नागरिकलाई राज्यको विश्वास छैन, हामी कस्तो समाज निर्माण गर्दैछौं ? | Khabarhub Khabarhub

नागरिकलाई राज्यको विश्वास छैन, हामी कस्तो समाज निर्माण गर्दैछौं ?



राष्ट्र र समाज निर्माण एक दिनमा हुँदैन र यो सम्भव पनि छैन । यसको लागि शताब्दि पनि लाग्न सक्दछ । चाहना गर्दैमा र सपना देख्दैमा नत अनुशासित समाज निर्माण हुन्छ, नत समृद्ध राष्ट्र नै निर्माण हुन्छ । मेहनत र अनुशासनको बलमा सभ्य समाज र विकसित राष्ट्र निर्माणको आधार तयार गर्न सकिन्छ ।

के हाम्रा क्रियाकलापहरुले हामीले चाहेको जस्तो सभ्य समाज निर्माणमा सहयोग तुल्याई रहेका छन् र ? के हामीले सञ्चालन गरिरहेको शिक्षा नीति र सामाजिक रीतिरिवाजहरुले सभ्य समाज निर्माणको हाम्रो सपना पुरा गर्न मानिसलाई प्रोत्साहित गरिरहेको छ र ?

के हामीले कहिल्यै आफ्नो छातीमा हात राखेर शान्त मनले कहिल्यै सोच्यौं कि हामी आफै अनुशासित समाज र समृद्ध राष्ट्र निर्माणमा कतिको ईमान्दार र जिम्मेदार छौं ?

नेपालको सन्दर्भमा विश्लेषण गर्ने हो भने आज समाजका सबै क्षेत्रहरुमा सकारात्मकता कम र नकारात्मकता प्रचुर मात्रामा भरिएको छ । फेसबुक र ट्वीटर जस्ता सामाजिक सञ्जालहरुमा कुनै गम्भिर विषयको बारेमा स्टाटस लेख्नु होस् र त्यसमा कुनै कमेन्ट आउदैन वा कमेन्टहरु आए पनि थोरै मात्रामा आउछ ।

तर यसमा कुनै ब्यक्ति, विषय वा सन्दर्भको बारेमा हल्का वा नकारात्मक स्टाटस लेख्नु होस् र त्यसमा सयौं हल्का र नकारात्मक कमेन्टहरु आउछन् । यसले हाम्रो मनोविज्ञानलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा प्रदर्शन गरिरहेको हुन्छ । हामीले कहिल्यै सोच्यौ कि कतै हाम्रो मनोबिज्ञान नकारात्मक मानसिकतामा रमाउने त भएको छैन ?

लहडमा हिडने हाम्रो बानीको कारणले हामीलाई हल्का बनाईदिएको छ, खोक्रो पारिसकेको छ । हामी कुनै पनि ब्यक्ति वा बिषयको बारेमा सोध, खोज र अनुसन्धान नै नगरिकन जे पनि बोली दिन्छौं र जस्तो पनि टिप्पणी गरी दिन्छौं ।

हामीले बोली रहेको हाम्रो बोलीले र गरिरहेको हाम्रो कर्मले हामी स्वयंलाई, अरुलाई र समाजलाई कसरी सकारात्मक वा नकारात्मक प्रभाव पारिरहेको हुन्छ । हामीले कहिल्यै अरुको बारेमा सोचेनौं वा हाम्रो बोली वा टिप्पणीले कतिपय निर्दोषहरुलाई पनि मर्माहत गरिरहेको हुन सक्दछ भन्ने सोचेनौं । मुखमा जे आयो त्यो बोल्दा हामी आफैले आफैंलाई महान ठान्यौं । तर यथार्थमा हामी स्वयंको कद समाजको नजरमा नजानिदो तरिकाले होचो भई रहेको थाहै पाउदैनौं ।

कस्तो समाज निर्माण गर्ने -सकारात्मक र सचेत समाज वा नकारात्मक र निराश समाज ? हाम्रो मनोबिज्ञान नकारात्मक मानसिकतामा रमाउने त भएको छैन ?

हामीले कहिल्यै सोचेनौ कि हाम्रो तुच्छ स्वार्थको लागि हामी स्वयं गलेका हुन्छौं र जिम्मेवार छौं । हामीलाई आफु स्वयं जहिल्यै महान लाग्यो । दोष जति सबै अरुले गरेर भएको र राम्रो काम हामी नभएको भए भगवानले पनि गर्न सक्ने थिएनन् भनेर धाक लगाउदै हिडछौं ।

घर भित्रको फोहोर कौसीबाट सडकमा फ्याल्छौ र सभ्यताको बिषयमा फलाक्दै हिडछौं । आफु दिन भरी गफ दिएर हिडछौं । अनि प्रवचन दिदै हिडछौं कि कर्मले मात्र ईतिहास निर्माण हुन्छ, गफले हुँदैन ।

सकेसम्मको पदहरुमा आफ्नो परिवार र नातागोताको मानिसलाई ल्याउछौं । पैसा देख्नै हुँदैन, मुखबाट र्‍याल चुहाउन थाल्छौं, सात पुस्ता सम्मलाई करोडपति बनाउन सम्पत्ति जम्मा गर्न लाग्छौं । अनि अरुलाई उत्सर्गको, त्यागको, समर्पणको, नैतिकताको र ईमान्दारिताको लागि उपदेश र भाषण दिन्छौं । कसले पत्याउछ र ?

हामीले सोचेको जस्तो, हामीले खोजेको जस्तो, हामीले रोजेको जस्तो, हामीले उपदेश दिएको जस्तो र हामीले भाषण गरेको जस्तो हामी स्वयं हुन सकिरहेका छैनौं । अरु भएनन् वा हुन सकेनन् भनेर गाली गर्नु वा बिरोध गर्नुको के तुक छ र ?

हामी लहैलहैमा हिडन सिपालु छौं । अरुसंग आशा र अपेक्षा राख्छौं तर मिहनेत गर्दैनौं । दिनभरी चिया पसल वा चौकमा बसेर आफुलाई मन नपर्ने ब्यक्तिलाई गाली गरेर बसिरहन्छौं तर आफुले खाने चामल र दालमा भएको मिसाबटको बिषयमा उजुरी गर्न कतै जादैनौं । हामीले पिउने पानी उन्नानसय प्रतिशत शुद्ध र स्वस्थ्य पानी हुँदैन तरपनि हामी पिउछौं ।

हामीले खाने अधिकांश तेल र मसलाहरुमा हानीकारक रसायनहरुको मिसाबट हुन्छ । हाम्रो भान्सामा हरेक दिन तरकारी पाक्छ तर नब्बे प्रतिशत भन्दा बढी तरकारीमा हानीकारक बिषादी मिसिएको हुन्छ । यस बिषयमा कतै लिखित उजुरी गर्दैनौं । हामी बिरामी हुँदा खाने अधिकांश औषधीहरु गुणस्तरहीन छन् तर यस बिषयमा गंभीर बहस गर्दैनौं ।

हामी बिषादी मिसिएको र गुणस्तरहीन खाद्य पदार्थ बढी खान्छौं, यसैले हामी बढी बिरामी पनि हुन्छौं । यस बिषयमा हामीले समाजमा जागरण ल्याएनौं, संसदमा निरन्तर जोडदार आबाज उठाएनौं ।

हामीले कहिल्यै सोचेनौ कि किन मानिसहरुले यति धेरै गंभिर बिषयहरुमा लिखित उजुरी गर्दैनन् ? अहिलेको संबिधानले सुचनाको हक दिएको छ, अनेकौ मौलिक हक तथा अधिकारहरु दिएको छ तरपनि मानिसहरु किन लिखित उजुरी गर्दैनन् । हामीले कारणहरु सोधेनौं, खोजेनौं र मनन गरेनौं । गम्भीर गल्ती यही निर भयो ।

यसको प्रमुख कारण हो निराशा र उदासिनता । कुनै न कुनै रुपमा मानिसहरुको राज्यसंगको बिश्वास हराएको छ । आम मानिसको राज्यको प्रशासनसंगको भरोसा कम भएको छ । जति भने पनि, जति लिखित उजुरी दिए पनि कुनै कानुनी कारबाही हँुदैन भन्ने छाप आम मानिसको मानसपटलमा परिसकेको छ । जुन जोगी आए पनि कानै चिरेको भने जस्तो भएको छ ।

राज्यसंग आम मानिसको भरोसा र बिश्वास नहुनु गंभिर बिषय हो । राज्यको दायित्व र कर्तब्य आम मानिसको राज्य प्रतिको बिश्वास र भरोसा बढाउनु हो । तर राज्यले गर्नु पर्ने आधारभूत काम पनि गरिरहेको छैन । राज्य सुतेको जस्तो, मस्त निदाएको जस्तो । गल्ती यहीं निर भई रहेको छ ।

के राज्यले आफ्नो कर्तब्य र दायित्व निर्वाह गरेन भने हामीले चुपचाप समाजमा हुने गलत क्रियाकलापलाई सहेर बसिरहने हो र ? के नागरिकको हैसियतले हाम्रो आफ्नो दायित्व र कर्तब्य हुँदैन र ? अबश्य हुन्छ ।

जब समाज र मानिसबीचको दुरी बढछ, जब राज्य र नागरिक बिचमा बिश्वास र भरोसाको अभाव हुन्छ, त्यही समयमा सचेत नागरिकको कर्तब्य र दायित्व पनि अझ बढेर जान्छ । राज्यसंग निराश समाज डरलाग्दो हुन पनि सक्छ । यस्तो समाजको भविष्यवाणी गर्न अत्यन्त कठीन हुन्छ । निराश समाज मौन हुन्छ तर यस्तो मौनता डरलाग्दो आँधी अगाडिको शान्ति जस्तै पनि हुन सक्दछ । समाजलाई निराश हुन नदिनको लागि समय मै सजग भएको राम्रो हुन्छ ।

अहिलेको सुचना प्रबिधिको युगमा सकारात्मक मनोबिज्ञानले समाजको मनोबल बढाउनु अत्यन्त चुनौतिपुर्ण भई रहेको छ । हामी संसार भरीको बिषयमा जानकारी राख्छौं तर छिमेकीसंग संवाद गरिरहेका हुँदैनौ । हामी ईन्टरनेट र टेलिभिजनको दुनियामा मस्त हुन्छौं, परिवारका सदस्यहरु भित्र उनीहरुसंग पनि कुराकानी नै हुँदैन ।

घर भित्रको फोहोर कौसीबाट सडकमा फ्याल्छौ र सभ्यताको बिषयमा फलाक्दै हिडछौं । आफु दिन भरी गफ दिएर हिडछौं । यसैले मानिसहरुको राज्यसंगको बिश्वास हराएको छ

सकारात्मक शिक्षा ब्यवहारिकरुपमा परिबारबाट नै शुरु गर्नु पर्दछ । समाजलाई सभ्य बनाउनको लागि सबैभन्दा पहिले मानिस ईमान्दार र नैतिकवान हुन आबश्यक हुन्छ । जब सम्म समाज सभ्य र ईमान्दार हुँदैन, तबसम्म राष्ट्र समृद्ध हुन सक्दैन । यो सबैलाई थाहा भएको तथ्य हो ।

यसैले मानिसको पहिलो पाठशाला परिबारबाट नै मानिसलाई ईमान्दार र नैतिकवान हुन सिकाउन आबश्यक हुन्छ । त्यसपछि आफ्नो छिमेकी र आफु बसेको समाजको सदस्यहरुसंग सकारात्मक संवाद गर्नु आबश्यक हुन्छ । नकारात्मक संवादले नकारात्मक मनोबिज्ञान तयार गर्दछ र सकारात्मक संवादले सकारात्मक मनोबिज्ञान र आत्मबलको बिकास गर्दछ ।

कस्तो समाज निर्माण गर्ने –सकारात्मक र सचेत समाज वा नकारात्मक र निराश समाज ?

सबै पद र सुबिधा सधै आफुलाई एवं आफ्नो परिवारका सदस्य र नातागोतालाई मात्र चाहिन्छ भन्ने मनोबिज्ञान राख्ने कि सबै सेवा र सुबिधामा सबैको समान सहभागिता, अधिकार र भुमिका हुनु पर्दछ भन्ने मनोबिज्ञान राख्ने ? राज्यले बिधिको शासन र सुशासनको अनुभुति आम नागरिकलाई ईमान्दारपुर्वक गराउने कि नगराउने ? सकारात्मक समाज निर्माणमा परिवार, समाज, राजनीतिक दल, शासन प्रणाली, निर्वाचन प्रणाली र राज्यको के के भुमिका हुने ? कार्य पालिका, ब्यबस्थापिका र न्यायपालिकालाई संबिधानले प्रदान गरेको भुमिका ईमान्दरपुर्वक पालन गर्ने कि नगर्ने ?

मानिस जतिसुकै शक्तिशाली होस्, मानिस जतिसुकै ठुलो पदमा होस्, उसले आफु जन्मे र हुर्केको समाजलाई ढाटन सक्दैन किनकि हरेक ब्यक्तिको आफ्नो समाज हुन्छ, समाजले उसलाई नियाली रहेको हुन्छ र समाजलाई उसको बिगत देखि बर्तमानसम्मको बास्तबिकता थाहा हुन्छ ।

समाजलाई कहिल्यै पनि ढाटनु हुँदैन र चाहेर पनि कसैले समाजलाई ढाटन सक्दैन । केही पनि थाहा नपाएर समाज मौन बसेको हुँदैन । सबै कुरा थाहा पाएर पनि समाज मौन रहेको हुन्छ, समयको पर्खाईमा । समाजको मौनता र शालिनतालाई भ्रष्टाचारीहरुले समाजको कमजोरी ठान्नु हुँदैन । समयले हरेक अपराधको सजाय दिन्छ र यही समाजमा दिन्छ ।

यसैले हामी ईमानदार भएर सकारात्मक र नैतिकबान समाज निर्माण गर्न आबश्यक छ । केहि समय दुःख हुन सक्दछ । केहि समय ईमानदारपुर्वक धेरै कठिन मेहनत गर्नु पर्दछ । राज्यको संयन्त्रहरुलाई समाजले बिश्वास र भरोसा गर्ने संयन्त्रमा बिकास गर्दै एउटा प्रक्रिया र पद्धति बसाल्न केहि समय लाग्न सक्छ । तर कठोर अठोट लिएर कार्य गर्ने हो भने यो संभव हुन सक्छ ।

राज्यसंग निराश भएको समाज र समाजको बिश्वास गुमाएको राज्यको संयन्त्र हुनु अत्यन्त निराशाजनक परिस्थिति हो । यसलाई आशा र बिश्वासमा परिणत गर्नु हामी सबैको दायित्व र कर्तब्य हो । राज्यले समाजलाई निराश हुन दिनु हुँदैन । राज्यले समाजको बिश्वास जित्नु पर्दछ ।

सचेत नागरिकहरुले पनि राज्यको मुख हेरेर मुकदर्शक भएर बस्नु हुँदैन । समाजलाई सभ्य, सकारात्मक एवं आशा र बिश्वासले भरिपुर्ण बनाउनु सबै सचेत नागरिकको कर्तब्य र दायित्व पनि हो ।
(यो लेख लेखकको नीजि विचार हो ।)

प्रकाशित मिति : २४ बैशाख २०७६, मंगलबार  ८ : ०५ बजे

रक्षा क्षेत्रको विकास गर्न भारतले क्वान्टम प्रविधिमा जोड दिने

काठमाडौं – भारतले रक्षा क्षेत्रको विकासका लागि क्वान्टम प्रविधिमा जोड

खलिस्तानी पृथकतावादी अर्शदीप सिंह क्यानडाबाट पक्राउ

काठमाडौं – खलिस्तानी पृथकतावादी गतिविधिमा संलग्न अर्श दल्ला भन्ने अर्शदीप

सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्न यातायात व्यवसायीको माग

काठमाडौं – देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी

राष्ट्र बैंक वार्षिक प्रतिवेदन : गत आवमा करिब ४७ खर्ब तरलता प्रशोधन

काठमाडौं । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०८०/८१ को

प्रचण्डको ‘चिनियाँ कार्ड’ अभिव्यक्ति कूटनीतिक मर्यादाहीन : भीम रावल

काठमाडौं – नेकपा एमालेका नेता भीम रावलले ‘प्रधानमन्त्री केपी शर्मा