देश/प्रदेश

आजका समाचार : माओवादी र एमाले मधेस सरकारबाट बाहिएदेखि राष्ट्रपतिका आर्थिक सल्लाहकारको राजिनामासम्म

By खबरहब

May 12, 2024

नर्सहरूको सेवा सुविधामा सुधार गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

प्रधानन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नर्सहरूको सेवा–सुविधामा एकरूपता ल्याउन सरकारले सकारात्मक पहल गर्ने बताएका छन् ।

चौधौँ राष्ट्रिय नर्सिङ सम्मेलनलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नर्सहरूको सेवा–सुविधा सन्तोषजनक एवं एकरूपता नभएकाले त्यसलाई सुधार गर्नुपर्ने बताए ।

प्रधानमन्त्रीले भने- कांग्रेससँग संवादमा छु, राष्ट्रपतिले संसदमा बाेल्न पाउनु हुन्छ

चितवन- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही दिनमा नै संसद्को गतिरोध अन्त्य हुने विश्वास व्यक्त गरेका छन् । उनले भने, ‘संसद्को गतिरोध अन्त्य गर्ने विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शीर्षनेतासँग म संवादमा नै छु, भोलि बेलुकका अथवा पर्सि बिहानसम्म संसद्को गतिरोध अन्त्य हुन्छ ।’

देउवासँग वार्तापछि राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगे प्रधानमन्त्री

संसद्मा गतिरोध कायम रहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग संवाद गरेका छन् ।

आइतबार दिउँसो राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता भएको हो ।

संसद अवरोध र पार्टीको आन्तरिक गतिविधिबारे शेखर र गगनबीच छलफल

नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाबीच भेट भएको छ। दुवै नेताबीच आइतबार बिहान कोइरालाको सचिवालय विशालनगरमा भेटघाट भएको छ।

नेता कोइराला र महामन्त्री थापाको यो नियमित भेटघाट रहेको बुझिएको छ।

सभामुखले बोलाएको बैठकमा बिना निष्कर्ष सकियो, कांग्रेसको अडान कायमै

सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख दलका प्रमुख सचेतक, सचेतकहरूबीचको छलफल बिना निष्कर्ष सकिएको छ ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बसेको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री, दलका प्रमुख सचेतक र सचेतकहरूको बैठक बसेको थियो । सभामुख घिमिरेले नीति तथा कार्यक्रमको तयारी लगायतका विषयमा छलफल गर्न बैठक बोलाएका थिए ।

कांग्रेसले आत्महत्या गर्छु भने पनि एक व्यक्तिबारे छानबिन समिति बन्दैन : बर्तौला

सत्तारुढ दल नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कांग्रेसले गरेको अडान कुनै पनि हालतमा पुरा नहुने बताएका छन् ।

आइतबार सिंहदरबारमा सभामुखसँगको छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै बर्तौला ले कांग्रेसले आत्महत्या नै गर्छु भने पनि व्यक्तिका नाममा छानबिन समिति नबन्ने बताए ।

अर्थमन्त्री पुनको तर्क- कसैको स्वार्थ हेर्दिन, मुलुकको स्वार्थ हेर्छु

अर्थमन्त्री वर्षमान पुन अनन्तले मनोमानी रूपमा करका दर हेरफेर नहुने बताएका छन् ।

राजधानीमा आइतबार आयोजित पूर्व बजेट छलफलमा मन्त्री पुनले आर्थिक शिथिलता अन्त्य गरेर अर्थतन्त्र चलायमान बनाउनुपर्ने अवस्था रहेको भन्दै कसैका स्वार्थ हेरेर नभई मुलुक हेरेर करका दर हेरफेर गरिने प्रतिबद्धता जनाए ।

माओवादीपछि एमाले पनि मधेस सरकारबाट बाहिरियो

नेकपा माओवादी केन्द्र मधेस सरकारबाट बाहिरिएकाे केही बेरमै यहाँको सबैभन्दा ठूलो दल नेकपा एमालेले पनि त्यही बाटो समातेको छ ।

एमालेका मन्त्रीहरूले पनि मुख्यमन्त्री सरोजकुमार यादवलाई सामूहिक राजीनामा पत्र थमाएका छन्

शवदाह मेशिनमा भ्रष्टाचार आरोप लागेपछि सुदनले मागे छानबिन समिति

पशुपति क्षेत्र परिसरमा नि:शुल्क शव दहनका लागि किनिएका मेशिनमा भ्रष्टाचार आरोप लागेपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले छानबिन समिति माग गरेका छन्।

आइबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितमान तामाङलाई एउटा लिखित पत्र बुझाउँदै उनले यस प्रकरणमा छानबिनका लागि तत्काल समिति गठन गर्न माग गरेका हुन् ।

नैनसिंह महरकाे तर्क- सहकारी ठगीविरुद्ध कांग्रेसले सदनसँगै सडक संघर्ष गर्नुपर्छ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सहकारी ठगीविरुद्ध सदनसँगै सडक संघर्ष गर्नुपर्ने बताएका छन् । आइतबार काठमाडौंको नयाँ बानेश्वरमा नेपाल शिक्षक संघको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले गाउँ–गाउँका गरिब जनता सहकारी ठगबाट पीडित रहेकाले जनस्तरमै सडक संघर्षको अपरिहार्यता रहेको औँल्याए।

राज्यको दोहन गर्दै जनतालाई ठगी गर्नेहरूलाई कानुनी दायरामा ल्याउन कांग्रेसको भूमिका थप सशक्त हुनुपर्ने महर बताउँछन् । ‘सरकार सहकारी पीडित जनताको पक्षमा देखिएन । आफ्नै क्याविनेटका सहकारी ठग मन्त्री र अन्य सहकारी ठगीका दोषिलाई संरक्षण गर्ने नाइके जस्तो देखियो’, उनले भने, ‘यस्तो अवस्थामा पीडितलाई न्याय दिन कांग्रेसले सदनसँगै जनताको माझमा रहेर सडक संघर्ष गर्नुपर्छ। ७७ वटै जिल्लामा संघर्षका कार्यक्रम अगाडि बढाउनु पर्छ।’

राष्ट्रपतिका आर्थिक सल्लाहकार नेपालले दिए राजीनामा

राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार डा. चिरञ्जीवी नेपालले पदबाट राजीनामा दिएका छन् ।

सरकारले एक सय रुपैयाँ दरको नयाँ नोटमा २०७७ मा संसद्‍बाट पारित चुच्चे नक्सा राख्ने निर्णयको विषयमा अभिव्यक्ति दिँदा विवादमा तानिएका उनले राजीनामा दिएका हुन् ।

एमाले नेता डा. नवलकिशोर साह आजपामा प्रवेश

नेकपा एमाले सर्लाहीका सदस्य डा. नवलकिशोर साह आम जनता पार्टी (आजपा)मा प्रवेश गरेका छन्।

साहलाई आजपा अध्यक्ष प्रभु साहले आइतबार पार्टीमा प्रवेश गराएका हुन् ।

रेमिट्यान्स आप्रवाहमा वृद्धि, ९ महिनामा आयो १० खर्ब ८२ अर्ब

चालु आर्थिक वर्ष (आव)को ९ महिना अवधिमा १०८२ अर्ब ६२ करोड रेमिट्यान्स आप्रवाह भएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आवको ९ महिना अवधिमा १९.८ प्रतिशतले वृद्धि भई सो मात्रामा रेमिट्यान्स आप्रवाह भएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.७ प्रतिशतले वृद्धि भई ८ अर्ब १५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.९ प्रतिशतले बढेको थियो ।

गिरीबन्धु प्रकरणको पूर्णपाठ : हदबन्दी भन्दा बढी जग्गा सरकारको हुने

झापाको गिरीबन्धु टि स्टेटको भोगचलनमा रहेको हदभन्दा बढी जग्गा विक्री गर्न नपाउने गरी गत माघ २४ गते सर्वोच्च अदालतको संवैधानिक इजलासले गरेको फैसलाको पूर्णपाठ प्रकाशित भएको छ । फैसलाले हदभन्दा बढी जग्गाजमीन जुन प्रयोजनका लागि भोगचलन गरिएको हो, त्यो नगरेको अवस्थामा व्यक्ति वा कम्पनीले बेच्न नपाउने र स्वतः सरकारको हुने मान्यता स्थापित गरिदिएको छ ।

नागरिकलाई केन्द्रबिन्दुमा राखेर कार्यसम्पादन गरौँ : महानिरीक्षक कुँवर

प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले नागरिकलाई केन्द्रबिन्दुमा राखेर सकारात्मक, निस्वार्थ र पूर्ण निष्ठाका साथ आफ्नो ज्ञान र कौशल प्रयोग गरी उत्कृष्ट कार्यसम्पादन गर्न प्रहरी अधिकृतहरू थप सक्रिय हुनुपर्ने बताएका छन् ।

हालै सरुवा तथा काज भई आफ्नो कार्यक्षेत्रमा खटी जान लागेका प्रहरी निरीक्षकहरूलाई आइतबार नेपाल प्रहरी प्रधान कार्यालयमा निर्देशन सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले उक्त कुरा बताएका हुन् ।

वर्ल्ड लिंकले हार्‍यो मुद्दा, सरकारलाई २ अर्बभन्दा बढी रोयल्टी तिर्नुपर्ने

निजी क्षेत्रको इन्टरनेट सेवा प्रदायक संस्था वर्ल्ड लिंकले रोयल्टी विवादसम्बन्धी मुद्दा हारेको छ ।

२ अर्बभन्दा धेरै रोयल्टी तिर्नु नपर्ने गरी कानुनी उपचारमा गएको वर्ल्ड लिंकको रिटलाई सर्वोच्च अदालतले आइतबार खारेज गरिदिएको छ। यससँगै अब वर्ल्ड लिङ्कले सरकारलाई २ अर्बभन्दा धेरै रोयल्टी बापदको रकम तिर्नुपर्ने भएको छ ।

सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक पौडेलसहित ६ जनाविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठसहित ६ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

अख्तियारले सुरक्षण प्रेसको सफ्टवेयर तथा अन्य उपकरण खरिदको क्रममा ४० करोड ७५ लाख ५७ हजार ७४० रुपैयाँ नोक्सानी पुर्‍याएको आरोप लगाउँदै विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।

अन्तर्राष्ट्रिय…

इराकमा मानव र लागूपदार्थ ओसारपसार गिरोहविरुद्धको अभियानमा ४० जना पक्राउ

इराकी सुरक्षा बलहरूले मानव र लागूपदार्थको तस्करीमा संलग्न दुई अन्तर्राष्ट्रिय गिरोहलाई ध्वस्त पारेको र देशभरबाट ४० जना विदेशीलाई पक्राउ गरेको इराकी सञ्चारमाध्यमले शनिबार जानकारी दिएका छन् ।

इराकी नेशनल इन्टेलिजेन्स सर्भिसले गृह मन्त्रालयसँगको सहकार्यमा अपहरण, जबरजस्ती असुली, जालसाजी तथा मानव र लागूपदार्थ ओसारपसारका अपराधमा संलग्न रहेको आशङ्कामा ४० जना विदेशीलाई पक्राउ गरेको सुरक्षा मिडिया सेलको एक विज्ञप्तिमा जनाइएको छ ।

भारतको लोकसभा चुनाव : सोमबार कुन राज्यमा कति सिटका लागि हुन्छ मतदान ?

सात चरणमा हुन लागेको भारत लोकसभाको चौथो चरणको मतदान सोमबार हुँदैछ। तीन चरणको चुनाव यसअघि नै भइसकेको छ।

पहिलो चरणमा २१ राज्यका १०२ संसदीय सिट, दोस्रो चरणमा १३ राज्यका ८९ र तेस्रो चरणमा १२ राज्यको ९४ लोकसभा सिटका लागि मतदान भइसकेको छ।

खेलकुद

साउदी प्रो लिग : अल हिलाललाई उपाधि

साउदी प्रो लिगको उपाधि अल हिलालले जितेको छ । शनिबार राति सम्पन्न खेलमा अल हिलालले अल हाजमलाई ४–१ गोल अन्तरले पराजित गर्दै तीन खेल बाँकी छँदै यस सिजनको लिगको उपाधि जितेको हो ।

अल हिलालको जितमा अलेक्जाण्डर मिट्रोभिकले दुई तथा सेर्गेज मिलिन्कोभिकले एक गोल गरेका थिए । यस्तै, एक गोल भने आत्मघाती उपहार स्वरुप प्राप्त भएको थियो । यता, अल हाजमका फैज सेलेमानीले एक गोल फर्काएका थिए ।

स्पेनिस ला लिगा : रियल मड्रिडको फराकिलो जित

स्पेनिस ला लिगा फुटबलमा उपाधि पक्का गरिसकेको रियल मड्रिडले आफ्नो अग्रतालाई झनै बढाएको छ ।

गएराति भएको खेलमा ग्रानाडालाई ४–० गोलले हराउँदै रियल मड्रिडले आफ्नो अग्रतालाई फराकिलो बनाएको छ ।रियलका लागि ब्राहिम डीयाजले दुई तथा फ्रान गार्सिया, आर्डा गलेरले एक–एक गोल गरेका थिए ।

खेलको ३८औँ मिनेटमा गार्सियाले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै, पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा गुलेरले गोल गर्दै रियलको अग्रतालाई दोब्बर बनाए ।