अवैध बसोबास गरिरहेकाको भिसाम्याद थप्न उत्तरकोरियाली दूतावासको लबिङ | Khabarhub Khabarhub

अवैध बसोबास गरिरहेकाको भिसाम्याद थप्न उत्तरकोरियाली दूतावासको लबिङ



काठमाडौं– नेपालस्थित उत्तरकोरियाली दूतावासले भिसाको म्याद सकिएर अबैध बसोबास गरिरहेका आफ्ना देशका १४ नागरिकको भिसाको अबधि थप गर्न चलखेल गरेको छ ।

उत्तर कोरियाली लगानीमा सञ्चालित दरवारमार्गस्थित राइजिङमलको माथिल्लो तलामा रहेको बोतोङगाङ्ग रेष्टुरेन्ट एण्ड बार प्रा.लि.मा कार्यरत १४ जना उत्तर कोरियाली कामदारको भिसा अबधि थप गर्न उत्तर कोरियाली दूताबासले लबिङ गरेको हो ।

गत साउनमा राष्ट्रसंघले बाध्यकारी नाकाबन्दी कार्यान्वयन गर्न नेपाल सरकारलाई पत्राचार गरेसंगै उत्तर कोरियालीमाथि सरकारले कडाइ गरेर १४ जना उत्तर कोरियाली नागरिकको भिसाको म्याद थप गरेको थिएन ।

चिनियाँ लगानीकर्ताबाट उत्तर कोरियालीले खरिद गरेको बोतोङगाङ्ग रेष्टुरेन्टमा काम गर्ने १४ जना कामदारको गत जुन ६ मा नै भिसाको म्याद सकिएपनि अवैध रुपमा काम गरिरहेका हुन् । १४ जना मध्य डिपेन्डेन्ट भिसामा काम गरिरहेका ५ जना उत्तर कोरियालीले भिसाको म्याद थप भएपछि पर्यटन भिसा लिएका थिए । उनीहरुको पर्यटन भिसाको पनि अगष्ट १३ मा म्याद सकिएको छ ।

नेपालमा उत्तर कोरियालीलाई सहज बनाउन लबिङ गर्न नेपाली भाषामा समेत पोख्त उत्तर कोरियाली दूताबासका उपप्रमुख किम जोङ होक (Kim Jong Hyok) ले लबिङ गरेसंगै राष्ट्रसंघलाई झुक्याएर भिसा थप्ने पहल शुरु भएको हो ।

होकले उद्योगमन्त्री तथा गृहमन्त्री निकटस्थहरुसंग भेटी अगामी राष्ट्रसंघीय बैठकपछि उत्तर कोरियामाथीको नाकाबन्दी खुल्ने तथा दक्षिण कोरियासंगको सम्बन्ध सकारात्मकदिशातर्फ अघि  बढिरहेकाले नेपाललाई दबाब नपर्ने भन्दै भिसाको म्याद थप्न आग्रह गरेका थिए । उनको लबिङपछि उद्योग विभाग हुँदै अध्यागमन फाइल पठाउने र सबै अबैध उत्तर कोरियालीलाई ब्यापारीक भिसा दिन लबिङ शुरु भएको छ ।

अध्यागमन विभागका महानिर्देशक इश्वरराज पौडेल, भिसाको म्याद सकिएपछि नेपाल बस्नु गैरकानूनी भएको बताउँछन् । ‘जबसम्म उत्तरकोरियन नागरिकको कुरा छ, अहिले सम्म जानकारी छैन, यदि जो कोही पनि भिसाको म्याद सकिएर नेपाल बस्छ भने त्यो गैरकानूनी हो’ महानिर्देशक पौडेलले भने,‘ थाहा भएको खण्डमा कानून अनुसार प्रक्रिया अघि बढ्छ । तर भिसाको समय सकिनै लाग्दा कसैले आवश्यक्ता अनुसार म्याद थप्न भने सक्छ ।’

भिसाको म्याद सकिएर पनि नेपाल बसिरहनु र राष्ट्र संघले समेत नाकाबन्दी लगाएको अवस्थामा भिसा थपको चलखेल गर्नु गैरकानूनी भएको पूर्वडिआईज केशव अधिकारी बताउँछन् । उनी भन्छन् – एक त टुरिष्ट भिसामा आएर काम गर्न नै पाईंदैन त्यसमाथि श्रम स्वीकृतीसमेत छैन । यो सरासर गैरकानूनी हो ।

अघिल्लो वर्षको वैशाख तेस्रो साता अवैध रुपमा नेपालमा बसेर काम गर्दै आएको भन्दै प्रहरीले दरबारमार्गस्थित प्योङयोङ आर्रेयाङ रेस्टुरेन्टबाट ११ जना उत्तर कोरियाली नागरिकलाई पक्राउ गरेको थियो ।

रणनीतिक मामिलाका जानकार अरुण सुवेदी राष्ट्रसंघको कालोसूचीमा परेको देशका अबैध नागरिकको भिसाको म्याद थप गर्न खोज्नु लज्जास्पद भएको बताउँछन् । सुवेदी यस्ता कदमले नेपालको अन्तर्राष्ट्रिय छवी र विश्वसनियता नै गुम्ने तर्क गर्छन् । कानूनी कार्वाहीको दायरामा ल्याउनुपर्नेलाई भिसा थप्नु राज्यको गैरजिम्मेवारीपना हुने उनको भनाइ छ ।

उत्तर कोरियालीले चिनियाँ लगानीकर्ताबाट खरिद गरेको बोतोङगाङ्ग रेष्टुरेण्ट एण्ड बार प्रा.लि. २०७५ असार ८ गते, ह्वाङ उन हो (Hwang UN HA) , सिन योङ इम (Sin Yong IM) र रि चाङ नाम (Ri Chang Nam) को नाममा दर्ता भएको उद्योग विभागको तथ्यांक छ ।

विभागका निर्देशक प्रेमप्रसाद लुईटेलका अनुसार, यो रेष्टुरेण्ट १ सय ५० सिट क्षमता भनेर दर्ता गरिएको छ । उत्तर कोरियालीले रेष्टुरेन्टमा श्रम स्विकृत नलिइ संचालक र उनीहरुप्रति डिपेन्डेन्ट भन्दै काम गराइरहेका छन् । बोतोङगाङ्ग रेष्टुरेण्ट एण्ड बारमा केही महिनाअघि मात्र बन्द रहेको प्योङयोङ आर्रेयाङ रेस्टुरेन्टमा उत्तर कोरियाली कामदारले काम गरिरहेका छन् ।

उत्तर कोरियाले अबैध आणविक र क्षेप्यास्त्र कार्यक्रमलाई निरन्तरता दिएपछि संयुक्त राष्ट्रसंघले उत्तर कोरियाबिरुद्ध कठोर नाकाबन्दी जारी राखेको छ । राष्ट्रसंघीय नाकाबन्दी अनुसार, कुनैपनि देशले उत्तर कोरियाली कामदारलाई काम दिन तथा ब्यापारीक कारोबार गर्न पाइदैन । नेपालमा भने संयुक्त राष्ट्रसंघ र अमेरिकी आग्रहलाई बेवास्ता गर्दै अबैध रुपमा काम गरिरहेका छन् ।

एउटा बन्द हुन नपाउँदै अर्को खुला

अघिल्लो वर्षको वैशाख तेस्रो साता अवैध रुपमा नेपालमा बसेर काम गर्दै आएको भन्दै प्रहरीले दरबारमार्गस्थित प्योङयोङ आर्रेयाङ रेस्टुरेन्टबाट ११ जना उत्तर कोरियाली नागरिकलाई पक्राउ गरेको थियो ।

प्रहरीको तथ्याङ्क अनुसार, पक्राउ पर्नेमा काङ जोङ रियोल (Kang Jong Ryol), किम हेइ रियोन ( Kim Hye Ryon), जोङ सोङ मी ( Zong Song Mi), जी याङ गोङ ( Zi Yang Gyong), रि ग्याङ योङ ( Ri Gang Yong), रि ओक मी ( Ri Ok Mi), क्याङ इल हाङ (Kang Il Hang), ह्युङ्ग जु ओक ( Hyung Ju Ok), योङ्ग उन जोङ्ग (Young Un Jong), किम उन हाइ ( Kim Un Hye) र रिम जो यो ( Rim Jo Yo) थिए ।

यीनिहरुलाई पक्राउ गरे लगत्तै प्रहरीले अध्यागमन विभागको जिम्मा लगाएपनि उत्तर कोरियाली लबिङपछि गृहमन्त्रालयको दबाबमा विभागले उनीहरुलाई तत्काल छाडेको थियो ।

पक्राउ पछि कारवाही हुन नसक्दा लामो समयमा सम्म यीनिहरुले निर्वाध रुपमा प्योङयोङ आर्रेयाङ रेस्टुरेन्टमै काम गरिरहेका थिए । तर, रेष्टुरेण्ट पटक पटक विवादमा परेपछि अन्ततः बन्द भयो । त्यहाँका कामदारहरुलाई उत्तरकोरियाली दूतावासले दरबारमार्गको बोतोङगाङ्ग रेष्टुरेण्ट एण्ड बार र सानेपाको हिमालय सोजे रेष्टुरेन्टमा सारेको थियो । उत्तर कोरियाले आफ्नो जासुसी संयन्त्रलाई बलियो बनाउन रेस्टुरेन्टहरु सञ्चालन गरिरहेको सुरक्षाविदहरुको आशंका छ ।

अर्कातिर तिर उनीहरुले भिसाको समयमा हुँदा पनि श्रम स्वीकृती समेत नलिई काम गरिरहेका थिए । श्रम विभागका महानिर्देशक लालमणी ओझाका अनुसार, अहिलेसम्म चार जना मात्र उत्तरकोरियन नागरिकले श्रम स्वीकृती लिएका थिए । तर, तिनीहरु हाल बन्द अवस्थामा रहेको तनहुँको दमौली स्थित न्यो कोर्यो अस्पतालमा काम गर्थे । त्यसबाहेक कसले पनि श्रम स्वीकृती लिएका छैनन् ।

उत्तरकोरियाको नाममा ५ वटा रेष्टुरेन्ट दर्ता 

उद्योग विभागको रेकर्ड अनुसार, हिमालय सोजे रेष्टुरेण्ट प्रालि २०७५ भदौ २० गते जु ओके ह्वाङ (Ju Ok Hwang) र इल ह्याङ काङ (IL Hyang Kang) को नाममा दर्ता भएको देखिन्छ । तर, रेष्टुरेण्ट काठमाडौंको लाजिम्पाटमा राख्ने भनेर दर्ता गरिएपनि ललितपुरको सानेपामा राखिएको छ ।

१ सय सिट क्षमता र २३ जना कामदार राख्ने भनेर दर्ता गरिएको यो रेष्टुरेण्टमा कामदारलाई भने अबैध रुपमा काम गराइएको पाइएको छ । उद्योग विभागको सूचीमा हेर्ने हो भने अहिले १०० प्रतिशत लगानिमा ५ वटा रेष्टुरेन्ट दर्ता भएको देखिन्छ ।

यस्तो छ दर्ता सूची 

 २०६४ असार २५ गते, Tong Min Ri को नाममा काठमाडौंको गोलढुंगामा चलाउने भन्दै १६ बेड ३२ सिट क्षमताको होटल एण्ड रेष्टुरेण्ट सर्भिस दर्ता
 २०६४ साउन ३० गते, Young Ju Kim को नाममा २०० सिट क्षमताको रेष्टुरेण्ट सर्भिस दर्ता
 २०७५ असार ८ गते, Hwang UN HA, Sin Yong IM र Ri Chang Nam को नाममा १५० सिट क्षेमताको बोतोङगाङ्ग रेष्टुरेण्ट एण्ड बार प्रा.लि. (Botonggang Restaurant and Bar pvt. ltd) दर्ता ।
 २०७५ भदौ २० गते जु ओके ह्वाङ (Ju Ok Hwang) र इल ह्याङ काङ (IL Hyang Kang) को नाममा १ सय सिट क्षेमताको हिमालय सोजे रेष्टुरेण्ट प्रालि दर्ता
 २०७५ असोज १५ गते, Jong Kum Yong, Pak Son Hui र Ho IL Ran को नाममा १ सय सिट क्षमताको मिनास रेष्टुरेण्ट एण्ड बार प्रा.लि. दर्ता

कुटनीतिक दबाब बढ्दो

संयुक्त राष्ट्रसंघको कडा नाकाबन्दीका बाबजुत नेपालमा भने उत्तर कोरियालीले निर्वाध रूपमा बिजनेस भिसामा अवैध रूपमा काम गर्न थालेपछि संयुक्त राष्ट्रसंघले पटक पटक नेपाललाई ध्यानाकर्षण भएको भन्दै पत्राचार गरेको छ ।

उत्तर कोरियालीले नेपालमा अबैध लगानी र उपस्थिति बढाउन थालेपछि गत साउन पहिलो साता संयुक्त राष्ट्रसंघले परराष्ट्र मन्त्रालयलाई पत्राचार गर्दै बाध्यकारी नाकाबन्दी कार्यान्वयन गर्न तथा अबैध रुपमा उत्तर कोरियालीले लगानीमा संचालन सबै उद्योगहरु वन्द गर्न आग्रह गरेको थियो । उत्तर कोरियाका अबैध गतिबिधि रोक्न अमेरिकीकाले समेत दुई पटक परराष्ट्र मन्त्रालयमा पत्राचार गरिसकेको छ ।

अमेरिकी विदेशमन्त्री माइक पम्पेओले समेत अमेरिकामा भेटवार्ताका क्रममा गत पुष ३ गते परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई नेपालमा उत्तर कोरियालीले अबैध काम गरिरहेको र त्यसलाई रोक्न आग्रह गरेका थिए । ज्ञवालीले उत्तर कोरियालीका सम्पूर्ण गतिबिधि छिट्टै रोकिने आश्वासन दिएपनि प्रतिबद्धताअनुसार काम नभएपछि अमेरिकी अधिकारीहरु नेपालमै आई अबैध गतिबिधि बन्द गर्न आग्रह गरेका थिए ।

गत जेठको अन्तिम साता काठमाडौं आएका अमेरिकी विदेशदूत मार्क लाम्बर्टले नेपाली नेताहरुलाई उत्तर कोरियाली अवैध गतिविधि रोक्न र राष्ट्रसंघीय जिम्मेवार देश नेपाललाई उत्तर कोरियालीको अवैध आर्थिक संकलन गर्ने भूमि बनाउन नदिन आग्रह गरेका थिए

गत कार्तिकमा द्विपक्षीय व्यापार र लगानी विस्तारको लागि अमेरिकाको वासिङ्टन डिसीमा भएको नेपाल–अमेरिका ट्रेड एन्ड इन्भेस्टमेन्ट फ्रेमवर्क (टिफा) काउन्सिलको बैठकमै अमेरिकी व्यापार प्रतिनिधि मार्क लिनस्कटले नेपालमा उत्तर कोरियाली अवैध गतिविधिको फेहरिस्ता सुनाउँदै यस्ता गतिविधिले दुई देशको व्यापार सम्बन्धमा धक्का पार्ने चेतावनी दिएका थिए ।

त्यस्तै गत जेठको पहिलो साता नेपाल भ्रमणमा आएका अमेरिकी दक्षिण एसिया तथा मध्य एसिया मामिलाका कार्यबाहक उपसहायक मन्त्री डेभिड जे रेन्जले गृहमन्त्री रामबहादुर थापासँगको भेटवार्तामा उत्तरकोरियाली अवैध गतिविधि रोक्न नेपाल सरकारको ध्यानाकर्षण गराएका थिए ।

गत जेठको अन्तिम साता काठमाडौं आएका अमेरिकी विदेशदूत मार्क लाम्बर्टले नेपाली नेताहरुलाई उत्तर कोरियाली अवैध गतिविधि रोक्न र राष्ट्रसंघीय जिम्मेवार देश नेपाललाई उत्तर कोरियालीको अवैध आर्थिक संकलन गर्ने भूमि बनाउन नदिन आग्रह गरेका थिए ।

लाम्बर्टसंगको भेटवार्ता गरेका एक सांसदका अनुसार उनले यसैबर्षको अन्त्यसम्मपनि उत्तर कोरियाली अबैध गतिबिधि नियन्त्रण गर्न नेपाल सरकार असफल भए अमेरिकी धैर्यता टुट्ने कुटनीतिक चेतावनी दिएका थिए । उनले भनेका थिए– अमेरिका वार्ताबाटै उत्तर कोरियाली आणविक खतराको समाधान गर्न तल्लीन छ त्यसलाई नेपालले नाकाबन्दी र दबाबमुलक कार्यक्रमहरु हटेको अर्थमा बुझ्न मिल्दैन । उनले भनेको कुरा उदृत गर्दै अर्का सांसदले भने – अमेरिकाको मित्रराष्ट्र नेपालबाट अबैध गतिबिधि भइरहेको छ, हामीले सम्बन्धित संस्था र अधिकारीलाई उनीहरुको अबैध गतिबिधिको बिबरण दिएका छौं, आशा छ नेपाल सरकारले त्यस्ता अबैध गतिबिधि रोकी अमेरिकी चासोलाई सम्बोधन गर्ने छ । तपाईहरुले पनि संसद्मार्फत त्यस्ता गतिबिधि रोक्न सरकारसमक्ष ध्यानाकर्षण गर्नुहुनेछ, यदी सन् २०१९ को अन्त्यसम्मपनि उत्तर कोरियालीका अबैध गतिबिधि अन्त्य भएनभने कुटनीतिक प्रयास दबाबमुलक कार्यक्रममा मोडिन सक्छ ।

उत्तर कोरियाली अबैध गतिबिधि बढेसँगै अमेरिकी राजदूत रेण्डी बेरीलेसमेत नेपाली उच्च राजनीतिक, प्रशासनीक, सैनिक र प्रहरी अधिकारीको ध्यानाकर्षण गराउँदै आएका छन् । उनी अघिकी राजदूत एलिना वि टेप्लिजले समेत उत्तर कोरियाली अबैध गतिबिधि बन्द गर्न सरकारको पटक पटक ध्यानाकर्षण गराएकी थिइन् । सरकारले सन् २०१५ मा पर्यटक भिसामा आई सिन्धुपाल्चोकमा सुरुङ खन्नमा संलग्न ५४ जना उत्तर कोरियालीलाई निष्काशन गरेको थियो। त्यस्तै गत साउनमा दुई उत्तर कोरियालीलाई प्रबेशाज्ञा दिएको थिएन ।

अमेरिकी अधिकारीहरुले नेपालमा बढ्दो उत्तर कोरियालीको उपस्थिति, लगानी र साइबर गतिबिधिले नेपाललाई अप्ठेरो पर्ने चेतावनी दिएका थिए । अमेरिकी संघीय जाँचबुझ ब्यूरो(एफबीआइ) ले एनआइसी बैक ह्याकीङमा उत्तर कोरियाली संलग्नताको अनुसन्धनात्मक प्रमाणहरु अमेरिकी दूतावासका सुरक्षा अधिकारीमार्फत नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) लाई बुझाएको थियो ।

अमेरिकाले प्रमाण बुझाउँदा समेत सरकारले उत्तर कोरियालीलाई कडाइ गर्नुको सट्टा दुई साइबर कम्पनीको आबरणमा ह्याकरहरु बस्ने अनुमति दिएपछि अमेरिका रुष्ट बनेको थियो । संयुक्त राष्ट्रसंघ र अमेरिकाको चासोपछि हाल उत्तर कोरियालीका ३ वटा कम्पनीहरु बन्द भइसकेको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा बसेर संसारभर निशाना बनाउँदै उत्तर कोरियाली ह्याकर

नेपालमा उत्तर कोरियाली ह्याकरको गतिविधिप्रति अमेरिकाको ध्यानाकर्षण

ललितपुरमा उत्तर कोरियाको दोस्रो ह्याकिङ अड्डा

रोकिएन नेपाली भूमिमा उत्तर कोरियाली अवैध धन्दा

नेपालमा उत्तर कोरियाली साइबर हमलाको खतरा !

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार  १ : १३ बजे

प्रधानमन्त्रीको दाबी ‘राष्ट्रिय गौरवका आयोजना समयमै सम्मन्न हुन्छन्’

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका तथा रूपान्तरणकारी

शुक्लाफाँटामा बाह्रसिङ्गाको गणना हुँदै

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्वमै दुर्लभ मानिएको वन्यजन्तु बाह्रसिङ्गाको

जनताले महसुस गर्नेगरी काम गर्न गृहमन्त्री लामिछानेको निर्देशन

झापा – उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले जनतालाई परिवर्तनको अनुभूति

युरोप पठाउने भन्दै बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ

काठमाडौं – बङ्गलादेशका नागरिकलाई युरोप पठाउने भन्दै नेपाल ल्याई बन्धक

प्रचण्डको ‘उथलपुथल’ सन्देश – नयाँसंग घुर्की, पुरानालाई धम्की

काठमाडौं – नेपालका राजनीतिज्ञहरुले बेला बखत चट्के शब्द प्रयोग गरेर