धमाधम हिमालतिर लागे आरोही | Khabarhub Khabarhub

धमाधम हिमालतिर लागे आरोही


१९ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हिमाल आरोहणको मुख्ययाम वसन्त ऋतु शुरु भएसँगै सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहण गर्न यतिखेर धमाधम आरोही गन्तव्यतर्फ जान थालेका छन् ।

सगरमाथा, मकालु, अन्नपूर्ण, कञ्चनजङ्घा, ल्होत्से अमादब्लम, पुमरीलगायत हिमाल आरोहणका लागि नेपालसहित विभिन्न मुलुकका ठूलो सङ्ख्यामा आरोही हिमालतिर लागेका हुन् । पर्यटन विभागका अनुसार, हिमाल आरोहणका लागि सोमबारसम्म ४८ आरोहण समूहले निवेदन दिएकामा २३ समूहले आरोहण अनुमति प्राप्त गरेका छन् । यीमध्ये आठ सगरमाथा आरोहण समूह छन् । जम्मा १७७ आरोही सदस्य छन् ।

सन् २०१८ को यही मौसम (वसन्त ऋतु) मा सगरमाथासहितका हिमाल आरोहणका लागि १०७ आरोही समूह गएका थिए । तीमध्ये सगरमाथा आरोहणका लागि ३४ समूह गएका थिए । सन् २०१७ को सोही याममा सगरमाथासहितका हिमाल आरोहणका लागि १०८ आरोही दल गएका थिए । सरकारले आरोहणका लागि ४१५ हिमाल खुला गरेको छ । अझै आरोहणयोग्य एक हजार ३०० बढी हिमाल रहेको बताइन्छ ।

विभागकै पर्वतारोहण शाखाका रामेश्वर निरौलाका अनुसार सोमबारसम्म हिमाल आरोहणबाट रु नौ करोड ३४ लाख २६ हजार ८२७ रोयल्टी सङ्कलन भएको छ । सन् २०१८ को वसन्त ऋतुमा रु ४१ करोड २८ लाख ८४ हजार ६३८ रोयल्टी जम्मा भएको थियो । अघिल्लो वर्ष सबैभन्दा धेरै सगरमाथाबाट मात्रै रु ३५ करोड १४ लाख ९८ हजार ३१२ रोयल्टी उठेको थियो । आरोहण अनुमति लिनेको अहिलेसम्मको अवस्थालाई हेर्दा यो वर्ष पनि आरोहीको उत्साहजनक सहभागिता हुने अनुमान गरिएको छ ।

गत वर्षको यही यामको चैत २० गतेसम्म ३४ आरोहण दलले निवेदन दिएकामध्ये १५ समूहले सगरमाथा आरोहण अनुमति लिएका थिए । वैशाखसम्म नै आरोही आउने भएकाले पनि आरोही बढ्नसक्ने बताइएको छ । विभागका महानिर्देशक डण्डुराज घिमिरेले अनुकूल मौसमले यो याममा धेरै आरोही धमाधम गन्तव्यतर्फ जान थालेको बताए । अघिल्लो वर्षको तुलनामा आरोहीको सङ्ख्या बढ्ने उनले उल्लेख गरे ।

“अहिलेसम्मको आँकडा हेर्दा हिमाल आरोहीको सङ्ख्या यसपटक बढ्ने देखिएको छ, दैनिक तीन/चार आरोही समूहलाई आवश्यक निर्देशनसहितको जानकारी ‘ब्रिफिङ’ गरिरहेका छौँ”, महानिर्देशक घिमिरेले भने ।

यो यामको आरोहणका लागि बाटो खुलाउन शेर्पा आरोही डोरी टाँग्ने (रोप फिक्सि)का लागि सगरमाथाको चुचुरोतर्फ खटिएको विभागले जनाएको छ । आरोही हिमालतिर लागे पनि वैशाखको तेस्रो सातादेखि मात्र आरोहण शुरु हुने जनाइएको छ । सगरमाथासहितका हिमाल आरोहणमा देखिएका विकृतिलाई नियन्त्रण गर्न नियामक निकाय पर्यटन विभागले पर्वतारोहणलाई थप व्यवस्थित गर्ने भएको छ ।

आरोहणका क्रममा सम्पर्क अधिकृत खटाएका स्थानमा नजाने तथा आरोहणमा संलग्न कम्पनीले फर्जी कागजात पेश गरेर आरोहणको प्रमाणपत्र लिनेजस्ता विकृति बढेको भन्दै विभागले आरोहणलाई मर्यादित बनाउन लागेको हो । विभागका निर्देशक मीरा आचार्यका अनुसार विगतमा आरोहणमा भएका विकृतिजन्य गतिविधिलाई नियन्त्रण गरी आरोहणलाई विश्वसनीय र प्रभावकारी बनाउन खटिने सम्पर्क अधिकृतलाई विशेष जिम्मेवारीका साथ पठाइनेछ ।

आरोहणमा अनुशासन कायम गर्न आरोहणको यो यामदेखि सुरक्षाकर्मीलाई पनि सम्पर्क अधिकृतका रूपमा खटाइने विभागले जनाएको छ । छ हजार ५०० मिटरमाथिका हिमाल आरोहणमा सरकारले सम्पर्क अधिकृत खटाउने गरेको छ । आरोहण दलको सङ्ख्याअनुसार सम्पर्क अधिकृत खटिन्छन् । सगरमाथा आरोहणमा जानेबाट सरकारले प्रतिव्यक्ति विदेशीसँग रु ११ लाख दस्तुर लिन्छ । नेपालीले रु ७५ हजार तिर्नुपर्छ ।

विदेशीले एक पटक सगरमाथा आरोहण गर्दा कम्तीमा रु ३० लाखदेखि रु एक करोडसम्म खर्च गर्छन् । मुलुकको पर्यटनको महत्वपूर्ण आधार मानिने पर्वतारोहण राजश्व आम्दानीका हिसाबले पनि सबैभन्दा धेरै हिमालबाटै रोयल्टी उठ्छ । नेपाल पर्वतारोहण सङ्घका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाका अनुसार हालसम्म आठ हजारभन्दा बढीले सगरमाथा आरोहण गरिसकेका छन् । व्यक्तिगतरूपमा मात्रै पाँच हजारको हाराहारीले आरोहण गरेका छन् ।

सिवी अधिकारी / रासस

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार  १० : ४१ बजे

प्रकृति र संस्कृतिले भरिपूर्ण मुस्ताङ (तस्बिरहरू)

मुस्ताङ– प्राकृतिक तथा सांस्कृतिक रूपले धनी मुस्ताङमा घुम्न लायक थुप्रै

बाढीले झापाको सुगाबथानका २२ घर डुबानमा

झापा– झापाको झापा गाउँपालिका–२ स्थित सुगाबथान क्षेत्रमा माईखोलाको बाढी बस्तीमा

गृहमन्त्रीको राजीनामा माग्नु अनुचित : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले एकजना कर्मचारीमाथि प्रश्न उठेकै भरमा

धूमपानको लतले बिगारेको शारीरिक र मुख स्वास्थ्य

विश्व स्वास्थ्य सङ्गठनले केही वर्षअघि गरेको सर्वेक्षणमा मुलुकको ७२ प्रतिशत

भोकमरी, सेल्टरमा इजरायली आक्रमण र अनियन्त्रित राहत वितरण

एकातर्फ इजरायली नरसंहार, अर्कोतर्फ हमासको एकोहरो रटान। यसका बिच अहिले