेको छ । तर, उम्मेदवार मिलन आफूले जित्ने सम्भावना रहेको भन्दै कदापि पछाडि नफर्कने बताउँछन् ।

यस्तो चुनौतीपूर्ण अवस्थामा रास्वपा उम्मेद्वार मिलन लिम्बूले कसरी चुनाव जित्लान् ? चुनाव जित्ने उनका आधारहरु के–के छन् ? यसबारे खबरहबको जिज्ञासामा रास्वपा उम्मेदवार मिलन लिम्बूको तर्कको सार यस्तो छ –

एक– म इलामको माटोमा जन्मिएको र यहाँको भूगोल बुझेको, माटोमा योगदान गरेको उम्मेदवार हुँ । पुरानो चुनावको गणित काम लाग्दैन, तनहुँमा जस्तै नयाँ गणित बन्छ ।

यो पनि-

गणितीय भ्रममा अल्झिएको इलामको उपचुनाव

दुई– पेसागत जीवन त्यागेर इलामेली जनताको सेवामा काम गर्न जीवन अर्पण गरेको युवा हुँ । अन्य दलले लामो समयसम्म यस क्षेत्रको विकासमा केही प्रगति नगरेको हुनाले मलाई जनताले नै उम्मेदवार बनाएका हुन् ।

तीन– इलाम धार्मिक र पर्यटकीय फ्याक्टर भएको क्षेत्र हो । यहाँ ठूलो संख्यामा हिन्दु छन् । त्यसपछि किरात, क्रिश्चियन, हेभनपाथ लगायतमा आस्था राख्ने मान्छेहरू छन् । यी सबै समुदायका जनता पुराना दलबाट निराश भएर नयाँ जोस भएको उम्मेदवारको खोजीमा छन् ।

चार– रास्वपाप्रति देशैभरि जनताको उत्साह र लहर छ । त्यसैले सुविधाजनक हिसावले जित्ने सम्भावना छ । घरदैलोमा जनताबाट साथ र माया पाएको अनूभूति भएको छ । खासगरी आधारभूत वर्गका जनताको साथ मलाई छ । चुनावमा पार्टी सभापति र सम्पूर्ण नेतृत्व टिमको साथ छ ।

पाँच– सबै दल र समुदायका इलामेली जनताले मतदान गर्ने साझा उम्मेदवार पाएका छन् । इलाम–२ को सम्पूर्ण भूगोल र कला संस्कृतिको जानकार भएकाले जनताका समस्या र सम्भावनालाई नजिकबाट बुझेको व्यक्ति पाएका छन् ।

छ– आफ्नो जिल्लालाई विकास र सम्भावनाको हिसाबले माथि उकास्न र कृषिमार्फत समुन्नत देश बनाउन आएको उम्मेदवार हुँ ।

सात– पुराना पार्टीहरुले यहाँ केही काम गरेनन् भन्ने जनतामा गुनासो छ । ती दलप्रति मतदातामा चरम निरशा देखिएको छ । जनताले नयाँ अनुहार खोजेका छन् । कुनै भ्रष्टाचारमा नमुछिएको निष्कलंक युवा खोजेका छन् । दल पनि नयाँ, व्यक्ति पनि नयाँ खोजेका छन् ।

आठ– मलाई माओवादी र पहिचानवादी साथीहरुले पनि मत दिनुहुनेछ, किनभने, मैले यी दुबै आन्दोलनको पक्षमा काम गरेको छु ।

यो पनि- 

परीक्षणको कसीमा सुहाङ : विरासतमा रमाउने कि विश्वास कमाउने ?

डम्बरको उम्मेदवारी : सुवाससँग टेस्ट, सुहाङसँग फाइनल

डकेन्द्रको पहिचान : छोराछोरी गायक, बाबु हेडसर !

पहाडमा सिके राउतको ‘बहु-पहिचान’

प्रकाशित मिति : २९ चैत्र २०८०, बिहीबार  ६ : ३८ बजे

आगालागीबाट दुई घर र ‘कृषि फार्म’ जलेर नष्ट

सर्लाही– जिल्लाको दुई छुट्टाछुटै स्थानमा भएको आगलागीमा दुई घर र

इलामको पाठ, सोह्र दुना आठ !

काठमाडौं- इलाम क्षेत्र नम्बर–२ मा सम्पन्न उपनिर्वाचनको नतिजा आइसकेको छ

प्रिओपन सेसन : ११ अंकले बढ्यो नेप्से

काठमाडौं– आज प्रिओपन सेसनमा नेप्से परिसूचक ११ अंकभन्दा बढीले बढ्यो

सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ ।

भातै पोखिएपछि माडको के माया ?

गुरु द्रोणाचार्यले महाभारत युद्धमा सहादत प्राप्त गरेपछि सेनापति कसलाई बनाउने