फुटपाथका व्यापारीसँग घुस माग्छन् ‘महानगर–प्रहरी’ | Khabarhub Khabarhub

फुटपाथका व्यापारीसँग घुस माग्छन् ‘महानगर–प्रहरी’



काठमाडौं–आइतबार दिउसो इन्द्रचोकको साँघुरो सडकमा एक महिला ठेलामा कपडा बेच्दै थिइन् । कपडा बेच्नकै लागि उनी भित्री सडकमा दिनभरी ठेला धकेल्दै हिड्ने गर्छिन् ।

पहिले सडकको पेटीमा बसेर कपडा बेच्ने उनी महानगरले फुटपाथमा बसेर व्यापार गर्न मनाही गरेसँगै ठेलामा राखेर कपडा घुमाउँदै हिड्ने गरेको बताइन् ।

इन्द्रचोकको व्यस्त सडक । मानिसहरु आवतजावत गर्न मुस्किल । दुई पांग्रे सवारीले हर्न बजाउदै थिए । ठेला साइड लगाउन निकै मुस्किल पनि देखिन्थ्यो ।

‘महानगरले फुटपाथमा व्यापार गर्न नपाइने नियम ल्याएकै हो तर रोजिरोटीका लागि बाध्य भएर यसरी व्यापार गर्नुपरेको छ’ उनले भनिन् ।

ठेला गुडाइरहँदा धेरै पटक महानगर प्रहरीले समातेको अनुभव पनि उनले सुनाइन् । ‘व्यापार गर्ने ठाउँ नै छैन भन्छु, एक सय दिनुस् भन्छन् पैसा दिनुपर्छ छोडिदिन्छ’, उनले आफ्नो दुखेसो सुनाइन्। उनले दैनिक एक पटक महानगर प्रहरीलाई पैसा बुझाउने गरेको बताइन् । उनले भनिन्, ‘जे छ पैसामै छ । म पैसाका लागि दुःख गरिरहेको छु । उनीहरु मसँग पैसा लिन्छन्।’

त्यस्तै असनको अर्को सडकमा हिड्ने एक महिलाले पनि उही कुरा सुनाइन् । उनी असन, इन्द्रचोक, भोटाहिटी, सुन्धारा, वसन्तपुरका भित्री सडकमा ठेलामा चटपटे लिएर हिड्छिन । चटपटेसँगै उनको ठेलामा मकै, भटमास, केराउ, चनालगायतका खानेकुरा राखिएको देखिन्थ्यो ।

आइतवार दिउँसोको चर्को घाममा चटपट खानका लागि युवाहरु त्यो ठेला वरिपरि भीड लागेका थिए । त्यी महिला भने धेरै मानिसहरु नआएपनि हुन्थ्यो जस्तो गर्दै थिइन । कारण थियो ‘महानगर–प्रहरी’ ।

छेउमा बसेका युवतीहरुलाई खुसुक्क भन्दै थिइन् ‘अलि छिट्टो खानुस् न’ । अचम्म मानेर उनीहरु चटपटे साहुनीलाई हेर्दै थिए ।
चटपटे खाना बसेकाहरुलाई भन्दै थिइन्, ‘कागजको सोलीमा हाल्दिन्छु खाँदै जानुस् न।’ अचम्म त यस कुरामा थियो कि ‘ग्राहकलाई हत्तार हत्तार गर्दै किन पठाउँदै छिन् उनी ।’

अचम्म मान्दै उनीहरुले प्रश्न गरे, ‘दिदी किन यति हतार गर्नुभएको ?’ उनले भनिन्, ‘महानगर प्रहरी घुमिरहन्छ, यसरी बेच्न दिदैँन ।’ उनी हतारमा थिइन् । त्यही पनि दायाँबायाँ हेर्दै चटपटे बनाउन भने छोडिनन् ।

‘महानगरले देखिहाल्यो भने २ सय रुपैयाँसम्म माग्छ, हत्तार नगरेर के गर्नु’ उनले भनिन् । भनिन्छ, जीविकोपार्जनका लागि जस्तो काम पनि गर्नुपर्छ । मुख्य सडकमा बस्नै नदिएपछि उनीहरु भित्री सडकमा फुटपाथमै ठेला गुडाउँदै भएपनि जसोतसो जोहो गरिरहेकै छन् ।

पैदलयात्रु हिड्नका लागि बनाइएको आकाशेपुल पनि फुटपाथ व्यापारीले भरिन्छन् । निकै व्यस्त हुने क्षेत्र रत्नपार्क, सुन्धारा, एनएसी,भद्रकाली नयाँ बसपार्कका आकाशेपुल र अन्य क्षेत्रमा बस्ने फुटपाथ व्यापारी भने महानगरको गाडी देख्नसाथ सामान कुम्लो पार्दै दगुर्ने गरेका छन् ।

हो, फुटपाथमा व्यापार गर्नु हुदैँन । यसले पैदलयात्रीलाई समस्यामा पार्छ । महानगरले यसलाई व्यवस्थापन गर्नैपर्छ । व्यवस्थापनका लागि नयाँ नियम ल्याएर मात्र हुँदैन । त्यसको प्रभावकारी कार्यान्वयन गर्न सक्नुपर्छ । फुटपाथ पसलेको व्यवस्थापनसहित प्रभावकारी कार्यान्वय नगर्दा समस्याको समाधान हुँदैन ।

के भन्छ महानगर ?

महानगरले केही समयअघि फुटपाथमा व्यवसाय गर्न नपाइने र यदि गरेको फेला परेमा सामान खोस्ने नियम ल्याएको थियो । साथै अटेर गरेर फुटपाथमा व्यापार व्यवसाय गरेमा सामान फिर्ता नहुने नियम अघि सारेको थियो ।

मुख्य सडकमा यसको राम्रो कार्यन्वयन भएको काठमाडौं महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोलले बताए । ‘सडकमा अहिले फुटपाथ देखिदैँन’ उनले भने ।

मुख्य सडकमा फुटपाथमा व्यापार गर्नेलाई नियन्त्रणमा लिए पनि भित्रीको सडकको अवस्था भने नियन्त्रण हुन सकेको छैन ।

महानगर प्रहरी र फुटपाथ व्यापारीको मिलोमतोमा पैसा लिनेदिने कार्य भएको तर यस विषयमा महानगरपालिकालाई जानकारी नभएको डंगोलले बताए । ‘व्यापारीले पनि महानगरमा आएर भन्नुपर्‍यो आफुखुसी पैसा दिएपछि कसरी कारवाही गर्ने’ उनले भने । महानगरमा आएर जानकारी गराएको खण्डमा महानगरले दुवैलाई कारवाही गर्ने उनको भनाई छ ।

महानगरपालिकाले फुटपाथ अतिक्रमण नियन्त्रणका लागि महानगर प्रहरी परिचालन गर्ने गरेको बताउँदै डंगोलले नयाँ वर्षबाट बिहान ८ बजेदेखि राति १० बजेसम्म महानगर प्रहरी सडकमा परिचालन हुने बताए। अहिले बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म काम गरिरहेको उनले जानकारी दिए ।

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार  ९ : ०९ बजे

सरकारलाई कांग्रेसले ढाल्नु पर्दैन, आफै ढल्छ : रमेश लेखक 

काठमाडौं– नेपाली कांग्रेसले वर्तमान सरकार कांग्रेसले ढाल्नु नपर्ने आफैँ ढल्ने

काश्मिरमा डुङ्गा डुब्दा छ जनाको मृत्यु, कयौँ बेपत्ता

नयाँदिल्ली– काश्मिरमा मंगलबार डुङ्गा पल्टिँदा डुङ्गामा सवार चारजना स्कुले बालबालिकासहित

लोसपाले छाड्यो मधेश सरकार 

काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले मधेश सरकार छाडेको छ । 

लेखा व्यवसायीहरूको तेस्रो राष्ट्रिय सम्मेलन बिहीबारदेखि, आईएफएसी अध्यक्ष रेसमौकीले सम्बोधन गर्ने

काठमाडौंऔ- लेखा व्यवसायीहरूको तेस्रो राष्ट्रिय लेखा व्यवसायी सम्मेलन बिहीबारदेखि राजधानीमा

विधेयक बनाउँदा आदिवासी जनजाति महिलाका विषय समेट्न माग

काठमाडौं– सरोकारवालाहरूले विधेयक निर्माण गर्दा आदिवासी जनजाति महिलाका विषय प्राथमिकतामा