देश/प्रदेश

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

By खबरहब

November 28, 2023

दिनभर आज प्रहरी समायोजनको माग गर्दै सातै प्रदेशका गृहमन्त्रीले उपप्रधानमन्त्री श्रेष्ठलाई बुझाए ज्ञापनपत्र, स्वर्णिम वाग्ले रास्वपाको उपसभापति बन्द, भूकम्पपीडितको अस्थायी आवासका लागि रकम निकासा, कमेडियन अपूर्व क्षितिज सिंहलाई १० हजार जरिवाना, केपी ओली कप टी–२० : सुदूरपश्चिमसँग नेपाल पुलिस पराजित, सुनको भाउले नयाँ रेकर्ड राख्ने क्रम जारीलगायतका समाचारले प्रमुख स्थान पाए ।

प्रहरी समायोजनको माग गर्दै सातै प्रदेशका गृहमन्त्रीले उपप्रधानमन्त्री श्रेष्ठलाई बुझाए ज्ञापनपत्र

प्रहरी समायोजनको माग गर्दै सातै प्रदेशका गृहमन्त्रीहरूले संघीय सरकारका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसमक्ष ज्ञापनपत्र बुझाएका छन् ।

मंगलबार सिंहदरबारमा उपप्रधान तथा गृहमन्त्री श्रेष्ठलाई भटेर उनीहरुले मुलुकमा प्रदेश सरकार गठन भएका लामो समय हुँदा पनि प्रदेशको आफ्नै प्रहरी नहुँदा कार्यसम्पादनमा असर परेको भन्दै प्रहरी समायोजनको मागसहितको ज्ञापनपत्र बुझाएका हुन् ।

स्वर्णिम वाग्ले रास्वपाको उपसभापति बन्दै

डा. स्वर्णिम वाग्लेलाई राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभापति बनाउने भएको छ । रास्वपाको विधान अनुसार सांसद वाग्लेलाई रास्वपाले उपसभापति बनाउन लागेको हो ।

रास्वपाको विधानमा दुई जना उपसभापति रहने व्यवस्था छ । पार्टी गठनदेखि हालसम्म डोलप्रसाद अर्यालमात्र रास्वपाको उपसभापति छन् ।

तनहुँ–१ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद वाग्लेलाई उपसभापति बनाउने प्रस्ताव सभापति रवि लामिछानेले महोत्तरीको जलेश्वरमा जारी बैठकमा पेश गरेका हुन् ।

भूकम्पपीडितको अस्थायी आवासका लागि रकम निकासा

रुकुम पश्चिममा भूकम्पपीडितको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता वापतको रकम निकासा सुरु गर्न लागिएको छ । पहिलो किस्ता वापतको रकम स्थानीय जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको कोषमा उक्त रकम पठाउन लागिएको हो ।

जिल्ला विपद व्यवस्थापन समितिले त्रिवेणी गाउँपालिकामा अस्थायी आवास निर्माणका लागि ६४ घर परिवारका लागि पहिलो किस्ता वापतको रकम पठाउने निर्णय गरेको हो । भूकम्पबाट प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान कार्यविधि २०८० (दोस्रो संम्शोधन समेत) परिच्छेद २ को ३ (१) बमोजिम उक्त रकम निकासा गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बडूवालले जानकारी दिए ।

कमेडियन अपूर्व क्षितिज सिंहलाई १० हजार जरिवाना

नेवारी समुदायको आस्थामाथि चोट पुर्‍याउने गरी कमेडी गरेको आरोपमा कमेडियन अपूर्व क्षितिज सिंहलाई १० हजार रुपैयाँ जरिवानाको सजाय सुनाइएको छ ।

काठमाडौं जिल्ला अदालतले सिंहलाई १० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको हो । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश कपिलमणि गौतमको इजलासले दोषी ठहर गर्दै उनलाई यस्तो सजाय सुनाएको हो ।

बाल संरक्षण मापदण्डको मस्यौदामाथि छलफल

राष्ट्रिय बालअधिकार परिषद्ले बाल संरक्षण मापदण्ड २०८० को मस्यौदा तयार गरी छलफलमा ल्याएको छ ।

बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सीजप) को सहकार्यमा आज परिषद्ले विज्ञ र सरोकारवालाबीच मस्यौदामा सुझाव लिएको हो । बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ५७ बमोजिम विभिन्न क्षेत्रमा बालबालिकाविरुद्ध हुन सक्ने हिंसा र दुर्व्यवहार रोक्न उक्त मापदण्ड ल्याइएको परिषद्का सदस्यसचिव बमबहादुर बानियाँले जानकारी दिए ।

भूकम्पपीडितका लागि तत्काल अस्थायी आवास निर्माण गर्नुपर्छ : पूर्वअर्थमन्त्री शर्मा

पूर्वअर्थमन्त्री जनार्दन शर्माले भूकम्पप्रभावित क्षेत्रमा एक हप्ताभित्र अस्थायी आवास निर्माण गरिसक्नुपर्नेमा जोड दिएका छन् । दिन प्रतिदिन चिसो बढ्दै गएको र चिसोका कारण भूकम्पपीडित समस्यामा पर्दै गएकाले एक हप्ताभित्र ३० हजार अस्थायी बासस्थान बनाउनुपर्ने बताएका हुन् ।

आज रुकुम पश्चिम पुगेको राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिसँगको छलफलमा प्रतिनिधिसभा सदस्य शर्माले विभिन्न निकाय अस्थायी आवास निर्माणमा लागेका बताउँदै अस्थायी बसोबासको व्यवस्थाका निम्ति पर्याप्त स्रोतसाधन र जनशक्ति नभएको गुनासो गरे ।

देशभरीका कारागारमा योग शिविर चलाइने

स्वजागरणका रूपमा योगाभ्यास संस्कृतिलाई अगाडि बढाउन देशभरीका कारागारमा योगशिविर सञ्चालन हुने भएको छ।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई, कारागार व्यवस्थापन विभागका महानिर्देशक काशीराज दाहाल, नेपाल विपश्यना केन्द्रका क्षेत्रीय आचार्य रुप ज्योति, सहायक आचार्य पवन मित्तल, पूर्व प्रहरी महानिरीक्षक एवम् विपश्यना साधक कुबेरसिंह राना सहित सोमबार गृह मन्त्रालयमा बसेको बैठकले नख्खु कारागारबाट शिविर संचालन गर्ने निर्णय गरेको हो ।

केपी ओली कप टी–२० : सुदूरपश्चिमसँग नेपाल पुलिस पराजित

केपी ओली कप टी– २० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले जित निकालेको छ । आज भएको समूह चरणको अन्तिम खेलमा नेपाल पुलिस क्लबलाई ४ विकेटले पराजित गर्दै सुदूरपश्चिमले जित निकालेको हो ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा भएको खेलमा नेपाल पुलिसले दिएको १ सय ५९ रनको लक्ष्य सुदूरपश्चिमले १८ ओभर ४ बलमा ६ विकेट गुमाएर पूरा गर्यो ।

गुलसनसहित यू-१९ एसिया कपका लागि नेपाली टिमको घोषणा

यू-१९ एसिया कपका लागि १४ सदस्यीय नेपाली क्रिकेट टोलीको घोषणा भएको छ ।

देव खनालको कप्तानीमा रहेको नेपाली टोलीमा राष्ट्रिय टिमका नियमित खेलाडी गुलसन झा लाई पनि समावेश गरिएको छ ।

सुनको भाउले नयाँ रेकर्ड राख्ने क्रम जारी

मंगलबार नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला एक लाख १७ हजार ७०० रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख १७ हजार ४०० रुपैयाँ र तेजाबी सुन एक लाख १६ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो । साेमबारको तुलनामा आजको मूल्य ३०० रुपैयाँले बढी हो ।

नेपालमा नर्सको हाहाकार, बेलायत पठाउन कोटा पुगेन, ८० प्रतिशतले लाइसेन्स नै पाएनन्

सरकारी नीतिका कारण नेपालमा नर्सिङ कलेजहरू धमाधम बन्द हुँदै गएको चर्चा चलिरहेकै बेला रोजगारीको क्षेत्रमा नर्सहरूको अभाव देखिन थालेको छ ।

रोजगारीमा बेलायत पठाउन सरकारले तोकेको नर्सहरूको कोटासमेत पूरा हुन नसकेको पाइएको छ । अर्कोतर्फ, लाइसेन्सका लागि भएको परीक्षामा ८० प्रतिशत भन्दा बढी नर्सहरू फेल भएका छन् ।