हड्डी भाँच्न १ करोड ! द्वारिकलाल र रवि लामिछाने, कसको कति दोष ? | Khabarhub Khabarhub

हड्डी भाँच्न १ करोड ! द्वारिकलाल र रवि लामिछाने, कसको कति दोष ?


२३ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ – सुनसरीको इटहरी उपमहागर प्रमुख द्वारिकलाल चौधरीले पत्रकारलाई दिएको धम्की र त्यसबाट उत्पन्न परिस्थिको समाचार कान्तिपुर दैनिकले छापेको छ ।

यस्तो छ पत्रिकामा छापिएको समाचार

मंगलबार इटहरीका पत्रकार विराट अनुपमलाई फोनमा धम्की दिए, ‘तेरो नाकको हड्डी भाँच्न एक करोडको घडेरी राखेको छु।’ यो धम्कीबारे सञ्चारमाध्यम र सामाजिक सञ्जालहरूमा सार्वजनिक भएपछि न्युज–२४ का पत्रकार रवि लामिछानेले चौधरीलाई टेलिफोन अन्तर्वार्तामा सोधे, ‘मेयरसाब, तपाईंले त पत्रकारको नाकको हड्डी भाँच्न एक करोड छुट्ट्याएको छु भन्नुभएछ नि?’

जबाफमा चौधरीले भने, ‘एक करोड हैन, दस करोड लाग्यो भने पनि सिध्याउँछु, रिस उठ्यो भने।’

यो त कानुनलाई हातमा लिने काम भएन र भन्ने प्रश्नमा उनको जबाफ छ, ‘पुलिस प्रशासन, अदालतको बाटो म देखाइदिन्छु। लौ मैले धम्की दिएँ, ममाथि कारबाही गर्नुस्। त्यस्ता पत्रकारको अनुहारमा कालोमोसो दल्छु। इटहरीमा यस्तै शासन चल्छ।’

अन्तर्वार्तामा उनले आफू नेकपा कार्यकर्ता भएको उल्लेख गर्दै भनेका छन्, ‘नेकपाको कार्यकर्ता हो, द्वारिक चौधरी। प्रदेश नं १ को सदस्य। मेरो नेतालाई सुनाइदिनु होला तपाईँको कार्यकर्ता त जब्बर रहेछ। केपी ओलीलाई सुनाइदिनुस्। माधव नेपाललाई सुनाइदिनुस्। प्रचण्डसँग त अस्ति आइरहेछु हात मिलाएर।’

आमसञ्चार माध्यमबाट कुनै व्यक्तिविशेषलाई तोकेरै सिध्याइदिने खुला धम्की दिइरहेका मेयर चौधरीप्रति पार्टी र राज्य संयन्त्रका तर्फबाट बुधबार बेलुकीसम्म कुनै कारबाही प्रक्रिया अघि बढेको जानकारी छैन। पत्रकार महासंघ सुनसरीको बुधबार बसेको बैठकले आफूहरू असुरक्षित भएको भन्दै पत्रकारलाई पूर्ण रूपमा सुरक्षा अनुभूति नभएसम्म इटहरी उपमहानगरका कुनै पनि कार्यक्रममा सहभागी नहुने निर्णय गरेको छ।

शाखा अध्यक्ष अमर खड्काले सुनसरीका पत्रकार असुरक्षित भएको ठहर गर्दै जिल्ला प्रहरी र प्रशासनमा ज्ञापनपत्रमार्फत सुरक्षा मागिएको बताए। ‘इटहरी उपमहानगर प्रमुख नेकपाका प्रदेश कमिटी सदस्यसमेत भएकाले नेकपालाई प्रेस जगत्प्रतिको दृष्टिकोण सार्वजनिक गर्न माग गरेका छौं,’ उनले भने।

पत्रकार महासंघ प्रदेश समितिले विज्ञप्ति जारी गर्दै चौधरीले दिएको धम्की र गालीगलौजले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप हुनुका साथै प्रचलित कानुनको समेत उपहास भएको बताएको छ। प्रमुख चौधरीलाई कारबाहीका साथै प्रेस स्वतन्त्रताको सम्मान एवं पत्रकारलाई निर्बाध र स्वतन्त्र रूपमा काम गर्ने वातावरण बनाउन तीनै तहका सरकारसँग माग गरिएको छ।

उपमहानगर उपप्रमुख लक्ष्मी गौतमले चौधरीले पत्रकारप्रति गरेको व्यवहार उचित नभएको बताइन्। विगतमा लेखेका समाचारहरूका कारण चौधरी पीडित हुनुपरेकाले आक्रोश जन्मिएको उनको भनाइ छ।

नेकपाका इटहरी उपमहानगर अध्यक्ष रेवती घिमिरेले सार्वजनिक ओहदामा पुगेपछि त्यसको मर्यादा राख्नु जोसुकैको पदीय दायित्व हुने भन्दै चौधरीले यसमा ध्यान दिनुपर्ने बताए। ‘उपमहानगरजस्तो संस्थाको प्रमुख पदमा निर्वाचित भएर गएको व्यक्तिले कानुनले बन्देज गरेको कार्य गर्नु सर्बथा अनुचित हो,’ उनले भने, ‘उहाँले चलाएको भ्रष्टाचारविरुद्ध, सार्वजनिक सम्पत्तिको संरक्षणलगायतको अभियानको पक्षमा छु। तर त्यो विधि र प्रक्रियाअनुसार चल्नुपर्छ।’

नेकपा प्रदेश १ अध्यक्ष देवराज घिमिरेले उपमहानगरको प्रमुख पदमा बसेर चौधरीले पत्रकारविरुद्ध गरेको कार्य शोभनीय नभएको बताए। ‘समस्या समाधानको बाटोमा हिँड्नुपर्ने हो,’ उनले भने, ‘समस्या झन् बल्झाएर कसैलाई फाइदा नहुने सबैले बुझ्नु आवश्यक छ।’

सुनसरीका प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले पत्रकार महासंघले ज्ञापनपत्र बुझाए पनि कसैले उजुरी दर्ता नगरेको उल्लेख गर्दै यसबारे अनुसन्धान भइरहेको उनले जनाए।

किन आक्रोशित भए चौधरी?

नगरमा भएका अनियमितताका विषयलाई समाचारका रूपमा उजागर गर्दा चौधरीले आफूलाई आक्रमणको धम्की दिएको पत्रकार अनुपमले बताए।

यसअघि अनुपमले फेसबुकमा पोस्ट गरेको साथीहरूसँगको फोटोमा प्रमुख चौधरीले ‘चाटुकार पत्रकार’ भनेर कमेन्ट गरेका थिए। त्यसबारे बुझ्न चौधरीलाई फोन गर्दा उल्टै धम्की दिएको अनुपमले बताए। सीएफएल बल्ब काण्डबारे सामाचार लेखेदेखि प्रमुख चौधरी आफूप्रति पूर्वाग्रही भएको उनको भनाइ छ।

चौधरीले भने अनुपमलगायत केही पत्रकारले डेढ वर्षदेखि आफ्नो विरोधमा समाचार लेख्नुका साथै सामाजिक सञ्जालमा अनावश्यक कुरा लेखेर बदनाम गर्न खोजेको आरोप लगाए। ‘उनीहरूले केही दलालको पक्षपोषणमा यो मधेसको थारूको छोरालाई कुनै भिजनै छैन, यसले के गर्न सक्छ भन्दै अनेक गलत अफवाह फैलाउँदै आएका छन्,’ उनले भने, ‘जति सम्झाउँदा पनि विरोध गर्न नछाडेको र त्यसमाथि फोन गरेर अभद्र गाली गरेकाले नाकको हड्डी भाँचिदिने भन्न बाध्य भएँ।’

महासंघद्वारा भर्त्सना

मेयर चौधरीले पत्रकार विराट अनुपमलाई टेलिफोनमा दिएको धम्कीको नेपाल पत्रकार महासंघले भर्त्सना गरेको छ। महासंघले बुधबार विज्ञप्ति जारी गर्दै राज्यको जिम्मेवार निकायमा रहेका चौधरीले खुला रूपमा धम्क्याएर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप र कानुनको उपहास गरेको जनाएको छ।

महासंघले मेयर चौधरीलाई सार्वजनिक रूपमा माफी मगाई प्रेस स्वतन्त्रताको सम्मान गर्न एवं पत्रकारलाई निर्बाध र स्वतन्त्र रूपमा काम गर्ने वातावरण बनाउन सम्बन्धित निकायको ध्यानाकर्षणसमेतगराएको छ।

नेकपामा कारबाहीबारे छलफल हुँदै

पत्रकारलाई ज्यान मार्ने धम्की दिएका चौधरीमाथि कस्तो कारबाही गर्ने भन्नेबारे नेकपाभित्र छलफल सुरु भएको छ। चौधरीले पार्टी नीति प्रतिकूल अभिव्यक्ति दिएको भन्दै स्थानीय नेताहरूले केन्द्रमा रिपोर्ट गरेका छन्।

प्रदेश नम्बर १ का आन्तरिक मामिला मन्त्रीसमेत रहेका नेकपाका केन्द्रीय सदस्य हिक्मत कार्कीले चौधरीको अभिव्यक्तिबारे के गर्ने भनेर पार्टीमा छलफल गरिरहेको जानकारी दिए। ‘यो माथिबाटै टुंगो लाग्ने विषय हो। यहाँको अवस्था हामीले नेताहरूलाई जानकारी गराएका छौं,’ उनले भने।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालसमक्ष पनि यो विषयमा ध्यानाकर्षण भइसकेको छ। कार्कीका अनुसार विगतमा यस्तै अभिव्यक्ति दिँदा चौधरीलाई पार्टीकै दबाबमा आत्मालोचना गर्न लगाइएको थियो। ‘अहिले पुनः त्यस्तै व्यवहार देखिएको छ। यो विषयलाई केन्द्रले नै सल्टाउनुपर्ने भएको छ,’ उनले भने।

पार्टी स्थायी समितिभित्रकै नेताहरूले पनि मेयर चौधरीलाई बुधबार आत्मालोचना गर्न सुझाएका छन्। ‘इटहरीका मेयर चौधरी हक्की हुनुहुन्छ भन्ने उहाँको अभिव्यक्तिबाटै थाहा हुन्छ। तर पार्टीको मान्यताबारे उहाँको बुझाइ त्रुटिपूर्ण छन्,’ प्रदेश नम्बर ५ का मुख्यमन्त्रीसमेत रहेका नेकपा स्थायी समिति सदस्य शंकर पोखरेलले फेसबुकमा लेखेका छन्, ‘नेकपा विधिको शासन र लोकतान्त्रिक मूल्यमान्यताप्रति दृढ छ। जबजबाट दीक्षित कार्यकर्ताले लोकतान्त्रिक मूल्यमान्यता र विधिको शासनप्रति झनै प्रतिबद्ध रहनुपर्छ।’ पोखरेलले चौधरीको आक्रोश पीतपत्रकारिता र भ्रष्टाचारविरुद्ध भए पनि अभिव्यक्ति अस्वाभाविक र गलत रहेकाले सच्याउँदै आत्मालोचना गर्नॅपर्ने बताएका छन्।

स्थायी समितिकै अर्का नेता योगेश भट्टराईले पनि चौधरीले पत्रकार र अन्य कतिपय व्यक्तिबारे सार्वजनिक गरेका अभिव्यक्ति उनले धारण गरेको सार्वजनिक पद, प्रतिनिधित्व गरेको पार्टी नेकपा र स्वयंको राजनीतिक उचाइका लागि नसुहाउने खालको रहेको बताएका छन्। ‘आफ्ना भनाइप्रति सार्वजनिक रूपमा आत्मालोचना गरी पदीय गरिमा र पार्टीको प्रतिष्ठाप्रति सचेत रहन उहाँलाई अनुरोध गर्छॅ,’ भट्टराईले फेसबुकमा लेखेका छन्।

प्रकाशित मिति : २३ जेठ २०७६, बिहीबार  ८ : १६ बजे

कम्पनी साझेदारका रूपमा रवि लामिछाने पनि सहकारी ठग हुन् : शंकर पोखरेल

काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले सहकारी ठगीमा संलग्न

पुलिसले जित्यो काभा भलिबल क्लब च्याम्पियनसिपको उपाधि

काठमाडौं – विभागीय टोली नेपाल पुलिस क्लबले काभा महिला भलिबल

एलओडीमा आउँदै अमेरिकन र्‍यापर लिल पम्प

काठमाडौं – अमेरिकन चर्चित र्‍यापर ‘लिल पम्प’ नेपाल आउने भएका

मौलिक अधिकार कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री गुरुङ

लमजुङ – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले संविधानमा व्यवस्था

बालबालिकाका लागि रचनात्मक कार्यमा ध्यान दिन्छौँ चिरीबाबु महर्जन

ललितपुर – ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बालदिवसलाई लक्षित गरी