कुन्ती मोक्तान : संगीतको सेवामा सपरिवार | Khabarhub Khabarhub

कुन्ती मोक्तान : संगीतको सेवामा सपरिवार


१२ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 9 मिनेट


900
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कुन्ती मोक्तान नेपाली गीत संगीतको क्षेत्रमा प्रिय नाम हो । उनका जीवन्त गीतहरु गुनगुनाएरै धेरै नेपालीको बिहानीको सुरुवात हुन्छ ।

कुनै स्कुलको वार्षिकोत्सवमा नाचिने बालगीत होस् वा राष्ट्रिय पर्वमा घन्किने स्वदेश गीत त्यहाँ कुन्ती बज्छिन् । अझ भनौं कुनै घरको तीनपुस्तालाई कुनै स्वरले तान्छ भने त्यो कुन्तीकै आवाज हो ।

६१ वर्षअघि दार्जीलिङको सामान्य परिवारमा हुर्किएकी कुन्तीले अहिलेसम्म ६ सय बढी गीतमा स्वर दिएकी छन् । नेपालीको संगीतको सम्मानित स्रस्टामा उनी अग्रस्थानमा आउँछिन् ।

१२ सम्म दार्जीलिङमा पढेकी उनले संगीतमा ‘बी–म्युज’ गरेकी छन् ।

तर कुन्तीको बुबाले छोरीको पहिलो सांगीतिक प्रस्तुति हेरेपछि किन रिसाएर कहिल्यै सहभागी नहुने निर्णय गरे ? उनले सो प्रसंग खबरहबसँग खुलाएकी छन् ।

राजा वीरेन्द्रको ३९ औं जन्मोत्सवमा सन् १९८० मा नेपाल आएकी कुन्ती किन नेपालमै स्थायी बसोबास गर्न थालिन् यो प्रसंग यहाँ उल्लेख गरिएको छ ।

कुन्तीले आफ्ना जीवनको उतार–चढाव खुलाउने क्रममा दुई दशककै सबैभन्दा बढी बिकेको गीत ‘माथि माथि सैलुङे’मा कुनै कम्पनीले किन्न नमानेको प्रसंग पनि खुलाएकी छिन् ।


गायिका कुन्ती मोक्तान

गीत गाउँदा काँइयो पुरस्कार

कुन्तीको संगीत मोह सानैदेखिको हो । उनले पाँच कक्षा पुग्नुअघि नै गाउँमा गायिकाको परिचय बनाइसकेकी थिइन् । विद्यालयमा हुने कार्यक्रममा सहभागी हुँदा हुँदै उनको नाम अघि गायिकाको फुर्को जोडिसकेको थियो ।

उनी स्मरण गर्छिन्, ‘स्कुल प्रतियोगितामा भाग लिँदा जहिले पहिलो हुन्थेँ । पाँचसम्म पढ्दा पुरस्कारमा काँइयो, ऐना र टिफिन बक्सहरु पाइन्थ्यो ।’

उनी पाँचमा पढ्दै आफ्नो गाउँका लागि ‘स्टार’ भइसकेकी थिइन् । कक्षा ६ मा पढ्दा उनी दार्जीलिङको दिलाराममा भएको सेन्ट जेभिएरमा भर्ना भइन् ।

त्यही पढ्दा उनी एक कलेजले आयोजना प्रतियोगितामा सहभागी भएर पहिलो भइन् । त्यसपछि उनमा झनै संगीतमा आत्मबल मिल्यो ।

उनी भन्छिन्, ‘गोराबारीको कलेजमा भएको सो प्रतियोगिता नै मेरो गाउँबाहिरको पहिलो थियो । त्यहीबाट म आफ्नो प्रतिभा लिएर बाहिर जानसक्ने रहेछु भन्ने थाहा भयो ।’

त्यस प्रतियोगितामा जाँदा आफू भर्खरै संगीत सिक्न थालेको उनी स्मरण गर्छिन् ।

रेडियोमा ब्रेकपछि दार्जीलिङ स्टार

उमेर बढ्दै थियो, पढाइ र संगीतलाई उनले एक साथ अगाडि लगिरहेकी थिइन् । कलेज प्रतियोगितामा पहिलो भएपछि उनको गाउँ–घरमा गायिकाको रुपमा चर्चा बढ्न थाल्यो ।

त्यत्तिकैमा उनले ‘अल इन्डिया रेडियो कर्सिङ’मा गीत गाउने मौका पाइन् । त्यसबेला उनी १५ वर्षकी थिइन् । सो अवसर संगीत गुरु पूर्णकुमार राई (बाबरी)ले मिलाएको उनी सम्झन्छिन् ।

उनी स्मरण गर्छिन्, ‘रेडियोको अडिसनमा १५ वटा गीत गाउनुपर्थ्यो, एउटा आफ्नो इच्छा १४ वटा रेडियो स्टेसनले दिन्थ्यो । त्यसका लागि मलाई गुरु पूर्णकुमारले तयार गर्नुभएको हो ।’

रेडियोमा गीत गाउन थालेपछि उनको चर्चा स्वाभाविक नै चुलियो । उनी सुनाउँछिन्, ‘त्यसबेला रेडियोको क्रेज ठूलो थियो । अडिसन पास भएपछि पाँच वटा लोक गीत रेकर्ड गर्न पाएँ । रेडियोमा गीत गाएपछि त दार्जीलिङमै स्टार भएँ ।’

गुरु पूर्णकुमार पनि सोही रेडियोमा गीत गाएकाले आफूलाई पनि लगेको उनी सम्झन्छिन् ।


गायिका कुन्ती मोक्तान र उनका श्रीमान् वरिष्ठ संगीतकार शिलाबहादुर मोक्तान
राजाको निम्तोमा नेपाल

कुन्तीले आफ्नो प्रतिभा मोफसलमा राम्रैसँग देखाइसकेकी थिइन् । सोही कारण दार्जीलिङमा नेपालका वरिष्ठ कलाकारहरु संगीत प्रस्तुति दिन जाँदा उनीहरुसँग मञ्च सेयर गर्न पाउँथिन् ।

उनी नेपालका अग्रज कलाकार नारायण गोपाल, अरुणा लामा, मिरा राणालगायतका कलाकारको नजरमा परिसकेकी थिइन् ।

सन् १९८० मा तत्कालीन राजा वीरेन्द्रको ३९ औं जन्मोत्सवमा काठमाडौंको राष्ट्रिय नाचघरमा भव्य संगीतिक कार्यक्रम आयोजना हुँदा नारायण गोपालले उनलाई कलाकारका रुपमा बोलाए ।

उनी सम्झन्छिन्, ‘त्यसबेला दार्जीलिङका वरिष्ठ कलाकारहरु धेरै बोलाइएको थियो । नारायण गोपाल दाइ नाचघरको महाप्रबन्धक भएकाले उहाँले मलाई पनि बोलाउनुभएको थियो ।’

नाचघरमा भीआईपी शो एक साता चल्यो । राजाको जन्मोत्सवको कार्यक्रम स्वाभाविक भव्य भयो ।

उनी स्मरण गर्छिन्– हामीलाई दार्जीलिङबाट ल्याएर विशालबजार छेउको ‘पारस होटल’मा राखिएको थियो । खानाका लागि हामीलाई दैनिक ५० रुपैयाँ दिइएको थियो । त्यो राम्रो पैसा हो ।

नाचघरको कार्यक्रम सफल भयो । राजा भने उपस्थित भएनन् तर मन्त्री लगायतका भीआईपीलाई कुन्तीले गीत सुनाइन् । त्यसपछि भने उनले रेडियो नेपालमा पहिलो गीत रेकर्ड गर्ने मौका पाइन् । गीत थियो– कहिलेकाँही मलाई पनि हेरिदेउ है फर्केर ।

कार्यक्रम सकेर कुन्ती पुनः घर फर्किइन् । कति पारिश्रमिक दिइयो त्यो भने उनले बिर्सिइन् । उनी भन्छिन्, ‘अलिकति पैसा दिए जस्तो लाग्छ । घर जाँदा लगेँ जस्तो लाग्छ, बिर्सिएँ ।’

रिसाएका बुबाको मुस्कान रेडियो नेपालले फर्कायो

सामान्य परिवारमा हुर्केको, त्यहीमाथि छोरी भएर । तर कुन्तीले सानै उमेर संगीतमा फड्को मारिसकेकाले परिवारले यस क्षेत्रमा आउन उनलाई रोक्ने हिम्मत गरेन । यद्यपि बुबा–आमामा छोरी संगीतमा भन्दा पनि राम्रो पढेर राम्रो घरमा जाओस् भन्ने चाहना नै बढी हाबी भएको उनी सुनाउँछिन् ।


गायिका कुन्ती मोक्तान
एउटा कार्यक्रम हेरेपछि बुबा र आफूबीच झगडा भएको उनी सुनाउँछिन् । झगडाको कारण थियो– उनको गीत सुनेर एक समूहले ‘वान्स मोर’ र एउटा समूहले ‘गेट आउट’ भन्दै हल्ला गरेको थियो ।

यही कुराले झगडाको बिउ रोप्यो । उनी थप्छिन्, ‘छेउमा बसेर अरुले के–के भन्दो रहेछ भनेर बुबालाई रिस उठेको रहेछ । यस्तो पनि कार्यक्रममा जान्छन् भन्ने उहाँलाई लागेछ । मैले यो सामान्य हो भनेर सम्झाउँदा झगडै भयो ।’

त्यसपछि बुबा ‘तेरो कार्यक्रममा कहिल्यै जान्नँ’ भनेर रिसाएको उनी स्मरण गर्छिन् ।

तर कुन्तीले आफ्नो सांगीतिक संघर्ष भने रोकिनन् । बुबा कहिल्यै पनि कार्यक्रममा गएनन्, आफूले पनि जान आग्रह नगरेको उनी बताउँछिन् ।
राजाको जन्मोत्सवमा आएर रेडियो नेपालमा गीत गाएपछि उनले गायनबाटै बुबालाई खुसी पारिन् । उनी सम्झन्छिन्– दार्जीलिङमै हामी रेडियो सुनेर बसेको बेला काठमाडौं आउँदा गाएको पहिलो गीत बज्यो । गीत बज्नुअघि मेरो नाम भन्यो । अनि बुबा मुसुक्क हाँसेर भन्नुभयो ‘ओहो ! तँ पनि अब अमर हुने भइछस् ।’

पहिल्यै अल इन्डिया रेडियो कर्सिङमा गीत गाए पनि रेडियो नेपालमा गीत बज्दा छुट्टै सम्मान बढ्ने त्यसबेलाको अवस्था उनी स्मरण गर्छिन् ।
यसरी बुबा छोरीको कामले खुसी भए पनि कार्यक्रममा चाहिँ कहिल्यै उपस्थित भएनन् । उनी भन्छिन्– बुबाले त्यसपछि मेरो कार्यक्रम भने कहिल्यै हेर्नुभएन । रिसाएको ३५ वर्षपछि सिलगुढीमा ‘कुन्ती मोक्तान नाइट’ कार्यक्रम भएको थियो । त्यसबेला चाहिँ आयोजकले बोलाएर ल्याउनुभएछ ।

पढ्न नपाउँदाको क्षण

कलेज नपुग्दै संगीतमा भने कुन्तीले एउटा मुकाम हासिल गरिसकेकी थिइन् । सांगीतिक यात्रा भने एकपछि अर्को फड्को हानिरहेकी थिइन् । यता रेडियो नेपालमा बजेको गीतले उनलाई साँच्चिकै गायिका बनाइसकेको थियो । एलएलसी पास गरेपछि उनलाई परिवारले क्याम्पस भर्ना गरिदिएन । कारण थियो– आर्थिक अवस्था ।

कलेज पढ्छु भन्दा बुबा–आमाले ‘भाइ र बहिनी पनि छन् । तँ यति नै पढ् ।’ भनेको उनले अझै बिर्सिएकी छैनन् । सोही सल्लाहअनुसार क्याम्पस नगएको तर संगीत भने सिकिरहेकी उनी सुनाउँछिन् ।

एक वर्ष घरमै कामविहीन भएको देखेर उनलाईपछि परिवारले क्याम्पस भर्ना गरिदियो । उनी स्मरण गर्छिन्, ‘क्याम्पस गएपछि सोचेँ कि–प्लस टू सकेपछि फेरि मेरो पढाइ रोकिन्छ, घरकाले पढाउँदैनन् । बरु बिहे गर्छु भन्ने सोच आयो ।’

कर्मले जुराएको घरजम


गायिका कुन्ती मोक्तान र उनका श्रीमान् वरिष्ठ संगीतकार शिलाबहादुर मोक्तान
कुन्तीले सन् १९८३ मा शीलाबहादुर मोक्तानसँग प्रेम विवाह गरिन् । उनीहरुको पहिलो भेट भने पूर्णकुमार राईसँग संगीत सिक्ने क्रममै भएको हो । मोक्तान संगीतकार हुन् ।

उनी स्मरण गर्छिन्, ‘हामी संगीतकै लागि एक–अर्का चाहिँदै गयो । उहाँको गीतहरु पनि गाएँ मैले । त्यसपछि दुवै जनालाई एक–अर्को आवश्यक भयो । अहिलेको जस्तो भयंकर प्रेम बसेको भने होइन । भेट नहुँदा चाहिँ मिस हुन्थ्यो ।’

अन्तरजातीय विवाह भएको कारण उनीहरु भागेर काठमाडौं आए । यहाँ गायिका मिरा राणाले संरक्षण दिएको उनी बताउँछिन् । राणाले नै असनको भुरुङ्खेलमा कोठा खोजिदिएर बस्ने प्रबन्ध मिलाइदिएको कुन्तीलाई याद ताजै छ ।

विवाह बारे कुन्ती भन्छिन्, ‘विवाह बारे स्वीकार–अस्वीकारको कुनै भएन । दुवैको परिवारलाई टाढा गयो भन्ने भयो । दुवै सक्षम भएकाले काठमाडौंमा संघर्ष गर्न सहज पनि भयो ।’

भाग्यले जोडी जुराउँछ भन्ने कथन भए पनि आफूहरुलाई भने कर्मले जुराएको कुन्ती बताउँछिन् । उनी थप्छिन्, ‘हामी गायक र संगीतकार भएकोले जोडी बाँधियौं । दुवै गायक भएको भए विवाह नहुन पनि सक्थ्यो ।’

‘बलिउडको मोह नै भएन’

दार्जीलिङ भारत भए पनि त्यहाँ नेपाली भाषा–संस्कृतिकै हाबी छ । अझै यो पररम्पर यथावत रहेको कुन्ती बताउँछिन् ।

आफूले संगीत सुरुवात गर्दा समय स्मरण गर्दै कुन्ती भन्छिन्, ‘त्यहाँ सबै रेडियो नेपालमा गीत गाउने सपना भएका कलाकार हुन्थे । मैले पनि अग्रजलाई पछ्याएर यहाँ आएँ । दार्जीलिङमा रेडियो नेपालको क्रेज एकदमै ठूलो थियो ।’

त्यस समय विवाह, ब्रतबन्ध र अन्य कार्यक्रममा पनि रेडियो नेपाल नै सुन्ने गरेको उनले बिर्सन सकेकी छैनन् । उनी भन्छिन्– म यही लोभ बोकरे रेडियो नेपालमा गीत गाउँन काठमाडौं आएको हो । त्यसबेला बलिउड भन्दा रेडियो नेपालको लोभ हुन्थ्यो हामीलाई ।

नेपालमा गीत रेकर्ड गर्ने प्रविधि नभित्रिदै कोलकातामा गीत रेकर्ड गर्न जाँदा नारायण गोपाल, बच्चु कैलाशजस्ता अग्रज स्रस्टालाई हिन्दी गीतको अफर आउँदा अस्वीकार गरेको उनी सुनाउँछिन् ।

उनी थप्छिन्, ‘मेरा अग्रजहरुलाई पनि नेपाली भाषाको गीत नै प्रोत्साहन गर्नुपर्छ भन्ने थियो । मैले पनि उहाँहरुलाई नै पछ्याएँ ।’
तर अहिले आफ्नो प्रतिभालाई विश्वव्यापीकरण गर्न बलिउड पुगेको नयाँ पुस्ताको हिम्मत भने प्रशंसा गर्न लायक रहेको उनी बताउँछिन् ।

रेडियो नेपालको संघर्ष


सांगीतिक प्रस्तुति दिँदै गायिका कुन्ती
काठमाडौंमा नवविवाहित ‘मोक्तान जोडी’को संघर्ष सुरुभयो । रेडियो नेपालमा गीत बजिसकेको, धेरै नेपाली कलाकारसँग दार्जीलिङको मञ्चमा गीत गाइसकेकाले काठमाडौंमा संघर्ष गर्ने सहज भएको कुन्ती स्मरण गर्छिन् ।

उनी भन्छिन्, ‘केही समस्या भयो भने मिरा दिदी हुनुहुन्थ्यो । हामीलाई गाह्रो भने भएन । गीत गाउन पनि अवसर मिलिरहन्थ्यो । व्यस्त नै भइयो सुरुदेखि नै ।’

तर यो जोडीलाई कर्म भने अवश्य नै गर्नु थियो । आफ्नो प्रतिभा रेडियो नेपालमार्फत् दर्शकमा पुर्‍याउने लोभ कायमै थियो । तर एउटा कलाकारले वर्षमा दुईपटक मात्रै रेडियो नेपालमा गीत गाउन अवसर पाउने उनी स्मरण गर्छिन् ।

उनी भन्छिन्– ‘हामी दुवैलाई गीत गाउन पाए हुन्थ्यो भन्ने हुन्थ्यो । कसैले तोकेको मितिमा नभ्याउने, नआउने भयो भने हामी गएर त्यो समयमा हामीलाई गाउन दिनु भन्थ्यौं ।’

त्यसबेला राम्रो कला भएकाले रेडियो नेपालमा गएर गीत गाउँदा अगाडि बढ्ने सम्भावन सतप्रतिशत हुने उनी स्मरण गर्छिन् ।

उनी थप्छिन्– मलाई नारायाण गोपाल दाइले एक कार्यक्रममा तिम्रो ‘आजदेखि तिमी आउने बाटोमा’ भन्ने गीत राम्रो छ भन्नुभएको थियो ।

त्यसपछि मलाई उहाँ जस्तो महान् स्रस्टाले समेत रेडियो सुन्नुहुँदो रहेछ भन्ने लाग्यो ।

कुन्तीको यो भनाइको अर्थ हो– त्यसबेला रेडियो नेपाल नसुन्ने कोही हुँदैन थिए ।

सो गीतबारे उनी थप्छिन्– नारायण दाइले प्रशंसा गरेको त्यो गीत अप्ठ्यारो ‘झप ताल’मा आधारित थियो । त्यस्तो गीत प्राय संगीत बुझ्नेले मात्रै सुनेको हुन्छ ।

रेकर्डिङको प्रसंग

गीत संगीतको माध्यम भनेकै एकछत्र रेडियो नेपाल थियो । नेपालमा गीत रेकर्ड गराउन ‘रत्न स्टुडियो’ मात्र थियो, जुन रेडियो नेपालसँगै थियो । सो स्टुडियो मुमाबडामहारानी रत्नराज्यलक्ष्मीको नामबाट खोलिएको थियो ।

उनी भन्छिन्, ‘डिस्क रेकर्ड हुँदा एउटा सानो कुरा चिप्लियो भने फेरि सुरुबाट नै गाउनु पथ्र्यो । ५०–६० जनाको सांगीतिक टोली हुन्थ्यो । एउटाले बिगार्यो भने फेरि सुरुबाट गर्नुपर्थ्यो ।’

एउटा गीत रेकर्ड गर्न गायकले कम्तीमा पनि तीन घण्टा एउटै ‘इनर्जी’ले गीत गाउनु पर्ने उनी अनुभव सुनाउँछिन् । उनी थप्छिन्, ‘सुरुमा अभ्यासको लागि गाइन्थ्यो । पछि टेकका लागि त्यही जोशले गीत गाउनुपथ्र्यो । थाकियो भने त राम्रो हुँदैन नि त ।’

‘माथि माथि सैलुङे’ गीतले दिएको सफलता


युवा अवस्थामा गायिका कुन्ती मोक्तान
कुन्ती संगीतमा लागेको डेढ दश भइसकेको थियो तर उनलाई ‘शास्त्रीय बाहेक अन्य गीत गाउन सक्दिन’ भन्ने आरोप लाग्न थालेको थियो ।

उनी भन्छिन्, ‘मेरा सबै गीत शास्त्रीय आधारित थिए । मलाई आफ्नो करिअरका लागि पनि गीतको ट्रयाक परिवर्तन गर्नु आवश्यक थियो । गीतको ह्वीम परिवर्तन भइसकेको थियो ।’

श्रीमान् तथा संगीतकार शिलाबहादुर मोक्तानको सल्लाहअनुसार फरक शैलीमा सो गीत निकाल्ने निर्णय भएको उनी स्मरण गर्छिन् ।

उनी भन्छिन्– त्यो गीत पूरा लोक हो । तामाङसेलोको बिट भएको गीत हो । तर हामीले लोक फ्लेबरको गीतमा पहिलो पटक ‘वेस्टर्न इन्स्टुमेन्ट’(गितार र ड्रम) प्रयोग गरेका थियौं ।

गीत नयाँ फ्लेबर त आयो तर माथि माथि सैलुङेसहित आठ गीत भएको एल्मब ‘मेरो मन’ कुनै कम्पनीले किन्न नमानेको उनी स्मरण गर्छिन् । त्यसपछि बाध्य भएर ‘म्युजिक नेपाल’बाट रोयल्टीमा सार्वजनिक गरेको उनी सुनाउँछिन् ।

उनी थप्छिन्, ‘यसरी निकाल्दा त्यो एल्बम पछिल्लो दुई वर्षमा सबैभन्दा बढी बिक्री हुने बन्यो । त्यस एल्बमका सबै गीत हिट बने । त्यसपछि कुन्तीले सबै खाले गीत गाउन सक्ने रहिछ भन्ने पनि भयो । मलाई यो एल्बम एउटा ब्रेक जस्तै भयो ।’

अहिले पनि मञ्चमा जाँदा आफूलाई ‘माथि माथि सैलुङे’ नै गाउन धेरै आग्रह आउने उनी बताउँछिन् ।


गायिका कुन्ती मोक्तान र उनका श्रीमान् वरिष्ठ संगीतकार शिलाबहादुर मोक्तान

गीतले दिलाएको आर्थिक फड्को

कुन्ती आफ्नो जीवनमा आर्थिकरुपमा प्रभाव पार्ने एल्बमको रुपमा भने ‘कुशुम’लाई लिन्छिन् । कुशुम सार्वजिक भएको एकिन मिति स्मरण नभए पनि सन् २००० आसपास हुनुपर्ने उनको अनुमान छ ।

यस एल्बममा सुनकै भाउ, चोली राम्रो पाल्पाली ढाकाकोलगायतका गीत समावेश छन् ।

उनी स्मरण गर्छिन्, ‘यो एल्बम त्यबेला सुपरहिट बन्यो । सबैभन्दा धेरै बिक्री भएर त्यसले २० वर्षको रेकर्ड तोड्यो । यहीँबाट मेरो आर्थिक अवस्था मजबुत बन्दै गयो ।’

तर त्यसभन्दा पनि अघि थुप्रै गीत हिट भइसकेकाले आर्थिक अवस्था राम्रै भइसकेको उनी थप्छिन् ।

नौ दिन लगाएर गाएको गीत

भनिन्छ गीत राम्रो हुन सुर र लय लागेर मात्रै हुँदैन गायक शब्दको भावमा डुब्न सक्नुपर्छ । कुन्ती भन्छिन्– एक टेकमा गीत गाउँदा शब्दको भावमा डुब्न सहज हुन्छ ।

त्यस्तै उनले खबरहबसँगको कुराकानीमा आफू भावमा छिर्न नसकेर नौं दिन लगाएर गीत गाएको प्रसंग खुलाएकी छन् । सो गीत हो–

कति माया लाग्छ रे मै
ढुंग्री मुन्द्रीको
आमाले माया गरि किनिदिएको
पोल्टाको पेवा पैसा गनिदिएको
आमाले माया गरि किनिदएको

‘यो गीत आमालाई सम्झिए गाउनुपर्ने भाव भएको हो । म त्यो गीतको भावमा डुब्न नसकेर नौ दिन लगाएर रेकर्ड गरेको हुँ,’ उनी भन्छिन्, ‘धेरै समय लगाएर रेकर्ड गर्ने भाइ नै वाक्क भइसक्यो भनेर मलाई शीलाजीले गाली पनि गर्नुभयो । घरमा पनि झन्डै गढबढ भएको थियो यो कुराले ।’

परिवार नै संगीतमय

मोक्तान दम्पति र उनीहरुका दुई छोरी शीतल (सेतो कपडा) र सिवानी (नीलो कपडा)

कुन्ती अहिले ६१ वर्षकी भइन् । उनी काठमाडौंका दर्जनभन्दा बढी विद्यायलमा संगीत सिकाउँछिन् । उनका श्रीमान् शिलाबहादुर मोक्तान वरिष्ठ संगीतकार हुन् । कुन्तीका प्रायः सबै गीतमा उनको संगीत छ ।

मोक्तान दम्पतीको दुई छोरी छन्, शीतल र सिवानी । उनीहरु पनि गायन क्षेत्रमा सक्रिय छन् । सिवानी त नेपालको लोकप्रिय रियालिटी शो ‘नेपाल आइडल’को जज पनि हुन् ।

कुन्ती कार्यक्रममा कहिलेकाही छोरीहरुसँगै मञ्च सेयर गरिरहेकी हुन्छिन् । उनी भन्छिन्, ‘दुई छोरीसँग गीत गाउँदा अर्कै आनन्द आउँछ । गीत गाउँदा आमा–छोरीको रेन्जमा धेरै फरक परेन भन्ने प्रतिक्रिया आउँदा अर्को खुसी मिल्छ ।’

प्रकाशित मिति : १२ पुस २०८०, बिहीबार  ६ : ५० बजे

चितवन राष्ट्रिय निकुञ्जमा ७६ जनावर मरे, २२२ वटाको उद्धार

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्ष २०८०–८१ मा पन्ध्र

तिलिचो ताल जोड्ने पदमार्ग निर्माण

म्याग्दी– मुस्ताङबाट संसारकै अग्लो स्थानमा रहेको तिलिचो ताल जोड्ने पदमार्ग

पुष्पलालको ४६औँ स्मृति दिवस मनाइँदै

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६ औँ स्मृति

नेपाल–चीन सम्बन्ध झनै मजबुत : प्रधानसेनापति

काठमाडौँ– प्रधानसेनापति प्रभुराम शर्माले चीनको इतिहासमा चिनियाँ जनमुक्ति सेनाले ठूलो

मेची भन्सार कार्यालयबाट १४ अर्ब २३ करोड राजश्व सङ्कलन

झापा– पूर्वीनाका काँकडभिट्टाबाट भारत, बङ्गलादेशलगायत देशसँग हुने व्यापारघाटा २० अर्ब