पत्नीवियोगलाई संगीतमा उन्दै मदनकृष्ण, छोरी सराना भन्छिन्– ‘तिमी जूनजस्तै प्यारो’ | Khabarhub Khabarhub

पत्नीवियोगलाई संगीतमा उन्दै मदनकृष्ण, छोरी सराना भन्छिन्– ‘तिमी जूनजस्तै प्यारो’


२१ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : 5 मिनेट


4.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हेर्दा तरल देखिए पनि आँसु भाव हो । अक्षरले यसलाई बोक्न सक्दैन । आँसु बुझ्न आँसुमै बिलाउनु पर्छ । अरुलाई हसाउँदै आधा दशकदेखि पत्नीवियोगको पीडामा रहेका वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठकी श्रीमती यशोदा बितेको पाँच वर्ष बितिसकेको छ । पत्नी वियोगको पीडा भुलाउन उनलाई छोरा यमन र छोरी सराना लौरो बन्ने प्रयास गर्दै आएका छन् ।

यद्यपि सराना भन्छिन्, ‘एक व्यक्तिको मायाको क्षतिपूर्ति अर्को व्यक्तिले चुक्ता गर्न सक्दैन ।’ उनको भनाइको तात्पर्य हो– आफूहरुको भौतिक उपस्थिति बुबाको लागि मन भुलाउने बाटो हो, आमाको माया र याद त उहाँलाई आइहाल्छ ।

ती यादलाई मदनकृष्णले शब्दमा परिणत गरेर एउटा सुन्दर सिर्जनामा ढालेका छन् । जुन कामका लागि उनलाई यमन र सरानाले साथ दिएका छन् ।

यशोदाको सम्झनामा मदकृष्णले कोरेको शब्द–

तिमी जून जस्तै लाग्छ प्यारो

तिमी जून जस्तै छौं शीतल

तर जून जत्तिकै टाढा,

निकै टाढा, टाढा छौं तिमी ।

यशोदाको यादलाई गीतमा परिणत गरेर श्रीमान्, छोरा र छोरीले भर्खरै गीत सार्वजनिक गरेका छन् । जसमा मदनकृष्ण स्वयंको अभिनय रहेको छ भने सरानाले स्वर दिएकी छिन् । सरानाको निर्देशनमा तयार पारेको भिडियोमा यमन श्रेष्ठको संगीत रहेको छ । यसै प्रसंगमा सरानासँग गरिएको संक्षिप्त कुराकानी :

 

दिवंगत आमाको सम्झनामा परिवार मिलेर एउटा गीत ल्याउनुभएको छ । यो गीतको प्रसंग कसरी निस्कियो सुनौं न ?

अहिले मैले ‘तिमी जुन जस्तै लाग्छ प्यारो’ बोलको गीत एउटा ‘सेन्टिमेन्टल’ गीत भिडियोसहित लिएर आएकी छु । यो पारिवारिक सिर्जना भन्दा हुन्छ । यो आमाको सम्झनामा लेखेको गीत हो । आत्मादेखि नजिक ठानेको मान्छेसँग बिछोड हुँदाको भावना समेटेर बुबाको शब्द कोर्नुभएको छ । मेरो दाइ यमनले संगीत भर्नुभएको हो । आमाको सम्झनामा एउटा गीत गरौं न त भनेर सिर्जना तयार पारेको हो । जसमा निर्देशन मेरै छ ।

यो एउटा मनदेखि आएको भाव मात्र हो, कुनै व्यावसायिक गीत होइन । तर राम्रो प्रतिक्रिया आएको छ । जतिले हेर्नुभएको छ उहाँहरुले ‘मैले आँसु रोक्न सकिनँ’, ‘मलाई फलानो मान्छेको याद आयो’लगायतका प्रतिक्रिया आएको छ । मलाई यसले शब्दमा व्यक्त गर्न नसक्ने ऊर्जा दिएको छ ।

गीतमा मदनकृष्ण श्रेष्ठको शब्द छ । यसलाई भावुकतामा जन्मिएको सिर्जना भन्न मिल्छ ?

शब्दले मान्छेको मन छुने हो । आमाप्रतिको ममतालाई बुबाले विशुद्ध भावनामा उतार्नुभएको छ । त्यो गीतको शब्दको तौल नै बढी छ । अनि एउटा सिर्जना तयार भयो ।

आमासँग छुट्टिएको पाँच वर्ष भयो । आफैँले भोग्दा आमासँगको बिछोड कस्तो हुने रहेछ ?

सम्झना चाहिँ एकदमै हुने रहेछ । घरमा मिठो पाक्यो भने पनि आमालाई खुवाउन पाएको भए भन्ने हुने रहेछ । यस्तो भएको भए, उस्तो भएको भए भन्ने कुरा चाहिँ भइरहने रहेछ ।

आमा जतिको माया गर्ने त अरु कोही हुँदैन । उहाँ बित्दाको समय चाहिँ भावनात्मक रुपमा अन्य कारणले पनि गाह्रो परिस्थिति थियो । समयले नै परिस्थितिलाई व्यवस्थापन गर्न सिकायो ।

भर्खरै सार्वजनिक भएको गीतबाट नै थाहा हुन्छ कि तपाईंको बुबा मदनकृष्ण श्रेष्ठले आमालाई कति माया गर्नु हुँदो रहेछ । उहाँको निधनमा बुबालाई सम्हालिन गाह्रो भएको थियो रे भन्ने पनि कुरा सुनिन्छ । त्यो अवस्थालाई कसरी स्मरण गर्नुहुन्छ ?

एउटाको माया अरुबाट पूरा हुँदैन । बुबा र आमाको जुन किसिमको प्रेम छ त्यो हामीबाट प्राप्त हुँदैन । किनकी हामीसँग अर्कै किसिमको प्रेम छ । उहाँलाई हामीले त्यो समयमा र अहिले पनि दिन सक्ने भनेको साथ हो । उहाँको साथमा नै रहन हामीले प्रयास गर्ने हो । छोराछोरीले गर्ने भनेको पनि त्यही नै हो ।

अब त हाम्रो लागि बुबा–आमा भनेकै उहाँ एउटै हो । बुबालाई अहिले चाहिएको नै माया र साथ नै हो । त्यो अहिले हामीले दिने प्रयास गरिरहेका छौं । बुबा खुसी पनि हुनुहुन्छ ।

अब तपाईंको कामको कुरा गरौं । यो निर्देशनमा किन आउन मन लाग्यो ?

विश्वविद्यालय नै घरमा ‘बुबा’ हुनुहुन्छ । गाउने चाहिँ म बच्चादेखि नै गर्थेँ । पाँच वर्षको उमेरदेखि नै विज्ञापनहरुमा गीत गाउँने र फिल्ममा समेत गीत गाएको थिएँ । बीचमा म अमेरिका गएपछि ‘ग्याप’ भएको हो । आमा बिरामी भएपछि पनि म यो क्षेत्रबाट टाढा भएँ । अनि पछिल्लो पाँच वर्षदेखि चाहिँ अलि सक्रिय छु । गायनले चाहिँ फ्याट्ट फुट्ट निरन्तरता नै पाइरहेको छ । निर्देशन चाहिँ पछि पलाएको सोख हो ।

म आफैँलाई पनि निर्देशन गर्ने क्षमता मसँग छ भन्ने थाहा थिएन । यसलाई अझै निखार्नु पर्छ भनेर म्युजिक भिडियो निर्देशन गरेँ । बुबाले यसरी म्युजिक भिडियोे बनाउने भनेर एउटा बुँदा जस्तो सूत्र दिनुभयो । त्यही अनुसार काम गरेँ ।

अब भने फिल्म नै निर्देशन गर्ने सोच छ । अहिले पनि फलानाको छोरी फिल्ममा निर्देशन गर भन्नेहरु पनि छन् । तर अहिले नै म त्यो गर्न चाहन्नँ । तर अब छिट्टै त्यो योजनामा छु ।

जस्तो मैले म्युजिक भिडियोबाट सुरु गरेको निर्देशन यात्रा सर्ट मुभीमा पुर्‍याएँ । वृतचित्र निर्देशन गरेँ । केही अघि मैले नेपाल सरकारका लागि अंग प्रत्यारोपणका बारेमा एउटा वृतचित्र बनाएको थिएँ । यस्तो समाजमा प्रभाव पर्ने कामहरु गर्न पाए हुन्थ्यो जस्तो लाग्छ ।

तपाईंको निर्देशनमा रहेको फिल्म दर्शकले कहिले हेर्न पाउनुहुन्छ ?

त्यो त मलाई पनि थाहा छैन । जे होस् मलाई पनि इच्छा चाहिँ छिटै गर्ने छ । अहिले म एउटा सर्ट मुभीको तयारीमा छु । यो प्रोजेक्ट चाहिँ अबको तीन हप्तामा सार्वजनिक नै हुन्छ । यो मेरो लागि फिल्म बनाउन अभ्यास पनि हुनेछ ।

मैले पहिलो सर्ट मुभी यूएनडीपी नेपालका लागि बनाएको थिएँ । त्यो जातीय विभेद कथामा आधारित थियो ।

बुबालाई फिल्ममा खेलाएर आफू निर्देशक बन्ने चाहाना छ कि छैन ?

बुबालाई मैले निर्देशन त गरिसकेँ । अब फिल्ममा पनि मन छ । भविष्यमा के हुन्छ भन्न सकिँदैन तर इच्छा चाहिँ छ ।

मदनकृष्णको छोरी भएर फिल्म क्षेत्रमा काम गर्दा के बेफाइदा हुने रहेछ ?

बेफाइदा नै छैन । सबै फाइदा फाइदा नै हो । किनभने मदनकृष्णको छोरी म एकजान मात्र हो यो धर्तीमा । बेफाइदा किन पनि छैन भने– मेरो बुबा असल व्यक्ति हो । त्यहाँ माथि लोकप्रिय हुनुहुन्छ । सबैले सम्मान र माया गर्नुहुन्छ । मलाई त उहाँको छोरी हुनु सौभाग्य नै हो, दुर्भाग्य केही पनि छैन ।

तपाईंका पछिल्लो प्रोजेक्टहरुको बारेमा जानकारी दिनुहोस् ?

भर्खरै ‘सुनन तिमी राम्री लाग्यो’ बोलको गीतको निर्देशन गरेकी थिएँ । त्यो गीतमा मेरो बुबा र मिथिला शर्माको अभिनय रहेको छ ।

अंग प्रत्यारोपण बारेमा एउटा वृतचित्र बनाएको छु त्यो महसञ्चार युटुब च्यानलमा हेर्न सकिन्छ । आमाको सम्झनामा अहिले बुबाको अभिनय भएको गीत ल्याएकी छु । अब नयाँ सर्ट मुभी बनाउने तयारीमा छु ।

 

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  ४ : ३३ बजे

इलाम २ : सुहाङको फराकिलो अग्रता, मिलनलाई जमानत जोगाउन सकस

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

दिल्लीविरुद्ध कोलकत्ताको सानदार जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल)मा दिल्ली क्यापिटल्सविरुद्ध कोलकाता नाइट

इलाम २ : डकेन्द्रले कटाए १० हजार मत, सुहाङको अग्रता कायमै

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

सकियो लगानी सम्मेलन, निजी क्षेत्रले १० अर्बको प्रतिबद्धता जुटाउँदा सरकार शून्यमा !

काठमाडौं – सरकार र निजी क्षेत्रले आयोजना गरेको ‘उदयीमान नेपाल

श्रमिकको अवस्था सन्तोषजनक छैन : मन्त्री अर्याल

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले