सुमन कार्की : हजुरबाको ५ हजारले दिलाएको ख्याति | Khabarhub Khabarhub

सुमन कार्की : हजुरबाको ५ हजारले दिलाएको ख्याति


१४ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : 7 मिनेट


15.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ओखलढुंगाको वाक्सा, ठूलाबारीमा सामान्य कृषक परिवारमा जन्मिएका सुमन कार्की अहिलेका स्थापित हास्य कलाकार हुन् । उनी कुशल हास्यकलाकार हुँदै हुन् क्यारिकेचरमा पनि उनको राम्रो दख्खल छ । उनले केही फिल्ममा समेत अभिनय गरेका छन् । सुमनको बाल्यकाल ओखलढुंगा बिते पनि उनको परिवार आर्थिक पक्ष सहज गराउन मोरङ झर्यो । उनी त्यस बेला ११ वर्षका थिए ।

बुबा भारतमा मजदुरी गर्ने भएकाले आमाकै संरक्षणमा उनी, एक दाइ र बहिनीको पालनपोषण भयो । उनी भन्छन्, ‘दुख गर्दा खान पुग्ने परिवार थियो ।ऐसले हिँड्न सम्भावना नै थिएन । पछि दाइले आर्मीमा जागिर खाएपछि आर्थिक पक्ष अलि सहज भयो ।’

विद्यालय पढ्दै सुमनमा हास्यकलाकार बन्ने सपना थियो । एसएलसीपछि काठमाडौंमा कलाकार भेट्न आएका सुमन निराश भएर गाउँ फर्किएको प्रसंग खबरहबसँग खुलाएका छन् ।

हजुरबासँग फिर्ता गर्ने सहमतिमा रेडियोमा तालिम लिन पाँच हजार लिएर गरेको संघर्ष उनी अहिले निकै रोचक ढंगले सुनाउँछन् ।

कलाकारसँग भेट हुने लोभले रेडियोमा काम सुरु गरेका सुमन कसरी अहिले स्थापित कलाकार बने ? उनको संघर्षको किस्सा रोचकसँगै असल विचार र लगनशीलताले सफल बन्न सकिन्छ भन्ने सन्देश दिने छन् ।

कलाकार भेट्न काठमाडौं

ओखलढुंगाबाट सुमनको परिवार मोरङ झर्नुको कारण बालबच्चाको भविष्यका लागि पनि हो । मोरङ झरेपछि बुबा भारत जान छोडेर कृषिमै आश्रित भएको उनी स्मरण गर्छन् ।

उनी बाल्यकालको स्मरण गर्छन्, ‘खेतीले नै हाम्रो जीवन धान्यो । सामान्य परिवारको हामी साइकल किन्दा र घरमा टीभी ल्याउँदा खुसी हुने टोली हो ।’

स्कुल पढ्दै कलाकारितामा लगाव भएर कलाकार भेट्न उनी एसएलसीको तीन महिने बिदामा काठमाडौं आएको सुनाउँछन् । त्यसबेला जागिर खाएर मोबाइल किन्ने दोस्रो सपना बोकेर सहर छिरेको उनले अझै बिर्सन सकेका छैनन् ।

उनी थप्छन्, ‘काठमाडौंमा बस्ने गाउँका दाइहरु दसैंमा घर जाँदा मोबाइल बोकेर, परफ्यूम छर्केर, दामी कपडा लगाएर जान्थे । आफू गाउँमा खेती गरेर धुर्मुस कट्टु लगाएर हिँडिरहेको हुन्थेँ । मलाई उनीहरु जस्तै बन्नु थियो ।’

ती दाइहरु आफू ‘कार्पेन्टर’ हो भनेपछि सुमन पनि उनीहरुकै पछि लागेर काठमाडौं आएको बताउँछन् । उनी भन्छन्, ‘कार्पेन्टर भनेको राम्रै काम होला भनेको काठको काम रहेछ ।सीतापाइलमा कार्पेन्टरको पनि सहयोगी भएर काम गरियो ।’

सुमनले गाउँमा कल्पना गरे जस्तो काठमाडौंको सडकमा कलाकार भेटेनन् । त्यसपछि गाउँ फर्केने निर्णयमा पुगेको सम्झन्छन् । तर तीन महिना काम गरेर १२ हजार बचत भएकाले फोन किन्ने चाहिँ सपना पूरा भएको उनी सुनाउँछन् ।

उनी थप्छन्, ‘गाउँ फर्किने बेला सात हजारको कि–प्याडवाला फोन किनेँ । म काठमाडौं हुँदैबुबाले टीभी किन्नुभयो भन्ने सुनेँ । अनि कति अर्काको घरमा गएर फिल्म हेर्नु भनेर डीभीडी किनेर लगेँ ।’

गाउँमा हुर्केको भएर सहरमा घुलमिल हुन गाह्रो भएकाले पनि आफू घर फर्किएको उनी बताउँछन् । ठट्टा गर्दै उनी भन्छन्, ‘काठमाडौंमा बाटोमा हिँडिरहेका कलाकारसँग फोटो खिच्न मोवाइल चाहिँ चाहिन्छ भन्ने थियो । सोही कारण मोबाइल चाहेको थियो । फोटो खिचेर गाउँमा लगेर देखाउने सोच थियो । तर त्यसबेला एक सिन खेल्ने कलाकार पनि भेटिनँ ।’

तर मोबाइल लिएर गाउँ गएपछि भने आफ्नो शान छुट्टै किसिमले बढेको उनी सम्झन्छन् । उनी भन्छन्, ‘त्यो बेला मोबाइल बोक्ने कम हुन्थे । कलेज पढ्दै मैले फेसबुक चलाउँथेँ ।’

कलाकार भेट्ने अर्को जुक्ति– रेडियोमा जागिर

काठमाडौंबाट फर्किएपछि सुमन मोरङमै कलेज भर्ना भए । आफ्नो रहर जे भए पनि पढाइ पूरा गर्नुपर्ने पारिवारिक दबाब उनीमा थियो ।

उनी भन्छन्, ‘हजुरबुबा रिटायर्ड इन्यिन आर्मी भएकाले कम्तीमा पनि मास्टर्स चाहिँ गर्नुपर्छ भन्नुहुन्थ्यो ।’

पढाइ चल्दै थियो दिन बित्दै थियो तर गाउँमा रेडियो खुल्ने थाहा पाएपछि आफूमा रेडियोमा काम गर्ने रहर पलाएको उनी सम्झन्छन् । उनी थप्छन्, ‘सप्ताह, पूजा, कार्यक्रममा माइक समातेर हँसाउने प्रयास गर्ने भइसकेको थिएँ । कलाकार बन्ने सिँढी रेडियो बन्न सक्छ भन्ने थियो ।’

तर रेडियोको तालिम लिन पाँच हजारका लागि हजुरबाले झुलाएको उनले बिर्सिएका छैनन् । उनी स्मरण गर्छन्, ‘दिन्नँ नभन्ने खाली भोलि दिन्छु भन्ने । हजुरबाको भोलि फेरि भैरव अर्यालको जस्तो । कहिल्यै नआउने ।’

तालिम सुरुभएको एक हप्ता पछि हजुरबाले पैसा दिएर आफू भर्ना भएको र तालिम पूरा गरेको उनी सुनाउँछन् । उनी थप्छन्, ‘हजुरबुबालाई म रेडियोमा जागिर खाएर पैसा तिर्छु भनेर पैसा फुत्काएको थिएँ । पक्का नाम निकाल्छु भन्ने थियो, निस्किएन । त्यसपछि हजुरबाको छेडछाड सुरु भयो ।’

रेडियोमा १० जना मागेकामा आफ्नो नाम वैकल्पिक नाम निस्किएको सुमनलाई याद ताजै छ ।

हजुरबाले छेडछाड हानेको उनी सम्झन्छन्– कतैबाट गएर आयो भने ‘ऊ केटो जागिरबाट आएको होला नि’ भन्ने । छिमेकी आउँदा पनि ‘हाम्रोले जागिर खान्छु भनेर पाँच हजार लगेको थियो, नराम्ररी सक्यो नि’ भन्ने ।चोकमा क्यारेम बोर्ड खेल्न जाँदा पनि ‘ऊ हाम्रो केटो ड्युटीमा निस्किन लाग्यो, ड्युटीमा’ भन्ने ।

त्यसबेला सुमनले पैसाको लागि आफ्नो खेदो खनेको बदला हजुरबाले लिएका थिए । तर हजुरबाले चित्त दुख्ने तरिकाले भने सुमनलाई छेडछाड गरेका होइनन् ।

पछि एक जनाले काम छोडेर रेडियोमा जागिर पाएपछि भने हजुरबाबाट छेडछाड काम भएको उनी सम्झन्छन् । उनी भन्छन्, ‘पाँच हजारको तालिम लिएर सिकेको काममा४ हजार तलब थियो । पछि बाले पैसा लिन मान्नुभएन । मलाई कलेज पढ्न त्यही जागिरले सहयोग भयो ।’

रेडियोमा हास्य कार्यक्रम चलाउन पाए पनि कलाकारसँगभेट्न मौका भने नमिलेको उनी स्मरण गर्छन् ।

फेरि काठमाडौं

सुमन सोही रेडियोमा काम गर्दै स्नातक पढ्दै थिए । सुरुमा हास्य कार्यक्रम मात्रै चलाउन रेडियोमा गएका उनीपछि सबै प्रकारका जिम्मेवारीबाट चेपिए ।

उनी भन्छन्, ‘मोफसलको रेडियोमा कम कर्मचारी हुने । पछि कार्यक्रम चलाउने, प्राविधिक, समाचार भन्नेदेखि जेनेरेटर हान्नेसम्म गर्नुपथ्र्यो । आफूलाई कलाकार बन्नुपर्ने । केमा अल्झिएँ जस्तो लाग्न थाल्यो ।’

तर रेडियोको काम भने आफूले मनदेखि नै गरेको सम्झन्छन् । उनी भन्छन्, ‘काम रमाइलै थियो । दर्शकश्रोताको म्यासेज र चिठ्ठी आउँथ्यो । कामको प्रशंसा भने थोरै दर्शकबाट भए नि पाउँथेँ । रेडियोको क्रेज पनि राम्रो थियो, त्यसबेला ।’

तर यो कुराले उनलाई धेरै दिन खुसी दिएन । स्नातक सकेर काठमाडौंको टेलिभिजनमा काम गर्ने निर्णयमा उनी पुगे । कारण थियो– कलाकारितामा अघि बढ्ने ।

उनी थप्छन्– टेलिभिजनमा काम गरेको अनुभव थिएन । एउटा दाइले ‘रेडियो अडियो’ कलाकारको हब हो बरु त्यही काम गर भन्नुभयो । पैसा नि चाहिने भएर त्यही काम गर्ने सोच बनाएँ ।

रेडियो अडियोमा फोन गर्दा बोलाएपछि काठमाडौं आएको उनी बताउँछन् । थप्छन्, ‘रेडियो अडियोका मालिक दीपेन्द्र खनिया सरले ट्रायलमा राखेर काम दिनुभयो । पछि साताको आठ वटासम्म कार्यक्रम पाएँ ।’

रेडियो र मोफसलको कार्यक्रमले मात्रै राष्ट्रिय कलाकार बन्न नसकिने बुझेर आफू काठमाडौं फर्किएको उनको अनुभव छ ।

कलाकारसँग भेट भयो तर बोल्ने कुरा छैन

मोफसलको रेडियोमा काम गरेको अनुभवले सुरुमा आफूलाई काठमाडौंमा काम गर्न गाह्रो भएको सुमनले अझै बिर्सिएका छैनन् । राष्ट्रिय रेडियो र अग्रजसँग दुई वर्ष गाह्रै गरी काम गरेको तीतो पोख्छन् ।

उनी थप्छन्, ‘धेरै कार्यक्रम थियो । सानो भूमिका पाउँथेँ तर अग्रजहरुले मैले गरेको कामको प्रशंसा गर्दा राम्रै लयमा छु भन्ने लाग्थ्यो ।’

रेडियो अडियोमा कलाकारहरुको चलहपहल हुन्थ्यो, सुमनले खोजेको पनि यस्तै ठाउँ थियो । तर लामो समयसम्म कलाकारसँग ‘नमस्कार र धन्यवाद’को मात्रै संवाद भएको उनी सुनाउँछन् ।

उनी थप्छन्, ‘आफूले मानेको अग्रज कलाकारसँग बोल्ने मलाइ आँट नै आएन भेट्दा नमस्कार भन्ने कार्यक्रमका लागि कुना पस्ने । कसैले कार्यक्रम सुनेर प्रशंसा गरे भने धन्यवाद भनेर कुना पस्ने भयो । एक–डेढ वर्षपछि चाहिँ अलि खुलेर बोल्न थालियो ।’

बिस्तारै रेडियोमा आउने कलाकारलाई ‘पूर्वबाट आएको भाइ, राम्रो हसाउँछ’ भनेर अरुले चिनजान गराएको उनी स्मरण गर्छन् । उनी थप्छन्, ‘त्यहाँ कलाकारको जन्म दिनको कार्यक्रममा क्यारिकेचर गर्थे, ऋषि धमलाको पनि क्यारिकेचर गर्थेँ । सुन्नेले धमलाको राम्रो छ भन्नुहुन्थ्यो ।त्यसपछि स्टेज तिर पनि चढ्न पाएँ ।’

हरिवंशको फोनले दिएको डर

रेडियो अडियोमा सुमनले एक हिसाबले आफ्नो प्रतिभा उजागर गर्दै थिए । उनले यहीँबाट कलाकारसँग घुलमिल हुने अवसर पनि पाए । तर एकदिन आफूले सोच्दै नसोचेको अवसर जुरेको उनी सुनाउँछन् ।

उनी भन्छन्– हरि दाइको ‘हरिबहादुर’ किताब विमोचनका लागि ऋषि धमलाको क्यारिकेचर गर्ने मान्छे चाहिएको रहेछ । रेडियोमा कोही छ भनेर दीपेन्द्र सरलाई सोध्दा मेरो नम्बर दिनुभएछ । उहाँको फोन आउँदै छ भन्ने थाहा पाएपछि त डरमर्दो भयो ।

पछि हरिवंशले फोन गरेर उतैबाट ‘नमस्कार सुमन भाइ’ भन्दा आफू झन् डराएको उनी सम्झन्छन् । ‘भेट्नका लागि भोलि घर आउनु’भन्दा आफू झनै नर्मस भएको उनी सुनाउँछन् ।

‘त्यत्रो अग्रजको घरमा कसरी जाने ? कता फर्केर बस्ने ? जुत्ता कता राख्छु भन्ने डर भयो । ढल्कुमा गएँ । दाइ आफैँ बाटोमा दिन आउनुभयो । नयाँ कलाकार भएकाले सहज तरिकाले काम बुझाउनुभयो । डर मान्नुपर्दैन सहज तरिकाले काम गर्नुपर्छ भन्नुभयो । काम गर्न पनि सहज भयो ।’

हरिवंशसँग नेपाल टुर गएपछि आफ्नो कलाकारिताले गति लिएको उनको बुझाइ छ । उनी थप्छन्, ‘त्यसपछि मैले गाइ जात्रा पनि गर्न पाएँ । मनोज गजुरेल र सुबोध गौतमसँग प्रहसन गर्नेमौका जुर्यो ।’

सो टूरमा हरिवंशबाट आफूले धेरै कुरा सिकेको उनी बताउँछन् ।

कमेडी च्याम्पियनको यात्रा

सुमन कमेडी च्याम्पियनको पहिलो सिजनमा सहभागी हुनु पहिला नै दर्शकको नजरमा परिसकेका थिए । उनी धमलाको क्यारिकेचर गरेर चर्चामा आइसकेका थिए ।

उनी थप्छन्, ‘मलाई दर्शक चिनिसकेका कारण साथीहरुले नजान पनि सल्लाह दिएका थिए । मलाई पनि दर्शकले चिनिसकेको मान्छे सुरुमै आउट हुन्छु कि भन्ने डर थियो तर सम्बन्ध विस्तार हुने लोभले गएँ । गाइजात्राको काममा पोखरा जाँदा यमन श्रेष्ठ दाइले खिचिदिएको भिडियो मैले कमेडी च्याम्पियनमा पठाएको हुँ ।’

सो प्रतियोगिता नजिते पनि सुमनको व्यावसायिक जीवनले भने त्यहीँबाट गति लिएको हो । त्यसपछि उनले विभिन्न कार्यक्रममा काम पाए । त्यसपछि ‘डान्सिङ स्टार’मा होस्टगर्दा पनि उनले राम्रै प्रशंसा पाए ।

‘कमेडी क्लब विथ च्याम्पियन’सँग जोडिएको प्रसंग

पछिल्लो समय सुमन ‘कमेडी क्लब विथ च्याम्पियन’मा आवद्ध छन् । शोको लोकप्रियता पनि राम्रो छ । उनले त्यहाँ निर्वाह गरेको पात्र शिवहरि पौडेल (मुखमा हान्नु जस्तो) र वृद्धको पात्र निकै रुचाइएको छ ।

आफूलाई कलाकारितामा स्थापित गर्न ‘कमेडी क्लब विथ च्याम्पियन’को ठूलो भूमिका रहेको उनको बुझाइ छ ।

‘डान्सिङ स्टार’मा होस्ट गर्दागर्दै ‘कमेडी क्लब विथ च्याम्पियन’का निर्देशकले विशाल भण्डारीले फोन गरेर कार्यक्रममा जोडिन प्रस्ताव गरेको उनी बताउँछन् । भण्डारी कमेडी च्याम्पियनका पनि निर्देशक हुन् ।

उनी थप्छन्, ‘विदेशमा रहेका नेपालीले राति तपाईंहरुको कार्यक्रम हेरर दिनभरको थकान मेट्छौं भन्ने कुरा आउँछ । यसले खुसी लाग्छ ।’
ऋषि धमलाको क्यारिकेचरले चर्चामा ल्याए पनि वृद्धको पात्र आफ्ना लागि विशेष रहको उनी बताउँछन् ।

उनी भन्छन्, ‘मैले खेल्ने वृद्धको पात्र मेरो आफ्नै हजुरबाको सम्मान लागि समर्पित गरेको छु । सकेसम्म त्यो पात्रमा म मेरो बाकै नक्कल गर्ने कोसिस गर्छु । मेरो यो यात्रातय गर्न हजुरबाले सुरुमा पैसा दिनुभयो तर उहाँले मेरो सफलता देख्नु पाउनुभएन । त्यसैले त्यो पात्र मेरो बाको सम्मानमा हो ।’

काठमाडौंमा आएर सुरुवाती संघर्ष गर्ने क्रममै हजुरबाको निधन भएकाले आफ्नो कार्यक्रम देखाउने अवसर नपाएकामा उनी दुखी छन् । उनी थप्छन्– हजुरबालाई ठूलो कार्यक्रममा अगाडि राखेर प्रस्तुति देखाउँदै ‘यी तपाईंले दिएको पाँच हजार सही ठाउँमा लगानी गरेको थिएँ’ भन्न पाए हुन्थ्यो जस्तो लाग्छ । मलाई त्यो कुराको अभाव खड्किन्छ ।

त्यसबाहेक समाजको तितो सत्यमा थोरै मात्र ‘ह्युमर’ राखेर सो वृद्धको पात्र तयार गरिने भएकाले आफ्ना लागि विशेष भएको उनी बताउँछन् ।

‘बा बनिसकेँ’

सुमनले पाँच वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् । उनको श्रीमती पनि मोरङकी नै हुन् । उनले कमेडी च्याम्पियनपछि विवाह गरेका हुन् ।

अहिले दुई वर्षको छोरासाथ कार्की दम्पती काठमाडौंमा व्यावसायिक संघर्षमा छन् ।

विवाहबारे उनी भन्छन्, ‘काठमाडौंमा एक्लै नै भइयो । कोठा लिएर कहिल्यै नबसेको अझ गाह्रो भयो । बिहे गर्नुपर्छ कि के हो जस्तो लाग्यो अनि कलेज पढ्दादेखिकै प्रेम थियो । बिहे गरियो ।’

बाजा बजाएर बिहे गरेको हो भन्ने प्रश्नमा सुमन भन्छन्, ‘प्रेम विवाह भनेको भगाएर उपद्रो गरेर विवाह गरेको होइन नि । बाजा बजारै गरेको ।’

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  ४ : २३ बजे

छुद्र ग्रहमा पहिलोपटक देखिएको ‘जागरण’ के हो ?

एजेन्सी– खगोलविद्हरूले पहिलो पटक एउटा महाविशाल ब्ल्याक होल आफ्नो होस्ट

‘भ्रष्टाचार विरोधी अभियन्ता हौँ’ भन्दै ठगी, समातिए चार जना

काठमाडौं– भ्रष्टाचार विरोधी अभियन्ता हौँ भन्दै ठगी गरेको आरोपमा प्रहरी

नेपाल-भारत सीमा तारबार गरौं : बर्तौला

काठमाडौं – सत्तारुढ एमालेका प्रमुख सचेतक महेश बर्तौलाले नेपाल-भारत सीमामा

बर्लिनबाट दोहा उडे राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्डपछि जर्मनीको भ्रमण सकेर स्वदेश फर्कने

‘बर्ड फ्लूले भविष्यको महामारीविरुद्ध जुध्न विश्व तयार नभएको देखायो’

एजेन्सी– अमेरिकी गाईवस्तुसहित स्तनधारी जनावरहरूमा बर्ड फ्लूको बढ्दो घटनाले भविष्यमा