गणितीय भ्रममा अल्झिएको इलामको उपचुनाव | Khabarhub Khabarhub

गणितीय भ्रममा अल्झिएको इलामको उपचुनाव

एमाले र कांग्रेसकाे चुनौती बन्दै 'माङसेबुङ फ्याक्टर' र घण्टी


२३ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 10 मिनेट


4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संघीय राजधानीमा बसेर सुदूरपूर्व इलामको उपचुनावबारे लेख्नु चुनौतीपूर्ण मात्र छैन, जोखिमपूर्ण पनि उत्तिकै छ । काठमाडौंमा बसेर विगतको चुनावको गणित राम्रैसँग केलाउन सकिन्छ तर मतदाताको परिवर्तित मनलाई छाम्न सकिँदैन ।

पोहोर सालको गणित मात्र हेर्ने हो भने प्रतिनिधिसभा सदस्यका लागि बैशाख १५ गते हुने इलाम–२ को चुनावमा एमाले उम्मेद्वार सुहाङ नेम्वाङको जित निश्चित छ भनेर लेखे हुन्छ । किनभने, पोहोर सुवास नेम्वाङले गठबन्धन नै नगरी चुनाव लड्दा एक्लै ३० हजार मत ल्याएका थिए ।

कांग्रेस र माओवादी मिल्दा डम्बर बहादुर खड्काले २९ हजार मत पाएका थिए । अहिले माओवादीले एमालेका सुहाङलाई सघाउने निर्णय गरिसकेको छ । जबकि माओवादीसँग ५ हजार १५३ समानुपातिक भोट छ ।

तर, नेपालको पछिल्लो चुनावी स्थिति हेर्दा पुरानो गणित काम लाग्न छाडिसकेको छ । पहिलो वा दोस्रो ठूलो दलले हैन, नामै नसुनेको नयाँ उम्मेवारले जित्ने नजिर पनि विगतको निर्वाचनले बनाइसकेको अवस्था बिर्सन मिल्दैन ।

केही तथ्य प्रमाणहरु हेरौं–

गणितीयको झूठको खारेजी

धरान उपमहानगरपालिकाका तत्कालीन मेयर, एमाले नेता तारा सुब्बाको निधनपछि त्यहाँ ०७६ मंसिर १४ गते उपचुनाव भयो । एमालेका सुब्बाले एक्लै लडेर कांग्रेसलाई ४ हजारको मतान्तरले हराएका थिए ।

एमाले ०७६ को उपचुनावमा झन् बलियो थियो । किनभने, एमाले र माओवादी एकता भएर नेकपा बनेको थियो । एमाले एक्लैले ठूलो मतान्तरले हराएको विचरा कांग्रेसले उपचुनावमा एमाले–माओवादी दुबैको सामना गर्नुपर्‍यो ।

तर, ०७६ को उपचुनावमा एमाले–माओवादी मिलेर बनेको नेकपाका उम्मेदवार अचम्मसँग हारे, कांग्रेसका तिलक राईले जिते । धरानमा ०७४ को चुनावी अंकगणित ०७६ मा खारेज भयो ।

धरानमै अर्को पनि रोचक उदाहरण छ ।

उपचुनाव भएको तीन वर्षपछि ०७९ मा स्थानीय चुनाव भयो । कांग्रेस, माओवादी र एकीकृत समाजवादी सबैले गठबन्धन कसेर मेयरमा कांग्रेसका किशोर राईलाई उभ्याए । धरान हाम्रो गढ हो, एक्लै जितिन्छ भन्दै एमाले पनि मैदानमा खडा भयो । तर, ऋषि धमलाले चुनावी बहस कार्यक्रममा ल्याउनसमेत अयोग्य सम्झेका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले २० हजार ८२१ मत ल्याएर कांग्रेस–एमालेलाई धुलो चटाइदिए ।

धरानको ०७६ को उपचुनावमा एक्लै नेकपालाई हराएको कांग्रेसका उम्मेदवार किशोर राई माओवादीले सघाउँदा पनि १६ हजार ५९ मतमा खुम्चिएर दोस्रो भए । एमाले त झनै लुँडोको गोटी जसरी तेस्रो स्थानमा खस्यो ।

अन्ततः धरानमा ०७६ को गणित ०७९ मा काम लागेन । ०७४ को अंकगणित त कता पुग्यो कता । चुनावमा पुराना गणितहरु उल्टिएका उदाहरण प्रशस्तै छन्, ती सबैको चर्चा गरीसाध्य छैन ।

काठमाडौं महानगरपालिकाकै गणित हेर्ने हो भने विश्लेषकहरु कांग्रेस र एमालेले ०७४ मा पाएको भोट जोडेर बसिरहेका थिए । नतिजा आउँदा कांग्रेसकी सिर्जना सिंह ३८ हजार ३४१ मतका साथ दोस्रो बनिन् । बडो हल्ला गरिरहेका एमालेका केशव स्थापित तेस्रो स्थानमा झरे ।

पुरानो गणित–सणित केही नभएका बालेन्द्र शाह नेपाली कांग्रेसको भन्दा झण्डै दोब्बर, अर्थात ६१ हजार ७६७ मतका साथ विजयी बने । काठमाडौंले पनि धरानमा जस्तै चुनावी गणितको भ्रमलाई भत्कायो । तर, त्यहीँनेर उपमेयरमा भने पुरानै दल नेकपा एमालेकी सुनिता डंगोल बालेन्द्रको भन्दा करिब ७ हजार बढी अर्थात्, ६८ हजार ६१२ मत ल्याएर शानदार रुपमा विजयी बनिन् ।

यी सबै परिघटनालाई हेर्ने हो भने अहिले इलाम–२ मा कसले चुनाव जित्ला भनेर चर्चा गर्नका लागि ०७९ को गणितको सहारा लिइयो भने त्यसले बिताइदिन सक्छ ।

कतै एमालेका सुहाङ नेम्वाङ वा कांग्रेसका डम्बर खड्का पुरानै गणित जोडेर बसिरहेका त छैनन् ? त्यसो हो भने उनीहरु केशव स्थापित र सिर्जना सिंहजस्तै नबन्लान् भन्न सकिन्न ।

गणितज्ञले भनेकै छन्, झूठ तीन प्रकारका हुन्छन् : सामान्य झूठ, सफेद झूठ र गणितीय झूठ । नेपालको परिवेशमा विगतको चुनावी नतिजा वर्तमानका लागि ‘गणितीय झूठ’ शिवाय अर्थोक केही पनि हैन । तपाईले चितवन, तनहुँ, काठमाडौं, ललितपुर, जहाँसुकैको चुनावमा हेर्दा पनि यो तथ्य पुष्टि हुन्छ ।

एमाले उम्मेदवार सुहाङ नेम्बाङ

पुरानो अंकगणितका आधारमा नयाँ परिणाम आकलन गर्न सकिँदैन भनिरहँदा पुरानो चुनावी अंकगणितलाई पूरै बिर्सनचाहिँ सकिँदैन । कुन स्थानीय तहमा कुन दलको अवस्था कस्तो छ, त्यहाँका आवश्यकता के छन् र कस्तो रणनीति अपनायो भने जितिन्छ भन्ने बारे उम्मेदवारहरुलाई रणनीति तय गर्न पुरानो चुनावी डाटा अवश्य चाहिन्छ । खाली त्यसमा कतिसम्म भर गरेर बस्ने भन्ने मात्र मुख्य प्रश्न हो ।

अब इलाम क्षेत्र नम्बर–२ को पुरानो स्टोरीतर्फ लागौं –

४२ वडामा समेटिएको भूगोल

इलाम क्षेत्र नम्बर–२ मा फाकफोकथुम, मासेबुङ र चुलाचुलीहित तीनवटा गाउँपालिका समेटिएका छन् ।

९ वटा वडा रहेको देउमाई नगरपालिकाको पूरै भूभाग यो क्षेत्रमा पर्छ ।

माई नगरपालिकाका वडा नम्बर ६, ७ र ८ वडामात्रै यो क्षेत्रमा समेटिएको छ ।

त्यस्तै, १२ वटा वडा रहेको जिल्ला सदरमुकाम इलाम नगरपालिकाको वडा नम्बर १० बाहेक सबै वडाहरु यो क्षेत्रमा पर्छन् । अर्थात् यो निर्वाचन क्षेत्र इलाम सदरमुकामका मतदाताको सेन्टिमेन्टसँग जोडिएको स्थान हो ।

यो निर्वाचन क्षेत्रमा कुल ४२ वडा छन् । यीमध्ये ०७९ को स्थानीय चुनावमा नेपाली कांग्रेसले बहुमत अर्थात् २२ वटा वडामा जित निकालेको थियो भने एमालेले १७ वडा जितेको थियो । माओवादी, जनमुक्ति र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (लिम्बुवान) ले एक– एक वटा वडाहरु जितेका थिए ।

मतदाता १ लाख बढी, खस्ने भोट लगभग ६५ हजार

कांग्रेस उम्मेदवार डम्बर बहादुर खड्का

०७९ को चुनावमा इलाम क्षेत्र नम्बर २ मा कुल १ लाख १५ हजार ३४२ मतदाता थिए । अहिले त्यसमा ४२२ मतदाता थपिएका छन् ।

सवा लाख मतदाता भए पनि गत चुनावमा ६९ हजार ४८१ जनाले मात्रै मतदान गरेका थिए । त्यसमध्ये २ हजार ५९६ मत बदर भएको थियो । सदरमत ६६ हजार ८८५ मत थियो । यसमध्ये झण्डै आधा अर्थात् ३० हजार २० मत सुवास नेम्वाङले पाएका थिए । अर्को आधाजति कांग्रेसका डम्बरले लगेका थिए । त्यस बाहेक अरुतिर धेरै मत खासै बाँडिएको थिएन ।

अहिलेको मध्यावधिमा पनि करिब ६०–६५ हजार मत खस्न सक्ने र त्यो कांग्रेस, एमाले, रास्वपा र पहिचानवादी दलमा छरिने हुनाले २२/२५ हजार मत ल्याउनेले चुनाव जित्ने स्थानीय नेताहरुको दाबी छ ।

०७९ को प्रतिनिधिसभा

प्रतिनिधिसभाको चुनाव ०७९ मा एमालेका सुवास नेम्वाङले ३० हजार २० मत पाउँदा कांग्रेसका डम्बरबहादुर खड्काले माओवादीको समेत जोडेर २९ हजार ९०६ मत पाएका थिए । समानुपातिकतर्फ भने एमालेले २६ हजार ५६२ मत मात्रै पाएको थियो । यसको अर्थ, सुवास नेम्वाङको व्यक्तित्वले ४ हजार भोट बढी तानेको थियो ।

स्व. सुवासचन्द्र नेम्वाङ

कांग्रेसको पनि प्रत्यक्षमा भन्दा समानुपातिकमा कम भोट खसेको थियो । कांग्रेसले प्रत्यक्षमा २९ हजार ९०६ भोट पाउँदा समानुपातिकमा २२ हजार ३३३ मत मात्र खसेको थियो ।

माओवादी र एकीकृत समाजवादीले नेपाली कांग्रेसलाई सघाएका थिए । तथापि गठबन्धनविरुद्ध एक्लै उभिएका एमाले नेता सुवास नेम्वाङले चुनाव जिते ।

एमालेको जितमा चारवटा  पक्षले भूमिका खेलेको थियो– एमालेको बलियो जनाधार, नेम्वाङको ‘टावर पर्सनालिटी’, मासेबुङका किरात धर्मगुरु आत्मानन्द लिङदेनको ‘ग्रिन सिग्नल’ र कांग्रेसको एउटा गुटले पार्टीलाई अन्तरघात गरेर सुवास नेम्वाङलाई दिएको साथ

एमालेको जितमा चारवटा  पक्षले भूमिका खेलेको थियो–  एमालेको बलियो जनाधार, नेम्वाङको ‘टावर पर्सनालिटी’, मासेबुङका किरात धर्मगुरु आत्मानन्द लिङदेनको ‘ग्रिन सिग्नल’ र कांग्रेसको एउटा गुटले पार्टीलाई अन्तरघात गरेर सुवास नेम्वाङलाई दिएको साथ ।

इलाम २ बाट माओवादीले ०७९ सालमा समानुपातिकतर्फ ५ हजार १५३ मत पाएको थियो । एकीकृत समाजवादीको समानुपातिक मत ५८६ मात्रै खसेको थियो ।
यहाँ जसपाको प्रत्यक्षतर्फको मत ७२४ थियो भने समानुपातिकमा उसले ९०६ मत ल्याएको थियो ।

मंगोल नेशनल अर्गनाइजेसनले प्रत्यक्षमा १ हजार ३६३ र समानुपातिकमा १ हजार ६६१ मत पाएको थियो । यहाँको चुनावी हारजितमा मंगोल नेशनल अर्गनाइजेसनको मतले पनि अर्थ राख्न सक्छ । जसपा र लिम्बुवानको हकमा पनि यही कुरा सत्य हो ।

पहिचान पक्षधर दल संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च ( लिम्बुवान) ले गत चुनावमा यहाँ प्रत्यक्षतर्फ ६८४ र समानुपातिकतर्फ दापसहितको खुकुरीमा १ हजार ३२९ मत पाएको थियो ।

त्यस्तै, राष्ट्रिय जनमुक्ति पार्टीको घरमा प्रत्यक्षतर्फ १ हजार २७२ मत खस्दा समानुपातिकमा १ हजार ४१३ मत परेको थियो ।

यस क्षेत्रबाट गत चुनावमा जनमत पार्टीले १२४, नागरिक उन्मुक्तिले २० र नेमकिपाले ७ मत पाएका थिए । अहिले पनि उनीहरुको उपस्थिति अर्थपूर्ण देखिँदैन । राप्रपाको मत पनि खासै धेरै छैन ।

हेर्नुहोस् ०७९ चुनावमा इलाम २ मा खसेको समानुपातिक मत–

माङसेबुङ फ्याक्टर

यसपालिको उपचुनावमा जनमुक्ति र लिम्बुनानको मत पहिचानवादी उम्मेदवार डकेन्द्र थेगिमले तान्ने अनुमान गर्न सकिन्छ । त्यस्तै माङसेबुङका किरात धर्मावलम्बीको मत पनि केही थेगिमतिर र केही अन्यत्र छरिने जोखिम छ ।

डकेन्द्र आफैं लामो समय आत्मानन्द लिङदेनका सेवक भएर काम गरेका व्यक्ति हुन् । अहिले उनले राजीनामा दिएर उम्मेदवारी दिएका छन् । तथापि आत्मानन्दका सबै समर्थकहरुले डकेन्द्रलाई सघाउने–नसघाउने खुलिसकेको अवस्था छैन । तर, यत्तिचाहिँ अहिले नै भन्न सकिन्छ, माङसेबुङबाट सुवास नेम्वाङले जति भोट पाएका थिए, सुहाङले त्यो भन्दा कमै पाउने सम्भावना छ । यसको कारण हो, किरात धर्मावलम्बी डकेन्द्रको उम्मेदारी ।

इलाम क्षेत्र नम्बर २ मा धर्मगुरु आत्मानन्द लिङदेनका समर्थकहरुसँग कति भोट छ ? यसको यकिन आँकडा छैन । तर, किरातहरुको पवित्रस्थल माङ रहेको माङसेबुङको वडा नम्बर ५ को वडाध्यक्ष राष्ट्रिय जनमुक्ति पार्टीले जितेको तथ्यबाटै उनीहरुको प्रभाव आकलन गर्न सकिन्छ । यो वडामा २ हजारभन्दा बढी मतदाता छन् ।

उता चुलाचुली गाउँपालिकाको वडा नम्बर २ पनि विगतमा पहिचानवादीहरुको गढ हो । करिब ४ हजार मतदाता रहेको सो वडामा वग चुनावमा लिम्बुवानले वडाध्यक्ष जितेको थियो, अहिले ती वडाध्यक्ष डकेन्द्रको पक्षमा खुलेका छन् ।

पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिम

यी सबै दृष्टान्तले इलामको राजनीतिमा पहिचान पक्षधर उम्मदेवारहरुले राजनीतिक अर्थ राख्छन् । लिम्बुवान, राष्ट्रिय जनमुक्ति पार्टी, किरात धर्मगुरु र यहाँ रहेको जनजातिहरुको बाहुल्य बसोबास आदि पक्षहरु पहिचानवादी उम्मेदवार डकेन्द्रका लागि अनुकुल पाटो हो ।

मंगोल नेशनल अर्गनाइजेशनले भने जातीय राज्यलाई समर्थन नगर्ने भएकाले पहिचान पक्षधरलाई खुलेर सघाउँछ या सघाउँदैन, टुंगो छैन । तर, उसको मतले पनि यहाँ अर्थ राख्छ ।

यसै साता माङसेबुङमा स्वतन्त्र उम्मेदवार डकेन्द्रको चुनावी सभा भयो । त्यहाँ धरानका मेयर हर्क साम्पाङ बसमा समर्थकहरु लिएर पुगेका थिए । कार्यक्रममा धन्किएको गीतमा धुमधामसँग नाचेर उनी धरान फर्किए । हर्कले पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रलाई सघाउने र जिताउने घोषणा गरे । हर्क साम्पाङको समेत समर्थन पाएपछि डकेन्द्रलाई कमजोर उम्मेदवार मानिहाल्ने अवस्था छैन ।

रवि लामिछाने फ्याक्टर

इलाम–२ मा जसरी पहिचान पक्षधरहरुले अन्य पार्टीलाई असर पार्ने र उस्तै परे जितका लागि दख्खल दिने रणनीति बनाइरहेका छन्, रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी पनि पुरानो गणितलाई सम्झेर उत्साहित छ । माओवादीलाई दिँदै आएको नैतिक समर्थन छाडेर पत्रकार मिलन लिम्बु यहाँ रास्वपाको उम्मेदवार बनेका छन् ।

आफू स्थानीय लिम्बु समुदायकै भएको र रास्वपाप्रति देशव्यापी लहर देखिएको अवस्थामा मिलनले पुरानो ४ हजार मतमा अरु थपेर जित्ने इरादा राखेको देखिन्छ । आफू पूर्वमाओवादी भएकाले माओवादीको भोट पनि सबै सुहाङतिर नगएर घण्टीतिर आउन सक्ने मिलनको आकलन देखिन्छ ।

रास्वपा उम्मेदवार मिलन लिम्बु

यस क्षेत्रबाट गत चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रकाश सापकोटाले १ हजार ३८० मत मात्रै पाएका थिए । तर, समानुपातिकतर्फ भने घण्टीमा ४ हजार ६८६ मत परेको थियो । यही मतलाई आधार बनाएर रास्वपाले चुनाव जित्ने दाबी गरेर मिलनलाई उम्मेदवार बनाएको छ ।

तर, कांग्रेस र एमालेसँग असन्तुष्ट मतदाताहरुको मत रास्वपामा मात्रै डोलायमान हुने स्थिति छैन । किनभने पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रको भोट बैंक पनि तिनै पुराना पार्टीहरु (कांग्रेस, एमाले, माओवादी) नै हुन् ।

नयाँ मतदाताको यो संख्या ४२२ मात्र हुने खासै ठूलो परिवर्तन होइन । ती नयाँ मतदाता पनि सबै नयाँ शक्तितिरै जान्छन् भन्न सकिँदैन । त्यसैले जित निकाल्नका लागि नयाँ उम्मेदवारले पनि पुरानै मतदाताहरुको मन बदल्न सक्नुपर्ने हुन्छ । यो असम्भव छैन तर चुनौतीपूर्ण छ ।

प्रदेशतर्फको अंकगणित

प्रदेशतर्फको परिणाम हेर्ने हो भने २०७९ को चुनावमा इलाम क्षेत्र नम्बर २ को (क) नेपाली कांग्रेसका गोविन्द गिरीले १६ हजार ६५८ मतका साथ एमालेका गणेश बराललाई पराजित गरेका थिए । एमालेका बरालले १५ हजार ४४७ मत पाएका थिए । यस प्रदेश निर्वाचन क्षेत्रमा जसपाले ४४६, मंगोल नेशनल अर्गनाइजेसनले १५३५, जनमुक्ति पार्टीले ४३३ र राप्रपाले ९७४ मत ल्याएका थिए ।

प्रदेशसभा निर्वाचन क्षेत्र (क) मा इलाम नगरपालिकाका ११ वटा वडाहरु र देउमाई नगरपालिका समेटिएको छ ।

त्यस्तै, (ख) निर्वाचन क्षेत्रबाट एमालेका रामबहादुर मगर १३ हजार ७५४ मतका साथ प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए भने कांग्रेससँगको सहकार्यमा माओवादीका हर्क लावतीले ११ हजार १६७ मत पाएका थिए । यहाँ संघीय लोकतान्त्रिक मञ्च (लिम्बुवान) ले २०५४, जनमुक्ति पार्टीले १४१५, जसपाले ७९८, मंगोल नेशनल अर्गनाइजेसनले ७९३ र राप्रपाले ५७५ मत पाएको देखिन्छ ।

प्रदेशसभानिर्वाचन क्षेत्र (ख) मा फाकफोकथुम, मासेबुङ र चुलाचुली गाउँपालिकाका साथै माई नगरपालिकाका वडा नम्बर ६, ७ र ८ समेटिएका छन् ।

प्रदेशतर्फको समानुपातिक मत हेर्दा इलाम–२ मा एमालेको २७ हजार, कांग्रेसको २३ हजार, माओवादीको ४ हजार, जसपाको १ हजार, मंगोल नेशनल अर्गनाइजेशनको १९२२, जनमुक्ति पार्टीको १५८० र राप्रपाको १७०० मत देखिन्छ ।

स्थानीयतहको अवस्था

इलाम नगरपालिकाका ११ वटा वडाहरु मध्ये गत स्थानीय चुनावमा नेपाली कांग्रेसले ८ वटा र एमालेले ३ वटा वडाध्यक्ष जितेका थिए । वडा सदस्यहरु सबै जोड्दा कांग्रेसले ५० र एमालेले १० स्थान जितेको देखिन्छ ।

कुल ३६ हजार ७३० मतदाता रहेको इलाम नगरपालिकाको मेयरमा १३ हजार मतका साथ कांग्रेसका केदार थापा विजयी भएका थिए भने एमालेका धिरेनकुमार चेम्जोङले साढे १० हजार मत पाएका थिए । उपमेयरमा पनि कांग्रेसको १३ हजार र एमालेको १० हजार मत आएको थियो । ०७९ को स्थानीय चुनावका आधारमा हेर्ने हो भने इलाम नगरपालिकामा एमाले भन्दा कांग्रेस केही बलियो देखिन्छ ।

डम्बरको उम्मेदवारी : सुवाससँग टेस्ट, सुहाङसँग फाइनल

परीक्षणको कसीमा सुहाङ : विरासतमा रमाउने कि विश्वास कमाउने ?

चुलाचुली गाउँपालिकामा ६ वटा वडा छन् । तीमध्ये कांग्रेसले ५ वटा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले एउटा वडा जितेको तथ्यांक छ । यहाँ एमालेले एउटै पनि वडाध्यक्ष जितेको छैन । तर, पाँचवटा वडामा उसले दोस्रो स्थानमा रहेर कांग्रेसलाई टक्कर दिएको छ । दापभित्रको खुकुरी अर्थात संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (लिम्बुवान) ले जितेको वडा नम्बर १ मा भने कांग्रेस दोस्रो र एमाले तेस्रो स्थानमा थिए ।

चुलाचुली गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका राजेन्द्र केरुंग ६६५० मतका साथ विजयी हुँदै गर्दा एमालेका ओमनारायण खनालले ३७५५ मत पाएका थिए । उपाध्यक्षमा एमालेकी दिलकुमारी लिम्बु ४४५० मत पाएर विजयी बनेकी थिइन् भने माओवादीका शुकबहादुर लावतीले ३४४२ मत पाएका थिए । कांग्रेसले जितेका वडा संख्या र अध्यक्षको मत हेर्दा चुलाचुलीमा पनि कांग्रेस नै बलियो देखिन्छ ।

कुल ७ वटा वडा रहेको फाकफोकथुम गाउँपालिकामा गत स्थानीय चुनावमा अध्यक्ष र उपाध्यक्ष दुबै नेकपा एमालेले जितेको थियो । पालिका अध्यक्षमा कांग्रेस र एमालेको मतान्तर करिब ५ सयको मात्र थियो । उपाध्यक्षमा कांग्रेसले भन्दा एमालेले करिब एक हजार बढी मत ल्याएको थियो । ७ वटा वडामध्ये कांग्रेसले चारवटा र एमालेले तीनवटा जितेका थिए । यहाँका वडा नम्बर १, २, ४ र ७ मा कांग्रेसले जितेको थियो भने वडा नम्बर ३, ५ र ६ एमालेले जितेको थियो ।

मासेबुङ गाउँपालिकाका ६ वटा वडामध्ये गत स्थानीय चुनावमा एमालेले चारवटा वडा जितेको थियो भने माओवादी र जनमुक्ति पार्टीले एक–एकवटा वडा जितेका थिए । पालिका अध्यक्षमा एमाले र उपाध्यक्षमा जसपाले जितेका थिए । कांग्रेस करिब ४ सय मतले एमालेभन्दा पछि परेको थियो । कुल मतदाता साढे १२ हजार रहेको यो पालिकामा नेकपा एमाले अपेक्षाकृत रुपमा कांग्रेसभन्दा बलियो देखिन्छ ।

मासेबुङका कुल ६ वटा वडामध्ये कांग्रेसले एउटा पनि जितेको थिएन । एमालेले चारवटा र माओवादी तथा जनमुक्ति पार्टीले एक–एकवटा वडा जितेका थिए । एमालेले वडा नम्बर १, २, ४ र ६ जितेको थियो भने माओवादीले वडा नम्बर ३ र जनमुक्तिले वडा नम्बर ५ मा जित निकालेका थिए ।

देउमाई नगरपालिकामा जम्मा ९ वटा वडा छन् । गत स्थानीय चुनावमा यहाँ एमालेले पाँचवटा र कांग्रेसले चारवटामा जित निकालेका थिए । कांग्रेसले वडा नम्बर ३, ६, ७ र ९ मा जितेको थियो भने बाँकी पाँचवटा एमालेले जितेको थियो । यो नगरपालिकामा कांग्रेस र एमाले नै मुख्य प्रतिस्पर्धी थिए । तर, यहाँ कांग्रेस भन्दा एमाले केही बलियो देखिन्छ । २५ हजार ८ सय भन्दा बढी मतदाता रहेको यस पालिकामा गत चुनावमा एमाले नेता सूर्यप्रसाद पोखरेलले ८६९५ मत ल्याएर जित्दा कांग्रेसका होमप्रसाद दुलाल करिब १ हजार मतले पछि थिए ।

माई नगरपालिकाका तीनवटा वडा मात्रै यस क्षेत्रमा पर्छन् । यीमध्ये दुईवटा (७ र ८) एमालेले जितेको थियो भने कांग्रेसले वडा नम्बर ६ मात्रै जितेको थियो । यहाँ पनि कांग्रेस र एमाले नै मुख्यप्रतिस्पर्धी थिए ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  ८ : ४९ बजे

वैतेश्वरका सात सय बढी कुकुरलाई रेबिजविरुद्धको खोप

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिकाले रेबिज रोग रोकथाम तथा नियन्त्रण गर्ने

नेपालले टस हारेर पहिला बलिङ गर्दै, कप्तान रोहितलाई आराम

काठमाडौं– नेपाल र वेस्ट इन्डिज ए बीचको तेस्रो खेल आज

हुम्लाको स्वास्थ्य शिविरमा १८ सय बढीले लिए सेवा

हुम्ला– हुम्लाको मध्यभागमा रहेको सर्केगाड गाउँपालिकाको सर्केगाडमा बृहत् निःशुल्क स्वास्थ्य

विश्वका नेपालीभाषीहरूलाई नेपालसँग जोड्न आग्रह

काठमाडौं– उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले विश्वका विभिन्न मुलुकमा छरिएर

नाम्खा पालिकालाई तिब्बत सरकारको सहयोग

हुम्ला– हुम्लाको उत्तरी भेगमा पर्ने नाम्खा गाउँपालिकालाई चीनको स्वशासित क्षेत्र