डम्बरको उम्मेदवारी : सुवाससँग टेस्ट, सुहाङसँग फाइनल | Khabarhub Khabarhub

डम्बरको उम्मेदवारी : सुवाससँग टेस्ट, सुहाङसँग फाइनल



काठमाडौं- अन्ततः नेपाली कांग्रेसले ढिलो गरी इलामका पार्टी सभापति डम्बर खड्कालाई उपचुनावको मैदानमा उतारेको छ । अन्य दलले बैशाख १५ मा हुने प्रतिनिधिसभा सदस्यको उपचुनावका लागि उम्मेदवारहरु मैदानमा पठाइसकेपछि बल्ल कांग्रेसले खड्काको नाम टुंगो लगाएको हो ।

खड्का ०७९ को निर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङसँग १ सय १४ मतको झिनो अन्तरले हारेका थिए । पिता नेम्वाङसँग टेस्ट म्याच खेलेको बताउने खड्काले अब ‘फाइनल खेल’ छोरा सुहाङ नेम्वाङसँग खेल्नुपर्ने भएको छ ।

यद्यपि यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बु र पहिचान पक्षधर स्वतन्त्र उम्मेद्वार डकेन्द्र थेगिम पनि कांग्रेसका लागि भोट काट्ने चुनौती बनेर उभिएका छन् ।
त्यसबेला नेम्बाङले ३० हजार २० मत ल्याएका थिए भने गठबन्धनका तर्फबाट कांग्रेस नेता खड्काले २९ हजार ९०६ मत ल्याएका थिए । खड्कालाई माओवादी तथा नेकपा एकीकृत समाजवादीको करिब ४ हजार मत थपिएको बताइन्छ ।

तर, एमाले नेता सुवास नेम्वाङलाई पनि एमालेको साथै कांग्रेस र अन्य दलका व्यक्तिहरुले पनि मत दिएका थिए । यही कारण एमालेले समानुपातिकमा २६ हजार मत ल्याउँदा नेम्वाङले ३० हजार पाएका थिए ।

योपटक पनि कांग्रेसले पुरानै उम्मेदवार खड्कालाई नै ‘०७९ को निर्वाचनमा कम्पाट पाएको’ भन्दै पुनः एकपटक मौका दिएको छ ।

आगामी बैशाख १५ गते हुने चुनावका लागि आइतबार मनोनयन दर्ता गर्ने निर्वाचन आयोगको कार्यतालिका छ ।

यसअघि हामीले एमाले उम्मदेवार सुहाङ नेम्वाङ को हुन् ? भन्नेबारे सामग्री पस्केका थियौं । यहाँ कांग्रेस उम्मेदवार खड्काको प्रोफाइल प्रस्तुत गरिएको छ–

को हुन् खड्का ?

इलाममा ०३२ सालमा जन्मिएका खड्का । कलिलै उमेरदेखि नेपाली कांग्रेसको राजनीतिमा प्रवेश गरे । उनी किसान परिवारमा हुर्किएका व्यक्ति हुन् । आफ्ना हजुरबाले नेपाल राज्य विस्तारका क्रममा टिस्टाको लडाइँ लडेको खड्का बताउँछन् ।

डम्बरका बुबा सरकारी जागिरमा थिए । सात पुस्ता इलाम नै बसेका उनीहरू इलाम क्षेत्र नम्बर २ का स्थायी बासिन्दा हुन् । उनी सोही स्थानबाट ०७४ मा प्रदेश सांसद पनि लडेका थिए, तर जितेनन् । ०७९ को चुनाव पनि उनका लागि फापेन ।

खड्काका श्रीमती तीन छोरा छन् । उनलाई छोरा र श्रीमतीले पनि राजनीतिमा अगाडि बढ्न हौसला दिइरहेको सुनाउँछन् । अन्डर एसएलसीसम्मको अध्ययन गरेका उनले राजनीतिक यात्रा भने करिब चार दशकभन्दा बढी भइसकेको बताए ।

ठेक्कापट्टा व्यवसायसँगै राजनीति गरेका खड्काले ६ वर्ष अगाडिदेखि आफ्नो व्यवसाय छोराहरुलाई सुम्पिएका छन् । ४९ वर्षका खड्का भने राजनीतिमा सक्रिय रहँदै

पार्टीको जिल्ला सभापति छन् ।

कक्षा ७ मा पढ्दा ०४१ सालमै आदर्श उच्च मावि इलाममा नेविसंघको सभापति भएर राजनीतिक यात्रा सुरु गरेको खड्का बताउँछन् । प्रजातन्त्र प्राप्तिका लागि ०४६ सालको आन्दोलनमा लाग्ने क्रममा जेल जीवनसमेत बिताएका उनी ०६२–०६३ सालमा पनि जेल परेका थिए ।

दुई पटक जेल परेका उनी प्रहरीको कुटाइ खाएका डामले अहिले पनि शरीर पोल्ने गरेको सुनाउँछन् । ०४६ सालको यातना सम्झँदै उनी भन्छन्, ‘हातमा बेसार लागेको देखेपछि प्रहरीले भक्कु कुटेर जेलमा कोच्थ्यो । किनकि हामी बेसार दलेर पञ्चायती शासन मुर्दावाद भन्थौं ।’

नेविसंघको जिल्ला सभापतिदेखि केन्द्रीय सदस्य हुँदै केन्द्रीय उपाध्यक्षसम्म भएका खड्का पार्टीको राजनीतिमा फर्किएर इलाम जिल्ला कोषाध्यक्ष हुँदै हाल जिल्ला सभापति छन् ।

देउवा निकट भनेर चिनिए पनि उनी गुटविहीन राजनीति गर्नुपर्छ भन्नेमा विश्वास गर्छन् । आफू सभापति भएपछि स्थानीय तह निर्वाचन ०७९ मा इलाममा ४० वटा वडा जितेको खड्काको दाबी छ । इलाममा ८२ वटा वडा छन् ।

उनी आफू ०७९ को निर्वाचनमा पनि निर्वाचित भइसकेको तर प्राविधिक कारण हार्नुपरेको बत्ताउँछन् ।

इलाम क्षेत्र नम्बर २ मा ४२ वटा वडा छन् । त्यसमध्ये कांग्रेसले २२ वटा वडामा जित हासिल गरेको छ । एमालेले भने १६ वटा वडामा जितेको छ । पूर्णकालीन राजनीतिमा बिताइरहेका खड्काले आफूलाई सुवासचन्द्र नेम्बाङले ०७९ को निर्वाचनमा तिमी सांसद हुन्छौँ है भनेको याद आइरहने बताउँछन् ।

खड्काले खबरहबसँग भने, ‘म सुवासचन्द्र नेम्बाङसँग निर्वाचन प्रचारमा पनि सँगै हिँडें । उहाँसँग मैले एउटै पोस्टमा निर्वाचन प्रतिस्पर्धा गरे पनि आर्शीवाद लिएको थिएँ ।’
इलाम २ को भूगोल बुझेका खड्का आफ्नो क्षेत्रका जनताको हरेक घरघर पुगेका छन् । राजनीति गर्नुपर्ने मान्छेले जनताका हरेक समस्या थाहा पाउनुपर्ने उनको मान्यता छ । ०७९ निर्वाचनमा राम्रो प्लेयरसँग टेस्ट म्याच खेलेर दक्ष भएको उनको अनुभव छ ।

खड्काले खबरहबसँग छोटो कुरा गर्दै भने, ‘मलाई पार्टीले विश्वास गरेको खण्डमा यो पटक म्याच जित्छु ।’

खड्का आफ्ना राजनीतिक गुरु केशव थापा र बेनुप प्रसाईँलाई मान्छन् । थापा भने अहिले उनीसँग उम्मेदवारका आंकाक्षी थिए ।
पहिचानको पक्षधर ?

इलाम–२ मा राई लिम्बुका साथै बहुजातीय बसोबास छन् । खड्का आफूलाई त्यहाँको समग्र भाषाको समेत ज्ञान भएको बताउँछन् । तामाङ, मगर, राई लिम्बू सबै भाषा आउने उनका नातेदार बताउँछन् ।

कांग्रेस भएता पनि पहिचान पक्षधर नेता भएको भन्दै खड्का आफूलाई इलाम–२ का सम्पूर्ण जनताले चिनेको दाबी गर्छन् । आफू पहिचानको पक्षमा रहेको बताउँदै उनी कोशी प्रदेशको नाम पहिचानकै आधारमा फेरिनुपर्ने स्वीकार्छन् ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  ७ : २९ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको