एकीकरणपछिको बहस : वैकल्पिक शक्ति बन्ला त ‘समाजवादी पार्टी, नेपाल’ ? | Khabarhub Khabarhub

एकीकरणपछिको बहस : वैकल्पिक शक्ति बन्ला त ‘समाजवादी पार्टी, नेपाल’ ?



काठमाडौं– नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी पार्टीबीच एकीकरण भएपछि सामाजिक सञ्जालमा पूर्वप्रधानमन्त्री समेत रहेका डाक्टर बावुराम भट्टराईले लेखेका छन्, ‘नयाँ शक्ति र संघीय समाजवादी फोरमको एकीकरण पश्चात बनेको नयाँ वैकल्पिक शक्ति ‘समाजवादी पार्टी, नेपाल’ को उद्घाटन समारोहमा देखिएको जनउभारले जनता नेकपा र नेकाको भरपर्दो अग्रगामी विकल्प चाहन्छन् भन्ने पुष्टि भएको छ ! सबैलाई हार्दिक धन्यवाद ! हामी हिमाल, पहाड मधेसलाई जोडेर दह्रो राष्ट्रिय विकल्प दिन्छौ !’

डाक्टर भट्टराईले लेखेजस्तै के अब वैकल्पिक राजनीतिक शक्ति निर्माणको प्रक्रिया शुरु भएको हो भन्ने बहश शुरु भएको छ । सरकारमै रहेको दल उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र प्रतिपक्षमा रहेको डाक्टर भट्टराईको नेतृत्वको नयाँ शक्ति पार्टीका बीचमा पार्टी एकीकरण भएसँगै अब सरकारबाट बाहिरिने विषयमा समेत छलफल हुनेछ ।

किनकी दुई पर्टीका बिचमा एकीकरण गर्ने सहमति गर्ने बेलामै सरकारमा रहने वा सडक संघर्षमा जाने भन्ने विषयमा एकीकरणपछि निर्णय गर्ने समझदारी भएको थियो ।

संसदको बजेट अधिवेशनको पहिलो बैठकमा फोरम सहअध्यक्ष समेत रहेका सांसद राजेन्द्र श्रेष्ठले संविधान संशोधनका विषयमा सरकारले निर्णय नगरे जुनसुकै बेला सरकारबाट बाहिरिन सक्ने चेतावनी दिएका थिए ।

श्रेष्ठकै शैलीमा पार्टी एकीकरण घोषणासभामा डाक्टर भट्टराईले पनि भनेका छन्, ‘हिमाल, पहाड, मधेशका जनतालाई वैज्ञानिक ढंगले जोड्न नसके खतरापूर्ण अवस्था आउँछ ।’ उनले भनेका छन्,‘मधेशका जनताले मधेशको मात्रै होइन, देशकै नेतृत्व लिन सक्छन् ।’

पार्टी एकता घोषणा समारोहमै पनि डाक्टर भट्टराईले भने,‘ अब के हुन्छ भन्ने साथीहरुलाई शंका छ । हामीले सहमति गरिसकेका छौँ, जनताको अधिकार छाड्नेवाला छैनौँ’ ।

संविधान संशोधनका लागि सरकार तयार भएन भने पहिलो मोर्चा सडक, दोस्रो मोर्चाका रुपमा सदन रहेको भन्दै उनले संविधान संशोधन गर्ने सरकारी आश्वासन पूरा भएन भने जुनसुकै बेला पनि सरकार छाडेर आन्दोलनमा जाने उनको भनाई थियो ।

मंगलबारको बैठकको निर्णय के गर्ला ?

फोरमका नेता समेत रहेका डाक्टर शीवजी यादवका अनुसार मंगलबार बिहान ११ बजेका लागि केन्द्रीय समितिको बैठक बोलाइएको छ । जुन बैठक फोरम पार्टी कार्यालयमा बस्नेगरी निर्धारण गरिएको छ ।

मंगलबारको बैठकले सरकारलाई अल्टिेमेटम दिने निर्णय गर्नसक्ने यादवले बताए । उनले भने,‘सरकार छाडिहाल्ने भन्ने निर्णय तत्कालै त नहोला, मंगलबार बिहान ११ बजेका लागि बैठक बोलाइएको छ । संविधान संशोधन गर्न सरकारलाई अल्टिमेटम दिने विषयमा छलफल हुनसक्छ ।’

नेताहरुका अनुसार सरकारलाई संविधान संशोधनका लागि निश्चित समय दिएर अल्टिमेटम दिने र माग सम्बोधन नभए सरकारबाट बाहिरिएर सडक संघर्षको घोषणा गर्ने सहमति भइसकेको छ ।

एकीकरणको पुरानै प्रयास

दुई पार्टीका बीचमा यसअघि समेत पार्टी एकीकरणको प्रयास भएको थियो । स्थानीय तहको चुनावमा सहकार्य गरेका दुई पार्टीका बिचमा पार्टी नै एकीकरण गर्ने विषयमा छलफल भएपनि अन्तिममा आएर एकता भाँडिएको थियो ।

अहिले दुई पार्टीका बीचमा एकता भएसँगै उपेन्द्र यादवले राजपालाई समेत एकता प्रक्रियामा सहभागी हुन आह्वान गरेका छन् । तर राजपाले औपचारिक धारणा सार्वजनिक गरेको छैन । एकता प्रक्रियामा आफ्नो दललाई समेत सहभागी गराउन आग्रह गर्दै एकचरण छलफल समेत गरेका राजपा नेताहरुको एकीकरणमा सहभागी हुने वा नहुने भन्ने निर्णय गरिसकेको छैन ।

तर संविधान संशोधनको एजेण्डामा भने राजपा र समाजवादी पार्टी एकैठाउँमा हुने सम्भावना छ । संसद बैठकमा राजपा नेता सरतसिंह भण्डारीले सरकारमा रहेको दल फोरमले संविधान संशोधनको एजेण्डा छाडेको भए त्यसको जानकारी जनतालाई गराउनुपर्ने भन्दै आलोचना गरेका थिए ।

सरकारले नीति तथा कार्यक्रममा संविधानको सर्व स्वीकार्यता बढेको विषय राखेपछि संसदमा बोल्ने राजपाका सबै नेताहरुले संविधान संशोधनको एजेण्डा नछाडेको स्पष्टीकरण दिइरहेका छन् ।

राजपाकै लाइनमा समाजवादी पार्टीले समेत संशोधनको एजेण्डा अघि सारेको छ । जसका कारण तत्कालै पार्टी एकीकरण नभए पनि सडक संघर्षमा कार्यगत एकता भने हुने सम्भावना देखिएको छ ।

उपेन्द्र र भट्टराई मिल्दा ओलीलाई दबाब

सरकारमै रहेको दल संघीय समाजवादी र सरकार बाहिर रहेको दल नयाँ शक्ति पार्टीको एकीकरणपछि संघीय समाजवादीले सरकार छाड्दा दुई तिहाईको सरकार सामान्य बहुमतमा सिमित हुने देखिएको छ ।

संघीय समाजवादीले सरकार छाड्ने भएपछि अंक गणितीय रुपमा कुनै असहज परिस्थिति नआए पनि नैतिक दबाब पर्ने भने देखिन्छ ।

संविधान संशोधनको एजेण्डामा सरकारलाई अल्टिमेटम दिने तयारी तथा ७ वटा प्रदेश रहेकोमा बढाएर ११ वटा प्रदेश बनाउनुपर्ने नवगठित ‘समाजवादी पार्टी, नेपाल’को माग छ । त्यस्तै उसले स्थानीय तहलाई प्रदेशमातहतमा राख्नुपर्ने माग समेत गरेको छ । जुन सरकारले तत्कालै सम्बोधन गर्ने अवस्था देखिँदैन ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार  ८ : १४ बजे

नेपालले युएईलाई दियो १२० रनको लक्ष्य

काठमाडौं– नेपालले युएईलाई १२० रनको लक्ष्य दिएको छ । एसीसी

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

झापा– १६ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा अर्जुनधारा नगरपालिका-११ बस्ने २१

अर्धशतक बनाएर आउट भए सन्दीप जोरा

काठमाडौं- सन्दीप जोराले युएईविरुद्ध अर्धशतक बनाएका छन् । एसीसी प्रिमियर

अर्थमन्त्री पुनको अमेरिका भ्रमण : माथिल्लो अरुणको वित्तिय व्यवस्थापन विश्व बैंकले गर्ने करिब निश्चित 

काठमाडौं– संखुवासभामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण

वाणिज्य बैंकहरूको नाफा घट्यो, नेपाल बैंकको ९२.६७ प्रतिशतले गिरावट

काठमाडौं– चालु आर्थिक वर्ष (आव)को तेस्रो त्रैमासिक अवधिमा बैंकहरूको नाफामा