काठमाडौं- एसियाली राष्ट्रहरुले प्रतिस्पर्धा गर्ने फुटबलको सर्वाधिक ठूलो प्रतियोगिता एएफसी एसियन कप फुटबलको १८ औं संस्करण चीनमा आयोजना हुने भएको छ ।
मंगलबार फ्रान्सको पेरिसमा बसेको एसियन फुटबल कन्फडेरेसन (एएफसी) को बैठकले एसियन कप आयोजनाको जिम्मा चीनलाई दिएको हो । सन् २०२३ मा दोस्रो पटक एसियन कपको आयोजना गर्न लागेको चीनले यसअघि सन् २००४ मा आयोजना गरेको थियो ।
प्रतियोगिता यसअघि दक्षिण कोरियामा हुने भनिएपनि कोरियापछि हटेपछि चीनले आयोजनाको जिम्मा पाएको हो । चीनमा आयोजना हुने एसियन कपमा २४ टोलीले प्रतिस्पर्धा गर्ने छन् ।
युएईमा सम्पन्न १७ औं संस्करणको प्रतियोगिताबाट २४ टोलीलाई सहभागिता गराउन थालिएको हो । युएई संस्करणको उपाधि कतारले जितेको थियो ।
प्रतिक्रिया