महाकुम्भ : पुण्य कमाउनेको लर्कोदेखि बालसन्तको चर्चासम्म « Khabarhub

महाकुम्भ : पुण्य कमाउनेको लर्कोदेखि बालसन्तको चर्चासम्म



प्राचिन हरिद्वारको नामले समेत परिचित सुनसरीको बराहक्षेत्र-१, चतराधाममा गत चैत्र २३ देखि जारी दोस्रो अर्द्ध महाकुम्भ उत्तरार्धमा पुगेको छ ।
यही बैशाख २४ गते अर्द्ध महाकुम्भ समापन हुँदै गर्दा लाखौं भक्तजनहरुले कौशीकी नदिमा कुम्भ स्नान गरेको आयोजकले दावी छ । यज्ञ, महायज्ञ, होम, दान, सत्संग, दिव्यउपदेश, प्रवचन, सन्त महन्तहरुको जमघट र सम्मान तथा कौशीकीको स्नान गरेर पुण्य कमाउन दैनिक हजारौंको संख्यामा भक्तजनहरुको लर्को छ ।

पिण्डेश्वर महाकुम्भको महिमा भारतको हरिद्वार, प्रयागराज, उज्जैन र नासिकको भन्दा फरक रहेकाले चतराधाम पुग्नेहरु बराहक्षेत्र हुँदै धरानको विजयपुर डाडाँमा रहेको पिण्डेश्वर महादेवको दर्शनसम्म पुग्ने गर्छन । यसले धार्मिक पर्यटनलाई चलायमान बनाउन समेत मद्दत मिलेको स्थानीयहरु बताउँछन ।

अझ नेपालबाट मात्र नभई सनातन हिन्दु धर्मका अनुरागीहरु अमेरिका युरोपबाट समेत आउँदा यसको महत्वलाई अझ बढी उचाईमा पुर्‍याएको छ । जगतगुरु सञ्चार केन्द्रका निर्देशक एवं कुम्भ प्रचार प्रसार समितिका संयोजक प्रह्लाद भट्टराईका अनुसार महाकुम्भमा भक्तजनको सहभागिता अपेक्षा भन्दा बढी छ ।

‘कुम्भ समापनको सन्निकट आइरहँदा २० लाख हाराहारीमा भक्तजनहरुले कुम्भ स्नान गरेको हामीले आंकलन गरेका छौ, अझ कुम्भको महत्वलाई युरोप र अमेरिकाबाट आएका भक्तजनहरुले थप उचाईमा पुर्‍याएको हामीले आभाष गरेका छौ ।’

उनका अनुशार कुम्भमा अमेरिका, अष्ट्रेलिया, नर्वे लगायतका मुलुकबाट भागवत शरण भीम तिम्सनाको नेतृत्वमा सयौंको संख्यामा भक्तजनहरु सह्रिक भएका छन । सात समुन्द्र पारिबाट पनि कुम्भको महत्व र महिमा बढाउँदै धर्म जागरणमा लागेको भन्दै जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यले तिम्सिनालाई धर्माचार्यको उपाधिले सम्मान समेत गर्नुभएको भट्टराईले जानकारी दिए ।

जनस्तरको सहभागिताले आयोजकलाई कुम्भले हौसाए पनि राजनीतिक स्तर त्यसमा केन्द्र सरकारको प्रतिनिधित्व उत्साहजनक नहुँदा कता/कता खल्लो महशुष भएको आयोजक समितिका एक जना पदाधिकारीले बताएका छन । यद्यपी प्रदेश नम्बर १ को सरकार नै महाकुम्भको संयोजक रहनु, मुख्य मन्त्री देखि प्रदेशका अन्य मन्त्री र प्रदेश ७ का मुख्य मन्त्रीको समेत सहभागिताले उत्साह भने छाएको आयोजकले जनाएको छ ।

‘प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दा कुम्भको रौनक अर्कै हुन्थ्यो, के गर्नु मौसम खराब हुँदा उहाँ आउन सक्नु भएन प्रचार प्रसार समितिका संयोजक प्रह्लाद भट्टराई भन्छन् ‘यसै कारण कता/कता केन्द्रका राजनीतिज्ञको पनि ध्यान तान्न सकिएन कि वा व्यस्तताले उहाँहरु नआउनुभएको होला तर राष्ट्र जागरणको यस्तो महान कर्ममा उहाँहरु छुट्नु भो ।’

तथापी कुम्भका लागि सरकारी स्तरबाट देखाइएको सहयोग, सुरक्षा व्यवस्था र अन्तिम समयमा बिनियोजन भएको ५० लाख रुपैयाँले समेत कुम्भको दायित्वबाट सरकार पछि हट्न सक्दैन भने दृष्टान्त भने स्थापित भएको आयोजकको ठम्याई छ ।

लर्को पैसा कमाउने 

झण्डै एक महिनादेखि जारी कुम्भमा लागेको लर्को पुण्य कमाउनेको मात्र छैन, पैसा कमाउनेको पनि देखिन्छ । जगद्गुरु पीठको सम्मुखको सडक किनारमा रहेका पूजासामग्री, पोषाक, जुत्ताचप्पलदेखि खाद्यन्न सम्मका झण्डै एक हजारको संख्यामा रहेका स्टलले पैसा कमाउनेहरुको लर्कोलाई पनि प्रतिविम्वित गरेको छ ।

तर सामान्य नाफा लिएर ब्यापार गर्नेहरुलाई भने सेवककै रुपमा लिनुपर्ने आयोजकहरु बताउँछन । ‘लाखौं मानिस पुण्य कमाउन आउने कुम्भस्थलमा सेवा दिन बसेकाहरुलाई कमाउनकै लागि मात्र बसेको दृष्टिले हेर्न हुँदैन, जगद्गुरु पीठका सचिव उद्दव घिमिरे भन्छन – अनैतिक र असामान्य नाफा लिएका रैछन भनेचाँही त्यसको नियमन गर्न जरुरी छ, अन्यथा उनिहरुले पनि सेवा नै दिइरहेका छन ।’ खराब मनासाय नराखि खटाई अनुसार उचित पारिश्रमिक र मुनाफा लिएर ब्यापार गर्नेलाई भक्तजनका पनि सेवक ठान्न जरुरी छ । यसले ग्रामिण अर्थतन्त्र चलायमान गराउन पनि मद्दत मिल्ने आयोजक समितिका पदाधिकारीहरु बताउँछन ।

के हो कुम्भ

कुम्भको शाब्दिक अर्थ कलश, घैंटा, घडा भन्ने लाग्छ । अर्थात अमृतरुपी घैंटो नै कुम्भ हो । कुम्भ मेलाको प्रसंग पनि यही अमृतरुपी घडासँगै जोडिन्छ । धार्मिक अध्येताहरुका अनुसार सत्ययुगमा देवता र दानव मिलेर समुन्द्र मन्थन हुन्छ । समुन्द्र मन्थनका क्रममा अमृत र कालकुट बिष निस्कन्छ ।

कालकुट बिष भगवान शंकरले पिएर कल्याण गरे । बाँकी रह्यो अमृत । अमृत कसले खाने भन्नेमा देवता र दानवबीचको विवाद उत्कर्षमा पुग्छ । विवाद बढ्दै गएपछि भगवान इन्द्रका पुत्र जयन्तले कागको रुप धारण गरी अमृतको घडा बोकी भाग्छन । जयन्तले अमृतको घडा बोकेर भाग्दैमा धर पाउँदैनन उनका पछिपछि दानवहरु लाग्छन ।

त्यसक्रममा भारतका हरिद्वार, प्रयागराज, उज्जैन र नासिकमा एक/एक थोपा अमृत खस्छ । सोही ठाउँमा अमृतउत्सवका रुपमा कालान्तरमा कुम्भ मेला लाग्न थालेको अध्येताहरु बताउँछन । धार्मिक ग्रन्थहरुमा पनि महाकुम्भको सन्दर्भ अमृतको थोपासँगै ब्याख्या गरियो । शताब्दीऔंदेखि कुम्भ भारतका ४ ठाउँमा लाग्दै आयो लागिरहेको छ । एक पटकको कुम्भ स्नानले हजारौं अश्वमेध यज्ञ गर्दा जति फल मिल्छ लाखौं पटक पृथ्वि परिक्रमा गर्दा जुन फल प्राप्त हुन्छ सोही बराबर पुण्ण मिल्ने जनविश्वास छ ।

नेपालमा कुम्भको प्रमाणिकता

नेपालका सन्दर्भमा महाकुम्भको प्रसंग फरक छ। नेपालमा भने कुम्भको सुरुवात जगतगुरु बालसन्त मोहनशरण देवाचार्यको अन्वेषणपछि मात्र सम्भव भयो । अर्थात जगतगुरु बालसन्तकै भनाईमा अमृतको थोपा खसेठाउँमा कुम्भ हुने अमृतको छालि राखिएको स्थानमै चाँही कुम्भ किन नहुने भन्ने तर्कलाई शास्त्रका माध्यमबाट पुष्टि गरेपछि नेपालमा पहिलो पटक २०५९ सालमा पहिलो पटक कुम्भको श्रीगणेश गरियो ।

जगतगुरु बालसन्तले स्कन्द महापुराणलाई उदृत गर्दै बताए अनुसार इन्द्रका छोरा जयन्तले अमृतको घडा लिएर जति भागेपनि दावनले नछाडेपछि जयन्तले अन्ततः अमृतको घडालाई क्षीरसागर नामको प्रसिद्ध हिमालयमा कौशिकी नदीको उत्पत्ति स्थल सगरमाथाको फेदीमा ल्याएर राखी जयन्त स्वर्ग लोक गए ।
ततपश्चात देवता र दानवहरुबीच अमृत कसले खाने भन्ने विवाद अझ उग्र भयो ।

लगत्तै भगवान बिष्णुले मोहिनीरुप धारण गरी देवता र दानवलाई मोहित पार्दै अमृत पिउन पङ्तीबद्ध गराउँदा घडाभरी छाली लागेको देखेपछि त्यो छालिलाई सुरक्षित स्थानमा राखेर पिण्ड बनाई कौशीकी नदीको तटमा अमृत पिण्ड स्नान गरेको बताइन्छ । पछि सोही पिण्डलाई पिण्डेश्वर महादेवको रुपमा धरानस्थित विजयपुरमा स्थापना गरिएको प्रसंगलाई जगतगुरु बालसन्तले शास्त्रिय आधारमा पुष्टि गर्दै नेपालमा महाकुम्भको शास्त्रियतालाई पुष्टि गर्न सक्षम भएको उनि स्वयंम बताउँछन ।

यही आधारमा हरेक १२/१२ बर्षमा चैत्र शुक्ल पक्षबाट बैशाख संक्रान्ति कटाउँदै १ महिना कुम्भ लगाइदै आएको छ । तर आलोचकहरु भने बराहक्षेत्र र पिण्डेश्वरको नाम भजाएर चतराधामको स्वार्थ पूर्ती गरिएको आरोप लगाउँछन । यद्यपी यस पटक भने तीन तिरै भक्तजनहरुको उपस्थिति र परिक्रमाले त्यस्तो आरोपलाई आफैं खण्डन गरिदिएको आयोजकले जनाएको छ ।

मोहनशरणः बालसन्तदेखि जगतगुरुसम्म

पिता डिल्लीराम भट्टराई र माता तुलसादेविका सात सन्तानमध्ये जगतगुरु बालसन्त छैटौं हुन । विक्रम संवत २०३३ साल मंसिर २७ गते आइतवार झापाको हडिया वुधबारे ५ गोपाल डाँडामा जन्मिएका वालसन्तको वास्तविक नामबारे बेखबर हुने धेरै नै छन । कुण्डलीमा मनोरथ भएपनि बैष्णवको दिक्षापछि शरणागत भएर बृन्दावन बस्दा त्यही राखिदिएको नाम वालसन्त भने अहिले चर्चामा आयो ।

जे चर्चामा आयो त्यही नै उहालाई पनि मन पर्छ । उमेरले बुद्धिलाई छेक्दैन भन्ने गतिलो उदाहरण समेत हुन बालसन्त । कलिलै उमेरमा आध्यात्मतिर लागेकाले उनि बालसन्त भएर सबैको प्यारो बने । कलिलैमा सन्त त भए नै उनि ठिटौलेमै छदा जगतगुरु उपाधिले विभुषित हुँदा नपत्याउनेहरु पनि छन । पूर्खाहरु इलामको कन्यामस्थित सिद्धगाऊ तिर हुर्किएपनि उहाले पहाडको अभाव र अप्ठ्यारोको सामना गर्न परेन ।

घरपरिवार नै अध्यात्म क्षेत्रमा सक्रिय भएकाले उनि पनि त्यस्तै वातावरणमा संस्कारित भए । सानैदेखि धर्मकर्ममा लागेका उनि पाटाबारीमा समेत शिवलिंग बनाएको क्षण सम्झनछन । भगवानप्रति अत्यन्तै भक्तिभाव राखेकै कारण वालसन्तका जीवनमा यस्ता दिनहरु पनि आए कि व्रत नबसेको दिन नै थिएन । चञ्चले स्वभावका उनि सानैदेखि भक्तिभावमा लागेकाले धेरैजसो त ब्रत नै बस्नुपर्ने । त्यही भएर फलाहरको रुपमा अन्न भन्दा पनि बढी त फलफल खानुपर्ने बाध्यता । ब्रत लिने पनि उही नलिनेले पनि उहि नै फलफुलको भागिदारी ।

आफ्नै घरमा कटहर टन्न फल्ने तर खाने बेलामा बढीमा १० कोया भन्दा बढी नपाउने । उनलाई एक दिन लाग्छ कटहर चोरेर भएपनि अघाउझी खाएरै छाड्छु । त्यसैले घरको भकारीमा लुकाएर राखेको कटहर चोरेर खाँदा घरबाट भागेको मात्र होइन सुपारीको बोटमा बाँधेर वुवाले कुटेको क्षण रमाइलो तर अविस्मरणीय रहेको उनि स्मरण गर्छन । ब्राह्मण परिवारभित्रको जन्म, तत्कालिन समयको लहर पण्डित्याई । त्यही भएर उनले पनि संस्कृत नै पढ्ने निधो गरे । त्यो बेलाको संस्कृत पाठशाला अर्जुनधाराधाम । उनि त्यतै गए । अध्ययनका क्रममा भगवान श्रीकृष्णबारेको यथार्थ सुनेपछि भगवानप्रतिको उनको सोचाइमा नै परिवर्तन भयो ।

त्यसपछि उनि वृन्दा वन पुग्न आतुर मात्र भएनन् नवुझि/नबुझि बैष्णव समेत भए । पारिवारिक संस्कार नै आध्यात्म भएकाले त्यसैको सिकोमा हुर्किएका उनले बृन्दा बनबाटै अलौकिक ज्ञान पनि हासिल गरे । शिवभक्त हुँदाहुँदै बैष्णव भएकोमा असाध्यै छटपटीमा रहँदा पनि सपनामा भगवान शिवको दर्शनले मन हल्को भएको उनि अहिले पनि सम्झन्छन । अनिमात्र बैष्णव भएकोमा पनि उनलाई पिर लागेन । बृन्दा बनको बसाइपछि झण्डै/झण्डै नेपालसँगको उनको साइनो टुट्यो ।

तर बृन्दा बनबाट २०५४ सालमा नै कौशिकी नदी तटमा भागवत पाठपारायणका लागि आउदा पिन उनलाई नेपाल मोह भन्दा बृन्दावनको लगावले उतैतिर तान्यो । तर कालान्तरमा कौशिकी नदीले नै उनलाई मोहनी लगायो । अनि पहिलो पटक वराहक्षेत्र गएको एक बर्ष पुग्दा नपुग्दै उनले देखेको सपनालाई विपनामा साकार पार्ने स्थल भेटियो चतराधाम । अर्थात चतराधामाको हालत देखेर अभागी धरती भन्दै धाम बनाउने अठोटमा लागे उनि । यसको सुरुवात २०५५ साल साउन ४ गते विहान साढे ६ बजेबाट हुन्छ ।

चतरालाई धाम बनाउने अठोटको साथ कौशिकी नदीको जल उठाएको समयलाई विकासको विऊ रोपिएको समय मान्छन उनि । अनि सुरु भयो उनको ५५ दिने तिर्थायात्रा । मुक्तिनाथको जल वराहक्षेत्रमा अर्पणपछि पहिलो पटक श्रीमद भागवत महापुराण र श्रीमद गोपाल महायज्ञ भए । हो यी र यस्तै यज्ञहरुबाट पहिलोपटक स्थापित श्री बलरामेश्वर शिव मन्दिर र एउटा धर्मशाला निर्माण भयो । त्यो नै चतराधामको विकासको जग थियो ।

अनि यो क्षेत्रका विकासका लागि विभिन्न स्थानमा सयौ यज्ञहरु भए जसले प्राचिन हरिद्वाराका नाममा चतराधामलाई २०६७ साल सम्ममा स्थापित भएको पत्तै पाइएन । अझ २०५९ सालमा महाकुम्भको नेपालकै प्रमाणिकता र कुम्भको आयोजना पनि गरेपछि उनको चर्चा चुलियो । चर्चा मात्र चुलिएन बालसन्तको रुपमा रहेका उनि अनन्त श्री विभुसित हुँदै नेपालको प्रथम जगतगुरु बन्न सफल भए, २०६७ साल बैशाख १ गते ।

उनलाई भारतको काशीमा १४० बर्ष पूरानो ‘काशि पण्डित सभा’ ले जगतगुरुको उपाधि दियो । तदपश्चात उनमा मुलुकप्रतिको माया र विकासको भोक अझ बढि जाग्यो । जिम्मेवारी थपिएको आभाष भयो । कुम्भ बाहेक उनको अगुवाइमा यसअघि अन्नक्षेत्रको स्थापना, शारदापिठको स्थापना, आधारभूत शालग्राम महायज्ञ, विभिन्न स्थानमा गोपाल महायज्ञ जस्ता कामहरु सम्पन्न भएका छन । त्यसैले उनलाई सम्मान र श्रद्धाभाव राख्नेहरुको लर्को नै लाग्ने गरेको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७६, शनिबार  ९ : ०९ बजे

वाग्मती सफाइ महाअभियान जारी

काठमाडौँ– नवरात्रका अवसरमा धेरै मानिस थातथलोमा फर्केर रमाइरहँदा पनि वाग्मती

ट्राफिक नियम उल्लंघन गर्ने दैनिक २ सयभन्दा बढी सवारीसाधन कारवाहीमा

महोत्तरी– जिल्ला ट्राफिक कार्यालय महोत्तरीले ट्राफिक नियम उल्लंघन गर्ने दैनिक

बोलेरो दुर्घटना हुँदा एकको मृत्यु, चार घाइते

बनेपा– काभ्रेपलाञ्चोकको डाँडापारिस्थित खानीखोला गाउँपालिका-१ मा बोलेरो दुर्घटना हुँदा एक

यु-१७ टोलीको बिदाई

काठमाडौं– भियतनाममा हुने एएफसी यु १७ एसियन कप छनोट खेल्ने

गल्छी–देवीघाट सडक खण्ड सञ्चालनमा

त्रिशूली– गल्छी–रसुवागढी सडक योजना’ अन्तर्गत नुवाकोटको बेलकोटगढी नगरपालिका–७ बुधसिंहमा पहिरो