मनोरञ्जन

निर्देशक प्रदीप : महजोडीको ‘ब्याकबोन’

By संगम ढकाल

February 09, 2024

काठमाडौं । निर्देशक प्रदीप भट्टराईको नाम फिल्म क्षेत्रमा ब्रान्ड बनेको छ । जसले युवा पुस्ताले मन पराउने सुपरहिट फिल्म उत्पादन गर्छ । यघि प्रदर्शनमा आएका उनको निर्देशन रहेका फिल्म जात्रा, शुत्रगते, महापुरुष, जात्रै जात्रा यो कुराको पुष्टि गरेको छ ।

उमेरले चार दशक छोएका भट्टराई एक दाइ र दिदी बाल्यकालमै बितेपछि आफ्नो जन्मिने पालो आएको बताउँछन् । उनी भन्छन्, ‘बुबा आमाको तीनजना बच्चा पाउने योजना रहेछ । दुईजना बितेपछि मलाई जन्म दिनुभएको रहेछ । अहिले मेरो एक दिदी र दाइ हुनुहुन्छ ।’

उनको जीवनमा पत्रिकासँग जोडिएका दुई घटना विशेष छन् । पहिलो, फुटपाथमा बेच्न राखेको पत्रिकामा भेटेको फोन नम्बरबाट उनी फिल्म क्षेत्रसँग जोडिएका हुन् । दास्रो रोचक प्रसंग भने यसको अन्त्यमा उल्लेख गरिएको छ ।

१४ वर्ष महजोडीको निर्देशन टिममा रहेर कालजयी बनेका टेलिसिरियलमा काम गरेका प्रदीपलाई दर्शकले भने ‘कमेडी च्याम्पियन’को निर्णायक भएपछि मात्रै चिनेका हुन् । यस शोमा जोडिएको रोचक प्रसंग पनि उनले खबरहबसँग सेयर गरेका छन् ।

महजोडीसँगको सुरुवाती सहकार्यमा बढी बोल्ने बानीले झन्डै संकटमा परेका प्रदीप कसरी उनीहरुको विश्वासपात्र बने ? यो प्रसंग पनि यहाँ उल्लेख गरिएको छ ।

फिल्मको हिरोसँग फोटो खिचेर डायरीमा टाँस्ने सपना बोकेर काठमाडौं टेकेदेखि सफल निर्देशक बन्न उनले गरेको संघर्ष प्ररेणादायी मात्रै होइन, रोचक पनि छ ।

पहिलो काठमाडौं भ्रमण

सर्लाहीको सामान्य कृषक परिवारमा जन्मिएका प्रदीपले स्कुले शिक्षा उतैबाट पूरा गरेका हुन् । पढाइमा टाठै भएको बताउने उनी पाँच कक्षासम्म पहिलो र त्यसपछि उत्कृष्ट पाँचौं स्थानबाट पछाडि नपरेको सुनाउँछन् ।

खानकै लागि संघर्ष गर्नुपर्ने परिवारमा हुर्किए पनि प्रदीपलाई साथी भाइसरह भएर हिँड्ने अवसर बुबाले जसोतसो पुर्‍याए ।

बाल्यकालको शिक्षा–दीक्षाका लागि आर्थिक पाटो सहज बनाउने जस भने उनी इन्दु शंकर चिनी उद्योगलाई दिन्छन् ।

उनी सम्झन्छन्, ‘उद्योगका कारण नगदे बाली उखु बेच्न सहज थियो । हाम्रो टायरगाडा थियो । आफ्नो र अरुको उखु बोकेर पैसा कमाएर बुबाले हामीलाई पढाउनुभयो । त्यही उद्योगको रोजगारीले हामीले पढ्न पाएका हौं जस्तो लाग्छ ।’

यद्यपि कक्षा चारमा पढ्दा पहिलो पटक काठमाडौं आउँदा चप्पल चुँडिएको उनले बिर्सिएका छैनन् ।

उनी स्मरण गर्छन्, ‘जाडो बिदामा म दाइसँग यहाँ आएको थिएँ । रात्रीबस चढेर चप्पल लगाएर आएको थिएँ । बिहान पशुपतिमा ओर्लिएर कोठा नगइ मन्दिर दर्शन गर्न गइयो । प्लास्टिकको कडा चप्पल चिसोले भाँच्चिए छ । चिसोले खुट्टा निदाएका कारण चप्पल फुस्किएको पछि मात्रै थाहा पाएँ ।’

चप्पल चुँडिएपछि जीवनमा दोस्रो पटक नयाँ जुत्ता लगाउने अवसर मिलेको उनले भुलेका छैनन् ।

यहीबेला उनले पहिलो पटक फिल्मको छायांकन टाढैबाट भए पनि प्रत्यक्ष नियाल्न पाए । उनी भन्छन्, ‘सुन्धाराको आकाशेपुलमा धिरन शाक्य कुदेको देखेको थिएँ । देश प्रदेश फिल्मको सुटिङ भइरहेको थियो ।’

प्रत्यक्ष देखे पनि काठमाडौं आउँदा हिरोसँग फोटो खिचेर अटो डायरीमा टाँस्ने उनको सपना भने पूरा हुन सकेन ।

‘क्याप’ ब्यान्ड बनाउने योजना

भविष्यमा के बन्ने भन्ने ठोस लक्ष्य नभए पनि लेखनमा भने सानैदेखि रुची रहेको उनी सुनाउँछन् । कक्षा तीनमा पढ्दा ‘मुसा’ शीर्षकमा लेखेको पहिलो कविता उनले अझै भुलेका छैनन् ।

उनी गुनगुनाउँछन्–

भकारीका धानका गेडा सबै मिली गन्छन् घरको धान, मकै, गहुँ सबै मेरो भन्छन् बिरालो हो यसको शत्रु, देखेपछि भाग्छन्

यो कविता शिक्षकले औधी मन पराएर स्यावासी दिएको उनका लागि विशेष छ ।

कक्षा ६ मा पढ्दा प्रदीपले साथीहरुसँग मिलेर ‘क्याप’ नामक ब्यान्ड बनाउने योजना पनि नबनाएका होइनन् । त्यसमा पनि लेखनकै जिम्मेवारी भागमा परेको उनी सुनाउँछन् ।

उनी थप्छन्, ‘त्यो समय ब्यान्डका गीत निकै चर्चित थिए । कक्षाको अघिल्लो बेन्चमा बस्ने अर्जुन, चिरञ्जीवी र म फुच्चे थियौं । तीनजना मिलेर ब्यान्ड खोल्ने योजना गरेका थियौं । एउटा साथी चाहिँ गीत गाउँथ्यो, अर्कोको संगीतमा रुची थियो ।’

तर, सो सपना भने एसएलसी दिएपछि भताभुंग भएको प्रदीप स्मरण गर्छन् । उनी थप्छन्, ‘त्यसपछि को कता को कता भइने रहेछ । साचेको केही नहुने रहेछ ।’

आईकम पढ्न काठमाडौं

वि.सं ०५७ सालमा ‘सेकेन्ड डिभिजन’ ल्याएर प्रदीपले एसएलसीको फलामे ढोका फोरे । उच्च शिक्षाका लागि काठमाडौं आएर पुल्चोकको डेरामा दाइको अभिभावकत्वमा बस्न थाले ।

उनी सुनाउँछन्, ‘आउँदा काठमाडौंका बारेमा केही थाहा थिएन । सर्टिफिकेट थियो साथमा तर कुन कलेज पढ्यो भने के हुन्छ भन्नेसम्म थाहा थिएन ।’

‘कुन क्याम्पस कस्तो ?’ भनेर सोध्ने मान्छे नपाएर शिक्षासँग जोडिएको भगवानको नामबाट नामकरण गरिएको सरस्वती क्याम्पस पढेको उनी सुनाउँछन् ।

उनी स्मरण गर्छन्, ‘आइकम पढ्न आएको थिएँ । एनसीसी, पाटन क्याम्पस र सरस्वती क्याम्पसको नाम थाहा थियो । गाउँको साथीसँग सल्लाह गर्दा शिक्षासँग सरस्वती भागवान् जोडिएकाले त्यही क्याम्पस ठीक होला भन्ने निष्कर्ष निस्कियो ।’

कोचिङ कक्षा निःशुल्क पाउने आश्वासनले स्ववियूको नेतामार्फत भर्ना शुल्क बुझाएका प्रदीप नियमित कक्षा पनि राम्रोसँग पढ्न नपाएको अनुभव सुनाउँछन् ।

उनी सम्झन्छन्, ‘म र गाउँको साथी भर्ना हुन जाँदा स्ववियूको मान्छेसँग भेट भयो । हामीमार्फत भर्ना भयौ भने पछि कोचिङ क्लास निःशुल्क गरिदिन्छौं भनेर पैसा लिए । कोचिङ त के, राजनीतिले नियमित पढाइ पनि कहिल्यै भएन । बिहान क्याम्पस पुग्दा हिजो यस्तो काण्ड घट्यो, ताल्चा लगाएको छ भन्ने थाहा पाइन्थ्यो ।’

काठमाडौं आएर पकेट खर्चका लागि फर्निचर पसलमा काम सुरु गरेको उनले पढाइ राम्रो होस् भनेर जागिर छाडे । तर राजनीतिले गिजोलिएको क्याम्पसले नै उनलाई पढाइबाट धकेल्यो ।

उनी सुनाउँछन्, ‘हामी राम्रो पढ्ने विद्यार्थी, पढ्नै भनेर काठमाडौं आएका थियौं । महिनौं दिन कलेज आउने र फर्कने क्रम भएपछि चाहिँ पढाइमा मन मर्दै गयो । पछि–पछि त आज नि बन्द होला जान्नँ भन्ने लाग्न थाल्यो ।’

पत्रिकामा भेटेको फोन नम्बर

क्याम्पसमा पढाइ नभए पनि प्रदीपलाई पुल्चोक-ठमेल गर्दा बाटोमा बेच्न राखेको पत्रिका हेर्ने बानी बस्यो । मनोरञ्जनका समाचारहरु पढ्ने क्रममा उनले एउटा फिल्म निर्माण कम्पनीको नम्बर फेला पारे । त्यो नम्बर थियो– फिल्म निर्माता तैयव शाहको अफिसको ।

उनी भन्छन्, ‘गुण सिनेमा तेस्रो वर्ष प्रवेश गरेकामा फिल्म निर्माण कम्पनीहरुले पत्रिकामा शुभकामना दिएका रहेछन् । अरु सबैको नाम र ठेगाना मात्रै थियो तर तैयव शाहको कम्पनीको चाहिँ नम्बर पनि थियो ।’

कलाकार हेर्न सो ल्यान्डलाइन नम्बरमा फोन गरेर तैयव शाहको अफिसमा धाउन थालेको प्रदीपले भुलेका छैनन् । उनी थप्छन्, ‘कलेज छोडेर फिल्म कम्पनी तिर धाउन थालेँ । किन यता आउँदैछु थाहा छैन, तर निरन्तर धाउन लागेँ । त्यहाँ नायक श्रीकृष्ण श्रेष्ठ बाइकमा आएको देखेपछि झन् फिल्ममा मोह जाग्दै गयो ।’

त्यसबेला चर्चित निर्माता तैयव शाहले चल्तीका नायक शिव श्रेष्ठ, श्रीकृष्ण श्रेष्ठ र नायिक विपना थापालाई लिएर बनाएको फिल्म ‘बेइमानी’मा उनी जोडिए । उनले पहिलो काम गरेको फिल्म पनि यही हो ।

उनी भन्छन्, ‘त्यो फिल्ममा म विना विभागीय भएर जान लागेँ । आज पनि जाने, भोलि पनि जाने गर्न लागेँ, लिच्चडजस्तै भएर । पैसा नपाए पनि जान्थेँ ।’

फिल्मले छुटाएको दाइको डेरा

फिल्म निर्माण कम्पनीसँग आउ–जाउ बाक्लिएदेखि नै दिदी, दाइ र प्रदीप काठमाडौंको पुल्चोकमा सँगै बस्थे । दाइको जागिरले तीनजनालाई खर्च पुर्‍याउन मुस्किल पर्ने अवस्था भएको उनी सुनाउँछन्।

काठमाडौं पढ्न आएको भाइ फिल्ममा बरालिन थालेपछि दाइले तीन विकल्प दिए । उनी सम्झन्छन्, ‘पैसा आउने जागिर खाने, अरब जाने वा पढ्ने, दाइले विकल्प रोज्न दिनुभएको थियो । मैले छुट्टै बस्ने विकल्प सोचेँ । दिदी र म छुट्टै बस्न थाल्यौं ।’

खर्च धान्न मुस्किल अवस्था भए पनि के कारण फिल्मले तान्यो, उनलाई अझै पत्तो छैन । यद्यपि नायकसँग भेटेको फोटो खिचेर डायरीमा टाँस्ने इच्छाले नै फिल्ममा आकर्षित गरेको हुन सक्ने उनको अनुमान छ ।

पहिलो पारिश्रमिक

विना विभागीय जिम्मेवारीमा फिल्ममा जोडिए पनि प्रदीपले फिल्म निर्माणलाई नजिकबाट नियाल्न पाए । तर, त्यसबेला काम सिक्ने हुटहुटी औधी भएको उनी स्मरण गर्छन् ।

उनी भन्छन्, ‘निर्देशनको टिममा भएको एकजना मान्छे बिरामी भए पनि मैले काम गर्न पाउथेँ भन्ने सोच आउँथ्यो ।’

तर, अहिले प्रदीप विनाविभागीय जिम्मेवारीलाई निर्माणका सबै काम हेर्न र सिक्न पाएको अवसरका रुपमा लिन्छन् । २३ सय पारिश्रमिक पाए पनि त्यही फिल्मको चिनजानबाट फिल्ममा प्रवेश गर्ने ढोका खुलेको उनको बुझाइ छ ।

प्रदीप सुनाउँछन्– बेइमानीको निर्देशक विजय चालिसेसँग भेट भयो । उहाँहरुले लगत्तै बनाएको फिल्म मुक्तिदातामा म विजय चालिसे दाइको चिफ एसिस्टेन्ट डाइरेक्टर (चिफ एडी) बन्न पाएँ ।

निर्देशक चालिसेले किन त्यसबेला चिफ एडीको जिम्मेवारीमा आफूलाई पत्याए, त्यसको उत्तर प्रदीपले अझै पाएका छैनन् । यद्यपि फोन गरेर विजयसँग मागेको कामको जिम्मेवारी कसरी आफूबाट पूरा भयो, उनलाई त्यो पनि थाहा छैन ।

त्यो फिल्मबाट भने उनले ५० हजार मोटो पारिश्रमिक पाए । उनी थप्छन्, ‘जोमसोममा सुटिङ गरेको त्यत्रो पैसा पाएँ । एक वर्ष घर खर्च पुग्यो ।’

निर्देशक बन्ने मौका

फिल्ममा काम गर्दागर्दै प्रदीपको निर्देशक र निर्मातासँग चिनजान बढिसकेको थियो । फिल्म ‘दर्शन मायालाई’ मा निर्देशक विजय थापाको चिफ एडी उनी नै बन्ने पक्का थियो । तर, गीत रेकर्ड भइसके पनि फिल्म बनेन । तर, विजयसँग हिमचिम राम्रै बढ्यो ।

सोही कारण प्रदीपले कान्तिपुर टेलिभिजन स्थापना दिनदेखि नै प्रशारणमा जाने टेलिसिरियल ‘चाहना मनको’ मा चिफ एडीको काम पाए । निर्देशक थिए– उनै विजय थापा ।

प्रदीप सम्झन्छन्, ‘सिनेमाबाट अब टेलिभिजनमा आइयो । एक वर्ष (५२ भाग) का लागि काम मिल्यो । महिनैपच्छे १० हजार आउन लाग्यो । जीवन पनि सहज बन्दै गयो ।’

‘चाहाना मनको’का निर्देशक विजयले एक वर्षपछि नयाँ ‘नारी’ सिरियल ल्याए । त्यसमा पनि प्रदीप चिफ एडीको जिम्मेवारीमा अनुबन्ध थिए । विजयले निर्देशन छाडेपछि उनले निर्देशक बन्ने मौका पाए ।

प्रदीप थप्छन्, ‘१०० भाग गर्ने भन्ने थियो । सिरियलका निर्माता महसञ्चारको क्यामेरा मेन गौरीशंकर ध्वजु हुनुहुन्थ्यो । नारीको एडिटिङको काम गौरी दाइको अफिसमा हुन्थ्यो । जहाँ, मदन दाइ, हरि दाइ आइरहनुहुन्थ्यो ।’

‘महजोडी’सँग जोडिने इच्छा

बाल्यकालदेखि नै वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) लाई टीभीमा देखेको हुनाले प्रदीपलाई उनीहरुसँग सहकार्य गर्ने इच्छा जाग्यो ।

नजिकैबाट मह जोडी देखेपछि उनले क्यामेरा मेन गौरीशंकरलाई कामको अवसर मिलाउन कचकच गर्न थाले ।

मह जोडीसँग काम मिलाइदिन मध्यस्थ भूमिकाको अपेक्षा राखेका प्रदीपले गौरीशंकरबाट पाएको जवाफ अझै भुलेका छैनन् । ‘हरिदाइले के भन्नुभयो ?’ भनेर सोध्दा गौरीशंकरबाट पाएको जवाफ उनी सुनाउँछन्, ‘मैले भनेको हरि दाइले मानेन । गौरी दाइ नि कस्तो मान्छेको सिफारिस लिएर आएको भनेर गाली गर्नुभयो ।’

महजोडीसँग काम गर्ने अवसर

नारीको अन्तिम भाग छिट्टै खिचिसक्नुपर्ने भएकाले चापमा राति ११ बजेसम्म गोदावारीमा सुटिङ गरेको प्रदीपको लागि विशेष क्षण हो ।

उनका लागि त्यो दिन विशेष हुनुको कारण हो– नारीको त्यो युनिट सुटिङ सकेर महजोडीको सिरियल ‘टिकेको तीन मन्त्र’ मा जाँदै थियो । धेरै काम गर्ने इच्छा बोकेका प्रदीप मात्रै नजाने एक्लो थिए ।

उनी सम्झन्छन्, ‘सुटिङ सकेपछि पार्टी गरेर युनिट घर फर्कियो । सबै महजोडीको सुटिङमा जाने भए । मलाई चाहिँ जान पाइनँ भनेर चिन्ता पनि थियो । त्यसैले चाबहलिको डेरा नफर्की सुटिङका लागि भाडा लिएकै घरमा सुतेँ ।’

भोलिपल्ट बिहान डेरामा पुगेपछि प्रदीपलाई गौरीशंकरको फोन आयो । प्रदीप चक्रपथ भेट्न पुगे । उनी सम्झन्छन्, ‘त्यहाँ सुटिङ स्टुडियो थियो । क्रेन लगाएर महजोडीकै सिरियलको सुट भइरहेको थियो । गौरी दाइलाइ भेटेँ । महजोडीसँग काम गर्न नपाएकाले रिस उठेको थियो ।’

तर, सुटिङमा सेटमा अस्कमात आइपरेको ‘असिस्टेन डाइरेक्टर’को जिम्मेवारीले दिएको खुसी प्रदीपले भुलेका छैनन् । उनी थप्छन्, ‘महजोडीको असोसिएट डाइरेक्टर मदन मैनालीले क्लाप र कन्टिनियुटी सेट दिएर ल आजबाट तिमी गर भन्नुभयो ।’

धेरै बोल्ने बानी

महजोडीसँग काम गर्ने मौका पाए पनि कमजोरीबारे बोली हाल्ने बानीले झन्डै फसादमा परेको प्रदीप सुनाउँछन् ।

पुरानो टिममा एक मात्र नयाँ व्यक्तिले ‘यसो भएन, यस्तो हुनुपर्छ’ भन्दा गौरीशंकरले धेरैपटक ‘चुप’ भनेर सम्झाएको उनलाई याद ताजै छ ।

उनी भन्छन्, ‘दुई–चार दिन बितेपछि म बढी बोलेको हरि दाइले याद गर्नुभएको रहेछ । तर, उहाँले उसले भनेको ठीक हो, त्यसै गरौं भन्नुहुँदो रहेछ । १२–१३ दिनमा त म उहाँहरुको प्यारो भइसकेको थिएँ ।’

सो सिरियलको एडिटिङ लगायतको सबै जिम्मेवारी निर्धक्क महजोडीले आफूलाई जिम्मा दिएपछि गौरीशंकर छक्क परेको उनी सुनाउँछन् । यो देखेर गौरीशंकरले दिएको प्रतिक्रिया समेत प्रदीपले भुलेका छैनन् ।

प्रदीपलाई गौरीशंकरले भनेका थिए रे, ‘उहाँहरुले यसरी कसैलाई काम छोडेको पहिलो मान्छे तिमी हौ । के जादु गर्‍यो यो बाहुनले ?’

यसरी सुरु भएको मह जोडीसँगको सहकार्यमा प्रदीपले १४ वर्ष निरन्तरता दिए । यस दौरान उनले चिफ एडी भएर मदनबहादुर हरिबहादुर, सुगन्धपुर, डक्टर सुनीता, गाउँकी तारा, स्याबास, महचौतारी, भाइरस, पाठशाला, लेफ्ट राइट लेफ्ट, भूत, डाइबेटिज, भुकम्प, एसएलसी लगायतका टेलिसिरियलमा काम गरे । यो हिसाबले उनी महजोडीको ‘ब्याक बोन्ड’ हुन् ।

प्रदीप थप्छन्, ‘पैसा, नाम र काम सबै भएकाले त्यो टिममा साढे एक दशक काम गरें । सिक्न पनि त्यहाँभन्दा राम्रो अन्त हुन्छ जस्तो लागेन । दाइहरु विदेश यात्रामा धेरै व्यस्त हुने, मलाई यताको पूरै जिम्मेवारी दिनुहुन्थ्यो ।’

नबनेको जात्रा

आफूलाई पुनः ठूलो पर्दामा फर्काउन ऊर्जा दिएको जस प्रदीप महसञ्चारकै आर्ट निर्देशक सिंघे लामालाई दिन्छन् । महाजोडीसँगको सहकार्यमै स्क्रिप्ट तयार पारे पनि निर्माणमा हात हाल्ने हिम्मत नआएको उनी अनुभव सुनाउँछन् ।

उनी सुनाउँछन्, ‘सुरुको एक–दुई वर्ष मात्र म निर्देशनमा नआएर फिल्म क्षेत्रमाथि नआएको भन्ने लाग्थ्यो । काम गर्दै जाँदा सिनेमा बनाउन गाह्रो हुन्छ भन्ने लाग्न थाल्यो । डर–डर लाग्न थाल्यो ।’

महसञ्चारकै धेरै टेलिसिरियलको स्क्रिप्ट धेरथोर लेखेर आफूलाई निखारेका प्रदीपले सिंघे लामाको जोडपछि ‘जात्रा’ फिल्म निर्माण गर्ने निर्णय गरे ।

प्रदीप भन्छन्, ‘स्क्रिप्ट सुन्ने सबै खित्का छोडेर हाँस्थे । फिल्म हिट हुन्छ भन्नेमा ढुक्क थियो । लोकेसन रेकी गर्ने र कलाकार पनि चयन गरिसकेका थियौं ।’

कलाकारमा विपीन कार्की, रवीन्द्र सिंह बानियाँ, शाहरुख ताम्राकार लगायत तय भए । सिंघे लामाले लगानीकर्ता पनि जुटाए । तर, ११ दिन बाँकी हुँदा निर्देशक मनोज पण्डितको प्रतिक्रियाले प्रदीपमा संकट आइलाग्यो ।

उनी भन्छन्, ‘बधशाला, दाशढुंगा जस्ता राम्रा फिल्मका निर्देशकलाई स्क्रिप्ट देखाए राम्रो प्रतिक्रिया आउँछ भनेर रवीन्द्र पुग्नुभएछ । स्क्रिप्ट पढेर मलाई उहाँले भेट्न बोलाउनुभयो । राम्रो स्क्रिप्ट भएकाले बधाइ दिन बोलाएका होलान् भनेर गएको, उहाँले त झुर छ भन्नुभयो ।’

दशौंजनाले राम्रो भनेको स्क्रिप्टमा निर्देशक पण्डितको नराम्रो प्रतिक्रिया चित्त नबुझेर प्रश्नको प्रतिकार पनि प्रदीपले नगरेका होइनन् । तर जवाफमाथि प्रश्नै–प्रश्नको खात लागेपछि प्रदीप मनमा कुरा खेलाउँदै र रिस बोकेर फर्किएको सुनाउँछन् ।

प्रश्नको जवाफ स्क्रिप्टमा जबरजस्ती घुसाए पनि पण्डितले अर्को प्रश्न खडा गरेपछि प्रदीपले ११ दिनअघि कलाकारलाई सुटिङ सरेको जानकारी गराउन बाध्य भएको झमेला प्रदीप रोचक ढंगले सुनाउँछन् ।

उनी थप्छन्, ‘मनोज पण्डितसँगको ५/६ वटा भेटपछि त्यो स्क्रिप्टमा फिल्म बन्दैन भन्ने पक्का भयो । उहाँले फिल्ममा जात्रा भएन मात्रै भन्नुहुन्थ्यो । त्यहीबेला सालीको बिहेको सबै व्यवस्थापन गर्ने जिम्मेवारी थियो । बिहे पनि नजिक आइसक्यो । स्क्रिप्ट पनि डामाडोल भयो । जात्रै आइलाग्यो ।’

अनि बन्यो जात्रा

पहिलो स्क्रिप्ट असफल भएपछि अर्को कथा सुनाउन फेरि मनोज पण्डितसँग भेट गरेको प्रदीप स्मरण गर्छन् ।

उनी सुनाउँछन्, ‘मीनभवनमा पानी परिहेका बेला मैले पहिलो कथा भएन, अब अर्को छ भनेँ । कथा सुनाउँदै थिएँ- एउटा चोकमा तीन केटा छन् । उनीहरु पुस्तक पसल, कपडा पसल र नाई व्यवसायमा छन् । भुकम्पले व्यापार छैन । पैसाको संकट छ । त्यो अवस्थामा एक बोरा पैसा भेटे भने के हुन्छ होला ? भनेको मात्रै थिएँ, मनोज दाइले उफ्रिएर यो हो नि त जात्रा ! भन्नुभयो ।’

मनोजले यही कथामा ‘जात्रा’ बनाउ भनेपछि स्क्रिप्टको काम अगाडि बढाएको प्रदीप सुनाउँछन् । उनी भन्छन्, ‘मैले १७ दिनमा डाइलगसहित स्क्रिप्ट तयार गरेँ ।’

यसरी जात्रा भएर जात्रा फिल्म बन्यो । सन् २०१६ मा प्रदर्शनमा आएको ‘जात्रा’ हिट भयो । त्यसपछि प्रदीपले शत्रु गते, जात्रै जात्रा र महापुरुषमा निर्देशन गरे । उनको निर्देशन रहेको अर्को फिल्म ‘महाजात्रा’ यही चैत ९ बाट प्रदर्शनमा आउँदैछ ।

कमेडी च्याम्पियन

रियालिटी शो ‘कमेडी च्याम्पिनय’मा जाँदा प्रदीपले जात्रा, शत्रुगते र जात्रैजात्रा तीन सफल फिल्म निर्देशन गरिसकेका थिए । तर पर्दा पछाडिको काम भएर उनी दर्शकमाझ परिचित थिएनन् ।

च्याम्पियनको निर्देशक विशाल भण्डारीले निर्णायकका लागि प्रस्ताव गर्दा ‘अनि मचाहिँ जज किन ?’ भनेर प्रश्न गरेको उनी बताउँछन् ।

‘कमेडी सिनेमा र युवाले रुचाएको फिल्म बनाएको निर्देशक हाम्रो शो पनि युवा लक्षित भएकाले तपाईंलाई निर्णायकको प्रस्ताव गरेको’ भन्ने जवाफ निर्देशक भण्डारीबाट आएपछि आफू सकारात्मक बनेको प्रदीप सुनाउँछन् ।

उनी थप्छन्, ‘मलाई निर्णायका फिट हुन्न कि भन्ने डर थियो । त्यसैले ६–सात वटा मिटिङपछि मात्रै शोमा जोडिने पक्का गरेँ ।’

तर, सन्तोष पन्त, मनोज गजुरेल र ऋचा शर्माबीच नचिनिएको अनुहार निर्णायकमा जाँदा पंगु बन्ने डर भएको उनी सम्झन्छन् । उनी थप्छन्, ‘म पंगु नबन्न प्रतियोगीलाई गर्ने कमेन्ट राम्रो हुनुपर्छ भन्ने लाग्यो । त्यसको तयारी पनि गरेँ । कमेन्ट तार्किक छ भनेर सबैले मन पराउनुभयो । राम्रै भयो ।’

यही शोपछि प्रदीप दर्शकसम्म पुगे । उनको शालीन शैली र क्षमता दुवैबाट दर्शक प्रभावित छन् ।

बुबाको माया

छोराछोरीको काम राम्रो भए पनि बुबाले खुलेर खुसी व्यक्त नगर्ने धारणा हाम्रो समाजमा व्याप्त छ । कारण– सन्तानको काममा खुसी व्यक्त गर्‍यो भने फुर्किन्छन् ।

यही पारम्पारिक सोचको शिकार आफू पनि बनेको प्रदीपको अनुभव छ । उनी भन्छन्, ‘आमाले त सानो कुरा थाहा पाउनुभयो भने फोन गरेर भन्ने, तर बुबा केही नभन्ने । मलाई त यो पढ्छ भनेको मान्छे, फिल्ममा लाग्यो भनेर रिसाउनुभएको हो कि जस्तो लाग्थ्यो ।’

तर, गाउँको एउटा भाइको फोन कलले भने प्रदीपलाई यो भ्रमबाट मुक्त गरायो र आश्चर्यमा पार्‍यो । उनी सुनाउँछन्, ‘त्यो भाइले दाइ तपाईंको अन्तर्वार्ता पत्रिकामा आएको थियो कि के हो ? ठूलोबुबाले दुईवटा पत्रिका किनेर लैजानुभयो भन्यो ।’

यो घटनाले निकै भावुक बनाएको उनी स्मरण गर्छन् । उनी थप्छन्, ‘कसैले छोरोको अन्तवार्ता पत्रिकामा आएछ भनिदिएछ अनि उहाँले पत्रिका किनेर लैजानुभएको रहेछ । यो घटनाले मलाई छोयो । बाउहरु खुसी हुँदा रहेछन् तर व्यक्त गर्दा रहेनछन् भन्ने भयो । त्यहीँबाट मेरा बुबा मेरो कामसँग खुसी हुनुहुन्छ भन्ने भयो ।’

यही घटनाले ‘बाहरु जति नै पीडा र खुसी भए पनि व्यक्त गर्दैनन्’ भन्ने चेत दिएकाले फिल्म ‘महापुरुष’ निर्माण गरेको उनी सम्झन्छन् । उनी भन्छन्, ‘आमा–बालाई देखाउने काम यो नै हो भनेर काठमाडौं बोलाएर मैले महापुरुष पनि देखाएँ ।’

यो पनि…

‘चोपेन्द्र’ बन्नुअघि र पछिका मुकुन

हैट ! डालोको व्यापार नफापेर कलाकार

गजुरेलको ‘जोक’ जस्तो जिन्दगी !