काठमाडौं -नेपाली फुटबलमा तीन पटक त्यो पनि फरक-फरक भूमिकामा गोल्ड मेडल जित्ने फुटबलर को हुन् ? यो प्रश्नको जवाफ धेरैको जिब्रोमै मज्जाले भुण्डिएको हुन्छ, उत्तर-राजुकाजी शाक्य भन्न।
उनले राष्ट्रिय फुटबल टोलीको खेलाडी, कप्तान र राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक गरी फरक-फरक भूमिकामा रहँदा नेपाललाई दक्षिण एसियाली खेलकुद प्र्रतियोगिता (साग) मा गोल्ड मेडल दिलाए ।
उनले सन् १९८२ मा राष्ट्रिय टोलीको खेलाडीको रुपमा, सन् १९९३ मा कप्तानका रुपमा र सन् २०१६ मा मुख्य प्रशिक्षक रहँदा नेपाली राष्ट्रिय फुटबल टोलीलाई दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा गोल्ड जिताए ।
गोल्डमेडलिष्ट शाक्य यतिबेला राजधानीको च्यासलस्थित नेपाल स्पोट्स एकेडेमि चलाएर बसेका छन् । त्यो उनीसहित उनका केही मित्रहरुले खोलेका एकेडेमि हो । जहाँ फुटसल, स्विमीङ, टेनिस, जिम लगायत विभिन्न खेल खेल्न सकिन्छ ।
‘हो अहिले मेरो दिन यहीँ बित्छ । मान्छेहरु आउँछन् । गफगाफ हुन्छ । यसैगरी बिताइरहेको छु आजभोलिका दिनहरु,’ शाक्यले दैनिकी सुनाए ।
गएको असोजमा शुरु भएको शहीद स्मारक ए डिभिजन लिगमा च्यासल युथ क्लब सम्हालेका उनी चैतमा क्लबले रिलिज गरेपछि फुटबलबाट बेरोजगार जस्तै भएपनि स्पोट्स सेन्टरमा आएर दिन कटाइरहेका छन् । त्यहाँ आउने मान्छेहरुसँग राम्रो ‘रेस्पोन्स’ पाइरहेकाले पनि त्यहाँ उनलाई दिन काट्न सजिलो छ । त्यो सँगै उनी ‘नेपाली सेनाको आन्तरिक टोली जग दलमा प्रशिक्षण पनि गर्छन् ।
उनले सजिलै दैनिकी गुज्रिरहेको बताएपनि आजभोलि दिन कटाउन शाक्यलाई निक्कै कठिन भइरहेको उनको हाउभाउ र भनाईले संकेत गर्छ । भन्छन्,‘म फुटबलका लागि जन्मिएको मान्छे, फुलबटकै लागि जिउँछु भन्ने थियो । तर, पनि त्यो ठाउँमा अहिले नहुँदा पनि ठीकै छ । क्लबहरु हेरिरहेको छु ।’
गएको साउनमा एन्फाले विना कुनै जानकारी राष्ट्रिय टोलीको जिम्मेवारीबाट उनलाई टाढा गरायो । ‘चेन्ज एन्फा’ को नारासहित एन्फा प्रवेश गरेको नयाँ कार्यसमितिले उनलाई राष्ट्रिय टोलीको प्रशिक्षकबाट हटायो ।
जुन कुराले उनलाई अहिले पनि पीडा दिन्छ । फुटबलकै लागि जन्मिए फुटबलकै लागि मर्छु भन्ने व्यक्तिलाई एन्फाले सम्झौता मिति बाँकी रहँदै कुनै समझदारी विनै उनलाई जिम्मेवारीबाट च्युत गरेको थियो ।
‘एन्फामा पहिला हामी प्रशिक्षक हुँदा कुनै सम्झौता हुँदैनथ्यो । गणेश दाइ हुँदा पनि व्यक्तिहरुलाई यो टिम तिमीले हेर्ने त्यो टिम तिमीले हेर्ने भनेर जिम्मेवारी दिइन्थ्यो । तर, पछि (अहिलेको भन्दा अघिल्लो) कार्यसमितिले प्रशिक्षकहरुलाई पनि पारिश्रमिक दिनुपर्छ भन्ने योजनासहित मलाई एक वर्षका लागि सम्झौता गरेको थियो ।’
शाक्य र एन्फाबीच भएको सम्झौताको ९ महिना बाँकी रहँदै उनलाई एन्फाले उनकै शब्दमा ‘हटायो’ त्यो पनि कुनै समझदारी विनै ।
यतिबेला उनी त्यसलाई गिजुल्ट्याउने भन्दा पनि जे भयो-भयो भनेर त्यसलाई एक नराम्रो अनुभवका रुपमा लिन्छन् । एन्फाले हटाइसकेपछि पुनः एक पटक उनलाई एन्फामा बोलाइएको थियो । एन्फा महासचिवसतिहको टोलीले बसेर कुराकानी गरेका थिए । उक्त भेटमा उनीहरुलाई आफ्नो मनमा लागेको कुरा खुल्ला रुपमा राखेको शाक्य बताउँछन् ।
यस्तै, एन्फा महासचिव टोलीले भेटमा शाक्यलाई एन्फाविरुद्ध बोलेको आरोप लगाएका थिए । भेटमा छुट्टिनु अगाडि एन्फा पक्षले ‘ठिकै छ हामी हेर्छौ, मिलाउँछौं भन्नु भएको थियो,’ शाक्यले भने ।
एन्फाले आफुसँग गरेको सम्झौता रद्द गरेर अरुलाई जिम्मेवारी दिँदा कुनै आपत्ती नरहेको बताउँछन् । तर, ‘इन्टेन्सनली’ एन्फाले आफुलाई हटाएको उनलाई अनुभूति हुन्छ ।
एन्फाले १ वर्षका लागि शाक्यसँग सम्झौता गरेको थियो । तर, उनले तीन महिनामात्रै तलब खान पाए । ९ महिना बाँकी छँदै एन्फा नयाँ कार्यसमितिले उनलाई प्रशिक्षकको जिम्मेवारीबाट हटायो ।
त्यसपछि उनलाई एन्फाले आरोप लगायो-‘तपाई एन्फाको अगेन्स्टमा बोल्नु भयो ।’ तर, उनको दावी छ ‘म कहिलै एन्फाको ‘अगेन्स्ट’ मा बोलेको छैन् । प्रशिक्षकबाट हटाइसकेपछि मनमा लागेका कुरा सार्वजनिक रुपमा बोलेको मात्रै हुँ ।’
गएको साउनमा एन्फाले उनलाई राष्ट्रिय टोलीको प्रशिक्षकबाट हटाउँदा भावुक भएका उनले सार्वजनिक रुपमै भनेका थिए, ‘फुटबल खेलेर गल्ती गरे, बरु फुटबल नखेलेको भए हुन्थ्यो ।’
उनको उक्त अभिव्यक्ति पछि उनका सुभचिन्तक पनि उनीसँग रिसाए । ‘मैले त्यतिखेर त्यो भन्दा मेरा साथिभाइ र खेलाडीहरु पनि रिसाए । त्यस्तो नभन्नु पर्ने समेत भने । तर, उनी अहिले पनि भन्छन्,‘ म एन्फाको कार्यसमिति भन्दा पनि उसको कामलाई लिएर समर्थन र विरोध गर्छु ।’
नेपाली फुटबलका साधुको रुपमा चिनिने राजु सधै नेपाली फुटबलको विकासका लागि लागि रहे । उनले खेलाडी हुँदादेखि प्रशिक्षकसम्म आइपुग्दा सधै पनि व्यक्तिगत हित भन्दा फुटबलको हितमा ध्यान दिएर लागे ।
राजुको अनुभवले खेलाडीलाई भन्दा प्रशिक्षकलाई बढी ‘टेन्सन’ हुने बताउँछन् । खेलाडीले आफ्नो खेलमा मात्रै ध्यान दिनु पर्ने तर, प्रशिक्षकले हरेक खेलाडीको खेल तथा उनीहरुलाई परिचालन गर्ने देखि व्यवस्थापनमा पनि ध्यान दिनु पर्ने भएकाले प्रशिक्षकलाई बढी जिम्मेवारी हुने बताउँछन् ।
अहिले ५६ वर्षको उमेर पुगेका राजुलाई फुटबलमा जीवन गुजार्दा पनि सरकारले खेलकुदलाई उपेक्षा गरिरहेको देख्दा खिन्न लाग्छ । भन्छन्,‘हामीले सधै देशका लागि खेल्यौं । खेलायौं । तर, खेलाडीले आखिरमा खेल जीवन पछि के गर्ने भन्ने न सरकारले सोच्छ न खेलकुदका निकायहरुले नै ।’
खेलाडीले पाउनु पर्ने सम्मान पनि सहि तरिकाले दिन नसकेको गुनासो उनको छ । आफु खेलाडी हुँदाको एक प्रशंग सुनाउँदै शाक्य भन्छन्,‘सन् १९९३ मा हामीले साग गेम्समा गोल्ड मेडल ल्याउँदा हामीलाई खेल अगाडि तत्कालीन राखेप प्रतिनिधिले भनेका थिए, ‘तपाईले गोल्ड जित्नु भयो भने हामीले तपाईलाई गोर्खा दक्षिण वाहुले सम्मान गर्नेछौं ।’
त्यो खेल उनले आफ्नो कप्तानीमै जिताए । तर, पछि ती प्रतिनिधि कता हराए पनि थाहा भएन । आश्वासन त सरकारले नै दिएको थियो ।
यद्यपी कसैले यो विषयमा वास्तै गरेनन् । शाक्य भन्छन,‘सम्मानका लागि हामीले के मन्त्रालयमा गएर हामीलाई सम्मान देउ भन्नु पर्ने हो ? कि पार्टीमा लाग्नु ? कुन खेलाडीको कस्तो योगदान छ भन्ने राखेप तथा मन्त्रालयले राख्नु पर्दैन, भन्दै आक्रोस पोख्छन् ।
उनी आक्रोसित पनि किन नहुन त्यतिबेला उनले नेपाल वायु सेवा निगममा जागिर पाएका थिए । तर, फुटबलकै कारण उनको त्यो जागिर छोडे ।
जुन उनका लागि सागमा नेपाललाई दिलाएको दोस्रो गोल्ड मेडल थियो ।
अहिले खेलाडीहरु खेलमा उतार-चढाव आउने वित्तिकै विदेशको बाटो तताउँछन् । यो ट्रेन्ड त्यतिबेला पनि थियो । जतिबेला राजु मैदानमा बलको संघर्ष गर्थे । मैदानमा विपक्षीलाई र्याख्र्याखती पार्थे । राजुका केही साथिहरु अहिले पनि विदेशमा छन् । तर, उनलाई कहिलै नेपाली फुटबलबाट टाढा जान उनको मनले दिएन् ।
‘त्यतिबेला पनि विदेशको ट्रेन्ड थियो । खेलाडीले खेल पछि कसरी बाच्ने भन्ने आधार नै यहाँ थिएन् । त्यस्तो भएपछि धेरै साथिहरु विदेशीनु भयो । तर, मलाई भने विदेश जाने सोच नै आएन । आएपनि यहिँ बसेर फुटबलमा केही गर्नु पर्छ भनेर बसे ।’
उनीसँग अहिले ४ जनाको परिवार छ । जसमा उनी उनकी श्रीमती, एक छोरा र एक छोरी । उनको परिवार ललितपुरमा बस्छ । त्यहाँ उनले विलाशी जीवन नभए पनि सामान्य तरिकाले जीवन यापन गरिरहेका छन् । तर, उनीहरुका लागि घर बनाउँदा तत्कालीन समयमा जग्गा लिन बुबाले सहयोग गरेको उनी बताउँछन् ।
घरपरिवारको सुनसरीमा सुन व्यापार उनी एक्लै परिवारको फुटबलर । राजुका ३ दाजुभाइ सबैको आफ्नै व्यवसाय सिवाय राजुको । उनी सधै फुटबलको मन्त्र जपिरहे । लागिरहे । सफलता पनि प्राप्त गरे । भन्छन्,‘त्यहीँ मेहनत र परिश्रमको त फल हो अहिले जसले पनि राजुकाजी शाक्य भनेर चिन्छ ।’
राजु परिवारको निर्णयभन्दा बाहिर गएर फुटबलमा लागे, सफल पनि भए । तर, उनका छोरा भने खेलकुदबाट बाहिर छन् । स्कुल पढ्दा राम्रो फुबटल खेल्थ्यो । तर, पछि कलेज पुगेपछि ‘साइन्स’ लिएर पढ्न थालेपछि खेल्न भ्याएनन् । ‘उनलाई मैले खेल खेल्ने भए खेल पनि भनेको हो । तर, उनको प्राथमिकतामा खेल भन्दा पढाई पर्यो । अहिले उनी ‘आईटी’ पढिरहेका छन् ।’
कुनै समय थियो । खेल भनेपछि मान्छेहरुले नाक खुम्च्याउँथ्यो । त्यहीँ समयमा फुटबलमा लागेका राजुको परिवारले पनि उनलाई खेल भन्दा अन्य पेशा रोज्न सुझाव दिन्थे । तर, उनी कहिलै आफ्नो निर्णयमा टसको मस भएनन् ।
स्कुलमा सबैजसो खेलमा अब्बल खेलाडी राजुले क्याम्पस पुगेपछि फुटबलमा मात्रै लाग्ने निर्णय गरे । त्यसैअनुसार उनी सुनसरीमा रहँदा विभिन्न क्लबहरुबाट खेले । त्यतिबेला धरान फुटबल टोली निकै चर्चित क्लब थियो । उनले अन्य क्लबहरुमा खेल्ने अवसर पाए पनि त्यहाँ भने कहिलै खेल्न पाएनन् ।
भन्छन्,‘मैले धरानमा रहँदा धेरै क्लबहरुबाट खेले । यहाँसम्मकी जनकपुर चुरोट कारखानको टिमबाट पनि खेले तर, धरान फुटबल टिमबाट कहिलै खेल्न पाइएन । तर, त्यहाँबाट खेल्ने मन थियो,’ गोल्ड मेल्ड मेडलिष्ट शाक्यले हास्दै भने,‘ त्यो टिममा स्टार खेलाडीहरु धेरै थिए ।’
अहिले खेलकुदमा प्राविधिक कुराहरुको निकै धेरै प्रयोग हुन्छ । खेलाडीले खेल्ने तरिकादेखि कसरी फिट रहने तथा कति डाइट खाँदा खेलाडीलाई सहज हुन्छ जस्ता विषयहरु जता ततै भेटिन्छन् । तर, राजुको पालमा त्यो हुँदैन थियो । खेलाडी आफैले आफ्नो स्वास्थ्यको ख्याल गर्नु पथ्यो ।
त्यो बेला अहिलेजस्तो खेलाडी व्यवसायिक भइसकेका थिएनन् । खर्च पनि परिवारबाटै मागेर चलाउनु पथ्यो । त्यहि पनि फुटबल प्रति खेलाडी लगाव उत्तिकै थियो ।
‘त्यतिबेला हामी रहरले फुटबल खेल्थ्यौ । मनदेखि । त्यतिकै मेहनत पनि गथ्यौं । त्यतिबेला नेपाललाई गोल्ड मेडल जिताउन सकियो,’ शाक्य गर्वका साथ भन्छन्,‘हामीले त्यतिबेला निकै संघर्ष गर्नु पथ्यो । कहिँ जान हिडेर जानु पथ्यो । गएको ठाउँ पुग्न पनि निकै समस्या हुन्थ्यो । आफ्नो सामाग्री किन्न समस्या हुन्थ्यो ।’
अहिलेका खेलाडीमा त्यो ‘स्पिरीट’ भेट्दैनन्, उनी भन्छन्,‘अहिले खेलाडीले राम्रो गर्न चाह्यो भने गुगलमा सर्च गरेर हेर्न सक्छ । जहाँ जान पनि गाडिको सुविधा भइसकेको छ । खेल सामाग्री पनि संघले दिइनै रहेको छ । तर, पनि सोचे अनुसारको नतिजा निकाल्न सकिएको छैन् ।’
सरकार पनि खेलाडीको विषयमा सचेत नभएजस्तो उनलाई महसुस हुन्छ । विश्वका अन्य देशका खेलाडीहरुले सधै अभ्यास गरिरहेका हुन्छन् तर, हाम्रा खेलाडीहरुले प्रतियोगिता अगाडि पछाडिमात्रै अभ्यास गर्ने अवसर पाउँदा पनि समस्या भइरहेको उनको भनाइ छ ।
यस्तै, सरकारले कुनै पनि व्यक्ति जन्मिसकेपछि त्यसले खेलकुदतर्फ रुचि देखाउने वातावरण बनाउनु पर्ने उनको भनाई छ । तर, अहिले खेल खेलेर पनि जीवन गुजारा हुन्छ ? भन्ने प्रश्न धेरैले उव्जाउने गरेका छन् ।
खेलाडीमात्रै होइन् पूर्व खेलाडीले पाउनु पर्ने सेवा सुविधा पाउने व्यवस्था गर्नु पर्ने उनको माग छ । राजुकाजी भन्छन्, ‘सरकारले पूर्व खेलाडीलाई उचित सेवा सुविधा दिनु पर्छ । जस्तै, खेलाडी र उसको परिवारको निःशुल्क स्वास्थ्य उपाचारदेखि यात्रामा हिड्दा पूर्व खेलाडीलाई गाडिमा सौलियत भाडा लगायतका विषयहरुमा सरकारले ध्यान दिनु पर्ने बताउँछन् भने निःशुल्क स्वास्थ्य उपाचार देखि यात्रामा हिड्दा पूर्व खेलाडीलाई विमान टिकटमा निश्चित प्रतिशत छुट दिने लगायतका कुराहरुमा सरकारले ध्यान दिनु पर्छ ।’
नेपाली फुटबलको विकास चाहाने हो भने ग्रासरुट फुटबललाई बलियो बनाउनु पर्ने उनको भनाई छ । त्यसैमा अहिले उनी लागिरहेका छन् । ‘मैले राष्ट्रिय टोलीबाट खेले, टोलीको कप्तानी गरे र प्रशिक्षकको भूमिका समेत निभाए । त्यसबाट मलाई के लाग्यो भने हामीले फुटबलको विकस गर्ने हो भने ग्रासरुट नै महत्वपूर्ण पक्ष हो । त्यसैमा म अहिले लागिरहेको छु ।’
मंगलबार साझ राजुकाजी र उनका साथिहरु मिलेर च्यासलमा चलाइरहेको नेपाल स्पोट्स एकेडेमिमा उनीसँग गफ गर्दा उनी आफ्नो विगतलाई सम्झदै आनन्द महसुस गरिरहेका थिए ।
उनी अहिले पनि भन्छन्,‘म फुटबलकै लागि जन्मिए र फुटबलकै लागि मर्छु ।’ सन् १९८१ देखि नेपाली राष्ट्रिय टोलीबाट खेल्ने अवसर पाएका शाक्यले १९९७ सम्म राष्ट्रिय टोलीबाट खेल पस्किरहे ।
नेपाली फुटबलका केही सीमित खेलाडी र सफल व्यक्तिमध्येका राजुकाजी अहिलेसम्म पनि नेपाली फुटबलसँगै जोडिइरहेका छन् । १२-१३ वर्षको उमेरदेखि शुरु भएको उनको फुटबल यात्रा ५६ वर्षको उमेरसम्म आइपुग्दा पनि चलिरहेकै छ ।
प्रतिक्रिया