नेपालमा भ्रष्टाचार निवारणका केही उपायहरु « Khabarhub

नेपालमा भ्रष्टाचार निवारणका केही उपायहरु



नेपालमा जताततै व्याप्त भ्रष्टाचार निर्मूल कसरी होला त ? भ्रष्टाचारमा कमी दुई तरिकाबाट आउन सक्छ ।

पहिलो, मानिसहरुमा भ्रष्टाचार गर्नुहुँदैन भन्ने चेतना । यस्तो चेतना संस्कारको रुपमा विकास भएको हुनु पर्दछ । उदाहरणको लागि नर्डिक देशहरुलाई लिन सकिन्छ जहाँ मानिसहरुमा इमान्दारिता सामाजिक संस्कारको रुपमा विकास भएको पाईन्छ । तर त्यो स्तरको सामाजिक संस्कार नेपालमा अहिलेको अवस्थामा कल्पना गर्न सकिदैन । भविष्यमा यस्तो हुन नसक्ला भन्ने पनि चाहिं होईन ।

दोश्रो तरिका भ्रष्टाचारविरुद्धका कानूनहरु निर्माण गरी ति कानूनहरुको प्रभावकारी कार्यान्वयन गर्नु हो । सिङ्गापुरको भ्रष्टाचार प्रभावकारी कानूनहरुको निर्माण र कार्यान्वयनले कम गरेको हो । सिङ्गापुरको कथा हेर्ने हो भने त्यहाँ चार कुरा गरिएको थियो- भ्रष्टाचार विरुद्धको कानून निर्माण, ति कानून लागु गर्ने प्रभावकारी निकायको स्थापना, कानून बमोजीमको सजाय, अनि चूस्त प्रशासन । हामीकहाँ भ्रष्टाचार विरुद्धका कानून नभएका होइनन् र ति कानून लागु गर्ने निकाय नभएको पनि होइन । हामीहरुको समस्या ती कानूनहरुको कार्यान्वयन नहुनु हो ।

भ्रष्टाचार निर्मूल गर्नको लागी उच्च प्रविधियूक्त नयाँ प्रणालीको थालनी गर्नु आवश्यक छ जुन प्रणालीमा कसैले चाहेर पनि भ्रष्टाचार गर्न नसकोस ।

कानून कार्यान्वयन किन हुँदैन त ? पहिलो र प्रमुख कारण काले काले मिलेर खाऊँ भाले भन्ने प्रवृत्ति नै हो । अदालत, प्रहरी, कर्मचारी, सेना, राजनीति, गैर सरकारी संस्था सवैतिर भ्रष्टाचार भए पछि कसले कसलाई समात्ने र कारवाही गर्ने ? त्यो भन्दा त एक अर्कालाई बचाउन पट्टि लाग्नु नै श्रेयष्कर हुन्छ । त्यहि भएर नै ठूला माछा उम्कने र यदाकदा साना माछा मात्र जालमा पर्ने भएको हो । अझ स्पष्ट रुपमा भन्ने हो भने नेपालमा भ्रष्टाचारका घटना त्यतिवेला मात्र बाहिर आऊँछ जब दुई पक्ष बीचको स्वार्थमा फरक पर्दछ ।

के त्यसो हो भने नेपालबाट अब भ्रष्टाचार निर्मूल नै हुँदैन त ? हुन्छ तर केहि फरक तरिका अपनाउनु पर्दछ । हामीकहाँ मानवीय प्रयासबाट भ्रष्टाचार निर्मूल गर्न सम्भव देखिएन । त्यसैले यसको लागी प्रविधिको प्रयोग गरिनु पर्दछ । प्रविधि प्रयोग मार्फत भ्रष्टाचार नियंत्रण गर्ने तरिकालाई एउटा सानो उदाहरण मार्फत प्रष्ट पारौं । गाडीहरुको उत्सर्जन परिक्षण गर्दा निकै भ्रष्टाचार हुन्छ भन्ने सुनिन्छ ।

यसको निराकरणको लागि सम्बन्धित निकायले सिलबन्दी गरेको स्वचालित यन्त्रबाट उत्सर्जन परिक्षण गर्ने व्यबस्था गर्ने र परिक्षणको परिणाम स्वचालित रुपामा केन्द्रीय डेटाबेसमा जम्मा हुने व्यवस्था गर्ने । परिक्षण पश्चात गाडीहरुलाई स्वचालित रुपमै छापिएको बारकोड या चिप्स यूक्त स्टिकर दिने व्यवस्था गर्ने र यो स्टिकर गाडीहरुले अनिवार्य रुपमा गाडीको अग्रभागमा टाँस्नु पर्ने नियम पनि बनाउने । उक्त स्टिकरमा गाडीका अन्य विवरण पनि राख्न सकिन्छ ।

यसका साथै हरेक चौबाटो अनि अन्य स्थानमा सो स्टिकर पढ्न सक्ने यन्त्र जडान गर्ने जसले त्यहाँबाट जाने हरेक गाडीको स्टिकर पढ्न सकोस । अब प्रदुषण मापदण्ड पुरा नगरेको कुनै गाडी त्यहाँबाट जान लागेमा जडान गरेको यन्त्रले स्टिकर पढ्ने छ र ट्राफिक प्रहरि अनि ट्राफिक प्रहरि कार्यालयमा गाडी नम्बर, गाडीको स्थान आदिको बारेमा जानकारी दिने छ जसले गर्दा त्यो गाडीलाई समात्न सकिने छ ।

अब समातेको गाडीलाई प्रहरीले घुस खाएर छोडिदियो भने के गर्ने नि ? यसको निराकरणको लागी पनि प्रविधिको प्रयोग गर्न सकिन्छ जसको वर्णन स्थानाभावले यहाँ उल्लेख गर्न सकिएन ।

राजनीतिज्ञहरुले नेपाललाई कहिले त एसियाली मापदण्डमा पुर्‍याउने अनि कहिले सिङ्गापुर बनाउने सपना देखाए । तर नेपाल कहिले पनि त्यो बाटोमा हिडेन

यो यौटा उदाहरणको संक्षेपीकरण मात्र हो । तल बुँदागत रुपमा प्रविधि प्रयोग गर्ने केहि तरिका र क्षेत्रको बारेमा उल्लेख गरिन्छ ।

सर्वप्रथम देशका सम्पूर्ण नागरिकलाई जैविक पहिचान सहितको पहिचान पत्र र विकसित देशमा जस्तो प्रत्येक नागरिकलाई एउटा पहिचान अंक प्रदान गरिनु पर्दछ ।

• हरेक व्यक्तिको आम्दानी सरकारले थाहा पाउनु पर्दछ । जब सम्म देशमा मौद्रिकीकरण नभएका ग्रामीण क्षेत्रहरुको बाहुल्यता हुन्छ त्यतीबेला सम्म यो कार्यक्रम कम्तिमा पनि कर्मचारी, व्यापारी र राजनीतिज्ञहरुमा लागु गरिनु पर्दछ । आम्दानी थाहा पाउनको लागी उनिहरुलाई गरिने हरेक भुक्तान कम्प्यूटरको माध्यमबाट हुनु पर्दछ । बर्षको अन्त्यमा कम्प्यूटरले नै उनिहरुको कूल आय र कर निर्धारण गर्ने व्यवस्था गर्नु गर्दछ । यसबाट एकातिर कर छलि हुदैन भने अर्को तिर अस्वभाविक रुपमा जीवनशैलीमा परिवर्त आएको देखिएमा छानविन गर्न सकिन्छ ।

• देशका हरेक नागरिकले अर्कोले कति कर तिर्यो भनेर हेर्न चाह्यो भने हेर्न सक्ने व्यवस्था गरिनुपर्दछ । नर्वेमा यस्तो व्यवस्था गरिएको छ ।

• हरेक व्यापारीले कति सामान आयात गरेको, कति विक्रि गरेको, कति उत्पादन गरेको, कति निर्यात गरेको, कति नष्ट भएको भन्ने तथ्याङ्क स्वचालित रुपमा कम्प्यूटरमा जम्मा गर्नु पर्ने व्यवस्था गरिनु पर्दछ ।

• व्यापारिक प्रतिष्ठानहरुको आम्दानी खर्च विवरण कम्प्यूटरकृत बनाईनु पर्दछ जसले गर्दा बैंङ्कबाट ऋण लिंदा र कर तिर्दा एउटै आम्दानी खर्च विवरणको प्रयोग हुने सुनिस्चितता होस् ।

• सार्वजनिक खरिदको लागी बोलपत्र इन्टरनेटको माध्यमबाट भर्न सकिने सुनिस्चितता प्रदान गरिनु पर्दछ ।

• कम्प्यूटरमा जम्मा गरिएका तथ्याङ्कहरुको गोप्यता भङ्ग नहुने व्यवस्था गरिनु पर्दछ । यसकोलागी गोप्यता भङ्ग भएमा क्षतिपुर्तिको व्यवस्था गरिनु पर्दछ । यसका साथै निस्चित व्यक्तिको निस्चित प्रकारको तथ्याङ्कमा मात्र पहुँच पाउनु पर्दछ । उदाहरणको लागी चिकित्सकले स्वास्थ्य संबन्धि तथ्याङ्कमा मात्र पहुँच पाउनु पर्दछ ।

• सार्वजनिक खर्चको सार्वजनिक लेखा परिक्षण गरिनु पर्दछ । यसो गर्दा ५ रुपैयाँ पर्ने कलमकोलागी ५० रुपैयाँको बील बनाउने प्रवृत्ति निरुत्साहित हुन्छ ।

• हरेक भौतिक निर्माणको प्राविधिक परीक्षण गरिनु पर्दछ । यसले लागत अनुसारको निर्माण भएको छ/छैन थाहा हुन्छ ।

• चुनाव कम खर्चिलो बनाउने । यसको लागी पनि प्रविधि उपयोग गर्न सकिन्छ ।

नेपालमा प्रविधि प्रयोगको बारेमा अनिच्छा देखिन्छ । सरकारी कर्मचारी र नीति निर्माताबाट प्रविधिको उच्चतम प्रयोग खर्चिलो छ र नेपालको हालको आयले यसलाई धान्न सकिदैन भन्ने फितलो जवाफ पाईन्छ । तर अहिलेको यूगमा प्रविधि प्रयोगमा लाग्ने खर्च यसबाट प्राप्त हुने लाभको तुलनामा निकै नै कम हुन्छ र नेपालले यसको खर्च विनाकुनै अप्ठयारो सजिलै व्यहोर्न सक्तछ । प्रविधि प्रयोगप्रतिको अनिच्छा वास्तवमा पारदर्शिता प्रतिको अनिच्छा हो । अतः आवश्यक्ता प्रविधि प्रयोगकोलागी दवाव दिनुहो ।

निष्कर्ष

अन्तमा, राजनीतिज्ञहरुले नेपाललाई कहिले त एसियाली मापदण्डमा पुर्‍याउने अनि कहिले सिङ्गापुर बनाउने सपना देखाए । तर नेपाल कहिले पनि त्यो बाटोमा हिडेन । सिङ्गापुरको विकासको ईतिहास हेर्दा के देखिन्छ भने देश विकासकोलागी दुर दृष्टि र दृढ ईच्छा शक्ति भएको नेता र स्वच्छ अनि भ्रष्टाचार रहित प्रशासन चाहिदो रहेछ । तर दुर्भाग्य, नेपालले कहिल्यै पनि यी दुई कुरा पाउन सकेन ।

जनताले पटक पटक विभिन्न वादमा विश्वास गर्ने पार्टिलाई देश चलाउने जिम्मा दिए पनि कुनै पनि नेता अनि नीति निर्माता आफ्नो व्यक्तिगत स्वार्थ भन्दा माथि उठ्न सकेको देखिएन भने भ्रष्टाचार दिन दुई गुना, रात चौगुना मौलाऊँदै गई राष्ट्रिय संस्कृति नै बन्न पुग्यो । अब अहिलको अवस्थामा भ्रष्टाचारजस्तो ‘महारोग’को निर्मूल नगरी देश विकास हुन सम्भव छैन, तर वर्तमान राजनीतिज्ञ, कर्मचारी, अनि प्रणालीबाट यो निर्मूल हुने सम्भावना पनि देखिँदैन ।

त्यसैले भ्रष्टाचार निर्मूल गर्नको लागी उच्च प्रविधियूक्त नयाँ प्रणालीको थालनी गर्नु आवश्यक छ जुन प्रणालीमा कसैले चाहेर पनि भ्रष्टाचार गर्न नसकोस् ।

यो पनि पढ्नुहोस्,

प्रकाशित मिति : २१ जेठ २०७६, मंगलबार  १० : ०८ बजे

स्वास्थ्य बीमा : सहज छैन सेवा लिन

रेसुङ्गा – स्वास्थ्य सेवा लिन जाँदा सुरुमा गएर लाइन लाग्नुपर्छ।

दमकमा माटोको अम्लियनपनको मात्रा धेरै

झापा – झापाको दमकको खेतीयोग्य जमिनमा अम्लियपनको मात्रा अत्यधिक पाइएको

‘स्वास्थ्य बीमा गरेर फाइदा भएन’

दोधारा चाँदनी – कञ्चनपुरको बेदकोट नगरपालिका–१ का चन्द्रदेव जोशी स्वास्थ्योपचारका

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

कञ्चनपुर – हात्तीको आक्रमणबाट कञ्चनपुरमा एक जनाको मृत्यु भएको छ।

‘प्रतिरोधात्मक क्षमता कम हुनेमा मौसमी फ्लू छिटो सर्छ’

चिसो बढेसँगै विभिन्न खालका स्वास्थ्य समस्याले सताउने गरेका छन् ।