हैट ! डालोको व्यापार नफापेर कलाकार | Khabarhub Khabarhub

हैट ! डालोको व्यापार नफापेर कलाकार


३० मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : 8 मिनेट


12.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काभ्रेको तिमालमा २०३९ सालमा जन्मिएका बुद्धि तामाङ अहिले नेपाली चलचित्रमा सबैभन्दा बढी रुचाइने व्यक्ति हुन् । जीवन्त अभिनयबाट उनले दर्शकको मन जितेका छन् ।

बिरामी आमालाई पिठ्युँमा बोकेर उपचार गर्न काठमाडौं झरेका बुद्धिको संघर्षको कहानी रोचक छ । मातृ लवजका कारण नाटकबाट बाहिरिएको प्रसंग पनि उनले खबरहबसँग खुलाएका छन् । काठमाडौं आएर सुरुमा ईंट्टाभट्टामा काम गरेका बुद्धिले पैसा कमाउन डालोमा बदाम राखेर घुम्ती व्यापार पनि गरेका छन् ।

होटलमा मजदुरी गर्दै नाटकमा होमिएका उनी अहिलेका मण्डला थिएटरको टेक्निकल इन्जिनियर समेत हुन् । उनी भन्छन्– म पढेको होइन, बनेको इन्जिनियर । नाटकबाट ठूलो पर्दामा छलाङ हानेका बुद्धिको संघर्षको पाटो रोचक र प्रेरणादायी छ ।

बुद्धिको बाल्यकाल

सामान्य परिवारमा जन्मिएका बुद्धिले तिमालबाटै नै एलएलसी गरे । उनका बुबा कृषकसँगै झाँक्री थिए । आमा मुस्किलले हस्ताक्षर गर्न सक्ने भए पनि बुबा निरक्षर हुन् ।

एक मात्र छोरो भएका कारण सबैको मायामा नै हुर्किए । बालापनमा ठूलो अभाव खेप्नु नपरे पनि उनी स्मरण गर्छन्, ‘स्कुल जाँदा कहिले काहीँ चप्पल चुडिन्थ्यो । अनि हातमा बोकेर पुगिन्थ्यो । अगाडिपट्टिको लोती चुडिँदा डोरीले बाँध्न मिल्थ्यो । पछाडिको लोती चुडिँदा किला घोपेर अड्याउँथ्यौं ।’

स्कुल पढ्दा दोस्रो–तेस्रो हुने गरे पनि उनले एसएलसीपछि पढाइलाई निरन्तरता दिन सकेनन् । परिवारिक जिम्मेवारी बढेकाले पढाइ अगाडि बढाउन नसकेको स्मरण गर्दै उनी भन्छन्, ‘काठमाडौं आएर पढाइलाई अघि बढाउँछु भन्दा पैसाको अभाव भयो । पैसा कमाउँछु अनि पढ्छु भन्दा धेरै समय बित्यो । ५–६ वर्षपछि कलेज जान लाज लाग्यो ।’

घर परिवारले पढ् भनेर दबाब दिए पनि कसरी पढ्ने भन्ने मेलो नभएका कारण आफ्नो पढाइ रोकिएको उनी सुनाउँछन् ।

रेडियो र घडी खोल्ने सौख

कक्षा आठमा पढ्दा १४ वर्षको उमेरमा पहिलो पटक घडी लगाएको उनी स्मरण गर्छन् । घडीभित्र के हुन्छ ? भन्ने कौतुहलले उनले लामो समय लगाउन पाएनन् ।

‘भित्र के हुन्छ भनेर एक बक्सा जति रेडियो, २०–२५ वटा घडी चाहिँ एसएलसी सक्नुअघि नै मैले खोलिसकेको थिएँ,’ उनी भन्छन्, ‘ठूलो बुबाकोबाट पेचकस ल्याउथेँ । पछि फलामको टुक्रा घोटेर पेचकस बनाउँथेँ । छाताको करङ घोटेर पनि पेचकस बनाएँ । पछि काठमाडौं आउँदा रेडियो घडी खोल्नकै लागि पेचकस किनेर लान्थेँ ।’

अझै यसरी समान खोल्ने बानी अझै नहटेको बुद्धि सुनाउँछन् । उनी थप्छन्, ‘केही सामान बिग्रियो भने खोलखाल–ठ्याकठुक पारिहाल्छु । राति १२–१ बजेसम्म खोलेर हेर्छु । कुनै बन्छ, कुनै कहिले नबन्ने गरी बिग्रन्छ ।’

बुबाले रेडियो खोल्यो भनेर गाली गर्दा ‘बिग्रिएर बनाएको’ भन्ने कुतर्क गर्ने गरेको उनी स्मरण गर्छन् । तर समग्रमा आफू गाउँको इमानदार, सोझो र उदारणीय पात्र भएको उनी सुनाउँछन् ।

पिठ्यूँमा आमा बोकेर काठमाडौंको यात्रा

एसएलसी दिएपछि २०६५ सालबाट संघर्ष गर्न उनले तिमालबाट काठमाडौंको यात्रा तय गरे । उनी काठमाडौं आउनुको प्रमुख कारण थियो– आमाको उपचार ।

पेट दुख्ने बिरामीले च्यापेपछि आमाको स्वास्थ्य दिन प्रतिदिन बिग्रँदै गयो । तौल घटेर ३२–३३ केजी पुग्यो । घरकै धामी बुबाले आमालाई निको पार्न नसकेपछि बुद्धिले आमालाई काठमाडौं ल्याएर उपचार गर्ने निधो गरे । उनी स्मरण गर्छन्, ‘तिमालबाट पैदल ६–७ घण्टाको बाटो पिठयूँमा बोकेर आमालाई दोलालघाट झारेँ । त्यसपछि गाडीमा काठमाडौं ल्याएर दिदीकोमा राखेँ । त्यसपछि पैसा खोज्न लागेँ ।’

आमाको उपचारका लागि जागिर खोज्ने क्रममा उनले इँट्टा भट्टामा काम सुरु गरे । डाक्टरले पाठेघरको क्यान्सर भएको बताएपछि दश हजार पेस्की लिएर उनले आमालाई वीर अस्पतालमा भर्ना गरे ।

उनी स्मरण गर्छन्, ‘त्यति पैसाले त आमाको उपचार गर्न पुगेन । डाक्टरहरुले निशुल्क औषधिको च्यानल मिलाइदिनुभयो । केही पैसा ऋण गरेँ र आमाको उपचार भयो ।’

पाठेघरको उपचारपछि आमामा क्षयरोग देखियो । करिब महिना औषधोपचार गरेर घर फर्काएको बुद्धि स्मरण गर्छन् । उनी थप्छन्, ‘त्यसबेला आमाको उपचारमा सहयोग गर्ने डाक्टरलाई फिल्ममा लागेपछि भेट्न खोजेँ नाम बिर्सिएँ, उहाँलाई अहिले भेट्न मन छ ।’

जागिर छाडेर व्यापार

पैसा कमाउने इच्छा शक्ति भएका कारण बुद्धिले इँट्टा भट्टाको काम छोडे र घुम्ती व्यापार गरे ।

उनी स्मरण गर्छन्, ‘त्यसबेला धेरै कमाउने हो भने व्यापार गर्नुपर्छ भन्ने सोच आयो । आफूले जे–जे भ्याउँछु त्यो गर्दै गएँ, डालोमा बदाम बेच्ने, गाडामा राखेर बरफ बेच्ने, खुर्सानी बेच्ने काम गरेँ ।’

पछि व्यापार स्थायी नहुने महसुस भएपछि मन जागिरमै फर्कियो तर काम थियो– जमलको होटलमा भाँडा माझ्ने । केही वर्ष काम गरेपछि उनी होटलको म्यानेजरसम्म भए । तर, अस्थिर भएका कारण उनले होटल भने परिवर्तन गरिरहे ।

उनी भन्छन्, ‘म एउटा होटलको म्यानेजर भएपछि पनि अर्को होटलमा गएर भाँडा माझेको छु । जमल, पुतलीसडक, बागबजारका होटलमा काम गरेको छु । काम चाहिँ जे पनि गर्ने मेरो बानी थियो ।’

तर, जागिर बन्धन लागेपछि उनले होटलको काम छाडेर स्वतन्त्र भएर काम गर्न टेकिङ जानेको भारी बोक्ने काम गर्न थाले । उनी स्मरण गर्छन्, ‘म दुई–तीन पटक गएँ । तर सकिएन । कमाइ एक पटकमा १५–२५ हजार भए पनि गाह्रो भयो ।’

उनी यहीताका डबली थिएटरमा जोडिएका हुन् ।

नाटकको यात्रा

स्कुलमा पढ्दा पनि बुद्धिले सडक नाटकमा भाग लिएका थिए । साइनोमा बाजे पर्ने प्रभाव भन्ने साथीले डबली थिएटरमा कलाकार चाहिएको भनेपछि उनी नाटकमा आवद्ध भए । २०६३–६४ सालमा संविधान सभामा महिला अधिकारमा आधारित नाटकमा झापा, पाँचथर, सुनसरी, कास्की, पाल्पा, रुसुवा गरी ६ जिल्लाका कलाकार थिए ।

उनी त्यसबेलाको वकसर्पको अनुभव सुनाउँछन्, ‘सबै जिल्लामा राम्रो काम गरेका एक से एक साथीहरु थिए । मलाई नाटकको केही थाहा थिएन नाम मात्रै भने । पछि पुस्कर गुरुङ सरले उहाँ केन्द्रीय कलाकार, डबलीबाट भन्दा झसङ्ग भएँ ।’ सधैँ तत्लो तहको काम गरेको मान्छे केन्द्रीय कलाकार भनेर परिचय गराउँदा आफू आश्चर्यमा परेको उनी बताउँछन् ।

त्यस नाटकको वकर्सप १५ दिन चल्यो । क्लास अनुप बरालले दिएका थिए । नाटकको विषयवस्तुमा बहस गर्न नेताहरुसमेत उपस्थित भएपछि बुद्धिलाई नाटकको मोह बढ्यो तर नाटकबारे पढाइ शून्य भएका कारण आफूलाई गाह्रो भएको उनी सुनाउँछन् ।

उनी भन्छन्, ‘वर्कसपको तीन दिनपछि मैले यो ढाँटेर काम गर्न सकिँदैन रहेछ, मैले केही बुझिन भनेँ । यो ओरेन्टेसन हो यो भनेको बुझ्ने हो, काम गर्ने तरिका र नाटक त बाँकी नै छ भनेर पुस्कर सरले भन्नुभयो । म त गाह्रो भएर भाग्न आँटिसकेको थिएँ ।’

यो नाटकमा ६ जिल्लामा भयो, प्रतिक्रिया पनि राम्रो आयो । यता बुद्धिले नाटकमा खेलेका कारण ५० हजार पाए । नाटककै सिलसिलामा पाल्पा गएको बेला आमालाई ढाकाको चोली र बालाई ढाका टोपी किनेर लगिदिएको बुद्धिलाई याद ताजै छ ।

उनी थप्छन्, ‘सम्पत्तिको नाममा एउटा झोला र एकसरो कपडा थियो । ट्रेकिङले डढेको कालो अनुहार थियो । सोझो केटो जसले जे भने पनि मान्ने । त्यसैले सबै साथीहरुले माया गर्थे ।’

नाटकमा स्वरका कारण खेल्न नपाउँदा

६ जिल्लामा नाटक गरेपछि उनमा थिएटरको भूत सवार भयो । बुद्धिले मण्डलाका संस्थापकलाई त्यही बस्ने बरु सरफाई र चिया बनाउने समेत काम गर्ने प्रतिबद्धता गरे ।

बुद्धि सुनाउँछन्, ‘मैले त्यसो भनेपछि त पुस्कर सरले भन्नुभयो– पहिल्यै भन्नु पर्दैन, हामीले खोजेको पनि यस्तै हो ।’ त्यही समय उनले पढाइको भोक पनि मेटाउन पाए, डबलीको पुस्तकालमा भएका सबै किताब आफूले लस्कर लगाउएर पढेको बुद्धि सम्झन्छन् ।

उनी थप्छन्, ‘अंग्रेजी किताब चाहिँ सट्ट निकालेर तल राख्थेँ । नेपाली चाहिँ लस्कर लगाएर पढ्थेँ । नाटकका किताब पनि पढेँ । पुस्कर सर कानुनको पनि विद्यार्थी हुनुहुँदो रहेछ, कानुनको किताब पनि लस्कर लाएर पढेको छु, के बुझेँ चाहिँ मलाई अझैँ थाहा छैन ।’

यसरी डबलीमा जोडिएपछि ‘लेडी फर द सी’ भन्ने नाटकको तयारी भयो । खाना, चिया, सरफाई र नाटकमा एक रोल बुद्धिले पाउने भए । सो नाटकमा दयाहाङ राई, नम्रता श्रेष्ठलगायतका कलाकार अभियन रहने भयो ।

उनी सम्झन्छन्, ‘म छिटो खाना बनाएर टुक्रुक्क बसेर उहाँहरुले छलफल सुन्थेँ । भाँडा माझेर स्क्रिप्ट पनि बोकेर उभिन्थेँ । दया दाइ पनि छक्क पर्नुहुन्थ्यो त्यसबेला । हाकिम जस्तो नि गर्छ सबै काम पनि गर्छ भनेर ।’

निर्देशक राजन खतिवडा नाटकको स्क्रिप्टमा रातभर बसेर काम गर्दा कफी खुवाएको बुद्धिलाई हिजोजस्तो लाग्छ । उनी भन्छन्, ‘उहाँले कम्पुटरमा टाइप गरेको हेरेर बस्थेँ, भयो बनेर बीच–बीचममा सोध्थेँ । गरेको के हो केही थाहा थिएन ।’

यसरी नाटक तयार भयो । बुद्धि नाटकका लागि उत्साही थिए तर रिहर्सलमा जाँदा आवाजका उनले अभिनय गर्न नपाउने भएँ । उनी भन्छन्, ‘अहिले पो आवाज धेरै ठीक भयो, त्यसबेला त तामाङ लवज जाने नि ।’

आवाजले धोका दिएपछि निराश बनेका बुद्धि नाटक नछोड्ने तर प्राविधिकतर्फ काम गर्ने निर्णय गरे । सोही नाटकमा सेट डिजाइन र लाईटको काम बुद्धिले हेरे । यसरी प्राविधकतर्फ जोडिएका बुद्धि अहिले मण्डला थिएटरको टेक्निकल इन्जिनियर हुन् ।

उनी भन्छन्, ‘मैले पढेको होइन सिकेको हो । अहिले पनि केही बिग्रियो भने बच्चाको जस्तै ठ्याकठुक फ्याङफुङ पारिहाल्छु ।’

प्राविधिक कामसँगै नाटकको ‘क्लास’

प्राविधिकमा काम गर्न पनि ज्ञान नभएका कारण बुद्धिले इलेक्ट्रिसियनको काम सिक्ने निर्णय गरे र चिनेको इलेक्ट्रिसियन दाइलाई खाजा मात्रै खुवाउने सर्तमा काम सिकाउन आग्रह गरे । ‘दाइले भित्ता काट्न लगाउनुहुन्थो म हतार–हतार छिनो हानेर आफ्नो काम सकेर के गर्ने रहेछ भनेर उहाँले गरेको काम हेर्थें,’ उनी सुनाउँछन्, ‘दाइ पनि काम छिटो गर्‍यो भनेर खुसी हुनुभयो, कामको पैसा पनि दिनुभयो । पछि नाटकबाट पैसा नहुँदा भात खाने बाटो नै त्यही बन्यो ।’

प्राविधिकतर्फको काम सकेपछि उनले अभिनयको ‘क्लास’ दिलाउन डबलीका पुस्कर गुरुङलाई घुर्काए र अनुप बरालको ‘एक्टर स्टुडियो’मा भर्ना भए । उनी भन्छन्, ‘त्यसबेला त्यहाँ विद्यार्थी बन्न प्लस टू गर्नुपर्ने, केही नाटक गर्नुपर्ने, नाटक पढेको हुनुपर्ने कि केही अनुभव हुनुपर्ने थियो । मेरो त केही थिएन । पहिला उहाँले सडक नाटकमा १५ दिन क्लास दिनुभएको थियो । त्यसका आधारमा मलाई विद्यार्थी बनाइदिनुपर्‍यो भनेपछि, म भर्ना भएँ ।’

अलराउन्ड भएका कारण कबड्डीमा अनुबन्ध

यसरी काम सिक्दै जाँदा प्राविधिक पाटोतर्फ बुद्धिको दख्खल बढ्यो, अभिनयको पनि कक्षा लिएँ । यसरी उनले आर्ट निर्देशकका रुपमा, साँघुरो, साँघुरो, तान्द्रो, टुल्के, धुलो, रेडमनसुन लगायत फिल्म गरे । उनी भन्छन्, ‘सेट डिजाइनको काम फाङफुङ छिट्टै गर्थेँ, त्यसैले मलाई नै लिन्थेँ, सामान बोक्नेदेखि सबै काम आफैँ गर्थेँ ।’

प्राविधिकमा पनि काम गर्ने र अभिनय पनि गर्ने भएका कारण उनी कबड्डीमा अनुबन्ध भए ।

उनी भन्छन्, ‘मैले ठूलो रोल पाएको फिल्म नै यही हो । प्राविधिकतर्फको काम नगरेको भए यो फिल्म पाउने थिइँन । यस फिल्ममा अभिनयदेखि स्पट बोइको समेत काम गरियो ।’

कबड्डी हिट बन्यो, बुद्धिको पात्र दर्शकले मन पराए । उनको ‘हैट’ डाइलग फेमस भयो । उनलाई अहिले धेरैले नामले भन्दा पनि त्यही डाइलगले चिन्छन् ।

उनी भन्छन्, ‘यो हिट भएपछि त मलाई धेरै फिल्मको अफर आयो । मैले झुक्किएर हो यो पात्र राम्रो भएको अभिनय सक्दिनँ भनेर धेरै फिल्ममा काम नै गरिनँ ।’ तर, यसपछि बुद्धि अभिनयमा स्थापित भए । कुनै समय उनले एक वर्षमा १८ वटासम्म फिल्ममा काम गरे । अहिले बुद्धिको अभिनय नभएको फिल्म विरलै देख्न पाइन्छ ।’

मेरी बास्सैका ‘हैट’

बुद्धिको कबड्डीको पात्र लिएर सीताराम कट्टेल धुर्मुसले ‘मेरी बास्सै’ मा काम गर्न अफर गरे । सुरुमा यो अफर पनि अस्वीकार गरेको बुद्धि बताउँछन् । मेरी बास्सैको हनुमान पात्र टलकजङ्ग भर्सेस टुल्केको नाम र कबड्डीको ‘हैट’ डाइलगको फ्युजन हो ।

पछि पनि अफर आएपछि उनले यी दुवै फिल्मका निर्देशकसँग सल्लाह गरेर मेरी बास्सैमा हनुमान पात्रमा देखिने अनुमति पाए । उनी सम्झन्छन्, ‘पाँच–६ वटा फिल्म खेलेपछि मेरी बास्सैका लागि सीताराम दाइ काम गरौं भन्नु भएको हो । मैले नाइँ भनेको थिएँ, त्यसबेला अफर आउँदा मलाई आफू नाटक र लाइटमै फिट छु जस्तो लाग्थ्यो ।’

यसरी उत्तारचढाव गर्दै स्थापित कलाकार बनेका बुद्धि तामाङ अहिले म्युजिक भिडियोका पनि चलेका मोडल हुन् । उनले एउटा म्युजिक भिडियोबाट एक लाखसम्म पारिश्रमिक लिन्छन् ।

उनी थप्छन्, ‘कोही दाइ तपाईंले गरिदिनुभयो भने हाम्रो लागि पनि कोशेढुंगा बन्छ, हाम्रो पनि सुरुवात हुन्छ भन्छन् । तपाईं सुरुको चरणमा जहाँ हुनुहुन्थ्यो, अहिले हामी त्यहीँ छौं भन्छन् । भावनामा बगिहालिँदो रहेछ । हुन्छ भनेपछि सित्तैमा गर्नैपर्‍यो ।’

‘५० अघि बा बन्छु’

बुद्धि एक वर्ष अघिमात्रै विवाह बन्धनमा बाँधिएका हुन् । चिनजान र परिवारको सल्लाहमा तामाङको रीतिअनुसार उनीहरुले लगनगाँठो कसेका हुन् । ढिलो उमेरमा विवाह गरेका बुद्धिलाई अब सोध्ने प्रश्न भने फेरिएको छ । पहिलो बिहे कहिले भन्ने प्रश्नले वाक्क भएका बुद्धि अब बच्चा कहिले भन्दा जवाफ दिन्छन्– ५० पहिले बा बन्ने हो ।

अहिले बुद्धि ललितपुरको टीकाथलीमा स–परिवार फिल्म क्षेत्रबाट कमाइ गरेर किनेको घरमा बस्छन् । उनले आमा–बालाई पनि ललितपुरमै ल्याएका छन् ।

उनी भन्छन्, ‘बुबालाई प्यारालाइस छ । उमेर बढ्दै जाँदा झन चेप्यो । हिँड्नै छोड्नुभयो । कि म काभ्रे जानुपर्ने भयो, कि बुबाआमालाई यता ल्याउनुपर्ने भयो । त्यसपछि, बिहे लगत्तै घर किनेँ ।’

आमालाई उपचार गर्न गाउँबाट निस्किएको एउटा सोझो केटोलाई आज दर्शकले कलाकार ‘हैट’ बनाएका छन् । उनका जीवनका उतार–चढाव धेरैका लागि प्रेरणादायी बन्न सक्छ ।

प्रकाशित मिति : ३० मंसिर २०८०, शनिबार  ७ : ५६ बजे

बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी गर्दै कांग्रेस

बागमती– नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले बागमती प्रदेशको

विपदमा परी मृत्यु हुनेको सङ्ख्या १२८ जना पुग्यो

काठमाडौं– यो वर्षको मनसुन अवधिमा विपत्तिमा परेर आजसम्म एक सय

बंगलादेशमा आरक्षणको विरोधमा भएको प्रदर्शनप्रति अनेरास्ववियुको ऐक्यवद्धता

काठमाडौं– नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियुले बङ्गलादेशमा आरक्षणको

लुम्बिनीका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने

तुलसीपुर– लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आइतबार विश्वासको मत लिने

कांग्रेस–एमाले गठबन्धन २०८४ सम्मै कायम रहन्छ : मन्त्री शाही

काठमाडौं– वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले कांग्रेस–एमाले गठबन्धन सरकार