तीजको तयारी पूराः ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खोलिने « Khabarhub

तीजको तयारी पूराः ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खोलिने


१५ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यस वर्षको हरितालिका तीजका अवसरमा पशुपतिनाथको पूर्वी मूलढोका दर्शनार्थी भक्तजनको प्रवेशका लागि वैकल्पिक रुपमा प्रयोग गर्न खुला गरिने भएको छ ।

पशुपति क्षेत्र विकास कोषले लामो समयदेखि यो ढोका पशुपतिनाथ मन्दिरमा जल ल्याउन मात्र उपयोग गर्दै आएको थियो । तीजमा महिला भक्तजनको भीडलाई छिटो पशुपतिनाथ मन्दिरमा दर्शन गराउने उद्देश्यले पूर्वी मूल ढोकालाई वैकल्पिकरूपमा उपयोग गर्न लागिएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा प्रदीप ढकालले जानकारी दिए ।

तीज, बाला चतुर्दशी, महाशिवरात्रि, साउनको सोमबारजस्ता बढी भीड हुने पर्वमा पूर्वी ढोका खुला नगर्दा धेरै समय लाममा बस्नुपरेको गुनासो भक्तजनबाट आउन थालेपछि कोषले यस्तो व्यवस्था गरेको हो । भदौ १६ गते सोमबार भाद्र शुक्ल तृतीयाका दिन पशुपति मन्दिर प्रवेश गर्न मुख्यरूपमा तीन स्थानबाट लाम लाग्ने व्यवस्था गरिएको छ ।

पहिलो लाम गुह्येश्वरी–गौरीघाट–उमाकुण्ड–रुद्रगाडेश्वर हुँदै पश्चिम ढोकाबाट, दोस्रो लाम जयवागेश्वरी–भुवनेश्वरी–शङ्कराचार्य मठ हुँदै पश्चिम ढोकाबाट, तेस्रो लाम एयरपोर्ट–पिङ्गलास्थान–चार शिवालय हुँदै दक्षिण ढोकाबाट प्रवेश गर्ने व्यवस्था मिलाइएको सदस्यसचिव ढकालले सुनाए ।

वैकल्पिक रुपमा पूर्वी ढोका पनि उपयोग गर्दा भक्तजनले छिटो दर्शन गरेर फर्कन सक्ने कोषको विश्वास छ ।

यसैबीच, नेपाल प्रहरीसँगको समन्वयमा पशुपति क्षेत्रमा तीज पर्वलाई ध्यान दिँदै सादा पोशाकका प्रहरी खटाइसकिएको छ । मेला अवधिभर चार हजार सुरक्षाकर्मी पशुपति क्षेत्रमा खटिनेछन् ।

शान्ति सुरक्षालाई ध्यानमा राखी मन्दिर आउँदा गरगहना नलगाई आउन कोषले भक्तजनमा आह्वान गरेको छ । पशुपतिमा दर्शन गर्न आउने भक्तजनको सवारी पार्किङका लागि गुह्येश्वरी पारि, सिफलचौर, तिलगङ्गा र कोषको कार्यालय परिसरमा व्यवस्था गरिएको छ ।

सरकारी नम्बरप्लेटका सवारीलाई कोष कार्यालय र अन्यलाई अन्यत्रका स्थलमा पार्किङ गर्ने प्रबन्ध गरिएको छ । जुत्ता चप्पल राख्ने व्यवस्थाका लागि वरुणधारा, कैलाशडाँडामुनि, कोषको कार्यालय, भुवनेश्वरीलगायत स्थान छुट्याइएको छ । नाचगान एवं भक्ति सङ्गीत प्रस्तुतिका लागि हंसमण्डप, वनकाली, गौशाला, जयवागेश्वरी, मित्रपार्क तोकिएको छ ।

सुरक्षाकर्मी र स्वयंसेवकको सहयोगमा पशुपति क्षेत्रमा पर्ने चक्रपथ सडक बन्द नगर्ने गरी व्यवस्थापन गर्न लागिएको पनि कोषले जनाएको छ । कोषले भदौ १६ गते बिहान ६ बजेअघि नै पशुपतिका नित्य दर्शनार्थीलाई दर्शन गरिसक्न पनि आह्वान गरेको छ । ६ बजेपछि महिला भक्तजनको भीड बढी हुने भएकाले पुरुष दर्शनार्थीलाई यस्तो आह्वान गरिएको हो ।

तीजका अवसरमा भदौ १६ गते बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खोलिनेछ । तीजको मेला व्यवस्थापनका लागि पशुपतिमा सबै तयारी पूरा भइसकेको कोषले जनाएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७६, आइतबार  ५ : ५५ बजे

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी पूर्वउपकुलपति भण्डारी धरौटीमा रिहा

काठमाडौँ- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी पूर्वउपकुलपति डा. संगीता सिंह भण्डारी

फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गर्न दलहरुलाई आयोगको निर्देशन

काठमाडौँ- निर्वाचन आयोगले आसन्न निर्वाचनलाई केन्द्रित घोषणापत्र सार्वजनिक गर्न मितिनै

कांग्रेसले चुनावी घोषणापत्र होइन, प्रतिज्ञापत्र ल्याउँछ : सभापति थापा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले फागुन २१ गतेको प्रतिनिधिसभा

‘तयारीबिनाका आयोजनाले वित्तीय प्रणालीमा चुनौती’

काठमाडौं- अर्थमन्त्री रामेश्वर खनालले सरकारले बजेट तर्जुमा गर्दा सम्बन्धित मन्त्रालयहरूले

नेपालमा कतारी लगानी भित्र्याउनेबारे गभर्नर पौडेलसँग छलफल

काठमाडौं – नेपालमा वैदेशिक लगानीका लागि विद्यमान कानुनी व्यवस्था, बैंकिङ