दयाहाङलाई 'अनुप सर'को सुझाव- 'अब सोच्ने बेला आयो' | Khabarhub Khabarhub

दयाहाङलाई ‘अनुप सर’को सुझाव- ‘अब सोच्ने बेला आयो’

अर्को पुस्तालाई देखाउने फिल्म बनेन


२४ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : 5 मिनेट


12.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चलचित्रकर्मी अनुप बराल अभिनयमा लागेको चार दशक बढी भयो । अहिले उनी रङ्गमञ्चका धेरै कलाकारका ‘अनुप सर’ हुन् । नाट्यविधा पढाउने भारतको प्रख्यात क्याम्पस नेशनल स्कुल अफ ड्रामा (एनएसडी) बाट मास्टर्स गरेका अनुपलेनै नेपालमा अभिनय सिक्ने संस्थाको सुरुवात गरे । उनले अभिनयकला शिक्षणका लागि ०४७ असारबाट पोखरामा प्रतिविम्ब थिएटर ल्याबरोटरी स्थापना गरे । 

उनी भन्छन्, ‘थिएटरमा राम्रो चरित्रका मानिस लाग्दैनन् भन्ने एउटा गतल सोचाइ हाबी थियो । असल व्यक्ति र पढेका मानिसले पनि अभिनयमा लाग्छन् भनेर घोषणा पत्र बनाएर थिएटर सञ्चालनमा ल्याएका थियौं ।’

अभिनयमा लाग्नुको कारण अझै पत्ता लगाउन नसेकेका अनुप एनएसडीमा पढ्न चाहिँ वरिष्ठ रंगकर्मी सुनील पोखरेलले पत्रिकामा लेखेको लेख प्रमुख कारण भएको बताउँछन् । उनी भन्छन्, ‘उहाँको लेखमा एनएसडी पढ्दाको अनुभव थियो त्यसले म प्रभावित भएको थिएँ ।’

प्रतिविम्ब थिएटर भ्रमण गरेपछि सुनीलले गुरुकुल थिएटर सुरुवात गर्ने मनस्थितिमा पुगेको अनुपको दाबी छ । उनी थप्छन्, ‘उहाँले हाम्रो जस्तै थिएटर खोल्छु । काठमाडौं आएर विद्यार्थीलाई पढाइदिन भनेर आग्रह गरेकाले मैले पढाएँ पनि । सौगात मल्ल, कमलमणि नेपाल लगायत धेरैलाई पढाएको छु ।’

एक्टर्स स्टुडियोका संस्थापक समेत रहेका अनुपबाट दीक्षित भएका कलाकार अहिले रंगमञ्चमा बाक्लै भेटिन्छन् । त्यसैले अहिले उनको परिचय ‘अनुप सर’ बनेको छ । पछिल्लो समय फिल्म क्षेत्रको अवस्थाबारे वरिष्ठ रंगकर्मी, अभिनेता तथा निर्देशक बरालसँग गरेको कुराकानी : 

 अहिले फिल्ममा रंगमञ्चबाट आएका कलाकार हाबी देखिन्छ । यो नाटकको सफलता, अवसान या सहज जीविकाको अवतरण हो ?

रंगमञ्च र ठूलो पर्दालाई कहिल्यै पनि अलग गरेर हेर्नु हुँदैन जस्तो लाग्छ । थिएटरमा काम गर्दा कलाकारले एउटा अभिनयमा राम्रो व्याकरण बनाउँदो रहेछ । उनीहरूको एउटा अनुशासन पनि बन्छ । लामो समय काम गरेपछि काम प्रति गम्भीरता पनि आउँदो रहेछ । 

हाम्रो सिनेमा हेर्ने हो भने हिरोइजमस्टारडम हाबी भएको पाइँदैनथ्यो । भुइँ मान्छेसँग जोडिने कथावस्तु थिएटरमा बढी हुन्छ । उनीहरु ठूलो पर्दामा आए भने यस्ता कथावस्तुमा फिल्म निर्माण हुन्छ । 

यसरी थिएटरबाट फिल्ममा आएर पुनः थिएटरमै फर्किए भने चाहिँ थिएटर झन् समृद्ध बन्छ । जस्तो भारतमा नसिरुद्दिन शाह थिएटरबाट ठूलो पर्दामा गएका कलाकार हुन् । ठूलो पर्दामा नाम बनाएर पुनः थिएटरमा फर्किँदा उहाँको नाटकका लागि टिकट महङ्गोमा बिक्छ । अरुलाई हेर्न र चलेको मान्छेलाई थिएटरमा हेर्नु फरक हुन्छ । 

थिएटरबाट फिल्ममा जानु समस्या होइन, धेरै दर्शकमाझ रेकर्ड भएर पुग्नु हो । ऊ आफूमात्र गएको हुँदैन, थिएटरको सीप र परम्परालाई बोकेर गएको हुन्छ । थिएटरबाट गएका कलाकारकै कारण नेपाली फिल्ममा हुने अभिनयमा निखारता ल्यायो । पात्र निर्माणमा पनि वास्तविकता झल्काउने प्रयास हुन थाल्यो । स्टारडमको परम्परागत मान्यता भत्कियो । 

एउटा दुई–तीन महिना लगाएर गरेको नाटकबाट मुस्किलले २५ हजार मिल्छ । फिल्ममा कमाइ तुलनात्मकरुपले राम्रै हुन्छ । समग्रमा थिएटरबाट फिल्ममा जानु राम्रै कुरा हो तर नफर्किनु चाहिँ यतैको समस्या हो कि ? प्रश्न नै छ । तर ठूलो पर्दामा पुगेर पुनः थिएटरमा फर्कँदा नाटकको गरिमा चाहिँ बढ्छ । धरातल नबिर्सिने हो भने फर्किनु पर्छ भन्ने मलाई महसुस हुन्छ । यद्यपि व्यक्तिगत निर्णयको स्वतन्त्रता सबैलाई छ । 

 पहिला ग्याल्यमर चलचित्र बन्थे । हिरो बन्नका लागि गोरो, अग्लो, सुगठित शरीर र आकर्षक अनुहारको मापन पूरा गर्नुपर्थ्यो । त्यो मान्यता अहिले भत्किएको छ । वास्तविकतामा आधारित फिल्म बनाउने जुन लहर चलेको छ, के यसले दर्शकको अपेक्षा पूरा गरेको छ ?

सिनेमा कुनै निश्चित समयका लागि बन्ने होइन । सर्वकालीन सिनेमा नै उत्कृष्ट सावित हुन्छ । कथित मूलधारे सिनेमाको चाहिँ पक्कै आयु हुन्छ । ती स्टारडमले चलेका हुन्छन् । त्यस्ता फिल्ममा विषयवस्तुको पनि संकुचन हुन्छ र कथाले पनि सर्वकालीनता बोकेको हुँदैन । 

सिनेमा कुनै कालखण्डका लागि बनाए पनि कालान्तरमा हेर्दा ग्राहय हुने बनाउनमा निर्माताको जोड हुनुपर्छ । सयौँ वर्ष अगाडिको फिल्म आजको अवस्थामा पनि अनुभूति गर्ने हिसाबले निर्माण गर्नुपर्छ भन्ने मेरो धारणा हो । 

दशकौँ अगाडि बनेका फिल्म अहिले पनि कलेजमा पढाइ हुन्छ । त्यो सिनेमाको कथाकै कारण हो । हामीले त्यस्ता सिनेमा बनाएका छौं त ? आर्ट हाउस सिनेमा त नेपालमा बनेकै छैन । अर्थात्, कुनै फिल्म बनाउँदा दशकपछि अर्को पुस्ताले हेर्दा पनि महसुस गर्नसक्ने हुनुपर्छ । चाहे त्यो आर्ट फिल्म होस् अथवा ग्याल्मर । 

गुरुको कसीमा अहिले बनेका आर्ट फिल्म कस्ता छन ?

फिल्मको कथा नै जग हो । घर बलियो बन्न जग कस्तो छ, त्यो नै महत्त्वपूर्ण हो । त्यसमा गारो कत्रो हाल्ने, सिमेन्ट कति मात्रा मिसाउने भन्ने निर्क्योल गर्ने काम त निर्देशकको हो । अर्थात्, कथालाई कसरी प्रस्तुत गर्ने भन्ने काम निर्देशकको हो । उसको दृष्टिकोण स्पष्ट हुनुपर्छ । 

अहिले नेपालमा पछिल्लो समय बनेका फिल्म चाहिँ एउटै प्रकारका छन् । दर्शकले एउटा कमेडी फिल्म मन पराए भने त्यस्तै प्रकारका बनिरहेका हुन्छन् । पछिल्लो समय मौलिकता देखाउने प्रतिस्पर्धा दर्शकले रुचाएका छैनन् । गाउँमा गएर छायांकन गर्‍यो र ठेट भाषा बोल्यो भन्दैमा मौलिकता आउने होइन नि । न्यायपूर्ण शैलीमा भन्नुभयो भने त सहरको कथा पनि मौलिक हुन्छ । कबड्डी जस्ता फिल्मले चाहिँ थकालीहरूको कथा देखाउने भनेर त्यही परिवेशमा गएर राम्रो सुरुवात गरेका छन् । तर मेरो भनाइ चाहिँ स्थानले मात्र मौलिकता दिँदैन । मौलिकता त निर्देशकले देखाउने विषय र कथाको छापले झल्काउने हो । 

 आर्ट मुभीका कलाकारको चयन न्यायसंगत छ ?

 समयअनुसार सिनेमाहरु फरक विधाका बन्दै जान्छन् । पहिला कलाकार चयन गर्दा अग्लो, ज्यान भएको, गोरोलाई लिइन्थ्यो । यो चाहिँ धर्मसँग पनि जोडिएको विषय हो । भगवान्‌का तस्बिरहरू पनि हामीले त्यस्तै देख्थ्यौँ । अनि सिनेमामा पनि त्यही कुरा हाबी भयो । अनि कलाकारलाई आफ्नो सौन्दर्य नै सामथ्र्य लाग्ने मनोभाव थियो । 

जस्तो लामो कपाल मन पराएका कारण राजेश हमालले प्रहरी बन्दा पनि कपाल लामो नै राख्नुभयो । दर्शकले मन परायो भनेर राजेश हमालको हरेक सिनेमामा ‘हे’ भन्ने डाइलग राखिन्थ्यो रे के । छुट्यो भने पनि बोलाएर फेरि राख्ने अभ्यास थियो रे । त्यसमा विविधता थिएन । दर्शकले केही कालखण्ड मन पराउनुभयो । 

अब पछिल्लो समयको कुरा गर्ने हो भने दयाहाङले पनि सोच्ने बेला आइसक्यो । जसरी पात्र निर्वाह गर्दा राजेश हमालमा एउटैपन थियो, अब त्यो उसमा पनि लागू भएको भन्ने गुनासा छन् । पात्र छनोटमा उनले विचार  पुर्‍याएनन भने हराएर जान्छन् । पात्रमा ध्यान दिएन भने आयु छोटो बन्छ ।
दयाहङलाई फेरि धेरै फिल्ममा लिनुको कारण अरुको भन्दा राम्रो अभिनय क्षमता र चरित्र विकासमा केही दख्खल राखेर पनि हो । उसले बाह्य शारीरिक परिवर्तन ल्याएको खण्डमा राम्रो हुन्छ भन्ने मेरो बुझाइ छ । 

 मौलिकताका नाममा छाडा डाइलग, दुई अर्थ भएका इसारा प्रयोगलाई चाहिँ कसरी लिनुहुन्छ ?

 हामी जे बिक्छ त्यही बनाउनुपर्छ भन्नेमा दोहोर्‍याएर लागि परेका छौं । यस्ता कुराले राखेको फिल्म दिएर दर्शकलाई कमसल वस्तु दिइरहेका छौं भन्नेमा हाम्रो ध्यान पुगेको छैन कि जस्तो लाग्छ । 

फिल्मको गीतका लागि गायक चयन गर्दा नायक-गायकको स्वर‘कम्बिनेसन’मा कति ध्यान पुर्‍याएको जस्तो लाग्छ ?

अहिले त फिल्मका लागि गीत बनाउने चलन कम भएको अवस्था छ । अहिले अर्को कुरा चलेको गीत फिल्मका लागि उपयुक्त नभए पनि चर्चाको लागि दिने चलन बढेको छ । गायकको बोली नायकसँग मिल्ने अथवा विश्वसनीय बनाउन कम ध्यान पुगेको महसुस हुन्छ । यो ध्यान नदिँदा विश्वसनीयतामा प्रश्न उठाउने ठाउँ रहन्छ । 

नेपाली फिल्ममा के को खडेरी देख्नुहुन्छ ?
नेपाली फिल्ममा कथालाई राम्रोसँग बुनेर लेख्न सक्ने लेखकको खडेरी छ । सामान्य कथालाई रोचक बनाएर बुन्न सक्ने सर्जक चाहिएको छ । 

तस्विर : चिरायु शाक्य

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार  ५ : ५७ बजे

नेपालसामु बंगलादेशसँग दशकअघिको हारको बदला लिने अवसर

काठमाडौं – आसीसी टी–२० विश्वकप अन्तर्गत नेपालले आफ्नो अन्तिम खेल

नर्वेले युक्रेनलाई दश करोड ३० लाख डलर सहयोग गर्ने

ओस्लो – नर्वेले युक्रेनलाई उसको ऊर्जा पूर्वाधार मर्मत र अर्को

ललितपुर महानगरको पुँजीगत खर्च ६१ प्रतिशत

ललितपुर – चालु आर्थिक वर्ष २०८०/०८१ को ११ महिनामा ललितपुर

राष्ट्रिय महाधिवेशनले सङ्घीयता विरोधीलाई जवाफ दिएको छः उपेन्द्र यादव

धनुषा – जनता समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले

राष्ट्रपति पौडेलद्वारा जलवायुसम्बन्धी अनुसन्धान केन्द्रहरूको अवलोकन

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार जर्मनीमा जलवायु परिवर्तन र