राजेशपायलका किस्सा : १५ सय कोठाभाडा तिर्न सकस, ०६५ को खड्गो « Khabarhub

राजेशपायलका किस्सा : १५ सय कोठाभाडा तिर्न सकस, ०६५ को खड्गो

गायक खेम गुरुङका नाममा चढाएपछि मदिराको लत छुट्यो


१९ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 8 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आठ हजारभन्दा बढी गीतमा स्वर दिएका ‘दर्शन नमस्ते’ का गायक राजेश पायल राईको ‘ब्याचलर’ जीवनशैली चर्चित छ । उमेरले झन्डै अर्धशतक हान्न लागेका उनी आफूलाई अझै अल्लारे ठान्छन् । साल नखुलाए पनि उनी खोटाङको बुइपामा असोज १६ गते जन्मेको बताउँछन् ।

राजेश प्रायः रातको २ बजे सुतेर दिउँसो १२ बजेपछि उठ्छन् । बिहानको घाम नदेखेको वर्षौं भइसक्यो । उनी भन्छन्, ‘प्लेनमा यात्रा गर्दा मात्र हो उदाउँदो घाम देख्ने ।’

नौ कक्षामा पढ्दै रेडियो नेपालले पत्याएका गायक राजेशले एसएलसीसम्म खोटाङमै पढे । ‘थर्ड डिभिजन’मा पास भएर काठमाडौं आएका उनले १५ सय रुपैयाँ कोठा भाडा जुटाउन गरेको संघर्ष खबरहबसँग सेयर गरेका छन् ।

यसरी नै संघर्ष गर्दै उनले गायन क्षेत्रमा विशेष मुकाम हासिल गरिसकेका छन् । उनी अहिले ‘राई इज किङ’ बनेका छन् ।

बुबा राजनीतिज्ञ भएका कारण विसं ०६३ सालमा सशस्त्रद्वन्दरत माओवादीले घर जलाइदिए पनि राजेशका लागि ०६५ साल अर्को ठूलो खड्गो बन्यो । त्यस समय आफूले भोगेको कठिन समय उनले खुलासा गरेका छन् ।

२५० रुपैयाँ पहिलो पारिश्रमिक बुझेका उनी तीन दशकसम्म अनवरत सक्रिय कलाकारिता यात्रामा व्यस्त छन् । व्यस्तताका कारण उनले नेपालमा दशैं मान्न नपाएको ९ वर्ष भयो ।

रवि लामिछानेको समाचारका कारण राजेश एक वर्ष बेरोजगार हुनु परेको प्रसंगसहित नजिकबाट जानौँ उनको सांगीतिक यात्रा :

‘राई इज किङ’ बन्ने छाँटकाँट

सानैदेखि गीतमा रुचि राख्ने राजेशले घर नजिकै रहेको पञ्चकन्या प्राविमा पाँचसम्म पढे । त्यसमाथिको विद्यालय शिक्षा भने बुइपाबाट लिए ।

साथीहरुको जम्काभेटमा र बुबाले घरमा बेलाबखत गर्ने रात्रिभोज उनका लागि गीत गाउने अवसर थियो । उनी भन्छन्, ‘बुबा रिटायर्ड ब्रिटिस आर्मी र राजनीतिज्ञ भएकाले सिडियो, इन्स्पेक्टरहरु सुरुवा भएर आएको दिन हाम्रोमा पार्टी हुन्थ्यो । अनि सुरु हुन्थ्यो मेरो सांगीतिक प्रस्तुति ।’

स्कुलका सांस्कृतिक कार्यक्रममा गीत गाउँदा–गाउँदै छिमेकी गाउँका कार्यक्रममा प्रस्तुतिका लागि चिठीमा निम्तो आएको उनले भुलेका छैनन् ।

उनी भन्छन्, ‘छिप्टी, फुलेली भन्ने हाम्रो घर नजिकको गाउँमा गएर गीत गाउँदा सुन्तला, बदाम, रक्सी खान पाइन्थ्यो ।’

खुट्टा भाँचिँदा जुरेको मौका

खुट्टा भाँचिएर आराम गरेका बेला वरिष्ठ गायक पाण्डव सुनुवार घरमै आउँदा संगीतलाई राजेशले नजिकबाट नियाल्न पाए । हलेसीको रामनवमी मेलामा पुग्दा राजेशका बुबाले गायक सुनुवारलाई घरमा लगेका थिए ।

राजेश स्मरण गर्छन्- उहाँ आएका बेला रमाइलो गर्दा ‘भिज्यो तिम्रो रातो पछ्यौरी’ लगायतका गीत गाउनुभएको थियो । खुट्टो भाँचिएकाले म घरमै बस्थेँ । उहाँले गाएको गीत मानसपटलमा बसेर गाउँदा गाउँदै मलाई थप रियाज भयो ।

त्यसपछि ०४७ सालमा पहिलो पटक प्लेन चढेर रेडियो नेपालमा ‘सम्झनाको कुरा नगर’ गीत रेकर्ड गर्न काठमाडौं आएको राजेशले भुलेका छैनन् । उनी सम्झन्छन्- मैले आधुनिक गीतमा भ्वाइस टेस्ट गरेको हुँ । तीन वटा गीत गाएर पास भएपछि गायकको दर्ता पाएर रेकर्ड गर्दा २५० रुपैयाँ औपचारिक पारिश्रमिक पाएको थिएँ ।

त्यसअघि उनले घरमै सिडियोले गीत गाएबापत मायाले ५–१० रुपैयाँ दिए पनि पारिश्रमिक भने बुझेका थिएनन् ।

पहिलो गीत रेकर्ड गराउँदा उनी ९ कक्षामा अध्ययनरत थिए । त्यही साल सगरमाथा अञ्चललाई प्रतिनिधित्व गरेर अञ्चलस्तरीय लोक गीत प्रतियोगितामा समेत सहभागी भएको उनलाई सम्झना ताजै छ ।

राजेश सुनाउँछन्, ‘उपाधि त केही जितिनँ तर बुबाका कारण तत्कालीन अञ्चलाधीश सूर्यबहादुरले विमानस्थलमा भेटेर नेपाल वायुसेवाको सरकारी सिटमा मलाई निःशुल्क प्लेन चढाउनुभएको थियो ।’

काठमाडौंको संघर्ष

एसएलसीको फलामे ढोका फोरेर राजेश उच्च शिक्षाका लागि काठमाडौं आए । बानेश्वरमा दिदीको अभिभावकत्वमा रहेर रत्नराज्य क्याम्पसमा भर्ना भए ।

यही दौरान नातिकाजीको संगीतमा ‘कसोरी आँखा जुध्यो’ बोलको गीतमा स्वर दिने भाग्यमानी गायकका रूपमा राजेश आफूलाई लिन्छन् ।

उनी स्मरण गर्छन्, ‘त्यसबेला नातिकाजी दाइको संगीतमा योगेश वैद्य, प्रेमध्वज प्रधान, फत्तेमान जोशी, नारायण गोपाल, तारादेवीले मात्रै स्वर दिन पाउँथे । उहाँसँग सहकार्य गर्दा त म ठूलो गायक हुँ भन्ने भ्रम थियो ।’

गीत हिट भए पनि बाटोमा आफूलाई कसैले नचिनेपछि सो भ्रम त्यागेको राजेश सुनाउँछन् ।

तेस्रो गीत कुन्ती मोक्ताङसँग ‘फैलियो माया दुबो सरी’ गाएपछि बजारमा राजेशको नाम त चल्यो तर अनुहार भने कसैले चिनेन । उनी भन्छन्, ‘म नै हो यो गीत गाउने भन्दा पनि मान्छेले पत्याउँदैन थिए ।’

‘गरिब’ चलचित्रको गीतमा ०५२ सालमा ‘नागबेली नागबेली चुल्ठो’ को भिडियोमा देखिएपछि चाहिँ राजेश स्टार भए । उनी भन्छन्, ‘यो गीतपछि मैले अहिलेसम्म पछाडि फर्किएर हेर्नु परेको छैन ।’

यो पनि : खलनायक राजेन्द्र खड्गी : नायिका बचाउने मै हो

१५ सय भाडा तिर्न मुस्किल

दिदी बेलायतमा बसोबास गर्न विदेश उडेपछि भने राजेशमा जिम्मेवारी थपियो । बानेश्वरको दुई कोठाको भाडा १५ सय उनैले तिर्नुपर्ने भयो ।

त्यो बेला भाडा तिर्न मुस्किल परेको क्षण स्मरण गर्दै उनी भन्छन्, ‘कमाउने भए पनि जमाउने बानी थिएन । महिना मरेपछि साहुनी दिदीले ढोका ढकढक गर्नुहुन्थ्यो । खाएर, नखाएर पैसा बचाउँथेँ । खुब धौधौ पर्थ्यो ।’

लाहुरे परिवारसँग नजिक भएकाले खान, घुम्न भने मज्जाले पाइने राजेश सुनाउँछन् । उनी थप्छन्, ‘कोही न कोही लाहुरे छुट्टीमा आइरहन्थे । उसकै पछि लागिन्थ्यो । गायक भएकाले उनीहरू पनि मसँग हिँड्न लालायित हुन्थे । मदिरा, मासु उनीहरूबाटै मिल्थ्यो ।’

सुपरस्टार राजेश हमालसँगको दोस्ती

महानायक राजेश हमाल र राजेशपायलको दोस्ती एकदमै घनिष्ठ मानिन्छ । सोल्टीमोडमा आयोजना भएको एक कार्यक्रममा पहिलो भेटमा हमालसँग भएकाे संवाद उनले अझै बिर्सिएका छैनन् ।

उनी सुनाउँछन्, ‘मैले महानायकज्यूलाई तपाईंको यो–यो फिल्मको गीत गाएको छु भनेको थिएँ । मेरो नाम पनि राजेश हो भन्दा उहाँको प्रतिक्रिया थियो– ओहो राजेश !’

लगत्तै म्याग्दीमा आयोजना भएको कार्यक्रममा पोखराबाट गाडीमा जाँदा थप घनिष्ठता बढेको राजेश सम्झन्छन् । उनी थप्छन्, ‘कार्यक्रममा मैले उहाँको फिल्ममा गाएको गीतहरुको प्रस्तुति दिए । अनि उहाँलाई यसले मेरो धेरै फिल्ममा गीत गाएको रहेछ भन्ने परेछ । फर्कँदासम्म घनिष्ठता बढिसकेको थियो ।’

त्यसपछि महानायकको ९० प्रतिशतभन्दा बढी फिल्मका गीतमा आफूले स्वर दिएको उनको दाबी छ । उनी भन्छन्, ‘राजेश हमालसँग चिनजान छ भनेर शान दिन म साथीहरूका अगाडि आधारातमा पनि उहाँलाई फोन गरेर सताउँथेँ ।’

यसरी जमेको दोस्ती अहिले पारिवारिक सम्बन्ध जस्तै बनेको राजेश बताउँछन् । उनी थप्छन्, ‘उहाँले विवाहको भोलिपल्ट अस्ट्रेलिया टुरमा जाऊँ भन्दा पनि मान्नुभयो । हनिमुन मनाउन मैले नै नदिएर बच्चा नभएको भनेर म जिस्काउँछु उहाँलाई ।’

थप…

सुमन कार्की : हजुरबाको ५ हजारले दिलाएको ख्याति

हैट ! डालोको व्यापार नफापेर कलाकार

रविको समाचारले शम्भुजितसँग बेमेल

तेस्रो गीतमा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटासँग सहकार्यको गर्न पाएका राजेशले उनकै संगीतमा दर्जनौं हिट गीत गाए । हिट-हिट गीत दिएपछि शम्भुजित र राजेशलाई एक अर्काको पर्यायवाचीका रूपमा चित्रण गर्न लागिएको क्षण राजेश भुल्न चाहँदैनन् ।

तर, अहिलेका राजनीतिज्ञ एवं तत्कालीन पत्रकार रवि लामिछानेको ‘गसिप’ समाचारले भने राजेश र शम्भुजितको सम्बन्धमा चिसो पस्यो ।

यसबारे स्पष्ट पार्दै राजेश भन्छन्, ‘हिट गीत दिइरहेका बेला मैले शम्भुजित दाइ बाहेक अर्को संगीतकारसँग काम गरेँ । रविजीले पर्यायवाची भनिएका शम्भुजित र राजेशको सम्बन्ध बिग्रियो भनेर गसिप बनाउनुभयो । शम्भुजित दाइ रिसाउँदा मैले एक वर्ष काम पाइनँ ।’

शम्भुजित रिसले आगो र अरु संगीतकारले शम्भुजितको गायक भनेर काम नदिँदा आफैँले संगीत भरेर गीत गाएको समयलाई राजेश कठिनमध्येको एक क्षण मान्छन् ।

उनी भन्छन्– शम्भुजित दाइ जति सम्झाउँदा पनि नमान्ने । करिअर नै धरापमा पर्‍यो मेरो । जानी नजानी फिल्म ‘लेखान्त’को ‘सँगै–सँगै बाँच्न पाउँ, सँगै–सँगै मर्न पाउँ’ भन्ने गीतमा संगीत भरेँ । गीतचाहिँ सुपरहिट बन्यो ।

माओवादीले घर जलायो

राजा ज्ञानेन्द्र शाहले ०६३ सालमा राजगद्दी त्यागेको घोषणा गरे । राजेशका बुबा रत्न राई युवा संगठन खोटाङ जिल्ला सभापति भएकाले माओवादीले घर जलायो ।

राजेश स्मरण गर्छन्, ‘राजाले जनताको नासो जनतालाई दिन्छु भनेर घोषणा गरेको रातमा माओवादीले हाम्रो घर जलाएका थिए । बुबा जनताकै सेवामा अहोरात्र खट्नुभएको थियो, किन हाम्रो घर जलाए, थाहा भएन ।’

यद्यपि माओवादी अध्यक्ष पुष्पकमल दाहालले दुई वर्ष अगाडि घरमै बोलाएर आफूसँग माफी मागेको राजेश सुनाउँछन् ।

उनी थप्छन्, ‘उहाँहरूले परिवर्तनका लागि नै हाम्रो घर जलाएको भन्नुभयो । हाम्रो घरभन्दा राष्ट्र ठूलो हो । माफी माग्दा हामीजस्तो पीडितलाई राहतचाहिँ महसुस हुँदो रहेछ ।’

एकै दिन ९ गीत

एकै दिन ९ वटा गीत रेकर्ड गराउने नेपाली गायकको कीर्तिमान राजेशकै नाममा छ । तर, एकै दिन चार जना पूर्वप्रधानमन्त्रीबाट चार वटा एल्बम विमोचन गराएर विश्व कीर्तिमान राख्ने उनको इच्छा भने पूरा हुन सकेन ।

राजेश थप्छन्, ‘मैले चार वटा एल्बम दुई पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द र माधवकुमार नेपालबाट विमोचन त गराएँ तर दुई पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र शेरबहादुर देउवा भने व्यस्तताले आउनुभएन । उहाँहरू आएको भने विश्व रेकर्ड बन्थ्यो ।’

बिर्सन नसक्ने ०६५ साल

राजेशपालयका लागि ०६५ साल खड्गो सावित भयो । उनले यो वर्ष सफलता पनि पाए । तर, हिँड्नै नसक्ने गरी थलासमेत परे ।

उनी सम्झन्छन्, ‘त्यही वर्ष मैले काठमाडौंमा घर बनाएँ । आर्थिक हैसियत मजबुत बन्यो । आर्थिक समस्याले चिन्न नपाएका नवप्रतिभाका लागि सहयोग गर्न राजेशपायल राई पाउन्डेसन खोलेँ । तर, कुलतका कारण म हिँड्नै नसक्ने गरी त्यही वर्ष थला परेँ ।’

अत्यधिक मदिरा र धूम्रपानका सेवनका कारण शरीर नै नचल्ने भएको उनी स्मरण गर्छन् । उनी भन्छन्, ‘कामै छोडेर रक्सी खाने बानी थियो । दिनमा सात बट्टा चुरोट खान्थेँ । नराम्रो कुरा ज्यानले धेरै सहन सकेन । प्यारालाइसिस भयो ।’

यो पनि :  गजुरेलको ‘जोक’ जस्तो जिन्दगी !

तर, कठोर आत्मबलकै त्यो बिमारबाट छुटकारा पाएको उनी बताउँछन् । ‘डाक्टरहरूले हिम्मत नहार्नु भनेका थिएँ । मैले पनि खल्चाङ–खल्चाङ गर्दै स्टुडियो पुगेर गीत गाउन छोडिनँ । मेरा दुई हिट गीत सागर सरी चोखो माया र दर्शन नमस्ते पनि त्यहीबेला गाएको हुँ ।’

त्यसबेला ‘राजेशले अब गीत गाउन सक्दैन’ भनेर पत्रिकामा खबर आए पनि आफू दृढ इच्छाशक्तिले विचल्लित नभएको उनी अनुभव सुनाउँछन् ।

साथीको वियोग

थला परेपछि कुलतबाट टाढा रहेका राजेशले मदिराले पीडा भुलाउँछ भन्ने भ्रमलाई भने त्याग्न सकेनन् ।

सन् २०१६ मा आत्मीय साथी गायक खेमराज गुरुङको निधनको बज्रपातसँगै उनले फेरि मदिराको साथ लिन थाले । उनी भन्छन्, ‘सुख–दुख, संगीतदेखि लिएर मेरा हरेक राम्रा–नराम्रा बानीको साथी ऊ नै थियो । उपचारका लागि दिल्ली लैजान एयर एम्बुलेन्स ठीक गर्दै गर्दा उसले मेरै साथमा धर्ती छाड्यो । अनि मैले फेरि पिउन सुरु गरेँ ।’

यादमा, सपनामा, हरेक समयमा खेम देखिन लागेपछि आफूले रक्सीको साहरा लिएको उनी सुनाउँछन् । तर, खेम नै मदिराको कारणले बिदा भएपछि यो खराब हो भन्ने चेत आएर आफूले संघर्ष गरेर अहिले मदिरा चटक्कै छाडेको उनी अनुभव सुनाउँछन् ।

राजेश भन्छन्, ‘मैले घरमा धामी नै राखेँ । धामीले सबै ठीक छ यादले गर्दा ऊ, सपनामा आएको भन्नुभयो । खेमकी आमाले याद आए पनि रक्सी नखानू उसलाई सम्झेर चढाउनू भन्नुभयो । खेम त त्यस्तो भयो, मैले खानुहुन्न भन्ने भएर छाडियो ।’

फिल्ममा राजेशपायल

राजेशपायलले फिल्ममा समेत अभिनय गरेका छन् । राजेश हमाल र करिश्मा मानन्धर मुख्य भूमिकामा रहेको फिल्म ‘किन किन’को एउटा सिनबाट भने उनी विवादमा परेका थिए ।

‘किसिङ सिन’ का कारण राजेशले आलोचना खेप्नुपर्‍यो । उनी स्मरण गर्छन्- बहकाउमा ‘टङकिस’ नै गर्नुपर्छ भनेर सबैले उक्साए । सिधा गएर किस खाएर हैट राजेशपायलको यो साल पनि विवाह हुँदैन रहेछ भन्ने डाइलग थियो । त्यसले विवादमा परियो ।

सो विवादले गायकको स्वच्छ छविमा दाग लागेको राजेशलाई महसुस भएको छ तर उनले पछुतो नमानी त्यसलाई पाठका रूपमा लिएका छन् ।

यो पनि : ३० वर्षपछि पूरा भयो दीपाश्रीको सपना…

लगातार ९ दशैं अमेरिकामा

सन् १९९७मा हङकङबाट विदेश यात्राको सुभारम्भ गरेका राजेश अहिले सबैभन्दा बढी विदेशमा प्रस्तुति दिने गायकका रूपमा परिचित छन् ।

विदेशको कार्यक्रममा धेरै जाने भएकाले ‘राजेश नेपालमा ट्रान्जिट बस्छन्’ भनेर ब्यङ्ग्यसमेत गर्ने गरिन्छ । हुन पनि उनले नेपालमा लगातार दशैं नमनाएको २० वर्षभन्दा बढी भयाे।

उनी थप्छन्, ‘सन् २०१४ देखि दशैं नेपालमा मनाएको छैन । बीचमा एकवर्ष डेनमार्कमा मनाएँ । नभए सधैं अमेरिकामा मनाउँछु । आगामी दशैं पनि अमेरिकामै मनाउने तय भइसक्यो । समय बुक भइसकेको छ ।’

‘ब्याचलर’ जीवनशैली

राजेश राति २ बजे सुत्छन् भने दिउँसो १२ बजेपछि मात्रै उठ्छन् । उनले उदाउँदो सूर्य नदेखेको वर्षौं भइसक्यो ।

विदेशी आयोजकसँग कुरा गर्न सहज भएकाले पनि आफूलाई यही जीवनशैली मन पर्ने राजेशको भनाइ छ ।

उनी भन्छन्, ‘धेरै भयो अब मलाई यो तालिका नै बानी लागेको छ। बिहानको घाम नदेखेको वर्षौं भयो । कहिलेकाहीँ प्लेनमा यात्रा गर्दा देखियो भने देखियो, नभए बिहानको घाम देख्ने सम्भावना छैन ।’

तस्बिर : चिरायु शाक्य/खबरहब 

थप…

चलचित्रका ‘बा’ बुढेसकालमा एक्लै

निर्देशक बुबालाई छल्दै नायिका बनेकी केकी

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  ६ : २७ बजे

संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलबाटै थाहा पाइने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषकलाई कृषि उपजको

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२