फोटो ब्लग – नजर हटाउन मन नलाग्ने रात्रिकालीन फेवाताल | Khabarhub Khabarhub

फोटो ब्लग – नजर हटाउन मन नलाग्ने रात्रिकालीन फेवाताल



पोखरा – पोखरालाई यतिबेला बादलले चारैतिरबाट छपक्कै छोपेर राखेको छ । बिहान एकछिन झुर्लुक्क घाम देखा पर्छ । केही छिनमै बादलले घामको डल्लोलाई घेरिहाल्छ । यस्तो लाग्छ, बादलले पोखरेलीलाई गर्मी हुन नदिने सम्झौता गरेको छ पोखरासँग ।

पोखरा फेरिएको छ । पहिलेजस्तो शान्त छैन यो शहर । शहरको व्यस्तता बढेको छ । सडकमा ट्राफिक जाम हुर्किँदै गएको छ । पोखराले बिस्तारै काठमाडौंकै सिको गर्न थालिरहेझैँ लाग्छ ।

सोमबार साँझ पनि पोखराको मौसम धुम्म थियो । फेवातालको छेउमा अरु दिनको तुलनामा अलिक बढी जोडतोडले बतास चलिरहेको थियो । आइतबार मात्र पर्सा र बारा जिल्लामा हुरीले २८ जना सर्वसाधारणको ज्यान लिएको थियो ।

फेवातालमा ‘स्याइँय’ गरिरहेको हावाको बहाबले त्यही विनाशको झल्को दिइरहेको थियो । भलै फेवातालमा डुंगाहरु शान्त थिए । आन्तरिक र बाह्य पर्यटकहरुको चहलपहल थियो । साँझ बिस्तारै ढल्किँदै थियो । मान्छेहरुको चहलपहल झन् बढी देखिइरहेको थियो । यसै पनि पोखराको लेकसाइड साँझ परेपछि प्रकृतिसँग अझ बढी झुम्न थाल्छ ।

रात ढल्किँदैछ…

रातले बिस्तारै दिनलाई निल्दैछ । गोधूलि साँझमा आन्तरिक पर्यटकहरु बाक्लै देखिन्छन् । विदेशी पर्यटकहरु पनि सडकका होटल र बाटोमा छरिएका छन्, गोराहरु ।

साँझ रातमा बदलिँदै थियो ।

मान्छेहरु यताउता गरिरहेका छन् । कोही नजिकैका क्याफेहरुमा बसेर कफी गफ गरिरहेका छन् । केही भने फेवातालमा बसेर चिसो बतासमा आफूलाई समायोजन गरिरहेका छन् । हिजोभन्दा आज बतास बढी चलिरहेको छ । फेवातालको पानी समुद्रको छालको नक्कल गरेझैँ वारिसम्म आइपुगेको छ । डुंगाहरु भने यसरी शान्त बसिरहेका छन् । तालको बीचमै उज्यालो बालेर बसिरहेको तालबाराही मन्दिरबाट उज्यालो परसम्म फैलिएको छ ।

साँझले आफूलाई बेलुका बनाइसकेको छ । क्षितिजबाट केही घेरा उज्यालो फेवातालको किनारमा परेको थियो । बाँकी केही स्थानमा होटलको उज्यालो पनि फेवातालको पानीमा मिसिएको थियो । तालमा डुंगाहरु चुपचाप शान्त भएर बसेका थिए । बेलाबेलामा ताल अलिक बढी कुर्लिँदा डुङ्गाहरुले कम्मर मर्काएझैँ लाग्थ्यो ।

फेवातालमा एकातिर डुंगाहरु थपक्क बसेका हुन्छन् । त्यही फेवातालको एक छेउतिर झार पनि उसरी नै शान्त भएर बसेको हुन्छ । ती झारमा सेता बकुल्लाहरु यताउता गरिरहन्छन् ।

बिस्तारै हावा चलेको छ । फेवातालको आँगनमा स–साना प्रतीक्षालयहरु छन् । साँझतिर ती प्रतीक्षालयहरु विदेशी युगल जोडीका मात्र रोजाइ बन्दैनन् । ती प्रतीक्षालयमा पोखरेली प्रेम पनि पोखिइरहेका भेटिन्छन् । बेलुकातिर किनारमा उज्यालो कम, रौनकता ज्यादा हुन्छ ।

साँझ प्रायः पानी पर्छ । पोखरेली पानी र नानीको भर हुँदैन भन्ने चर्चित कथनलाई मौसमले सकभर गलत साबित हुन दिँदैन । छिनमै पानी पर्छ, छिनमै बिसेक हुन्छ ।

बिहानीपख …

साँझतिर कालो देखिएको फेवातालले बिहान रंग बदलिसकेको थियो । लेउले लपक्कै ढाकेको पानी हरियो देखिइरहेको थियो । जब घामका किरण तालमा पर्न थाले, हेर्दाहेर्दै फेवाताल नीलो देखिन थाल्यो ।

साँझ आफ्नै गतिमा हावासँगै पिङ खेलेको तालको किनार बिहान शान्त थियो । हिजो आराम डुंगाहरुले भने पर्यटक बोक्न थालिसकेका थिए ।

पर्यटकलाई फेवातालको नीलो पानी निकै आकर्षक लागिरहेको थियो । केही अघिमात्र फेवातालमा घाम ठोक्किएको थियो । माछापुच्छ्रे टलक्कै टल्किएको थियो । पर्यटकहरु आफ्नो मोबाइलमा माछापुच्छ्रेको तस्वीर कैद गरिरहेका थिए । लाग्थ्यो, माछापुच्छ्रे जतिबेला पनि बादलको कब्जामा पर्न सक्छ ।

बिहानीपख आकाश खुलेको थियो । क्षितिजमा बादलका केही थुप्पाहरु चुपचाप बसिरहेका थिए । पर्यटक बिहानै फेवातालको सिनारियो हेर्न आइरहेका थिए । बीचमा थपक्क बसेको तालबाराही मन्दिरमा पूजा गर्नेको पनि उत्तिकै भीड थियो ।

दिन ढल्किँदै थियो । बिस्तारै बादलले आफ्नो साम्राज्य फराकिलो बनाउँदै थियो । अबको केही घण्टामा बादलले माछापुच्छ्रेलाई घुम्टो ओढाउँदै थियो ।

बिहानीपख फेवाताल किनारबाट नजिकै देखिने हिमश्रृङ्खला ।
फेवाताल, डुंगा र माछापुच्छ्रे ।
सशस्त्र प्रहरीले फेवातालमा रेस्क्युको तालिम गर्छन् । फेवातालमा आइपर्ने विपद्लाई ख्याल गर्दै प्रहरीलाई तालिम दिइने गरिन्छ ।
फेवातालमा डुंगाहरु ।
रेस्क्युको तालिमका क्रममा खटिएका सशस्त्र प्रहरीहरु ।

तस्वीरहरू: अर्घेलो थापा

प्रकाशित मिति : २३ चैत्र २०७५, शनिबार  ७ : ०९ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न