कोटेश्वर-कलंकी सडक : हेर्न राम्रो, यात्रा जोखिमपूर्ण « Khabarhub

कोटेश्वर-कलंकी सडक : हेर्न राम्रो, यात्रा जोखिमपूर्ण



काठमाडौं- राजधानीको कोटेश्वर कलंकी सडक हेर्दा चिटिक्क देखिन्छ । ८ लेनको यो सडकका छेउछाउमा फुटपाथ पनि फराकिला देखिन्छन् । झट्ट हेर्दा आकर्षक देखिएपनि सडक पूर्वाधारको अभावमा यात्रुहरु जोखिमपुर्ण यात्रा गर्न बाध्य छन् ।

सडकलाई व्यवस्थित बनाउन आवश्यक पूर्वाधारको विकास भएको छैन । कोटेश्वरदेखि बल्खुसम्मको सडक हेर्ने हो भने आकाशे पुल, जेब्रा क्रस, बस बिसौनी, ट्राफिक बत्ती, सडक बत्ती र डिभाइडरको अभाव देखिन्छ ।

त्यस्तै पैदलयात्रुका लागि उचित स्थानमा आकाशे पुल देखिदैन । जसकारण पैदलयात्रु सडकको बीच बाटै बाटो काट्ने गर्दछन् । कोटेश्वरदेखि कलंकीसम्म ३ स्थानमा (कोटेश्वर, ग्वार्खो र बागडोल) मात्र आकाशे पुल निर्माण भएको छ ।

‘पहिलेको तुलनामा जाम केही घटेपनि यात्रा गर्न जोखिम हुन्छ’ एक सवारी चालकले भने । सडक बत्ती नहुँदा रातको समय अध्यारोमा सवारी गुडाउनुपर्ने बाध्यता रहेको उनको गुनासो छ ।

कोटेश्वरदेखि कलंकीसम्म पुग्दा ५ स्थानमा (कोटेश्वर, ग्वार्खो, सातदोबाटो, एकान्तकुना र बल्खु) मात्र जेब्रा क्रसिङ छन् । बाँकी स्थानमा कहाँबाट बाटो क्रसिङ गर्ने भन्ने अन्योल देखिन्छ ।

त्यति मात्र होइन, सवारी साधन स्पिडमा आउँछन् । पैदलयात्रुहरु सडकको बीचमा छरिएर बाटो क्रस गरिरहेका देखिन्छन् ।

‘सवारी हाक्नेलाई ८ लेनको सडक छ, पैदल यात्रुलाई न जेब्रा क्रस छ, न आकाशे पुल नै’ बालकुमारीका एक स्थानीयले भने । निर्माणका क्रममा सुरक्षामा ध्यान नदिँदा यो समस्या आएको उनले बताए । सडक बन्यो भनेर खुसी होइन दैनिक आवतजावत कसरी गर्ने भन्ने कुराको चिन्ता छ स्थानीयलाई ।

अहिले पनि सडक निर्माणको काम जारी छ । बीचको भागमा ४ लेन सडक सम्पन्न भएको छ भने दायाँबायाँ २/२ लेन सडक निर्माण हुदैँछ । सडक निर्माणको ठेक्का लिएका ठेकेदारहरु धमाधम काम गरिरहेका छन् । सडक निर्माणको जिम्मा चिनियाँ कम्पनी सांघाइ कन्स्ट्रक्सन ग्रुपले लिएको थियो ।

स्पीड लिमिट पालन गर्दैनन् चालक

सडक खुल्ला र ठूलो हुन अहिले दुर्घटनाको कारण बन्दै गएको छ । खाली सडक देखेपछि सवारी चालकले तीव्र गतिमा सवारी गुडाउने गरेको ट्राफिक प्रहरीले जनाएको छ ।

ट्राफिक महाशाखाका अनुसार अहिले यो सडकमा सवारी साधनले स्पीड लिमिटभन्दा सँधै माथि हुने गरेको छ । कोटेश्वर कलंकी सडकको स्पीड लिमिट ५० किलोटिर प्रतिघण्टा तय गरिएको छ । तर, चालकले यो नियम पालना नगर्ने ट्राफिकको भनाई छ।

खुल्ला सडकमा धेरै दुर्घटना

सडक विस्तार भएपछि दुर्घटनाको क्रम पनि बढेको छ । सडक विस्तार भएपछि मात्रै दुर्घटनामा परी १० जनाले ज्यान गुमाएका छन् । ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) जयराज सापकोटाले विस्तार भएको सडकमा पनि दुर्घटना बढेको बताए । सडकको पूर्वाधार निर्माण सम्पन्न नभएको भन्दै सापकोटाले समयमै व्यवस्थित नबनाइए दुर्घटना अझै बढ्ने खतरा रहेको बताए ।

सापकोटाले भने, ‘दुर्घटनामा सवारी साधन र चालकको मात्र दोष हुदैँन, सडकको अवस्थाको कारण पनि दुर्घटना बढिरहेको छ ।’

सडक विभागका विज्ञले अध्ययन गर्दै

चिनियाँ कम्पनीले सडक बनाएर हस्तान्तरण गरेदेखि नै सडकलाई व्यवस्थित बनाउने योजना अघि बढाएको सडक विभागले जनाएको छ ।

कोटेश्वर कलंकी सडकका कुनकुन स्थानमा आकाशे पुल, जेब्रा क्रसिङ, डिभाइडर राख्ने भन्ने विषयमा विभागमा हाल छलफल चलिरहेको सडक सुरक्षा तथा ट्राफिक शाखाका सिनियर डिभिजन इन्जिनियर दीप बराहीले जानकारी दिए ।

‘विज्ञको अध्ययन सकिएको छ, वैशाखको पहिलो साताबाटै काम अघि बढ्छ’ खबरहबसँग कुरा गर्दै उनले भने । बराहीका अनुसार सुरुवातमा छोटो समयमा सकिने काम गरिने र अन्य कामलाई विस्तारै अघि बढाइने छ ।

प्रकाशित मिति : २१ चैत्र २०७५, बिहीबार  १० : ४५ बजे

प्रधानमन्त्री शाहले आज विश्वविद्यालयका उपकुलपतिहरूसँग छलफल गर्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले आज  विश्वविद्यालय र  प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल

इरानी पानी जहाज नियन्त्रणमा लिएको अमेरिकाको दाबी, इरान भन्छ– ‘समुद्री डकैतीको जवाफ दिन्छौँ’

काठमाडौँ– अमेरिकाले स्ट्रेट अफ होर्मुज नजिकैबाट एउटा इरानी पानीजहाज नियन्त्रणमा

कांग्रेस विवादमा सहमति : नेता खड्कामाथिको स्पष्टीकरण फिर्ता लिने तयारी

काठमाडौँ– नेपाली कांग्रेसमा चर्किएको आन्तरिक विवादमा सहमतिको वातावरण बनेको छ

विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेजी सरकारको चरम अलोकतान्त्रिक कदम : प्रदीप ज्ञवाली

काठमाडौँ– नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न सरकारसँग जेनजी मुभमेन्टको माग

काठमाडौँ– जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङलाई तत्काल पदबाट बर्खास्त