त्यो जमाना– एक मोहोरमा तरकारी र मासु किनेर बचेको पैसा कमिसन ! | Khabarhub Khabarhub

त्यो जमाना– एक मोहोरमा तरकारी र मासु किनेर बचेको पैसा कमिसन !




काठमाडौं – दशकअघिसम्म पनि रेडियो नेपालको एकछत्र राज थियो नेपाली सञ्चार जगतमा । सरकारी सूचना दूरदराजसम्म पुर्‍याउनुपर्‍यो भने छरितो माध्यम थियो, त्यही रेडियो । हुलाक सेवा विकल्प त थियो तर हुलाकबाट पत्र पठाउँदा बीस दिनसम्म लाग्थ्यो । त्यसकारण त्यो दूर यात्रालाई रेडियोले नजिक बनाइदिएको थियो ।

रेडियोले गीत संगीत, रेडियो नाटक तथा सन्देशमूलक कार्यक्रममार्फत स्रोताको जीवन उकास्न मद्दत पनि गर्थ्यो । रेडियोको यस्तो बेग्लै पहिचान भइरहेका बेला मदनदास श्रेष्ठ रेडियोमा आवद्ध थिए । अहिले उनी रिटायर्ट जीवन बिताइरहेका छन् ।

त्यो बेला मदनदासले रेडियोमा कार्यक्रम चलाउँथे, गीती कथा । कार्यक्रममार्फत उनी जोडिएका थिए कैयन् स्रोताको मनसँग । रेडियो नेपालबाटै प्रसारण हुने कृषि कार्यक्रममा उनी ‘जेटीए बाबु’ को भूमिकामा अभिनय गर्थे । जेटीए बनेर रेडियोको माध्यमबाट उनले कति किसानका समस्या हल गरिदिन्थे । त्यसैले पनि दूरदराजका गाउँमा समेत लोकप्रिय थिए मदनदास ।

दोलखा घर भएका मदनदास बुबा काठमाडौंमा जागीरे भएका कारण सात दिन हिँडेर काठमाडौं आइपुग्थे । काठमाडौं आइपर्ने भएकाले उनलाई रंगमञ्च र रेडियो नेपाल चिहाउन सहज बनिरहेको थियो बुबाको जागीर ।

रेडियोबाट मदनदासको स्वर मात्र सुनेका स्रोताहरुले कुनै नयाँ गाउँ पुग्दा गाउँलेले सोध्ने गर्थे, ‘तपाईं त त्यो रेडियो नेपालमा बोल्ने जेटीए बाबु होइन ?’

रेडियोको पुस्ता पुरानो हुँदै जाँदा मदनदास पनि स्रोताका लागि पुरानो हुँदै गएका छन् । नयाँ पुस्तासँग नयाँ कलाकार नै छन्, नयाँ प्रविधि छ । तर, मदनदास रेडियोमा स्वरका माध्यमबाट चिनिएका हस्ती मात्र होइनन्, उनले सँगसँगै रंगमञ्च र सिनेमा पनि साथसाथै बोकेका थिए एउटा समय ।

त्यसो त कामको सिलसिलामा कतै न कतै, केही न केहीमा व्यस्त भइरहेका हुन्छन् मदनदास । समयले फेरेको परिवर्तन र प्रविधि उनले कल्पना नै नगरेको गतिमा कुदिरहेको छ ।

‘अहिले यस्तो समय आउला भन्ने कल्पनै गरेको थिइनँ, हामीले यो प्राविधिक युगको कल्पना नै गरेका थिएनौँ, अहिले त प्रविधिले हामीलाई धेरै सुविधा दिएको छ,’ श्रेष्ठ भन्छन् ।

अहिले उनी देख्छन्, यहाँ मौका छन् । मान्छेहरुले नाटक हेरिरहेका छन् । सिनेमा बनिरहेका छन् । प्रविधिको पहुँचले मान्छेको दैनिकी खुबै सहज बनेको छ । एक हिसाबले रेडियो नेपालको भर पर्नुपर्ने त्यो समय झण्डै समाप्त भएको छ ।

‘मंहगी पनि त उस्तै छ नि अहिले त,’ मदनदास झण्डै पचास वर्षअघिको समय केलाउँछन् ।

उनका अनुसार त्यतिबेला पचास पैसाको पनि ठूलो महत्त्व थियो । ‘घरबाट एक मोहोर दिएर तरकारी, मासु, धनियाँ किन्न पठाउनुहुन्थ्यो, पुग्दो किनेपछि पनि त्यसमा कति फाइदा खाने भन्ने हुन्थ्यो,’ मदनदास त्यो समय सम्झँदै जोडले हाँस्छन् ।

अहिले त्यो मोहोर कहाँ देख्न पाउनु ? दश रुपैयाँमा पनि केही आउँदैन ।

पचास वर्षमा यत्रो परिवर्तन भइसकेको छ महंगीमा । माग्नेले पनि दुई रुपैयाँ पाऊँ न हजुर भन्नुको सट्टा एक कप चिया खाऊँ न हजुर भन्दै माग्न थालेको मदनदास सुनाउँछन् ।

सिनेमामा देखिने रहर

मदनदास जागीरे थिए । उनले कर्मचारी सञ्जय कोषमा जागीर खान्थे । वि.सं. २०१८ सालताका नेपालमा निकै नै कम चलचित्र बन्थे । यस्तो अवस्थामा कलाकारिता क्षेत्रमा काम गरेर ज्यान पाल्न सक्ने अवस्था पनि थिएन । बलिउडमा सिकेका केही चलचित्रकर्मी नेपाली चलचित्र निर्माण गर्थे । ती चलचित्र अहिलेको जस्तो दुई दिनमै हलबाट लापत्ता पनि हुँदैनथे । एउटै चलचित्र पनि निकै लामो समय हलमा चलिरहन्थे ।

चलचित्र कम निर्माण हुने त्यो समयमा ती चलचित्र त चल्थे तर कलाकारले काम पाउने अवस्था भने थिएन ।

‘नेपालमा पहिलोपटक बनेको फिल्म ‘आमा’ मा पनि सबै प्रविधि विदेशबाट लिइएको थियो, त्यतिबेला श्री ५ को सरकार (हालको नेपाल सरकार) को मातहतमा रहेको शाही नेपाल चलचित्र संस्थानले नै सिनेमा बनाउँथ्यो,’ मदनदास त्यतिबेलाको समय स्मरण गर्छन्, ‘ऊ बेला वर्षमा बढीमा आधा दर्जन सिनेमा बन्थे, म रंगमञ्चमा त थिएँ, तर रंगमञ्चमा अभिनय गर्दा सीमित मान्छेले चिन्ने भएकाले सिनेमामा अभिनय गर्ने लोभ थियो ।’

उसो त राजधानीमा कलाकार खासै थिएनन् । अझै महिला कलाकार त ज्यादै न्यून थिए । कतिपय अवस्थामा त पुरुष नै महिलाको भूमिकामा अभिनय गर्नुपर्ने अवस्था थियो । नाटकमा अभिनय गर्ने कलाकारलाई सिनेमामा अभिनय गर्ने रहर खुबै जाग्थ्यो ।

‘त्यतिबेला बीटु साइजको श्यामश्वेत फोटोसहित सिनेमामा अभिनय गर्न चलचित्र संस्थानमा आवेदन दिनुपथ्र्यो, धेरै जना थियौँ, एउटा चलचित्रका लागि स्किन टेस्टमा छानिएँ,’ मदनदास आफ्नो वृत्तिको शुरुवाती समय स्मरण गर्छन् ।

मदनदासको खुशीको कुनै सीमाना थिएन । अब सिनेमामा काम गर्न पाइयो उनी उफ्रिए । गमक्क परे । त्यो ताका, संस्थानको कार्यालय लाजिम्पाटमा थियो । निर्देशक थिए, प्रकाश थापा र सिनेमा मनको बाँध ।

स्किन टेस्ट पास भएपछि मदनदासलाई लागेको थियो, अब म पनि सिनेमामा काम गर्छु । धेरै मान्छेले मलाई चिन्नेवाला छन् । तर, सिनेमाका निर्देशकले उनको सपनालाई उल्टाइदिए ।

‘तपाईंको क्यामेरा फेस छैन, बेकार दुःख नगर्नुस्,’ मुम्बईमा जमिसकेका प्रकाश थापाले स्किन टेस्टमा पास भइसकेका मदनदासलाई भने ।

जबकि, प्रकाश थापाले टेस्ट पनि लिएका थिएनन् ।

मदनदासले भने, ‘हस् ।’

मदनदासलाई लाग्यो, ‘मेरा लागि त यो क्षेत्र होइन रहेछ नि, नाटकमै ठीक छ मलाई ।’

त्यसपछि मदनदासले सिनेमामा अभिनय गर्नतिर खासै चासो दिएनन् ।

तर, मदनदासलाई फेरि अर्को सिनेमाको प्रस्ताव आयो । जुन सिनेमालाई मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले लेखिरहेका थिए । सिनेमा शाही नेपाल चलचित्र संस्थानले निर्माण गर्ने भएको थियो ।

‘मह जोडीले सिनेमा के घर के डेरा नामक सिनेमाको कथा लेखिरहेका थिए, मदनकृष्ण श्रेष्ठ निकटतम साथी भएकाले मलाई पनि एउटा भूमिका राखिदिएछन्, त्यो सिनेमाका निर्देशक प्रदीप रिमाल हुनुहुन्थ्यो,’ मदनदासले सम्झिन्छन् ।

‘मलाई चलचित्र संस्थानले बोलायो, गएँ,’ मदनदास भन्छन्, ‘जानेबित्तिकै मैले आफ्नो क्यामेरा फेस नभएको बताएँ ।’

मदनदासलाई डर थियो कि, फेरि क्यामेरा फेस नै नभएको मान्छेले फेरि सिनेमा खेल्दा दर्शकबाट गाली पो खाइने हो कि !

तर, निर्देशकले मदनदासलाई उल्टो भने, ‘हैन, हैन खेल्नुपर्छ ।’

मदनदासले त्यो फिल्म खेल्ने एउटा अवसर पाए । अवसर मात्र होइन, पारिश्रमिकस्वरुप ५ हजार पाए । त्यतिबेला त्यो रकम भनेको सानो रकम पनि थिएन ।

उनी पहिलोपटक क्यामेरा फेस गर्दाको अनुभव सुनाउँछन्, ‘लाइट, साउण्ड, क्यामेरा अगाडि छ, बालाजुको पार्कमा पहिलो शूटिङ थियो दिउँसो, एकातिर रिफ्लेक्टर थियो, घामको स्पट थियो, मेकअप गरिएको थियो, अँ क्यामेराम्यान श्याममोहन श्रेष्ठ हुनुहुन्थ्यो ।’

पहिलोपटक शूटिङ गर्दा भइदियो के भने, उनले तेज घाम हेर्न सकेनन् । आँखामा असर पार्‍यो । तत्कालै निर्देशकले इशारा दिए, ‘सफ्ट लाइटको व्यवस्था गर ।’

मदनदास सम्झिन्छन्, ‘त्यतिबेला अहिलेको जस्तो प्रविधि पनि कहाँ थियो त ? गाह्रो थियो नि !’

पहिलो सिनेमाबाट मदनदासले राम्रो प्रतिक्रिया पाए । त्यसपछिका उनका सिनेमाले जे होस्, राम्रै प्रभाव पारे । दर्शक र नजिकका साथीले राम्रो अभिनय गरेको बताए । सिनेमामा मात्र होइन, सँगसँगै उनी रंगमञ्चमा पनि सक्रिय थिए । ‘रंगमञ्चमा पनि सजिलो चाहिँ थिएन है,’ मदनदासले रंगमञ्चको समय उप्काए ।

दुई रुपैयाँको टिकट बेच्दा

अहिले नेपाली रंगमञ्चले बरु एक खाले लय समाएको छ । मदनदास श्रेष्ठका पालामा अहिलेजस्तो अवस्था थिएन रंगमञ्चको । ‘त्यतिबेला रंगमञ्चको अवस्था ज्यादै दयनीय थियो,’ मदनदास सुनाउँछन् ।

उनी वि.सं. २०२० सालतिरको अवस्था स्मरण गर्छन्, ‘सिर्जनशील मानिसलाई सामाजिक प्रतिष्ठा थिएन, सामाजिक दृष्टिले पनि यो क्षेत्रलाई हेयका दृष्टिले हेर्ने गरिन्थ्यो, गाइनेलाई गाएर हिँड्ने, नाटक देखाउनेलाई नौटंकी भन्ने प्रवृत्ति हामीले पार गरेका हौँ ।’

उनका अनुसार गीत गाउने, बाध्यवाधक संगीतकार, बाजा बजाउनेलाई बिहे भोज र अन्य कार्यक्रममा मनोरञ्जनका लागि बोलाउने चलन थियो । कलाकार पनि समाजको अभिन्न अंग हो, कलाकारले समाज र राष्ट्रलाई परिवर्तन गर्न गर्न सक्छन् भन्ने आम मानिसमा थिएन ।

‘त्यो बेलामा सरकारले पनि यो क्षेत्रलाई सकारात्मक रुपमा हेरेको थिएन शायद,’ मदनदास तर्क गर्छन् । काठमाडौंमा हुने संस्थाहरुलाई सरकारले केही अनुदान दिएर कार्यक्रम गर्न लगाउने गरेको पनि उनी बताउँछन् ।

कलाकारिता क्षेत्रलाई सरकारले अहिले पनि खासै महत्त्व दिएको देखिँदैन ।

अहिलेको पुस्ताले थिएटरको सैद्धान्तिक ज्ञानका बारेमा पनि चासो राख्छन् हाम्रो पालामा नाटकको इतिहासका बारेमा सामान्य जानकारी मात्र राख्थ्यौँ, त्यति गहिरिएर अध्ययन गर्ने बानी थिएन

‘अहिले त व्यवस्थित रुपमा कलाकारले राम्रो गर्न सक्यो भने जसले पनि मौका दिन्छ,’ मदनदास उबेला नाटक गर्दाका समस्या सुनाउँछन्, ‘त्यतिबेला नाटक देखाएर पैसा कमाउनु भनेको त फलामको चिउरा चपाउनुजस्तै थियो, घर परिवारले पनि कुनै पनि छोराछोरीलाई यो क्षेत्रमा लागोस् भन्ने चाहना राख्दैनथ्यो ।’

मदनदासको परिवारले पनि उनी यो क्षेत्रमा नलागून् भन्ने चाहेको थियो । तर, मदनदासले मौका पाउँदा अभिनय गर्न कहिल्यै छोडेनन् । जीवनको लामो समय उनले रेडियोमा पनि नाटककै क्षेत्रमा सेवा गरिरहे ।

‘मेरो घर परिवारले पनि यो क्षेत्रमा लागेको मन पराउने कुरै थिएन, घर परिवारलाई पनि बाहिरका मान्छेले अनेक कुरा सुनाइदिन्थे, तेरो छोरो बिग्रियो भनेर सुनाइदिन्थे,’ छिमेकीको अभिनय गर्दै मदनदास सुनाउँछन् ।

रंगमञ्चको अवस्था त्यतिबेला कस्तोसम्म थियो भने, मान्छेले २ रुपैयाँको टिकट काट्न पनि नाक खुम्चाउँथे । जबकि, अहिले नाटकका दर्शक एक हजारको टिकट काटेर पनि नाटक हेर्न तयार हुन्छन् । ‘त्यो बेलामा हामीले राष्ट्रिय नाचघरमा नाटक देखाउँथ्यौँ, २ देखि ५ रुपैयाँको टिकट बेच्दा दिनभरिमा कहिले सय रुपैयाँ कहिले ५० रुपैयाँ कमाइ हुन्थ्यो,’ मदनदास स्मरण गर्छन् ।

‘नाटक के हो भन्ने नै धेरै मान्छेलाई थाहा थिएन, वर्षमा एकपटक इन्द्रजात्रामा देखाउने नाटक नै नाटक हो भन्ने धेरैले बुझेका थिएन,’ मदनदास अहिलेको नाट्य क्षेत्रको बजार तुलना गर्दै भन्छन्, ‘त्यतिबेला बन्द कोठामा नाटक हेर्ने बानी थिएन, अहिले त थिएटरहरु पनि हाउसफूल हुन्छन्, नाटकप्रति समाजको पनि उत्तिकै इज्जत छ ।’

अहिले थिएटर क्षेत्रमा लागेका थिएटरकर्मीले नाटकको अध्ययन गर्ने गरेको उनी सुनाउँछन् । ‘अहिलेको पुस्ताले थिएटरको सैद्धान्तिक ज्ञानका बारेमा पनि चासो राख्छन् हाम्रो पालामा नाटकको इतिहासका बारेमा सामान्य जानकारी मात्र राख्थ्यौँ, त्यति गहिरिएर अध्ययन गर्ने बानी थिएन,’ उनी भन्छन् ।

पहिलेको तुलनामा अहिले नाटकमा आशा धेरै गरिए पनि पहिलेका जस्ता जीवन्त नाटक अहिले नभएको महसूस गरेका छन् मदनदासले ।

‘पहिलेका जस्ता नाटक अहिले छैनन्, भिमनिधि तिवारी, गोविन्दबहादुर मल्ल गोठाले, बालकृष्ण सम, विजय बल्ल जस्ता नाटककार छैनन्, खै त त्यस्ता नाटककार अहिले ?,’ मदनदास आफैले प्रश्नको उत्तर दिँदै भन्छन्, ‘अहिले विदेशी नाटकलाई नेपालीमा रुपान्तरण गरेर विदेशमा मञ्चन गर्न लैजाने गरिन्छ, त्योभन्दा बरु पुराना नाटकहरु पुनः मञ्चन भए राम्रो हुने थियो, मैले ती नाटककारका नाटकहरुलाई संसोधन गरेर रेडियो नाटक बनाएको छु भने नाटकमा त झन् सम्भव छ नि !’

प्रकाशित मिति : २३ जेठ २०७६, बिहीबार  २ : ०७ बजे

उद्योगीलाई मुख्यमन्त्री आचार्यको आग्रह- निर्धक्क भएर लगानी गर्नू 

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्योगी व्यवसायीलाई निर्धक्क भएर

पाकिस्तानमा साम्प्रदायिक झडप, ३८ जनाको मृत्यु

एजेन्सी – पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा भएका दुई आक्रमणमा परी कम्तीमा

पिठो तथा इन्धन अभावले गाजाका बेकरी बन्द हुने अवस्थामा 

एजेन्सी – राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसिएचए) ले गाजा

कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशन : कामको शैली फेर्नुस्, अर्को बैठकमा नतिजा चाहियो

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक, छलफल र प्रशासनिक काममा

सेन्सेईको दशैं-तिहार योजनाका विजेता बने सिन्धुलीका खत्री

काठमाडौं– सेन्सेईको दशैं तिहार र छठ पर्व योजनाअन्तर्गत बहुसंख्यक ग्राहक