दशैंघरमा फूलपाती भित्र्याइयो (फोटो फिचर) | Khabarhub Khabarhub

दशैंघरमा फूलपाती भित्र्याइयो (फोटो फिचर)


१८ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घर–घरमा स्थापना गरिएको नवदुर्गा एवं दशैँ घरमा फूलपाती भित्र्याइएको छ ।

प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती आज घर–घरमा शास्त्रीय विधिअनुसार शुभसाइतको प्रतीकका रुपमा नौथरि फूल भित्र्याइयो ।


घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आवाहन गरी पूजाआजा गरिएको दशैँघर अथवा पूजाकोठामा शुभसाइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याइएको हो ।

काठमाडौँको हनुमानढोकास्थित दशैंघरमा गोरखाबाट ल्याइएको फूलपाती भित्र्याइएको छ । गोरखाबाट ल्याइएको फूलपाती हर्षोउल्लासका साथ विधिपूर्वक दशैं घरमा भित्र्याइएको हो ।

त्यस अवसरमा मन्दिरका पूजारीले फुलपाती पूजा आराधना गरी भित्र्याएका थिए भने नेपाली सेनाको टुकडीले तोप पड्काएर हर्षबढाई गरेका थिए ।

यसैबीच, नवरात्रिको सातौँ दिन सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह गरिएको छ । सो अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी सरिक भएकी थिइन् ।

समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना , उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापालगायत उपस्थित थिए ।

त्यस्तै मन्त्रीगण, सांसद, नेपाल सरकारका उच्चपदस्थ अधिकृत, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा विभिन्न पेशा व्यवसायका प्रतिनिधिको पनि सहभागिता थियो ।

कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्ट व्यक्तिलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले स्वागत गरेका थिए । फूलपातीका दिन सैनिक मञ्चमा बढाइँ गर्ने परम्परा रहिआएको छ ।

बढाइँअघि राष्ट्रपतिको स्वागतमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो । बढाइँ कार्यक्रममा नेपाली सेनाले राइफल र तोपका साथ मार्चपास गरेको थियो । सेनाको टोलीबाट इज्जत अर्पण कवाज, विभिन्न गुल्मद्वारा बढाइँ, मार्चपाससहितको बढाइँ र षट्कोण चिह्नबाट बढाइँ प्रस्तुत गरिएको थियो ।

प्रकाशित मिति : १८ आश्विन २०७६, शनिबार  ६ : ४० बजे

उपेन्द्रले भने : विदेशमा रहेका बेला म विरुद्ध ठूलो राजनीतिक षड्यन्त्र गरियो

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजित गरिएपछि अध्यक्ष उपेन्द्र

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाइदिन्छु

संसद्‍मा बोल्न अनुमति माग्दै गृहमन्त्री रविले पठाए सभामुखलाई पत्र 

काठमाडौं–  संसद्‍मा बोल्न अनुमति माग्दै सभामुख देवराज घिमिरेलाई उपप्रधान तथा

बागमती प्रदेशमा वैशाख २८ देखि युवा सम्मेलन

मनहरी– बाग्मती प्रदेश युवा परिषद्ले दोस्रो प्रदेश युवा सम्मेलन आयोजना

व्यक्ति विशेष संसदीय छानबिन समिति असम्भव : सचेतक बर्तौला 

काठमाडौं –नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कांग्रेसले व्यक्ति विशेष