बन्ध्याकरण गर्नै मान्दैनन् पुरुषहरु « Khabarhub

बन्ध्याकरण गर्नै मान्दैनन् पुरुषहरु


१६ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागलुङको तमानखोला गाउँपालिका–५ खुंखानीकी २९ वर्षीया नरदेवी सिर्पाली स्थानीय स्वास्थ्य चौकीमा भेटिइन् । सन्तानको रहर पुगेपछि एक वर्ष पहिले हातमा लगाएको इम्प्लान्ट निकाल्न उनी खुंखानी स्वास्थ्य चौकी पुगेकी थिइन् ।

एक छोरा र दुई छोरीकी आमा उनले परिवार नियोजनको अस्थायी साधनहरु प्रयोग गर्दै आएकी छिन् । एक वर्ष पहिलेसम्म डिपो सुई लगाउने गरेकी उनी इम्प्लान्टको प्रयोग गरेको एक वर्ष मात्रै भयो । स्वास्थ्यकर्मीको सल्लाहअनुसार उनले इम्प्लान्ट लगाएकी हुन् ।
नरदेवीले दुई सन्तान मात्रै जन्माउने भन्दाभन्दै तीन सन्तान भए । नरदेवीले तेस्रो सन्तान जन्मेपछि श्रीमान्लाई स्थायी बन्ध्याकरणका लागि अनुरोध गरिन् तर उनले मानेनन् ।

“बच्चा धेरै जन्माउँदा हुर्काउन साह्रै गाह्रो हुन्छ, पाउनै मुस्किल छ, उनलाई के थाहा” नरदेवीले भनिन् ‘खुन (रगत) को आहालमा घरिघरि बस्न सक्दिन भनेर बन्द गर्न भनेँ तर मानेनन्, अनि त आफैँ यहाँ आएँ ।” अस्थायी साधनको प्रयोग गर्दा कतिपय महिलाहरुमा महीनावारी नियमित नहुने, महीनावारी हुँदा धेरै रगत बग्ने, टाउको दुख्ने जस्ता समस्या देखिने गरेको उनीहरु बताउँछन् ।

नरदेवी जस्तै खुंखानी स्वास्थ्य चौकीको सेवा क्षेत्रमा रहेका झण्डै डेढ सय महिलाले परिवार नियोजनको अस्थायी साधन प्रयोग गर्छन् । पुरुषले बन्ध्याकरण गर्न नमानेकै कारण परिवार नियोजनका अस्थायी साधनको भर गर्दै आएको नरदेवी बताउँछिन् । खुंखानी स्वास्थ्य चौकीको तथ्याङ्कअनुसार अहिले पनि २२ महिलाले पिल्स, ४१ ले डिपो र ५९ ले इम्प्लान्ट नियमित प्रयोग गर्दै आएका छन् । स्वास्थ्य चौकी प्रमुख दीपक पौडेलका अनुसार कण्डम प्रयोग गर्नेको भने स्वास्थ्य चौकीले तथ्याङ्क राखेको छैन । त्यो बाहेक निजी स्वास्थ्य क्लिनिक र अन्य स्वास्थ्य संस्थामा पुगेर सेवा लिनेहरु पनि छन् ।

खुंखानीका महिलाहरुमा दुई सन्तान मात्रै जन्माउनु पर्छ भन्ने चेतना छ । दुईभन्दा धेरै सन्तान नपाउनका लागि उनीहरु आफैँ अनेक उपाय लगाउँछन् । घाँस दाउरा गर्दा होस् वा मेलापात गर्दा एक अर्कामा जानकारी गराएर महिलाहरुकै बीचमा परिवार नियोजनका विषयमा जानकारी आदानप्रदान हुने गरेको स्थानीय आशकुमारी सिर्पालीले बताइन् ।

बेलाबेलामा स्वास्थ्य चौकीले आयोजना गर्ने स्थायी बन्ध्याकरण शिविरमा पनि महिलाहरुकै उल्लेख्य उपस्थिति रहने गरेको छ । “शिविर भयो भने पनि मिनील्याप गर्नेको सङ्ख्या धेरै हुन्छ”, खुंखानी स्वास्थ्य चौकीका अनमी माया घर्तीले भनिन्, “पुरुषहरु आउनै मान्नुहुन्न ।” महिलाहरुले प्रयोग गर्ने अस्थाई साधनहरु केही समय समयमा परिवर्तन गरिरहनु पर्ने हुन्छ । तीन महीने डिपो सुई प्रत्येक तीन महीनामा लगाउनुपर्ने भएकाले झुक्किएर कहिलेकाही गर्भ रहने समस्या रहेको नरदेवीले बताइन् ।

स्वास्थ्य चौकीले बेला बेलामा चेतनामूलक कार्यक्रम सञ्चालन गरेर बन्ध्याकरणका विषयमा जानकारी गराउने गरेको छ ।

प्रकाशित मिति : १६ असार २०७६, सोमबार  ११ : ५७ बजे

प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ एघार जिल्लाको मतपत्र छपाइ सम्पन्न

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

एक महिनामा ९२ हजार पर्यटक नेपाल भित्रिए

काठमाडौं– सन् २०२६ को पहिलो महिना जनवरीमा ९२ हजार ५७३

अन्तिम श्रद्धाञ्जलीपछि पत्रकार सिटौलालाई पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहसँग

रोहित शेट्टीको घरमा फायरिङ : बिश्नोई गिरोहको धम्की

काठमाडौं– बलिउडका चर्चित निर्देशक रोहित शेट्टीको मुम्बईस्थित जुहूको घर ‘शेट्टी

पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै

त्रिवेणी– यही माघ २७ गते रुकुम पश्चिममा एक हजार ८००