गजुरेलको ‘जोक’ जस्तो जिन्दगी ! | Khabarhub Khabarhub

 गजुरेलको ‘जोक’ जस्तो जिन्दगी !


१६ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : 7 मिनेट


26k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ताप्लेजुङको मामाङ्खे गाउँमा २०३० सालमा जन्मिएका चर्चित हास्यकलाकार मनोज गजुरेललाई बुबाको अनुहार याद छैन । उनी ६ महिनाको हुँदा ३१ वर्षीय बुबा धर्तीबाट बिदा भए । बुबाको अनुपस्थितिले मनोजको परिवार आर्थिक अभावसँग राम्रैसँग परिचित बन्न पुग्यो। चार दिदी र दुई दाजुमुनिका मनोजले कान्छो भएका कारण अरु भन्दा केही सुविधा पाए । 

आज उनले ‘मिमिक्री बादशाह’ उपमा पाएका छन्, सारा नेपालीलाई हँसाउँछन् । तर, उनको जीवनचाहिँ हँसाउने खालको छैन ।

रुलाई हँसाउनु मनोजको काम हो । उनी सफल हास्य कलाकार हुन् । त्यसैले, उनले बाल्यकालका दुःख र अभावलाई सुनाउँदा पनि हामीलाई हाँसो लाग्छ । यस्तो लाग्छ-उनले अभाव पनि बोनसमै पाएका हुन् । मनोजको जीवनका चाखलाग्दा किस्सा यहाँ प्रस्तुत गरिएको छ, जुन निम्नमध्यम वर्गीय परिवारमा हुर्किएको पुस्ताका बाध्यता पनि हुन् ।

दशसम्म पढ्न ११ स्कुल !

परिवारको आर्थिक अवस्था कमजोर हुँदा गजुरेलले एउटै विद्यालयमा अध्ययन गर्ने अवस्था बनेन । कहिले काका, कहिले मामा, कहिले सानिमा त कहिले अन्य आफन्तको घरमा बसे, पढे ।उनले कक्षा १० सम्म पढ्न ११ वटा स्कुल फेरे । उनी भन्छन्, ‘सायद हामी सात सन्तानमध्ये कान्छो म नै भएर होला, सबैले मलाई नै छान्नुभयो ।’ मनोजले लामो समय एउटै स्कुलमा पढेको भनेको दुई वर्ष हो । नत्र उनले एउटा स्कुलमा आधा वर्षमात्रै पनि पढेको रेकर्ड छ ।

कान्छा काकाले बोर्डिङ स्कुलमा भर्ना गरिदिएको उनको बाल्यकालको सबैभन्दा मीठो क्षण हो । त्यसबेला सम्पन्न परिवारको सन्तानले मात्रै बोर्डिङ स्कुल पढ्ने समयमा आफूले टाई लगाएर स्कुल गएको रोमाञ्चक स्मरण छ उनीसँग । यो घटना २०३८ साल आसपासको हो । यो सौभाग्य उनलाई कान्छा काका बोर्डिङको शिक्षक भएपछि जुरेको हो । उनले पछिल्ला दुई वर्ष एउटै स्कुलमा पढे । उनले नौ र दश कक्षा काठमाडौंको पदमोदय स्कुलमा पढे । 

चप्पल पट्काउँदै झापातिर 

गजुरेलले खबरहबसँग पहिलो पटक चप्पल लगाउँदाको अनुभव सुनाए । उनले सात वर्षको हुँदा पहिलो पटक चप्पल लगाएका थिए । ताप्लेजुङबाट झापा बसाइँ सर्दा सात दिन हिँड्नुपर्ने बाध्यता आइलाग्यो । उनी भन्छन्, ‘लामो पैदल हिँड्दा खुट्टा खिइन्छ भनेर मलाई चप्पल किनिदिएको याद छ ।’  त्यसबेला चप्पल जोकोहीको खुट्टामा हुँदैनथ्यो । हुनेखाने मात्रै लगाउने अवस्था थियो । उनी पहिलो अनुभव सुनाउँछन्, ‘चप्पल लगाएको दिन संसारको सबैभन्दा धनी, शक्तिशाली, सफल र खुसी मान्छे मै हुँ भन्ने लागेको थियो ।

चिया बगानमा फिल्म हेर्दा काठमाडौं चलान 

स्कुल फेरेर यताउति गर्ने गजुरेल किशोरावस्थासम्म गाउँमै थिए । घर नजिकै चिया बगान । त्यहाँ हरेक मंगलबार मजदुरलाई फिल्म देखाउने चलन थियो । उनी पनि त्यहीँ फिल्म हेर्न पुग्थे । त्यसबेला गजुरेलका जेठो दाइ काठमाडौं आइसकेका थिए । आमाले फिल्म हेर्न गएको पोल दाइलाई लगाइ दिएपछि उनलाई काठमाडौं पढ्न पठाइयो ।

उनी सम्झन्छन् आमाले दाइलाई ‘मनोज भिडियो हेरेर बिग्रने भयो, तँ लान्छन् भने लैजा, मैलेचाहिँ सकिनँ’ भन्नुभयो । अनि दाजुले काठमाडौं ल्याउनुभयो ।’ भिडियो हेरेर बिग्रन्छ भनेर काठमाडौं ल्याइएका गजुरेल आज यही क्षेत्रका ख्यातिप्राप्त व्यक्ति बनेका छन् ।

तरकारीको पैसा काटेर रेडियो नेपालमा फोन

‘हरेक शब्द सुन्दा व्यक्तिको मस्तिष्कमा एउटा काल्पनिक तस्बिर याद आउँछ’ गजुरेल भन्छन्, ‘मलाई काठमाडौंमा रायोको साग, गोलभेँडाको अचार र स्टोभमा पकाएको भातको दृश्य मस्तिष्कमा आउँछ । 

अब यही सागसँग जोडिएको गजुरेलको किस्सा सुनौं।

काठमाडौं आएपछि गजुरेललाई रेडियो नेपालमा पाण्डव सुनुवारले सञ्चालन गरेको ‘फोन इन’ कार्यक्रममा फोन गरेर गाउँलेलाई आफ्नो नाम सुनाउने ठूलो इच्छा जाग्यो । उनी भन्छन्, सानो इच्छा, पैसा नभएर पूरा भएको थिएन । दाइको तलब पाँच सयले महिनाभरि चल्नुपर्थ्यो । तीन दिनको तरकारीका लागि दाइले छुट्याएको बजेट पाँच रुपैयाँ थियो ।त्यसपछि गजुरेलको ‘गजुरियल’ दिमाख चल्यो ।दाइले तरकारी किन्न दिएको पैसामा चलखेल गरे ।

उनी सुनाउँछन्, ‘मैले तीन रुपैयाँको साग किनेर तीन छाक पुर्‍याएँ । दाइले दिएको पाँच रुपैयाँबाट दुई रुपैयाँ रेडियो नेपालमा पाण्डव सुनुवारलाई फोन गर्न बचाएँ । 

तरकारीको बजेट काटेर टेलिफोनका लागि छुट्याइयो । तर, दुई सातासम्म रेडियोमा फोन लागेन ।  मनोज त्यस समयको रेडियो लोकप्रियता स्मरण गर्छन्, ‘रेडियोको क्रेज नै बेग्लै थियो । रेडियोमा फोन गरेपछि म गाउँमा भाइरल भएँ । गाउँकाले मलाई कलाकार भन्न थाले ।’

दिउँसो स्कुल, बिहान–बेलुका कलेज!

पद्मोदय र रत्नराज्य (आरआर) कलेजको दूरी करिब २०० मिटर छ । मनोज १०–५ पद्मोदयमा हुन्थे । बिहान–बेलुका आरआर कलेजमा ।

उनी भन्छन्– ‘स्कुलमा अतिरिक्त क्रियाकलाप नभएकाले आरआरको कार्यक्रममा सहभागी हुन्थेँ । स्वागत, बिदाइ, स्ववियु चुनावलगायका कार्यक्रममा म त्यहाँ गएर प्रस्तुति दिन्थेँ । सोहीकारण म आरआरमै बढी हुन्थेँ । ‘

आरआर कलेजकै मञ्च मनोजको कलाकारिताको पहिलो जग बन्यो । त्यसबेला उनी कुकुर, बिरालो, बच्चा इत्यादिको आवाज निकालेर कलेजका दाइदिदीलाई मनोरञ्जन दिन्थे ।

‘ऋषिले उल्टो पत्रिका पढेको पसल मेरै हो’

पत्रकार ऋषि धमला र गजुरेलको भेट स्कुल पढ्दा नै भएको हो । स्कुल पढ्दा गजुरेल अनेरास्ववियू (पाँचौं) मा आवद्ध थिए, जुन अहिलेको एमालेको भातृ संगठन हो ।२०४६ सालमा पञ्चायतविरुद्धको आन्दोलनका लागि स्कुलका विद्यार्थीहरूको संघर्ष मोर्चा बनेको थियो । गजुरेल त्यसको सह-संयोजक थिए, ऋषि धमला संयोजक ।  

पछि गजुरेलका दाइले बागबजारबाट पुतलीसडक आउने मोडमा पत्रिका पसल खोले । गजुरेल फुर्सदमा त्यहीँ गएर बस्थे । उनी भन्छन्,‘२०५०-०५२ सालतिर ऋषिको रिपोटर्स क्लब र हाम्रो पत्रिका पसलसँगै थियो । ऋषि त्यहाँ आएर पत्रिका पढ्थे । 

‘इङलिस पत्रिका उल्टो पढेको भनेर धमलाको जोक बनाइएको पत्रिका पसल यही हो’ गजुरेल भन्छन्, ‘मैले चाहिँ देखेको हैन । गाडी पल्टेको इङलिस समाचार रहेछ, ऋषिले उल्टो पारेर हेरेछन् ! सायद गाडी उल्टो छापिएकाले पत्रिका नै उल्टाएर हेरेको हुन सक्छ । धेरैले जोक बनाए ।’

अब मनोजले ‘कर्फ्यु तोड्दा गोली’ लागेको प्रसङ्ग भन्दा पहिले कुन नेताको ब्यङ्ग्य पचाउने पाचन शक्ति कति छ, पढौं ‘गजुरियल’ विश्लेषण–


ओली : केपी ओली हास्यव्यङ्ग्य बुझ्ने नेता हुन् । तर, अलिकति मात्रै उनको विरुद्धमा गयो भने उनी रिसाउने व्यक्ति हुन् ।

प्रचण्ड :  उनी व्यङ्ग्य बुझ्छन् तर उनलाई परिस्थितिले यति कमजोर बनायो कि व्यङ्ग्य गरिरहँदा पनि मलाई गाली गरे, म सक्किएँ भन्ने ठान्छन् र मजा लिन सक्दैनन् । प्रचण्ड हुँदासम्म उनी व्यङ्ग्यमा मजा लिन्थे, पुष्पकमल जब बने, अहिले मजा लिन सक्दैनन् ।

देउवा : देउवा कलाकार नै चिन्दैनन् । चिने पनि बिर्सन्छन् । दोस्रो–उनी मजा नै लिन सक्दैनन् । 

माधव नेपाल : अरुलाई व्यङ्ग्य गर्दा निकै खुसी हुन्छन् । आफूलाई पर्दा मुख बिगारिहाल्छन् । 

‘प्रहरीले ढुंगा हाने भनेको, गोली रहेछ’

पञ्चायतविरुद्धको आन्दोलन चर्किएपछि ०४६ चैत २४ गते काठमाडौंमा कर्फ्यु लागेको थियो । कर्फ्यु तोडेर मैतीदेवी क्षेत्र कब्जा गर्न एक टोली मैतीदेवीको मुख्य सडक भत्काएर सेना र प्रहरीलाई रोक्न तम्सियो । त्यो टोलीमा गजुरेल र उनका जेठा दाइ पनि थिए । 

उनीहरु बाटो भत्काउन खन्दै थिए । पाँच सय मिटर टाढा डिल्लीबजार पिपलबोटबाट प्रहरीले सिट्टी फुक्यो । तत्कालै गोलीको आवाज आयो । उनीहरुको समूह तितरवितर भयो । गजुरेल सम्झन्छन्,‘एकैछिनमा प्रहरीको ढुंगाले लाग्यो । दाइ, म र एकजना साथी ढुंगाले लाग्यो भनेर भाग्यौं । मलाई पनि ढुंगाले खुट्टामा लागेकाले खल्च्याङ–खल्च्याङ गर्दै दाइको पछि-पछि भागेँ ।

उनीहरु एउटा घरमा गएर लुके । सबैतिर अँध्यारो थियो । घरकी दिदीले बत्ती बालिन् र आत्तिँदै भनिन्,‘ला ! भाइ तपाईंहरुलाई गोली लागेछ’
गजुरेलले सोचेको ढुंगा त गोली रहेछ । भन्छन्, ‘त्यसपछि डर लाग्यो । ती दिदीले गोली लागेछ भनेपछि मात्रै हामी बेहोस भयौं !’ 

मनोजका अनुसार त्यसबेला पाँचजना आन्दोलनकारीलाई प्रहरीको गोली लागेको थियो । गोलीको डाम मनोजका ठूलो दाइको पिडुँलामा अझैसम्म छ । पाँच दिन शिक्षण अस्पतालमा उपचार गरेपछि उनीहरु डेरा फर्किए । मनोज सम्झन्छन्, ‘एम्बुलेन्समा अस्पताल जाँदा बाटोमा आर्मीको चेकिङ थियो, घर बनाउने केटाहरु छतबाट खसे भनेर झूठ बोलेर हामीलाई अस्पताल पुर्‍याइएको थियो ।’

ज्ञानेन्द्रको ‘मिमिक्री’ गर्दा टीभीको लाइभ काटियो

पूर्वज्ञानेन्द्र शाहको ‘मिमिक्री’ गरेपछि मनोज हास्य व्यङ्ग्यमा स्थापित भए । उनको पहिलो ‘मिमिक्री’ नै ज्ञानेन्द्रको हो । गणतन्त्र आएको थिएन । ज्ञानेन्द्र शाह श्री ५ नै थिए । खुलामञ्चमा नागरिक आन्दोलन चलिरहेको थियो । त्यहीँ उनले पहिलो पटक ज्ञानेन्द्रको अभिनय गरे । एउटा निजी टेलिभिजनले आन्दोलनको प्रत्यक्ष प्रसारण गरिरहेको थियो । गजुरेल सम्झन्छन्, ‘जब म मञ्चमा राजा ज्ञानेन्द्रको भेषमा निस्किएँ, त्यो टेलिभिजनले डराएर लाइभ च्वाट्टै काट्यो।’ 

गजुरेलका अनुसार राजाको ‘मिमिक्री’ गर्ने कुरा आन्दोलनका अगुवालाई मात्र थाहा थियो, मिडिया भने बेखबर थिए । उनको त्यही‘मिमिक्री’ भाइरल बन्यो र उनले चर्चा बटुले ।

मनोजलाई राजदरबारबाट सुरक्षाको चुनौती बढ्ने धेरैको बुझाइ थियो । तर, उनी कुनै सुरक्षा थ्रेट नआएको बताउँछन् । आफ्नो पहिलो ‘मिमिक्री’बारे भन्छन्, ‘राजाले लाउने बुट र ह्याट मलाई आर्मीका मान्छेले दिएका हुन्, उहाँले लगाउने कमब्याट पूर्वसिपाहीले दिएका हुन् ।’


मनोजको राजाको ‘मिमिक्री’ हिट भयो । प्रस्तुतिका लागि अमेरिका पनि बोलाइयो । त्यहाँ भने अर्को रोचक घटना भएको उनी सुनाउँछन् ।
‘गणतन्त्र आएपछि ज्ञानेन्द्र बनेर न्यूयोर्कमा प्रस्तुति दिन पूर्वराजाको हाउभाउसहित भिडबाट मञ्चमा जाँदै थिएँ । एउटाले आएर कानमा अरुले नसुन्ने गरी आमाचकारी गाली गर्‍यो,’ मनोज भन्छन्, ‘पछि संयोजकहरूसँग बुझ्दा ती व्यक्ति पूर्वराजानिकट रहेछन् ।’ 

टेड्रोससँगको भेट
विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधोनम गेब्रियसोस नेपाल आउँदा गजुरेलसँग भेट गरेका थिए । कारण थियो– कोरोना कालमा गजुरेलले उनैको ‘मिमिक्री’ गर्नु ।  टेड्रोसको ‘मिमिक्री’ गर्नुको कारणबारे मनोज भन्छन्,‘ट्रेडोस कोरोनाकालमा सबैभन्दा बढी देखिएका अनुहार हुन् । टीभीमा सबैभन्दा बढी देखिएको अनुहार भएर गरियो ।’ 

टेड्रोस सन् २०२२ मा नेपाल आउने भएपछि मनोजलाई उनीसँग भेट्न मन लाग्यो । तर, उनका सबै च्यानलले भेटाउन नसकिने बताए ।

मनोज भन्छन्, ‘स्वास्थ्य मन्त्रालयको च्यानल प्रयोग गर्‍यो, परराष्ट्रले हेर्ने भन्छ । परराष्ट्रमा फोन गर्‍यो, डब्ल्यूएचओले हेर्ने भन्छ ।’ आफ्नो च्यानलबाट टेड्रोससँग भेटाउन नसकेपछि खिस्रिक्क परेका मनोजका लागिभोलिपल्ट चमत्कार जस्तै भयो । उनलाई जो-जसले टेड्रोससँग भेट्न असम्भव भनेका थिए, उनीहरूले नै फोन गरेर भेट्न आउन भने ।

मनोज भन्छन्– ‘म रातारात के चमत्कार भयो भनेर छक्क परेँ । हिजोसम्म कसैले सम्भव छैन भन्थे ।कारण बुझ्दै जाँदा टेड्रोसले नै भेट्न इच्छा देखाएछन् । टेड्रोसको स्वागत पार्टीमा नेपाल भ्रमणको तालिका देखाएछन् । त्यसपछि उनले भनेछन् ‘मेरो काठमाडौंमा रहेको कपीक्याटलाई भेट्ने कुरा भ्रमण तालिकामा रहेनछ, उसलाई भेट्ने समयतालिकाको पहिलो स्थानमा राख्नू ।’

गजुरेल टेड्रोसलाई भेट्न पाटनढोका गए । भिडले त्यहाँ कुरा गर्ने अवस्था नभएपछि उनले आफ्नो पीएलाई निर्देशन दिए, गजुरेलसँग राति कुरा गर्ने प्रबन्ध मिलाउनू ।
टेड्रोस र गजुरेलको राति पाटन दरबार स्क्वायरमा भेट भयो । त्यसक्रममा टेड्रोसलाई उनले डाइलग पनि सुनाए । एउटा डाइलग उनले खुबै मन पराएको मनोज बताउँछन् । डाइलग थियो,‘महामारीलाई राजनीतिकरण नगर । यदि गरियो भने त्यो कोरोना भाइरसभन्दा खतरनाक हुन्छ ।’ 

टेड्रोसले सो डाइलग खुबै मन पराएर ताली ठोकेको गजुरेल स्मरण गर्छन् । टेड्रोस स्वदेश फर्किएपछि पनि इमेलमा कुराकानी हुने गरेको उनी सुनाउँछन् ।

सामाजिक सञ्जालसँग डर
पहिलो वैवाहिक सम्बन्ध टुटेपछि गजुरेल सामाजिक सञ्जालबाट टाढै बसे । उनी भन्छन्, ‘आर्थिक, मानसिक र सामाजिक कारणले म कमजोर थिएँ । त्यसबेला समाजिक सञ्जालमा आएको सान्त्वनालाई पनि मैले रेस्पोन्स गर्न सकिनँ ।’

गाली गरेर म्यासेज आएको हुनसक्ने डरले सामाजिक सञ्जालबाट टाढा बसेको बताउँदै उनी भन्छन्, ‘तीन वर्षपछि अलिकति फ्रेस भएँ । नानी–बाबु पनि फ्रेस भए । तीन वर्षपछि बल्ल मैले मिडियाहरू हेर्न लागेँ । कलाकारिताको काम गरिरहे पनि सामाजिक सञ्जालमा भने निष्क्रिय थिएँ ।

प्रकाशित मिति : १६ मंसिर २०८०, शनिबार  २ : १७ बजे

सरकारले सेनालाई घरजग्गा भाडामा दिएपछि स्थानी आक्रोशित

काठमाडौँ– पाकिस्तान अधिनस्थ गिल्गिट बाल्टिस्तानमा सरकारले सेनालाई घरजग्गा भाडामा दिएपछि

भारी वर्षा र बाढीका कारण फ्लोरिडामा आपतकाल घोषणा

काठमाडौं– लगातार भारी वर्षा भएपछि अमेरिकाको फ्लोरिडा आपतकाल घोषणा गरिएको

देशकै तेस्रो ठूलो विद्युत सबस्टेशनको उद्घाटन आज, प्रधानमन्त्री हेटौंडा जाँदै 

काठमाडौं– हेटौँडामा नवनिर्मित देशकै ठूलो विद्युत् सबस्टेसनको औपचारिक उद्घाटन आज

विश्वकप क्रिकेट : पिएनजीले अफगानिस्तानलाई दियो ९६ रनको चुनौती

काठमाडौं – आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत समूह ‘सी’को खेलमा

सडक बनेको १८ वर्षपछि स्तरोन्नति

म्याग्दी– बेनी नगरपालिका-६ डाँडाबारीमा सडक निर्माण भएको १८ वर्षपछि कालोपत्र