संसारकै सबैभन्दा शक्तिशाली महिला जर्मन चान्सलर एंगेला मर्केलले यही कार्यकालपछि राजनीतिबाट सन्न्यास लिने घोषणा गरिसकेकी छिन् ।
यद्यपी यो साता जर्मनीको सत्तारुढ गठबन्धनमा आबद्ध समाजवादी प्रजातान्त्रिक पार्टीका नेता अण्डेरा नाहल्सले युरोपेली संसद्को निर्वाचनमा आफ्नो पार्टीको खराब प्रदर्शनसँगै राजीनामा दिए । उनको उत्तराधिकारीका रुपमा हेरिएकी अनेग्रेट क्राम्प करेनबरप्रति जर्मन जनताको विश्वास नरहेको सर्वेक्षण सार्वजनिक भइरहँदा हाल भने उनको राजनीतिक अवस्था कमजोर देखिएको छ ।
तैपनि सन् २००५ यता जर्मनीको चान्सलरको जिम्मेवारीमा रहेकी मर्केल जर्मनी एकीकरणपछि सबैभन्दा लामो समय सरकारमा छिन् । उनी युरोपेली तथा अन्तर्राष्ट्रिय स्तरमा समेत प्रभावशाली मानिन्छिन् ।
उनका यी १३ किस्सा सबैलाई थाहा नहुन सक्छ–
१. थर
उनका परिवारिक पृष्ठभूमि पोलिस मूल हो । पोलिस मूलकी भएकीले उनको जन्मिँदाको नाम एंगेला डोरोथिया कास्नर थियो । सन् १९७७ मा पूर्वी जर्मनीको लाइपजिगमा रहेको कार्ल मार्क्स विश्वविद्यालयमा भौतिकशास्त्र अध्ययनका क्रममा आफ्ना सहपाठी अलराइख मर्केलसँगको विवाहपछि उनले आफ्नो पतिको थर लेख्न थालेकी हुन् । अलराइख र एंगेलाले विवाहको ४ वर्षपछि सन् १९८१ मा सम्बन्धविच्छेद गरेपनि उनले मर्केल थरलाई नै निरन्तरता दिइरहिन् ।
२. उनको बाल्यकाल
सन् १९५४ मा उनी जन्मिनेबित्तिकै उनका बाबुआमा पश्चिम जर्मनीबाट साम्यवादी पूर्वी जर्मनी पुगेका थिए । उनका बाबु हस्र्ट कास्नर लुथेरियन इसाई चर्चका अधिकारी समेत थिए । पूर्वी जर्मनीमा हुर्किने क्रममा बाल्यकाल देखि नै राजनीतिप्रति उनको लगाव शुरु भएको बताइन्छ ।
३. उनको उपनाम
उनलाई जर्मनीमा एन्जी भनेर बोलाइन्छ । पछिल्लो पुस्ताका जर्मनहरु भने उनलाई ‘मुटी’ अर्थात् आमा भनेर बोलाउने गर्छन् । निकै लामो समयसम्म जर्मनीको चान्सलर रहेकी उनी जर्मनीमा अभिभावकको भूमिकामा समेत रहेकीले उनलाई आमा भनेर पुकारिने बताइन्छ ।
४. बारटेण्डर
विश्वविद्यालयमा अध्ययनका क्रममा मर्केलले डिस्को बारमा समेत बारटेण्डरको रुपमा काम गरेकी थिइन् । स्थानीय डिस्को बारमा काम गर्ने क्रममा उनलाई बियरको लत समेत लागेको बताइन्छ ।
५. पढाइ
उनी भौतिकशास्त्रमा डिग्री हासिल गरेकी छिन् भने क्वान्टम रसायनशास्त्रमा विद्यावारिधी गरेकी छिन् । उनी पूर्वी जर्मनीको विज्ञान प्रतिष्ठानको सैद्धान्तिक रसायनशास्त्र शाखाकी एकमात्र महिला सदस्य रहेकी थिइन् । उनको राजनीतिक सफलताका पछाडि वैज्ञानिक समालोचना गर्ने क्षमता रहेको बताइन्छ ।
६. मनपर्ने विषय
उनलाई विद्यालय उमेरमा गणित र रुसी विषय धेरै नै मनपर्ने गथ्र्यो । गणितमा राम्रो विद्यार्थी भएकाले उनले पछि विज्ञान विषयमा डिग्री र विद्यावारिधी समेत प्राप्त गर्न सफल भएकी थिइन् । त्यस्तै रुसी भाषामा पनि राम्रो रहेकाले उनी रुसी भाषामा निपुण छिन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगका भेटवार्तामा समेत उनले रुसी भाषामै कुराकानी गर्ने गर्छिन् ।
७. स्टासीमा जागिरको अफर
उनले सन् १९७० को दशकमा उनलाई पूर्वी जर्मनीको गुप्त सुरक्षा निकाय स्टासीमा भर्ना हुन समेत अफर आएको बताएकी थिइन् । तर, धेरै बोलक्कड रहेकाले आफू निकै नै नराम्रो जासुस हुनसक्ने रहेकाले उनले उक्त अफर अस्वीकार गरेको बताएकी छिन् ।
८. गैरकानूनी अपार्टमेन्टको बसाईं
सन् १९८१ मा आफ्ना पहिलो श्रीमान्सँग सम्बन्धविच्छेद भएपछि उनी राजधानी बर्लिनको फ्राइएडरिस्ट्राच रेलस्टेशननजिक त्यतिकै छाडिएको एक अपार्टमेन्टमा गैरकानूनीमा रुपमा बसेकी थिइन् । ३० औं जन्मदिनका बेला उनका बाबु उनलाई सोही अपार्टमेन्टमा भेट्न गएको बताइन्छ ।
९. उनको डर
उनलाई कुकुरसँग धेरै नै डर लाग्ने गरेको बताइन्छ । सन् १९९५ मा एउटा कुकुरले टोकेपछि उनी कुकुरसँग डराउन थालेकी हुन् । उनको यही डरको फाइदा उठाउँदै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उनीसँगको भेटवार्ताका क्रममा कुकुरलाई पनि सँगै ल्याउने गरेका छन् ।
१०. उनका श्रीमान्
पहिलो विवाह सन् १९८१ मा टुङ्गिएपनि उनले सन् १९९८ मा योआकिम सोअरसँग विवाह गरेकी थिइन् । उनका श्रीमान् सार्वजनिक कार्यक्रमबाट टाढै रहन रुचाउँछन् । खासमा सन् २००५ मा मर्केलले चान्सलरको सपथ ग्रहण गर्दा पनि उनी उक्त कार्यक्रममा सहभागी भएका थिएनन् । उनी ‘लो प्रोफाइल’ मा रहन रुचाउने गरेका छन् भने उनी नियमित रुपमा बजेट एअरलाइन्समा उड्ने गरेका छन् ।
११. फुटबल फ्यान
चान्सलर मर्केल फुटबलकी फ्यान हुन् । उनी जर्मनीको बुण्डेसलिगामा बोरुसिया ड्रटमण्डको समर्थन गर्छिन् । सन् २०१४ मा भएको विश्वकप फुटबलको फाइनल खेल हेर्न उनी ब्राजिलसम्म पुगेकी थिइन् भने उनले एकपटक जर्मन मिडफिल्डर बास्टयन स्वाइन्स्टाइगरलाई नाङ्गै देखेको जर्मन सञ्चामाध्यमले जनाएका छन् । एकपटक जर्मन स्ट्राइकर लुकास पोडोल्स्कीले उनको समर्थनले जर्मनीलाई ‘मुटिभेसन’ (उनलाई बोलाउने नाम ‘मुटी’ बाट बनाइएको शब्द) दिने गरेको बताएका थिए ।
१२. सन्तानविहीन
उनका कोही सन्तान छैनन् । पहिलो विवाह छिटै टुङ्गिएको तथा दोश्रो विवाह निकै ढिलो गरेकाले उनले सन्तानको चाह नगरेको बताइन्छ । त्यसपछि उनले आफ्नो ध्यान राजनीतितर्फ दिएकाले उनले यसबारे धेरै चासो दिइनन् ।
१३. उनको रुची
उनी खाना बनाउन धेरै रुचाउँछिन् । उनले बनाएको मिन पम केक धेरै मिठो हुने गरेको जर्मन सञ्चारमाध्यमहरु बताउँछन् । उनी घरेलु सामान किन्न नियमित रुपमा सुपरमार्केटको भ्रमण गर्ने गरेकी छिन् । उनले आफ्ना श्रीमान्लाई समेत हरेक बिहान खाजा बनाएर खुवाउने गरेकी छिन् ।
प्रतिक्रिया