विश्वकप छनोट अभ्यासका लागि मैदान व्यवस्थापनमा चुक्यो एन्फा « Khabarhub

विश्वकप छनोट अभ्यासका लागि मैदान व्यवस्थापनमा चुक्यो एन्फा



काठमाडौं – नेपाली फुटबलको इतिहासमा पहिलो पटक नेपाली राष्ट्रिय फुटबल टोलीले सिधै फिफा विश्वकप-२०२२ को दोस्रो चरणमा स्थान बनाएको छ ।

एसियाली देशको वरियतामा ३४ औं स्थानभित्र पर्ने टिम स्वत: दोस्रो चरण पुग्ने फिफाको नियम अनुसार नेपाल विश्वकपको दोस्रो राउण्डमा पुगेको हो ।

अहिले नेपाली फुबटल टोली फिफा विश्वकप- २०२२ तथा एसियन कप-२०२३ छनोटका लागि अभ्यासमा व्यस्त छ । अखिल नेपाल फुटबल संघ(एन्फा) को सातदोबाटोस्थित मैदानमा नेपाली टोलीले अभ्यास गरिरहेको छ ।

प्रत्येक दिन जसो खेलाडीलाई नयाँ-नयाँ तरिकाले अभ्यास गराउने गरेका प्रशिक्षक योहान कालिनका लागि मैदान भने सिमित भएको छ । उनका लागि अभ्यास गराउन एक मात्रै मैदान हो एन्फा मैदान । एन्फा मैदान ‘आर्टिफिसियल’ अर्थात् ‘टर्फ’ मैदान हो । तर, भोलि विश्वकप छनोट होस् वा अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा होस् टोलीले ‘नेचुरल’ घाँसे मैदानमा खेल्छ । तर, प्रशिक्षक कालिनसँग भने नेपाली टोलीका लागि अभ्यासका लागि घाँसे मैदान नै छैन ।

अभ्यासमा व्यस्त नेपाली टोलीका खेलाडीका लागि ‘टर्फ’ मैदानको अभ्यासले अभ्यस्त बनाउने भएकाले पछि घाँसे मैदानमा खेल्दा उनीहरुले राम्रो नतिजा दिन नसक्ने राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक राजुकाजी शाक्य बताउँछन् ।

अभ्यासकै क्रममा पनि घाम लागेको दिन मैदानमा दौडिन खेलाडीलाई असहज भइरकेको उनीहरु बताउँछन् । तर, एन्फाले भने खेलाडीका लागि ‘नेचुरल’ मैदानको समेत व्यवस्था गर्न सकेको छैन ।

नेपालको एक मात्रै रंगशाला ‘दशरथ रंगशाला’ पूनर्निर्माणका क्रममा रहेको छ ।

विसं २०७२ को भूकम्पले क्षति पुर्‍याएपछि यतिबेला रंगशालाको पुनर्निर्माण भइरहेको छ ।

त्यसै कारण एन्फा मैदान नै एकमात्रै विकल्प बनेको छ ।

नेपाली टोलीका प्रशिक्षकले विभिन्न समयमा खेल हार्दा त्यसको एक कारण खेल मैदानमा अभ्यास गर्न नपाउँनुलाई उल्लेख गर्दै आएका छन् ।

जेष्ठ दोस्रो साता नेपालले मलेसियासँग अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेल खेलेको थियो । उक्त खेल नेपालले २-० गोल अन्तरले हार्न पुग्यो ।
खेलपछि मिडियासामू प्रस्तुत भएका नेपाली टोलीका प्रशिक्षक योहान कालिनले भनेका थिए,‘हाम्रा लागि मैदान त्यति सजिलो भएन ।’

गत वर्ष नेपालले बंगलादेशमा सम्पन्न साफ च्याम्पियनसिपको अन्तिम ४ मा स्थान बनाएको थियो । तर, सेमिफाइनलमा माल्दिभ्ससँग ३-० गोल अन्तरले पराजित भएपछि फाइनल पुग्दै इतिहास कोर्ने लक्ष्यबाट नेपाल विमुख भयो ।

पराजय लगत्तै नेपाली टोलीका तत्कालिन मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले ‘घाँसे मैदान’ पनि हारको कारण भएको बताएका थिए ।

विगतमा लगातार ठूला प्रतियोगितामा पनि घाँसे मैदान हारको कारण बनेको तितो यर्थाथका बीच पनि अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय टोलीको अभ्यासका लागि अहिलेसम्म एक ‘नेचुरल ग्राउण्ड’को व्यबस्था मिलाउन नसक्नुमा एन्फाको कमजोरी रहेको बताउँछन् पूर्व प्रशिक्षक शाक्य ।

‘राष्ट्रिय टोलीको अभ्यास पर्याप्त मात्रामा हुनुपर्यो । भोलि नतिजा आफ्नो ठाउँमा छ,’ शाक्यले भने,‘पहिले जस्तो एन्फालाई अहिले बजेटको समस्या छैन । बजेट हुँदा पनि पूर्वाधार बनाउन नसक्नुमा एन्फाको कमजोरी छ । हामीले अन्य टिम सरहनै नेपाल तयार हुनु पर्छ ।’

‘टर्फ मैदान’मा खेलेको बानीले घाँसे मैदानमा खेल्दा खेलाडीहरुमा ‘कन्फिडेन्स’ पनि नआउने उनको भनाइ छ ।

यस्तै, यु-२३ राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जन पनि अन्तर्राष्ट्रिय खेलमा नेपाली टोलीलाई मैदान पनि बाधक बन्ने गरेको स्वीकार्छन् । ‘नेपाल विगत देखि नै यो समस्या भोग्दै आइरहेको छ । साफ, बंगबन्धु गोल्डकप जस्ता प्रतियोगितामा घाँसे मैदानमा अभ्यासको अभाव सधै खड्कि रह्यो,’ महर्जनले भने,‘विश्वकप छनोट जस्तो प्रतियोगिता खेल्न ‘नेचुरल’ मैदान पनि आवश्यक हुन्छ । तयारी अनुसार खेलको योजना बन्छ ।’

आर्टिफिसियल मैदानमा जुन तरिकाले बल पास हुन्छ वा मोडिन्छ त्यो घाँसे मैदानमा नहुन सक्ने पूर्व प्रशिक्षक शाक्य बताउँछन् ।

असार ८ गतेदेखि विश्वकप छनोटको अभ्यासमा व्यस्त नेपाली टोलीसँग टर्फ मैदान बाहेक अन्य मैदान अभ्यासका लागि उपलब्ध नभएका कारण पनि नेपाली टोलीले विश्वकप छनोटमा गर्ने प्रदर्शनलाई लिएर प्रश्न उठ्ने गरेको छ ।

विपक्षी टोलीसधै घाँसे मैदानमा अभ्यास गरिरहेका हुन्छन् । उनीहरुलाई नेपाल जस्ता टर्फमा अभ्यास गरेर गएका टोलीसँग सामना गर्न धेरै अफ्ठ्यारो हुँदैन् । नेपाली टोलीका कप्तान विराज महर्जन पनि टर्फ मैदानको अभ्यास भन्दा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेचुरल ग्राउण्डको अभ्यास प्रभावकारी हुने बताउँछन् । तर, एन्फाले अहिलेसम्म कुनै विकल्प खोज्न सकेको छैन् ।

नेपालमा नेचुुरल मैदान अन्तर्राष्ट्रिय प्रतियोगिता खेलाउनलाई उपलब्ध नभएपनि अभ्यासका लागि प्रयाप्त छन् । जसमा धरान फुटबल मैदान, विराटनगर रंगशाला, झापाको फुटबल मैदान, नेपालगञ्ज रंगशाला लगायतका नेचुरल मैदान राजधानी बाहिर रहेका छन् भने काठमाडौंमै पनि शसस्त्र प्रहरीको हलचोक स्थित एपीएफ मैदान, भद्रकालीस्थित त्रिभुवन आर्मी क्लबको रंगशाला लगायत मैदानहरु छन् । तर, एन्फाले कुनै पनि मैदानमा अभ्यास गर्ने वातावरण मिलाउन सकेको छैन ।

‘हामी अहिले एन्फा मैदानमै अभ्यास गरिरहेका छौं । अहिले नै हामीसँग नेचुरल मैदान उपलब्ध छैन,’ राष्ट्रिय टोलीको तयारी समितिका संयोजक मधुसुदन उपाध्यायले भने,‘तर, हामीले नेचुरल मैदानमा अभ्यास गर्ने योजना बनाएका छौं । त्यसका लागि माल्दिभ्ससँगको मैत्रिपूर्ण फुटबलको पनि कुरा भइरहेको छ । त्यस्तो हुँदा केही सहज हुन्छ । यदि त्यो हुन सकेन भने पनि कुवेत हामी खेलभन्दा १ साता अगाडि नै जाने योजनामा रहेका छौं ।’

उपाध्यायले माल्दिभ्स जाने कुरामा कुनै अवरोध आए घरेलु लिग हुने मैदान जहाँ राष्ट्रिय टोलीको पनि अभ्यास गर्न मिल्ने होस् त्यहाँ गएर अभ्यास गर्ने योजना बनाइरहेको बताएका छन् । एन्फा प्रवक्ता किरण राई एन्फा मैदानको विकल्पका रुपमा मैदान तयार गर्ने बारे सोच्नु पर्ने अवस्था आएको बताए पनि अहिलेसम्म त्यस्तो कुनै योजना एन्फाको नरहेको बताएका छन् ।

‘अहिले टोली टर्फ मै अभ्यास गरिरहेको छ । तर, अहिलेसम्म कुनै त्यसको विकल्प हामीसँग छैन् । तर, यसबारेमा सोच्नु पर्ने चाँही पक्कै हो,’ प्रवक्ता राईले भने ।

प्रकाशित मिति : १७ श्रावण २०७६, शुक्रबार  १२ : ४७ बजे

विपद् प्रतिकार्यसम्बन्धी कार्ययोजना अनुमोदन

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले विपद् व्यवस्थापनलाई थप

गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं- आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीको न्यायको माग

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पीडितले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको

प्रेम र गणेशको शरीरमा सल्किएको आगो निभ्यो, निभेन प्रश्न

काठमाडौं- पटक पटक सरकार फेरिए । प्रधानमन्त्री फेरिए । सत्ता

न्युजिल्यान्ड र भारतबीच ‘रणनीतिक साझेदारी’ घोषणा, रक्षा र व्यापार सहकार्य विस्तार गर्ने सहमति

अकल्यान्ड- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ऐतिहासिक न्युजिल्यान्ड भ्रमणका क्रममा दुवै देशले