काठमाडौं– नेपालको संविधानले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशूल्क हुने व्यवस्था गरेको छ । मौलिक हकको रुपमा सबै नागरिकले आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगरिने संविधानमै व्यवस्था गरिएको छ ।
संविधानले ज्येष्ठ नागरिकका लागि स्वास्थ्य उपचारमा पहुँच हुनेपर्ने भन्दै विशेष अधिकार दिएको छ । सोही व्यवस्थालाई कार्यान्वयन गर्नका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०७०/७१ मा ‘जेरियाट्रिक वार्ड’ स्थापना तथा सञ्चालन निर्देशिका बनायो । उक्त निर्देशिकाअनुसार हाल देशभरका १२ वटा अस्पतालहरुमा जेरियाट्रिक वार्ड स्थापना गरिएको छ ।
सरकारले ज्येष्ठ नागरिकलाई सुलभ तरिकाले उपचारात्मक सेवा दिनका लागि चालु आर्थिक वर्षमा थप ४ वटा सरकारी अस्पतालमा जेरियाट्रिक वार्डको स्थापना गर्ने जनाएको छ ।
सरकारले विभिन्न अस्पतालहरुमा ज्येष्ठ नागरिकका लागि छुट्टै वार्डको व्यवस्था गरे पनि नेपालमा सबै ज्येष्ठ नागरिक उपचारको समान पहुँचमा पुग्न नसकेको विज्ञहरु बताउँछन् । सरकारले नीतिहरु बनाए पनि ती नीतिहरु कार्यन्वयन नै नभएको ज्येष्ठ नागरिक महासंघका महासचिव मनोहर उप्रेतीले बताए ।
‘ज्येष्ठ नागरिकलाई संविधानले त राम्रो अधिकार दिएको छ, तर सो अधिकारमा भएअनुसार देशभरका सबै अस्पतालमा ज्येष्ठ नागरिकको छुट्टै वार्ड छैन,’ महासचिव उप्रेती भन्छन्, ‘ज्येष्ठ नागरिक बिरामी भएमा कम्तिमा पनि ४० मिनेट सम्म परामर्श दिनुपर्छ । तर हाम्रा अस्पतालहरुमा त्यसरी परामर्श गरेर उपचार गर्न सकिने अवस्था छैन ।’
सरकारले केही रोगहरुमा ज्येष्ठ नागरिकलाई उपचारमा सहुलियत दिएको छ । तर उक्त सुविधाहरु शहरकेन्द्रित हुँदा ग्रामीण तहका ज्येष्ठ नागरिकले सरकारले दिएको सुविधासमेत उपभोग गर्न नपाएको उप्रेतीको तर्क छ ।
‘सरकारले अल्जाइमर रोगमा १ लाख सम्मको सहुलियत दिएको छ, तर उक्त रोगको उपचार सेवा सीमित अस्पतालमा मात्रै छ, जसले गर्दा गाउँगाउँका ज्येष्ठ नागरिकले सरकारी सुविधामा समेत उपचार पाएका छैनन्,’ उप्रेती भन्छन्, ‘यदि सरकारले ज्येष्ठ नागरिकलाई अधिकार दिन नै सुविधा दिएको हो भने कम्तिमा पनि प्रत्येक प्रदेशमा यो उपचारको व्यवस्था पनि गर्नुपर्छ ।’
सर्ने नसर्ने दुवै रोगको जोखिम उत्तिकै
जेरियाट्रिक साइक्याट्रिक डाक्टर निदेस सापकोटाका अनुसार ज्येष्ठ नागरिकहरुमा रोग प्रतिरोधात्मक क्षमता कम हुँदै जाने भएकाले सर्ने र नसर्ने रोगको जोखिम उच्च रहन्छ ।
‘शारीरिक एवं मानसिक रुपमा सर्ने र नसर्ने दुवै रोगको जोखिम उच्च रहन्छ, शरीर वृद्ध हुँदै जाँदा नशा, हर्मोन सम्बन्धी रोग लाग्ने जोखिम हुन्छ । उमेर बढ्दै जाँदा रोगसँग लड्ने क्षमता पनि घढ्दै जान्छ,’ डा. सापकोटाले भने, ‘त्यसैले ज्येष्ठ नागरिकहरुमा उच्च रक्तचाप, मधुमहे, हड्डी खिइने समस्या बढी हुन्छ, डाइफाइड निमोनिया तथा मानसिक रोगहरु पनि लाग्ने सम्भावना उच्च रहन्छ । वयस्क व्यक्तिभन्दा ज्येष्ठ नागरिकलाई विभिन्न रोगहरुको जोखिम उच्च रहन्छ ।’
सुविधा पाउँदैनन् ज्येष्ठ नागरिक
महासंघका महासचिव मनोहर उप्रेतीले सरकारले ज्येष्ठ नागरिकका लागि वार्ड छुट्याएर पनि गुणस्तरीय सेवा पाउन नसक्ने बताउँछन् ।
‘अहिले सरकारले ज्येष्ठ नागरिक वार्ड छ भनिरहेको छ, तर त्यो वार्डमा मात्रै सीमित छ,’ उप्रती भन्छन्, ‘ जेरियाट्रिक वार्डमा हुनुपर्ने सुविधाहरु त्यो वार्डमा छैन, वार्ड अनुसारको जेरियाट्रिसियन विशेषज्ञ चिकित्सकहरु छैनन् । सपोर्टिभ केयरहरुको व्यवस्था छैन ।’
उपचार सेवा फितलो
महासंघका अध्यक्ष डा. मदनदास श्रेष्ठले सरकारले दिने सुविधाहरु प्रचार हुने तर कार्यन्वयन नहुने बताउँछन् ।
अस्पतालहरुमा ज्येष्ठ नागरिकलाई छुट्टै वार्ड भनेर कोटा छुट्याउँदा कतिपय ज्येष्ठ नागरिकहरु उपचारको सहज सुविधा नपाएको उनको गुनासो छ ।
‘सरकारले दिने भनेको सुविधाबारे प्रचारप्रसार त भएको छ तर त्यो व्यवस्थाहरु सबै अस्पतालले कार्यन्वयन गरेको छैन,’ अध्यक्ष श्रेष्ठले भने, ‘वीर अस्पतालमै पनि ज्येष्ठ नागरिकको बेडमा कोटा छुट्याउँदा त्यो कोटाभन्दा बढी ज्येष्ठ नागरिक पुगे भने बिरामी अन्तै रेफर गर्दिन्छ । रोगले त कोटा हेर्दैन नि । रोगको त तुरुन्त निदान गर्नुपर्ने हो ।’
उपचारको पहुँचमा को ?
महासंघका अध्यक्ष श्रेष्ठका अनुसार संविधानले सबै ज्येष्ठ नागरिकलाई समान अधिकार दिए पनि स्वास्थ्य उपचारको सुविधा भने सम्पन्न परिवारका ज्येष्ठ नागरिकले मात्रै पाउँछन् ।
उनी भन्छन्, ‘सरकारले दिएको सुविधामा पनि सम्पन्न परिवारका व्यक्तिहरुकै हावी छ, सरकारी सुविधा पहुँचवालाले नै लिन्छन्, अनि निमुखा, अशक्त गरीब परिवारका ज्येष्ठ नागरिक उपचारको पहुँचमा नै पुग्न सकेका छैनन् ।’
गरीब परिवारको ज्येष्ठ नागरिक भनेपछि बिरामी भएर अस्पताल नै पुगेका बिरामीहरु समेत अपहेलित हुनुपरेको र सरकारले यसमा चासो नदिएको उनको भनाइ छ ।
‘अस्पतालहरुमा पनि अलि गरीब परिवारको ज्येष्ठ नागरिक उपचार गर्न गएको छ भने, राम्रोसँग उपचार नै पाउँदैन, यसको अनुगमन, मुल्यांकन कसले गर्छ ?,’ अध्यक्ष श्रेष्ठ भन्छन्, ‘सरकारले सहुलियत दिए पनि कतिपय अस्पतालमा सम्पन्न परिवारको छ भने मात्रै उपचार गर्ने प्रवृति छ । सम्पन्न परिवारका ज्येष्ठ नागरिकले मात्रै उपचारको पहुँचमा छन् । गरिब बिरामी अस्पताल पुगेर पनि राम्रो सुविधा पाउँदैनन् ।’
कुन–कुन अस्पतालमा जेरियाट्रिक वार्ड ?
–पाटन अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुर,
–आयुर्वेद शिक्षण अस्पताल,
–भरतपुर अस्पताल, भरतपुर
–पश्चिमाञ्चल क्षेत्रिय अस्पताल, पोखरा स्वस्थ्य विज्ञान प्रतिष्ठान,
–भेरी अञ्चल अस्पताल, नेपालगञ्ज,
–वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान,
–लुम्बिनी अञ्चल अस्पताल, बुटवल
–राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान,
–कोशी अञ्चल अस्पताल, विराटनगर
–राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही दाङ
–नारायणी उपक्षेत्रीय अस्पताल, विरगञ्ज
यसवर्ष जेरियाट्रिक वार्ड सञ्चालन हुने अस्पतालहरु
–मेची अस्पताल,
–जनकपुर अस्पताल,
–हेटौँडा अस्पताल
–कर्णाली प्रदेश अस्पताल, सुर्खेत
प्रतिक्रिया